३० वैशाख २०७८ बिहीबार
अन्य

बालुवामा कोरिएका अक्षर

जीवन प्रकृतिको अंश । प्रकृति जनित विशिष्टताको गठजोडबाट उब्जिनु र प्रकृतिकै विशालतामा विलय भएर एक दिन सिद्धिनु जीवनको विशेषता । लाग्छ, प्रकृतिको सामीप्यमा रम्नेहरूको जीवन जति शान्त, सुशील र ऊर्जाशील हुन्छ, त्यति कृत्रिमताका पछि कुद्नेहरूको हुन्न । जीवनलाई यन्त्रवत् गुजार्ने औसत मान्छेहरू अन्ततोगत्वा अप्राप्तिबोधको सिकार भएको देखेको छु । प्रकृतिको लहरलहरमा जीवनको लय गुन्जिरहेको हुन्छ । समाहित हुने सन्दर्भ मात्र आफूमा भर पर्ने रहेछ।

जतिबेला टुकुटुकु हिँड्न र टुटेफुटेका बोली बोल्न सुरू गरेँ, गाउँ र बेँसीबीच रहेको प्राकृतिक परिवेश मैले पढ्ने पहिलो पुस्तक बन्यो । कलकल पवित्रता बग्ने खोला, हरियो मुस्कान छर्ने लतालहरा, बुट्यान र बनेली, चराचुरुंगीका मधुर पाश्र्वसंगीत, नागबेली गोरेटा । यिनै त भेटिन्छन् प्रकृतिका खुला पुस्तकका पृष्ठहरूमा । जगतप्रतिको जिज्ञासाले भरिएको बाल्यकालमा जे बुझियो, जति बुझियो प्राकृतिक बुझाइ बुझियो । अहिले पनि सोच्ने गर्छु, प्रकृतिसदृश पुस्तक अरू छैन होला।

त्यस दिन मेरा अक्षरले उनको मनमा कस्तो आलोक पसायो कुन्नि, उनको मन एकाएक बदलिएछ । घरमा गएर आफ्ना बुबालाई दीपेन्द्रले यसो भने, भोलिदेखि नै पढ्न जान्छु भनेछन् । चार कक्षा पढ्ने उमेरसम्म स्कुल जान नमानेर अटेरी गर्ने छोरो पढ्न जान जुरुकजुरुक परेको देख्दा उनका आमाबुबा पनि खुसीले दंगदास भए । नभन्दै भोलि पल्टदेखि नै नियमित पढ्न जान थालेको देखेँ उनलाई।

बाल्यकालीन सम्झनाका एल्बम पल्टाउँदै जाँदा अनगिन्ती दृश्यहरू सजीव भएर बसेका भेटिन्छन् । ती दृश्यहरूमध्येकै एक हो खोलासँग जोडिएको अमिट तस्बिर । त्यहाँ खोलासँगै अभेद्य भएर देखिन्छन्, दह, ढुंगा, बगर र बालुवा । खोलाका यी यादगार अवयवहरूसँग गाँसिएर आउँछन् एकएक अविस्मृत पाटो।

धादिङको ताल्ती, जहाँ मैले पहिलो चोटि आँखा उघारेँ । यो शब्द नै पानीसँग सम्बन्धित भएर बनेको छ । चेपाङ जातिको पुरानो थातथलो पनि हो त्यो ठाउँ । त्यहाँका पाखापखेरा खनीखोस्री प्रकृतिसित अत्यन्त नजिकिएर बसेका चेपाङ जातिको आफ्नै भाषा छ । चेपाङ भाषामा पानीलाई ‘ती’ भनिन्छ र त्यहाँ ठाउँठाउँमा सानासाना पानीका तालहरू देखिने हुँदा त्यो ठाउँको नामकरण ताल्ती भएको रहेछ । आफ्नै परिचय र मौलिकता बोकेको ताल्तीभित्र पर्ने विभिन्न गाउँहरूमध्ये एउटा गाउँको नाम नै थरीगाउँ हो । हो, यही गाउँको लय मेरो जीवनको प्रारम्भिक पृष्ठमा गुन्जिएर बसेको छ । ताल्तीको धमनीजस्ता देखिने झिर्ती र मलेखु खोला मेरो जन्म गाउँको नजिकै भएर आफ्ना सुख–दुःखका संगीत सुसेल्दै एकतमासले बगिराखेका हुन्छन् । म जहाँ पुगे पनि यी दुई खोलाको ध्वनि मेरो स्मृतिको कुनै छेउमा अटुट रूपमा सुसाइरहेझैँ लाग्छ।

