coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘नगर क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय गुरुयोजना बनाउँदैछौं’

जुना बस्नेत, उपप्रमुख, सूर्यविनायक नगरपालिका

जनप्रतिनिधि भएर जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? 
जनप्रतिनिधि भएपछि एकदिन पनि बिदामा बसेका छैनौं । पहिला विभिन्न संघसंस्थासँग रकम मागेर सामाजिक कार्य गथ्र्याै। तर, अहिले हामी दिने र जनताहरू सहयोग माग्ने ठाउँमा छौं । त्यसैले जनचासोको विषयमा बजेट विनियोजन गरेका छौं । २० वर्ष स्थानीय तह जनप्रतिनिधिविहिन रह्यो। त्यसकारण जनप्रतिनिधिसँग जनताका धेरै चाहना र आंकाक्षा छन्। 

त्यसैले जनताको अपेक्षा अनुसार काम गर्दै आइरहेका छौं। नगरपालिकाले विकास निर्माणको साथसाथै सेवाप्रवाहलाई पनि व्यवस्थित ढंगले अघि बढाइरहेको छ। 

तपाईँ न्यायिक समिति संयोजक हुनुहुन्छ? कति मुद्दा आएका छन्?
निर्वाचित भएर आएसँगै न्यायिक समितिलाई व्यवस्थित ढंगले सञ्चालन गर्दै आइरहेका छौं । न्यायिक समितिमार्फत् जनतालाई स्वच्छ र पारदर्शी ढंगले न्याय दिँदै आइरहेका छौं । न्यायिक समितिमा हालसम्म २८ उजुरी परेका छन्। तीमध्ये ८ मुद्दा मेलमिलापबाटै टुंगाएका छौं । मुद्दा दर्ता भएपछि सम्बन्धित व्यक्तिलाई एक्ला–एक्लै वा सामूहिक रूपमा छलफल गरेर सकभर मेलमिलापबाटै टुंगो लगाउँछौं । यसअघि मैले नगरक्षेत्रमा भएका समस्याको निरूपण गर्दै आइरहेकाले पनि काम गर्न केही अप्ठेरो छैन । नगरपालिकामा कानुनी अधिकृतको व्यवस्था छ । त्यसैले आवश्यक कुरामा कानुनी अधिकृतसँग समन्वय गरेर काम गरिरहेका छौं। 

कस्ता मुद्दा आउने रहेछन् नि?
नगरपालिकामा देवानी मुद्दा मात्रै दर्ता हुन्छन् । फौजदारी मुद्दा त अदालतमा नै पुग्ने गर्छन् । घर–जग्गा किचलो, सम्बन्धविच्छेद, चार किल्ला विवाद, झै–झगडा, कोठा खाली गराई पाउँ, घरधनी र डेरावालबीचको विवादलगायत मुद्दा आउने गर्छन् । अधिकांश मुद्दा मेलमिलापबाटै टुंगाउने प्रयास गर्छाैं । धेरै मुद्दा मध्यस्थकर्तामार्फत नै अघि बढाइरहेका छौं । दुवै पक्षका मान्छेलाई सम्झाईबुझाई गरेर अधिकांश मुद्दा मेलामिलापबाटै समाधान गर्न सफल भएका छौं।

अन्य नगरपालिकामा मेयर र उपमेयरबीच विवाद देखिन्छ, तपार्इँहरूकहाँ कस्तो छ?
एउटै राजनीतिक पार्टीबाट निर्वाचित भएर आएकाले नगरपालिकामा हामीबीच कुनै विवाद छैन । दुवैले सरसल्लाह गरेर कार्यसम्पादन गरिरहेका छौं । संविधानले मेयर र उपमेयरको जिम्मेवारी र दायित्व स्पष्ट किटान गरेको छ । सोही जिम्मेवारी र दायित्व अनुसार कार्यसम्पादन गरिरहेका छौं । त्यसैले हामीबीच कुनै समस्या छैन।

तपाईँको नगर क्षेत्रमा वर्षायाममा डुबानको समस्या देखियो, रोक्ने कस्तो योजना छ? 
वर्षायाममा नगर क्षेत्रका तीन वडामा डुबानको समस्या देखियो । स्थानीय जनताले हनुमन्ते खोला अतिक्रमण गरेर वस्ती बसालेकै कारणले डुबानको समस्या देखिएको हो । नगर कार्यपालिकाको बैठकले डुबान नियन्त्रण गर्न हनुमन्ते खोला फराकिलो पार्ने निर्णय गरेका छौं । खोलाको २० मिटर दायाँ–बायाँ भवन बनाउन नपाउने मापदण्ड लागू गरेका छौं । त्यसको अलावा नगरपालिकाले हनुमन्ते खोला वरपर कोरिडोर बनाउने योजना अघि सारेको छ। 

