२० असार २०७७ शनिबार
अन्य

बाग्मतीको मुहानै फोहोर

सरकारको तर्फबाट बाग्मतीको नाममा अहिलेसम्म ६ अर्ब बढी रकम खर्चिसकेको छ । यस अलावा नागरिक तहबाट पनि प्रत्येक शनिबार सफाइ कार्यक्रम हुने गर्छ । तर, बाग्मतीको रूप भने धमिलोबाट कलकल हुन सकेको छैन।

गोकर्ण–गुह्येश्वरी–सिनामंगलसम्म पछिल्लो समयमा दाताको सहयोगमा दुवैतिर बाल लगाएर बाग्मतीलाई सुन्दर बनाइँदैछ।

नदीको दुवैतिर करिडोर सडक पनि बनाइएको छ । सडकले सर्वसाधारणलाई सुविधा थपेको छ, बाग्मतीको रूप भने परिर्वतन ल्याउन सकेको छैन । लेदोयुक्त दुर्गन्धित पानी बगिरहेको दृश्य देखिन्छ । ह्वासह्वासी गन्हाउने दुर्गन्ध समेत फैलिरहेको पाइन्छ । यसको मुख्य कारण हो– सरकारले खर्चेको अर्बौ रकम र नागरिकले वर्षौदेखि सञ्चालन गरेको सफाइ अभियान मुहानसम्म नपुग्नु।

बाग्मतीको नाममा अहिलेसम्म भएका काम तथा अभियान गोकर्ण मन्दिरभन्दा माथि पुग्न सकेको छैनन् । गोकर्णेश्वर भन्दा तल अभियान चालिने, पूर्वाधारमा लगानी गरिने र त्यसमाथि बेवास्ता गर्ने कारणले गर्दा बाग्मती फोहोर बनिरहेको अड्कलबाजी स्थानीय गर्छन्।

‘सफाइ अभियान भनेर गोकर्णभन्दा तलतिर अटिनअटी मान्छे खोलामा थुप्रिन्छ, पूर्वाधार बनाउने भनेर पनि गोकर्ण भन्दा तलै मात्र सरकार केन्द्रित हुन्छ,’ गोकर्णका स्थानीय ललित श्रेष्ठले भने, ‘गोकर्णबाट माथि भने केही कामै गरिन्न, अनि कसरी सफा हुन्छ बाग्मती?’

बाग्मतीमा कलकल पानी बगाउने भनेर गोकर्ण तल सफाइ र पूर्वाधार निर्माण भइरहेको छ। तर, गोकर्णबाट सुन्दरीजलसम्मको बाग्मतीमा भने ढलको पाइप समेत छैन। स्थानीय ढल सोझै नदीमा मिसाइन्छ। सरकार निकायको समेत ढल बाग्मतीमा मिसाइएको छ।

गोकर्ण–सुन्दरीजलको दूरी करिब तीन किलोमिटर छ । यो क्षेत्रमा क्रमिक रूपमा बस्ती बढिरहेको छ । ती बस्तीबाट आउने ढल भने सिधै बाग्मतीमा मिसाइन्छ । बाग्मती शिवपुरी जंगलको बागद्वारबाट बगेर आउँछ । बाग्मतीले सुन्दरीजलबाट बस्ती भेट्छ । त्यहाँबाटै बाग्मतीमा फोहोर मिसिन थाल्ने अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति अन्र्तगतको बाग्मती सुधार आयोजनाका आयोजना प्रमुख आशिष घिमिरे स्वीर्काछन्।

बाग्मती प्रदूषित बन्दै गएपछि २०७० जेठ ५ गते शनिबारदेखि नागरिक तहबाट साप्ताहिकरूपमा बाग्मती सफाइ अभियान सुरु गरिएको थियो । त्यसयता प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म नागरिक तहबाट स्वतःस्फूर्तरूपमा बाग्मती सफाइ अभियान चलिरहेको छ।

यतिबेला नागरिक तहबाट जारी अभियान चोभार आसपासको क्षेत्रमा छ । नागरिकहरू सफाइ गर्दै जाने र बाग्मती फोहोर हुँदै जाने क्रम भने जारी छ । कुनै बेला नागरिक तहबाट बाग्मतीको सफाइ गरेर गुह्येश्वरीमा नुहाइएको थियो। अहिले त्यही गुह्येश्वरीमा लेदोयुक्त पानी बगिरहेको देखिन्छ । त्यो देलो युक्त ढल मिसिएको पानी भने मुहानबाटै आएको स्थानीयले बताए।

‘नागरिक तहबाट सञ्चालन भएको सफाइ अभियान पनि गोकर्णमाथि जान सकेको छैन,’ आयोजना प्रमुख घिमिरेले नागरिकसँग फोनमा भने, ‘हामीले पनि सोचेअनुरूप गोकर्ण माथि काम गर्न सकेका छैनौं ।’ उनका अनुसार गोर्कणमाथि बाग्मती आसपासको जग्गा विवादमा छ । मुआब्जा दिएर मात्रै जग्गाको अधिग्रहण गर्नपर्ने माग स्थानीयले राखेका छन् । तर, आयोजना अर्बौ रकमको जग्गा अधिग्रहण गरेर ढल हाल्न सक्ने अवस्थामा छैन।