मैले आधारभूत तहसम्म औपचारिक अध्ययन गरेको पीपलभञ्ज्याङ विद्यालय जाँदा र फर्किदा सधैँ झिर्ती खोला तर्नुपथ्र्यो भने मलेखु खोलाको सुसाइ नजिकैबाट कानलाई स्पर्श गर्न आइपुग्थ्यो । घरमाथि गाउँमा र खेत तल बेँसीमा, जाँदा–आउँदा खोला नै तर्नुपर्ने । हिउँद–बर्खाका कारण खोलावरिपरि देखिने दृश्यहरू परिवर्तन भइरहेको देख्थेँ । कहिले उराठलाग्दो शुष्क बगर त कहिले हरिया भुइँघास र काँसघारीले छोपिन लागेजस्तो देखिने । त्यसले समयको परिवर्तनशीलताको पाठ पढाएको जस्तो महसुस हुन्थ्यो।

बगरमा ठुल्ठूला ढुंगा भेट्दा हामी केटाकेटीहरू त्यसमाथि चढेर कुन्नि के–के विजय गरेझैँ गौरव गथ्र्यों । ढुंगामाथि बसेर रमाउँदै गफिन्थ्यौ, त्यहीँबाट वरिपरिका दृश्यावलोकन गथ्र्यौं । कहिलेकाहीँ गाईबस्तु चराउने गोठालाहरू भेटिन्थे र ढुंगामाथि बसेर नै उनीहरूका अनेक गफ सुन्न पाइन्थ्यो । गोठालाहरू कोहीकोही अश्लील र उटपट्याङ गफ गर्ने पनि भेटिन्थे, खुब ठट्टा गर्नुपथ्र्यो तिनलाई र मज्जाले हसाउँथे । उनीहरूका रसिक स्वभाव वर्णन गरीसाध्य हुँदैनथ्यो । कोही पुरानापुराना कुरा गर्थे, देखेभोगेका विविध प्रसंग सुनाउँथे । ती सबै उमेरले अग्रज नै हुन्थे । जीवनको भोगाइ नै उनीहरूको पढाइ हुन्थ्यो र आफ्नो अनुभव नै उनीहरूको बुझाइ । जेहोस् भलीभाँति अनौपचारिक शिक्षा भने पाएकै हौँ, उनीहरूबाट हामी त्यस बेलाका केटाकेटीहरूले । गोठाला, खेताला भेट्ने क्रममा भेटिन्थेँ कोहीचाहिँ मीठो स्वर निकालेर गीत गाउने, मुरली–बाँसुरी बजाएर सुरिलो धुन निकाल्ने र पात बजाएर रनबन रमाइलो पार्ने पनि । किसिम–किसिमबाट हुदै मनोरञ्जन मिल्थ्यो हामीलाई।

हिउँदका फुर्सदिला दिनहरूमा फरक दृश्य देख्थेँ म खोलामा । माछा मार्नेका ताँती झुम्दै हुन्थे त्यहाँ । उनीहरू स्याउला, ढुंगा र माटोको सहायताले खोलाका भंगालाहरू थुनेर अर्कैतिर फर्काइदिन्थे । सिप्रिङ थाप्थे तल ठाउँठाउँमा र त्यसमा माछा पार्थे । कति माछा त हातैले पनि समात्थे । मारेका माछा कम्मरमा बाँधिराखेको फुर्लुङमा भर्थे अनि मक्ख परेझैँ देखिन्थे । यसरी माछा मारेको दृश्य देख्दाचाहिँ मलाई कहिल्यै रमाइलो लागेन, मन कुँडिन्थ्यो भित्रभित्रै।

