coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

राष्ट्रपतिले जात्रा अवलोकन गर्ने

काठमाडौं चर्चित इन्द्रजात्राले वसन्तपुर क्षेत्रमा रौनक थपेको छ । जात्रा सुरु भएयता यस क्षेत्रमा अवलोकनकर्ताको भीड लाग्ने गरेको छ । जात्रा हेर्न पर्यटक पनि आउने गरेका छन्।

जात्रा शुक्रबार सुरु भएको हो । जात्राको चौथो दिन राष्ट्रपतिले अवलोकन गर्ने परम्परा छ । सोही अनुसार सोमबार ४ बजे कुमारी, गणेश र भैरवको रथारोहण हुनेछ । सोही समय राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार आउने कार्यक्रम छ । राष्ट्रपति आएपछि बैठकमा गणेश, कुमारी र भैरवको संकल्प पूजा गराइने छ । त्योलगत्तै राष्ट्रले रथमा पूजा गर्नेछिन् । पूजा सकिएपछि त्रिलाखे आजु, श्रीःहलचोक आकास भैरव र पुलुकिसीको नाच देखाइने छ । नाच सकिएपछि गद्दी बैठक अघिबाट रथलाई तानेर जैसीदेवल, लगनटोल, ब्रह्म टोल, कोहिटी, भीमसेनथान हुँदै पुनः वसन्तपुर डबली ल्याइने छ।

जात्राको चौथो दिन राष्ट्रपतिले अवलोकन गर्ने परम्परा छ । सोही अनुसार सोमबार ४ बजे कुमारी, गणेश र भैरवको रथारोहण हुनेछ।

जात्रा सुरु भएको पहिलो दिन आठ ठाउँमा इन्द्र राखिएको थियो । लिंगो उठाएपछि इन्द्रलाई विभिन्न ठाउँमा राख्दै जात्रा मनाउने परम्परा छ । सोही अनुसार इन्द्रलाई ठाउँ–ठाउँमा सारिएको थियो । जात्रा सुरू भएको पहिलो दिनदेखि श्वेत भैरव, लाखे र पुलुकिसीको जात्रा निकालिएको थियो । पहिलो दिन नै कोहिटी, भीमसेनस्थान, मरुटोल, दमाई टोल, नरदेवी, क्षेत्रपाटी, ठहिटीलगायत ठाउँमा काँचो पालामा दियो बालिएको थियो । दियो बालिसकेपछि जिवित कुमारी, गणेश र भैरवलाई तलेजुमा राखेर होम पूजा गरेपछि जात्रा प्रारम्भ भएको मानिन्छ।

इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्यका अनुसार यो जात्राभित्र पनि अनेकौं जात्रा र नाचहरू सञ्चालन भइरहेका छन् । ‘उपत्यकामा बस्नेले इन्द्रजात्राको भरपुर मनोरञ्जन लिन सक्छन्,’ उनले भने, ‘जात्राको बेला हरेक दिन फरक–फरक नाच देखाउने चलन छ ।’ जात्रा सुरू भएपछि अन्तिम दिनसम्म २९ गुठीले जात्रा व्यवस्थापनको काम गर्छन् । ती गुठीको काम सडक मर्मत, नाच तयारी, आर्थिक स्रोत संकलन, गुठी व्यवस्थापन, शृंगार तयारी, रथ निर्माणलगायत हो।

लाखे नाच संरक्षण समिति अध्यक्ष राजिव रञ्जितकारका अनुसार जात्रा सुरु भएसँगै विभिन्न देवी–देवतालाई आठ दिनसम्म किँलागलस्थित हलचोक आकाश भैरव गुठीमा राखिन्छ । जात्रा नसकिएसम्म देवी–देवतालाई त्यहीँ राखेर पूजा गर्ने प्रचलन छ । जात्राको पहिलो दिनदेखि अन्तिम दिनसम्म विभिन्न नाच, रथयात्रा र जात्रा प्रस्तुत गर्ने गरिन्छ ।

जात्रा सुरु भएको तेस्रो र चौथो दिन कुमारी र भैरवको रथयात्रा गरिन्छ । रथयात्राको मुख्य रुट वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत हो। १२ गते लिंगो ढालेपछि जात्रा विधिवतरूपमा समाप्त हुनेछ । किंवदन्ती अनुसार कुनै बेला स्वर्ग लोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरा देवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानवरूप धारण गरी पृथ्वीमा आएका थिए।

उनी काठमाडौं आइपुगे । एउटा बगैँचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल चोर्न पसे । बगैँचामा पसेको चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत् इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए । छोरो काठमाडौंमा बाँधिएको पत्तो पाएपछि इन्द्रकी आमा आई छोराको बदलामा कुहिरो दिने वाचा गरी उनलाई फर्काएर लगिन् । त्यसैको सम्झनामा इन्द्रजात्रा सुरु गरिएको हो । यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले रहँदै आएको छ।

प्रकाशित: ८ आश्विन २०७५ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App