‘गोकर्णमाथि ढलको पाइप राख्न हामी तयार छौं,’ उनले भने, ‘स्थानीयले जग्गा दिँदैनन्, मुआब्जा दिएर जग्गा खरिद गर्न सक्ने अवस्था हाम्रो छैन।’

गोकर्णभन्दा माथि बन्दै गएका केही बजारीय क्षेत्रमा ढल निकास गरिएको छ । तर, नदी आसपासमा बढ्दै गएको बस्तीहरूमा भने ढलको व्यवस्था छैन । ढलको पाइप नदी किनारामा राख्न नसक्दा स्थानीयले ढलको पाइप सोझै खोलामा मिसाउने गरेको घिमिरेको भनाइ छ।

बाग्मतीमा सफा र कञ्चन पानी बगाउने भन्दै सफाइ अभियान सुरु भएको २२ वर्ष पुगिसकेको छ । २२ वर्षमा सरकारले मात्रै बाग्मतीका नाममा करिब ६ अर्ब खर्चिसकेको छ । नागरिक समाज, निजी क्षेत्र तथा गैरसरकारी संस्था लगायतको खर्च जोड्ने हो भने यो रकम झनै बढ्छ । गैरसरकारी क्षेत्रबाट बाग्मतीका नाममा भएको खर्चको यकिन विवरण पाउन मुस्किल छ । नागरिकले स्वतःस्फूर्तरूपमा गरेको श्रमदान मूल्यको त लेखाजोखा नै छैन।

सरकारले २०५२ यता बाग्मतीमा कञ्चन पानी बगाउने भन्दै प्रत्येक वर्ष बजेट व्यवस्था गरिरहेको छ । आर्थिक वर्ष २०५२/०५३ देखि २०७३/०७४ सम्ममा सरकारले पाँच अर्ब ९७ करोड रूपैयाँ बजेट छुटाएर खर्च भइसकेको तथ्यांक छ।

सन् २०१२ मा सुरु भएको बाग्मती सुधार आयोजनाले पनि २०१९ सम्म तीन अर्ब ६० करोड रूपैयाँ खर्च गरिरहेको छ। गोकर्ण–सिनामंगलको सात किलोमिटरमा सौन्दर्यकरणका लागि आयोजनामार्फत् खर्च गरिने उक्त रकममा एसियाली विकास बैंक (एडिबी)को दुई अर्ब ५५ करोड रूपैयाँ ऋण, ४५ करोड रूपैयाँ अनुदान र ६० करोड रूपैयाँ नेपाल सरकारको रहेको छ।

यसरी सरकार, नागरिक र दाताले बाग्मती सफाइमा जति लगानी गरे पनि मुहानै फोहोर भएपछि बाग्मतीको सफाइ हुने छाँटकाँट भने देखिँदैन। आयोजना प्रमुख घिमिरे भने गोकर्णमाथिको बाग्मतीमा कसरी ढलको व्यवस्था गर्ने भनेर छलफल भइरहेको बताउँछन्।

‘गोकर्णभन्दा माथिको बाग्मती नदीमा ढलको व्यवस्था कसरी गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ उनले भने, ‘नदी आसपासको बस्तीमा हाउस पुलिङको योजना ल्याएर गर्ने की भनेर पनि छलफल भइरहेको छ।’

उनका अनुसार जग्गा अघिग्रहण गरेर ढल हाल्न भने सरकार सक्ने अवस्थामा छैन।

यता नागरिक तहबाट प्रत्येक शनिबार हुने सफाइ अभियानले भने गोकर्णमाथिको बाग्मती सफाइबारे भने कुनै योजना बनाएको छैन।  ‘हामीले गोकर्णमाथिको बाग्मती सफाइमा चासो नदिएका होइनौं,’ बाग्मती सफाइ अभियन्ता राजु अधिकारीले भने, ‘सरकारी निकाय नै ढल मिसाउँछन्, अनि हामीले फोहोर टिपेर मात्रै के हुनेवाला छ र।’ उनका अनुसार सुन्दरीजलमा नेपाल आर्मीले ढल बाग्मती नदीमा मिसाइरहेको छ । अन्य संघसंस्था तथा स्थानीयले समेत ढल मिसाउने गरेका छन्।

बाग्मती सफाइमा स्थानीय तहले समेत ध्यान नदिएको गुनासो अभियन्ता अधिकारीले गरे। ‘बाग्मती होइन, मान्छे सोच फोहोर भयो,’ उनले भने, ‘बाग्मतीमा फोहोर फ्याँक्ने बानीमा परिर्वतनै आएन्। स्थानीय जनप्रतिनिधि पनि सोचलाई परिवर्तन गराउने प्रयास गरेनन् ।’ उनका अनुसार सरकार, स्थानीय तहबाट हुनपर्ने जति प्रयास नभए पनि नागरिक तहबाट गरिएको प्रयासले फेरिएको बाग्मतीमा भने अभियन्ताहरू सकारात्मक छन्।

प्रकाशित: ५ आश्विन २०७५ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App