नगरक्षेत्रमा भइरहेका विकास निर्माण योजनाको अनुगमनकर्ता समेत हुनुहुन्छ, के–के समस्या रहेछन्? 
स्थानीय तहमा निर्वाचित भएर आएसँगै विकास निर्माणको अनुगमनकर्ताको जिम्मेवारी उपप्रमुखमा आएको छ । निर्वाचित भएर आएसँगै विकास निर्माणको अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छु । गत आर्थिक वर्षमा निर्वाचन भएकाले सोचे अनुसारको विकास निर्माण हुन सकेन । त्यसैले चालू आर्थिक वर्षमा अनुगमन तथा निरीक्षणको टिम नै बनाएर विकास निर्माण योजनाको अनुगमन तथा सुपरीवेक्षणलाई प्रथामिकताको साथ अघि बढाइरहेका छौं । पुराना योजनाहरू तोकिएको लक्ष्य अनुसार नै सम्पन्न नहुने समस्या देखिएको छ । ठेक्का प्रक्रिया अघि बढ्ने तर, समयमा नै सम्पन्न नहुने समस्याबाट अधिकांश योजना गुज्रिएका रहेछन् । नगरस्तरीय योजनामा जनताको सहभागिता अत्यन्तै न्यून छ । विकास निर्माणमा २० प्रतिशत उपभोक्ता र ८० प्रतिशत नगरपालिकाले खर्च गर्नुपर्ने प्रावधान छ । तर, उपभोक्ताले २० प्रतिशत रकम पनि खर्च गर्न आनाकानी गरिरहेका छन् । जसको कारणले विकास निर्माणले गति लिन सकिरहेको छैन । जनप्रतिनिधि आएपछि अघि बढाइएका योजनाहरू योजनाबद्ध रूपमा अघि बढिरहेको छ । समयमा नै सम्पन्न गर्न निर्देशन दिइसक्यौं। 

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत वर्ष ५३ करोड रूपैयाँ बजेट विनियोजन गरेका थियौं । गत आवमा वडास्तरीय योजनामा करिव ९७ प्रतिशतभन्दा धेरै बजेट खर्च गर्न सक्यौं । गत आवमा निर्वाचन भएकाले पनि नगरस्तरीय योजनामा अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेनौं । चालू आवको लागि ७६ करोड रूपैयाँँ बजेट विनियोजन गरेका छौं । नगर कार्यपालिकाको बैठकले पाँच लाखभन्दा धेरै रकमका योजना टेन्डर प्रक्रियाबाट सञ्चालन गर्ने निर्णय गरेका छौं । पाँच लाखभन्दा साना योजना उपभोक्ता समितिमार्फत् निर्माण गरिरहेका छौं । वडा तथा नगरस्तरीय योजना उपभोक्ता समितिमार्फत् काम गर्न अप्ठेरो देखिएको छ । त्यसैले टेन्डरमार्फत गर्न लागेका छौं । नगरपालिकाले सडक, ढल, खानेपानी, वडा कार्यालयको भवन निर्माणको लागि मुख्य प्रथामिकतामा राखेर बजेट विनियोजन गरेका छौं।

महिलाको लागि कस्तो योजना अघि सार्नुभएको छ?
नगर क्षेत्रमा रहेका सम्पूर्ण महिलालाई आत्मनिर्भर बनाउँदै स्वरोजगार बनाउने लक्ष्यसहित काम गरिरहेका छौं । नगरपालिका तथा वडा कार्यालयले महिलाहरूको लागि सीप तथा आयआर्जनमूलक तालिम  दिइरहेको छ । गत वर्ष कम्प्युटर, उद्घोषण, सिलाइबुनाई लगायतका तालिम दिएका थियौं । तालिम तालिमको लागि मात्रै नहोस् भन्नेमा निकै समेत छौं । त्यसैले यस वर्षदेखि महिलाहरूको लागि कम्प्युटर, प्लम्बिङ, सिलाइकटाई लगायतका सीपमूलक तालिम सञ्चालन गरेका हौं । अहिले महिलाहरूले जीविकोपार्जनको लागि विभिन्न क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन्। 

नगर कस्तो बनाउँदै हुनुहुन्छ?
सूर्यविनायक नगरलाई समेटेर धार्मिक पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न बृहत गुरुयोजना बनाएर व्यवस्थित गर्ने लक्ष्य राखेका छौं । उक्त गुरुयोजनाको लागि ३० करोड रूपैयाँ बजेट लाग्ने अनुमान गरेका छौं । अहिले बृहत् गुरुयोजनाको निर्माणको तयारीमा छन् । नगरपालिकाले प्रत्येक वडामा पार्क, ज्येष्ठ नागरिक दिवा सेवा, खेलुकद मैदान लगायतका योजना अघि सारेको छ । हनुमन्ते खोलालाई फराकिलो बनाएर हनुमन्ते करिडोरका लागि संघीय सरकारबाट ८१ करोड रूपैयाँ बजेट विनियोजन भएको छ । उक्त करिडोर छिट्टै कार्यान्वयनमा ल्याउनेछौं । अबको साढे तीन वर्षमा सडक, खानेपानी ढल लगायतका जनताका आधारभूत आवश्यकता पूरा गर्न काम गरिरहेका छौं। 

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १९ आश्विन २०७५ ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App