खोलाको सङ्लो, कञ्चन पानीमा कुलकुलाउँदै माछाहरू खेलेको हेर्न मनपर्छ अझै मलाई । त्यस बेला पनि सानाठूला माछा लहरलहरमा पौडिँदै, तलमाथि, अघिपछि गर्दै खेलिरहुन् सधैँ, ती नमारिऊन् भन्ने चाहन्थेँ । पहाडी खोलामा नाच्ने कत्ले, असला, बुदुना, काप्रा, हिलेजस्ता माछाहरू त्यहीँका खोलाहरूमा मैले चिनेको हुँ सानै छँदा । अनेक थरिका माछाहरूले खोलाको दहमा देखाउने कलात्मक भंगिमाले म मोहित हुन्थेँ र निकै बेर घोत्लिएर हेर्ने गर्थेँ । मान्छेले आफ्नो जिब्राको क्षणिक स्वाद र संकीर्ण सन्तुष्टिका लागि अन्य जीवको अस्तित्वमाथि देखाउने कुनै पनि क्रुरता म रुचाउँदिनँ । त्यसै कारण माछा मार्नेहरू खोलामा छपछपाएको दृश्य मेरो लागि प्रीतिकर हुँदैनथ्यो।

त्यति बेला साथीसंगीको लहैलहैमा खोलातिर धाउनुको अर्को एउटा अभीष्ट हुन्थ्यो– पौडी खेल्नु । खोला गहिरिएर बगेको ठाउँमा तलतल केही ढुंगाहरू थुपारेर थुनेजस्तो गर्दा  रहरलाग्दो दह बन्थ्यो । त्यस्ता दहमा झ्वाम्म हाम फालेर अघाउन्जेल पौडी खेल्दा छुट्टै सुखानुभूतिको तरंग शरीरमा फैलिएजस्तो हुने । तिनै दहहरूमा आफ्नै प्रकारले केही पौडी खेल्ने कला सिकियो पनि । उत्तानो खियाउने, बाँकटे हानेर छिटोछिटो पौडिने, भ्यागुते शैलीमा पौडिनेजस्ता अनेक तरिकाहरू देखासिकीमै खेल्दै जानियो । विद्यालयबाट फर्कँदा बाटोमा पर्ने खोलाको दहमा पौडी खेलेर रमाउँदै घर फर्किने गथ्र्यौं हामी । त्यसबेला छुट्टै उमंगको सञ्चार भएझैँ लाग्थ्यो । त्यति बेलाकै यादले अहिले पनि कतै घुम्दा–डुल्दा सङ्लो पानी बगेको खोला र दहहरू देख्नु हुन्न मलाई, डुबुल्की मारीहालौँझैँ लाग्छ । तर, त्यस्तो संयोग कहाँ जुर्नु सजिलै अनि कहाँ भेट्नु ती मन मिल्ले बालसखाका जमात!

मेरो स्मृतिमा सधैँसधैँ कलकल बगिराख्ने ती प्रिय ग्रामीण खोलाहरूले भेलबाढीका समयमा देखाउने रौद्र रूपसँग भने मेरो सधैँ नै गुनासो रह्यो । मेरै आँखाअघिल्तिर कत्ति गाउँलेका गरी खाने गैरी खेत बगरमा परिणत गरिदिने पनि तिनै खोला हुन् । धेरै झरी परेका बखत पहाडको माथिल्ला भागमा कहिलेकाहीँ पहिरो जान्थ्यो, खोलामा डरलाग्दो भेलबाढी बग्थ्यो र खोला किनारका खेतहरू ढुंगैढुंगाले भरिन्थे । लहलह अन्नबाली झुल्ने खेतलाई बगर बनाइदिएपछि जग्गाधनीको मन बैरागिनु स्वाभाविकै हो । केही गाउँलेहरू तराईतिर बसाइँ नै सरे उर्वर सम्भावना खोज्दै । बसाइँ सर्नेको ताँतीमा त्यहाँका आदिबासी चेपाङ समुदायका मान्छेको अनुहार भने देख्दिनँ थिएँ म । प्रकृतिको जस्तोसुकै वितण्डा सहेर पनि उनीहरू अझै आफ्नो पैतृक भूमिमै रमेर बसेका छन् । जस्तोसुकै प्रतिकूलतासँग पनि पौँठजोरी खेल्न अभ्यस्त देखिन्छन् उनीहरू । दार्लाङ, चोतेस, सिमथली, घैराङ, मासखर्कजस्ता गाउँहरू चेपाङबस्ती भएका गाउँ हुन् । चेपाङ जातिबारे समाजशास्त्रीय अध्ययन गर्न चाहनेहरूका लागि पनि यी गाउँहरू उपयुक्त गन्तव्य बन्न सक्छन्।

