‘अहँ, अब म धर्तीको बोझ बन्दिनँ । म मर्छु।’
अचानक कछुवाले यस्तो निर्णय ग-यो र मर्न भनेर हिँड्यो।
जङ्गलको बीचमा अरु जनावर कोही फुत्रुकफुत्रुक नाच्दै थिए । कोही सिकार खोज्दै थिए । कोही गीत गाउँदै थिए । कोही हाँस्दै थिए । तर कछुवा भने मर्न हिँड्यो।
ऊ मनमा अनेक कुरा खेलाउन थाल्यो, ‘म अल्छी रे । ढिला हिँड्ने रे । काम न काजको रे । यस्तो भएपछि बाँच्नुको के अर्थ रह्यो र?’
‘म पहाडबाट ढुङ्गामा खसेर मर्छु ।’ यति भनी ऊ अग्लो ठाउँमा चढ्यो । माथि पुगेपछि उसले तल हे¥यो, तल त एउटा ठूलो ढुङ्गा थियो । अब यहीँबाट हाम फाल्नुपर्छ भन्ने सोच्दै ऊ त्यहाँबाट हामफाल्यो।
‘डङ्रङ्ग !’ ऊ ढुङ्गामा बज्रियो । तर जिउ पछाडिको कडा खबटाले गर्दा उसलाई केही भएन।
‘यति माथिबाट खस्दा पनि किन काल नआएको ?’ ऊ साह्रै भुत्भुतायो।
‘खसेर नमर्दा के भयो र ? अब म सडकको बीचमा हिँड्छु । गाडीले किच्चिएर मर्छु ।’ यस्तै सोचेर ऊ जङ्गलबीचको सडकमा एक्लै हिँड्न थाल्यो।
परबाट एउटा जीप आइरहेको थियो । त्यो नजिकै आउँदै थियो । बीच बाटोमा हिँडिरहेको कछुवालाई देखेर जीपको ड्राइभरले टिँ टिँ हर्न बजायो । तर कछुवाले बाटो छाड्दै छाडेन । ऊ झन बीचबाट हिँड्न थाल्यो।
‘हैन यो कछुवालाई ज्यान प्यारो छैन ? किन बीचबाट हिँडिरहेको हो ?’ ड्राइभरले मनमनै भन्यो।
जीप नजिकै पुग्दा पनि कछुवाले बाटो नछाडेपछि जीप छेउ च्यापेर हुईंकियो र अगाडि बढ्यो।
‘हैन, यो जीपले पनि मलाई किन हेपेको ?’ कछुवा करायो । अब त बाटो छाड्दै नछाड्ने भन्दै कहिले बीचमा त कहिले छेउमा हिँड्न थाल्यो।
परबाट एउटा ट्रक आइरहेको थियो । ‘अब भने यसबाट किच्चिएर मर्छु ।’ कछुवाले मनमनै सोच्यो।
ट्रक नजिकै आइपुग्यो । त्यसले पनि प्वाँ गरी लामो हर्न बजायो । तर कछुवाले बाटो छोडेन।
ट्रक छेउ लागेर जान खोज्यो तर बाटो नै पुगेन।
जति गरेपनि नभएपछि ट्रकको ड्राइभरलाई पनि झोँक चल्यो । उसले ट्रकको झ्यालबाट टाउको निकाल्दै हप्कायो, ‘ए कछुवा ! बाटो छोड् । मलाई हतार छ।’
‘म मर्छु । मलाई किचेर मारेपछि मात्र अगाडि जानुस् ।’ कछुवाले भन्यो।
कछुवाको कुरा सुनेर ड्राइभर छक्क प-यो र भन्यो, ‘हैन यो त कस्तो कछुवा रहेछ । अरु भने ज्यान जोगाउन भाग्छ तर यो त मर्छु पो भन्छ । ठट्टा नगर न । मलाई ढिलो भयो के।’
कछुवाले भन्यो, ‘यो ठट्टा होइन । म मर्छु । म धर्तीको बोझ हुँ । मलाई नमारीकन तपाईं अगाडि बढ्न पाउनुहुन्न।’
अब भने ड्राइभरलाई रिस उठ्यो र भन्यो, ‘तिमीले मलाई मूर्ख सम्झेको ? के म त्यति मूर्ख छु र ? तिमीलाई किचेर मार्दा मलाई निकुञ्जको प्रहरीले समात्दैन ? के मलाई जेल जानु छ र ? धत् छेउ लाग्।’
यही मौकामा कछुवा छेउ लाग्यो र ट्रक हुईंकिएर अगाडि बढ्यो । कछुवा भने ट्वाँ परेर हेर्न लाग्यो।
‘मर्न पनि गाह्रो रहेछ । मर्छु भन्दा पनि मर्न नपाइने । अब के गर्ने होला ?’ कछुवाले मनमनै असन्तुष्टि पोख्यो । तैपनि ऊ जसरी भएपनि मर्छु भनेर हिँड्यो।