प्रकृतिलाई पढ्नुको मज्जामा होला कहिलेकाहीँ हाम्रो बालसँगातीको समूह खोला किनारतिर खेल्दै, घुम्दै हिँड्थ्यो । बगरका छेउछाउ, कुनाकानीतिर कतैकतै ऐँसेलु र बयरका झाङ पनि भेटिन्थे । मौसमअनुसार ती फुलेका र फलेका देखेर रमाइलो लाग्थ्यो । त्यसको सुन्दरतामा लोभिँदै कपाकप पाकेका दानाको आस्वादन गर्दाको आनन्द अर्कै हुन्थ्यो । बाटोको छेउछाउतिर लटरम्मै फलेका आँप र अम्बाका रूखहरू पनि हाम्रै प्रतीक्षामा रहेझैँ लाग्थे । उत्साहित हुँदै काँचाकचिला, पाकेका जे भेटे पनि चपाइदिन्थ्यौँ हामी । छुट्टै स्वाद र सन्तुष्टिको ढ्याउ निस्कन्थ्यो त्यहाँ।

हामी केटाकेटीहरू खोलाछेउ मिहिन बालुवामा आफ्नो कला देखाउन होडबाजी पनि गथ्र्याैं कहिलेकाहीँ । चोरी औँला बालुवामाथि रगडेर आफूले जाने जति राम्रा अक्षरहरू लेख्दै देखाउँथ्यौँ एकले अर्कालाई । कसैले चित्रहरू पनि कोर्थे बालुवामाथि नै । अहिले सम्झिँदा लाग्छ, सिर्जनशीलता र मनोरञ्जन दुवैको संगम बनेको रहेछ त्यति बेलाको हाम्रो त्यस्तो खेल।

गाईबस्तुका चरण क्षेत्र पनि बन्थे घाँस उम्रेका बेला बगरका फराकिला मैदानहरू । गाईबस्तुका हुल कतै चर्दै, कतै डुक्राउँदै र कतै उग्राउँदै गरेको रमाइलो परिदृश्य चलायमान हुन्थ्यो त्यहाँ । खेतीपाती गरेर गुजारा चलाउने सबैजसो गाउँलेका गाईबस्तु नहुने कुरै भएन । हाम्रो गोठ पनि दुई हल गोरु र केही गाईहरूले भरिभराउ नै थिए त्यति बेला । गोठालो जान र परेको बेला खेत जोत्न एक जना तलबी कामदार समेत हाम्रो घरमा थिए । हामी तिनलाई ‘कास्दाइ’ भन्थ्यौँ । विद्यालय बिदा भएको दिन मेरा जेठा दाइ ती कास्दाइलाई सहयोग गर्न रहरैले गोठालो जान्थे, मचाहिँ दाइलाई पछ्याएर गोठाला समूहको रौनक हेर्न मिसिन्थेँ।

एक दिन, मभन्दा दस दिन जेठा नजिकैको अर्को गाउँका सीताराम पनि भेटिए गोठालो जाँदा । हामी एउटै वंशका थियौँ । तर, वंशक्रमको आधारभन्दा पनि साथीसाथीकै व्यवहार प्यारो थियो हामीबीच । त्यति बेला म चार कक्षामा पढ्थेँ । तर, उनी विद्यालयमा भर्ना नै भएका थिएनन्, ‘क’ पनि चिन्दैन थिए । उनका अभिभावकले सक्दो प्रयास गर्दा पनि उनी टेरपुच्छर नलगाउने विद्यालय जान । अरू काम गर्न माहिर, पढ्न चाहिँ पटक्कै मन नगर्ने केटो भनेर चिनिँदै थिए उनी गाउँमा । उनी भन्थे, ‘म गोठालो जान्छु, अरू काम गर्छु । तर, पढ्नचाहिँ मरिगए जान्नँ।’