जाँदाजाँदै बाटामा उसले एउटा बाघ देख्यो।
‘बरु बाघले खाए पनि मरिन्थ्यो ।’ मनमनै सोच्यो र अगाडि बढ्यो।
बाघ सिकार खोज्दै थियो । त्यसलाई भोक लागेको थियो । त्यही बेला आफ्नो अगाडि कछुवा देख्यो।
‘बाघ दाइ, मलाई खानुस् ।’ कछुवाले भन्यो।
बाघ पछाडि स-यो।
‘धत् यस्तो सा-हो चीज पनि खान्छ ? न एकछाक पुग्छ ? खान्न जा ।’ बाघले भन्यो।
तर कछुवा मानेन, ऊ अगाडि बढ्यो । आफूलाई खाइदिन बाघसामू बिन्ती गरिरह्यो । तर बाघले उसलाई खाएन, बरु बाघ त्यहाँबाट भाग्यो।
‘धत्, मेरो कस्तोे कर्म । बाघले समेत मलाई बेवास्ता ग¥यो ।’ ऊ झन चिन्तित भयो र फेरि चिन्तित भएर अगाडि बढ्यो ।
जाँदाजाँदै एउटा खरायोसँग भेट भयो।
‘ओहो, कछुवा ! कहाँ जान लागेको नि ?’ खरायोले उत्सुक हुँदै सोध्यो।
‘मर्न हिँडेको ।’ उसले जवाफ दियो।
खरायो झन आश्चर्यचकित भयो र सोध्यो, ‘किन?’
‘मलाई सबैले अल्छी भन्छन् । ढिलो हिँड्ने भन्छन् । त्यसैले बाँच्न मन लागेन । त्यसैले म मर्न हिँडेको ।’ कछुवाले जवाफ दियो । अनि उसले खरायोलाई सोध्यो, ‘अनि तिमी चाहिँ कहाँ जान लागेको नि?’
‘म पनि मर्न हिँडेको ।’ खरायोले भन्यो।
कछुवा छक्क प-यो र सोध्यो, ‘अनि तिमी चाहिँ किन मर्न हिँडेको नि?’
‘के गर्नु, म जति चलाख र छरितो भएपनि मलाई लखेटीलखेटी मार्छन् । मान्छेले पनि मेरै सिकार गर्छन् । निस्फिक्री हिँड्न पनि पाइन्न । त्यसैले अब बाँच्न मन लागेन । बरु आफैं मर्छु भनी हिँडेको ।’ खरायोले दुःखी हुँदै भन्यो।
खरायोको यो कुरा सुनेर कछुवा झन् जल्ल प-यो । ‘हामी दुवै अभागी छौँ । बाँच्नुभन्दा मर्न नै जाति । अब सँगै मर्न जाऔँ ।’ कछुवाले भन्यो।
‘हुन्छ जाऔँ ।’ खरायोले भन्यो, ‘केही नखाई भोकै रहेर भएपनि मर्नुपर्छ । कसैले सिकार बनाए त झन राम्रो हुन्थ्यो।’
उनीहरू सँगै मर्न भनेर हिँडे । उनीहरू एकसुरले हिँडिरहेका थिए । एक ठाउँमा एउटा फट्याङ्ग्रो गीत गाउँदै नाचिरहेको देखे । फट्याङ्ग्रो गीत गाउँदै थियो, ‘जीवन राम्रो छ, जीवन राम्रो छ।’
यो देखेर खरायो र कछुवा अचम्ममा परे । त्यसपछि कछुवाले सोध्यो, ‘तिमी किन गीत गाउँदै नाचिरहेको?’
‘एकबारको जीवनमा रमाइलो गर्नुपर्छ ।’ फट्याङ्ग्रोले नाच्दै जवाफ दियो।
‘तिम्रा त लामा खुट्टा छन् । पखेटा छन् । उड्न पनि सक्छौ, उफ्रन पनि सक्छौ । अनि जीवन रमाइलो त भइहाल्छ नि । ’ खरायोले भन्यो।
‘त्यस्तो होइन । मलाई पनि त चराले खान्छ । भ्यागुताले खान्छ । छेपाराले खान्छ । तर पनि मरी लानु के छ र ? एकपटक पाएको जीवन पूरै जिउनुपर्छ । खुसी हुनुपर्छ । त्यसैले जीवन राम्रो छ ।’ यति भनेर फेरि ऊ पखेटा फरफराउँदै नाच्न थाल्यो । फट्याङ्गाको गीत पनि मिठो सुनियो।
फट्याङ्ग्राको कुरा सुनेपछि खरायो र कछुवा दुवै गम्भीर भए । तर फट्याङ्ग्रो भने मिठो स्वरमा गाउन थाल्यो, ‘जीवन राम्रो छ । जीवन राम्रो छ।’
प्रकाशित: १३ आश्विन २०७५ ०३:४८ शनिबार