उनको नपढ्ने जिद्दीले उनका आमाबुबा चिन्तित थिए नै । त्यस दिन बगरको भेटमा मैले खोलाछेउको नरम बालुवामा चार कक्षामा पढेका कुरा लेखेको र चित्र कोरेको चाहिँ छक्क परेर हेरे उनले । मैले अनायासै उनको नाम लेखेँ बालुवामा र भनेँ, ‘हेर सीताराम तिम्रो नाम लेख्दा यस्तो देखिन्छ।’

आफ्नै उमेरको साथीले त्यसरी आफ्नो नाम लेखेर देखाउँदा उनी उत्साहित देखिए । उनलाई आफ्नो नाम आफैँले लेख्न चासो जगाएँ र मैले लेखेको हेरेर अन्सारका भरमा त्यस्तैत्यस्तै लेखे उनले।

‘नपढ्दा त तिमी यति राम्रो अक्षर लेख्छौ,’ मैले उनलाई भनेँ, ‘पढ्यौ भने त तिमीले मलाई पनि जित्छौ जस्तो लाग्यो ।’  त्यस दिन मेरा अक्षरले उनको मनमा कस्तो आलोक पसायो कुन्नि, उनको मन एकाएक बदलिएछ । मेरो कुराले उनी हौसिनुसम्म हौसिएछन् । घरमा गएर आफ्ना बुबालाई दीपेन्द्रले यसो भने, भोलिदेखि नै पढ्न जान्छु अब भनेछन् । चार कक्षा पढ्ने उमेरसम्म स्कुल जान नमानेर अटेरी गर्ने छोरो पढ्न जान जुरुकजुरुक परेको देख्दा उनका आमाबुबा पनि खुसीले दंगदास भए । नभन्दै भोलि पल्टदेखि नै नियमित पढ्न जान थालेको देखेँ उनलाई।

मैले खोला किनारको बालुवामा कोरेका अक्षरले नै ती साथीको जीवन–दर्शन बदलियो । विद्यालयमा पाइलै टेक्न नचाहने उनी चाख लिएर खुरुखुरु पढ्ने भए । उनको पढाइको नजिता प्रत्येक वर्ष राम्रो आउन थाल्यो । कक्षामा कहिले प्रथम, कहिले द्वितीय हुँदै कक्षोन्नति हुँदै गएको उनको खबर सुन्न पाइन्थ्यो । खुसी लाग्थ्यो, उनको प्रगति देख्दा।

मिहिनेतको फल राम्रै निस्कन्छ । उनले राम्रोसँग विद्यालय शिक्षा पूरा गरे । उच्च शिक्षा अध्ययन गर्दागर्दै वैदेशिक रोजगारीतिर लागेछन् । केही आर्थिक जोगाड भयो होला । अहिले उनी धादिङबाट बसाइँ सरेर चितवन पुगेका छन् । गृहस्थीमा राम्रैसँग जमेका छन्।

गत वर्ष काम विशेषले म चितवन पुग्दा उनको घर पनि पसेको थिएँ । उनी घरबाहिर निस्केका बेला परेछ, उनको परिवारका अन्य सदस्यसँग मात्र भेट भयो । उनका वृद्ध आमा पनि भेटिनुभयो घरमा । कुरा गर्दै जाँदा उहाँले तीन दशकअघि बालुवामा कोरिएका अक्षरको प्रसंग पनि खुसी हुँदै सम्झना गर्नुभयो । मलाई लाग्यो, ती बालुवामा कोरिएका अक्षरहरूहरूको शक्ति कति धेरै रहेछ, एउटा मान्छेको जीवन–दर्शन नै बदलिदिन सक्यो र उनको जीवनलाई अर्कै मोडबाट अघि बढाइदियो।

अक्षर बालुवामा नै लेखिएका किन नहुन्, त्यहाँ जीवन बदल्ने तागत हुँदो रहेछ । धन्य अक्षरको आलोक!

प्रकाशित: ६ आश्विन २०७५ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?