७ वैशाख २०८१ शुक्रबार
अन्य

मनमा झंकृत झोराहाट

एउटा बिम्ब नै बनिसकेको छ झोराहाट गाउँ, उर्वर सांस्कृतिक चेतना छ त्यहाँ । गाउँमै  नाटकघर स्थापना गरिएको छ । नाटक र साहित्यका अन्य विधामा समेत निरन्तर जीवन्त गतिविधि गर्दै आएको छ त्यहाँको ‘झोराहाट नाट्य केन्द्र’ले । यसै कारण देशविदेशका अनुरागी र स्रष्टामाझ यो गाउँको प्रसिद्धिको ग्राफ उक्लँदो छ । नाटक मञ्चनका अतिरिक्त झोराहाट नाटकघरमा प्रत्येक महिना चार कविलाई विशेष प्रस्तुतिका लागि उभ्याइने ‘गाउँमा कविता’ कार्यक्रम पनि लोकप्रिय छ।

गाउँमा कविता कार्यक्रमबारे निकै पटक पत्रपत्रिकामा समाचार पढेको थिएँ मैले पनि । यति छिट्टै निमन्त्रित भएर उक्त कार्यक्रममा प्रस्तुतिका लागि पुग्न पाइएला भनेर चाहिँ सोचेको थिइनँ । बाँच्नुको सकारात्मकता भनुँ या सौन्दर्य यहि छ कि कहिलेकाहीँ नसोचेको र कल्पनै नगरेको खुसीसित पनि एक्कासि जम्काभेट हुनपुग्छ हामी बाँचेका मान्छेको । यस्तै आभास भयो मलाई झोराहाटबाट ‘गाउँमा कविता’ कार्यक्रमका संयोजक प्रयाग न्यौपानेले फोन मार्फत भदौ ९ गतेका लागि निम्तो दिँदा।

०७३ वैशाखदेखि प्रत्येक महिना ४ जना कविहरूलाई छनोट गरेर ‘गाउँमा कविता’ कार्यक्रम गर्दै आएको छ झोराहाट नाट्य केन्द्रले। यसै सिलसिलामा सत्ताइसौँ शृङखलामा सहभागी हुन नाटकघरमा पहिलो चोटि पुग्दा प्रवेशद्वारमाथि सजाइएको ठूलो हलोमा मेरा आँखा टक्क अडिए!

नयाँ ठाउँ घुमिने, नयाँ साथी भेटिने र आफ्ना भावना सुनाउन पाइने, यस्तो अवसर पाउँदा कसलाई पो खुसी नलाग्ला र ! गद्गद् थियो मेरो मन पनि । कलंकीबाट विराटनगर जान लागेको मकालु बस चढेँ र हुइँकिएँ भदौ ८ गते बिहान ६ बजे । यात्राको आरम्भलाई सिमसिमे पानीले अभिषेचन गरेको थियो हिँड्न लाग्दा।

अफसोस, नहुनुपर्ने भयो !  बस पृथ्वी राजमार्गको गल्छी नजिक खेस्टे खोलामा पुगेपछि ५ घण्टा रोकियो । अविरल परेको पानीको प्रभाव देखाएको रहेछ त्यहाँका भीरपखेराले, सडकमा लेदोमाटो र गेगरको सानोसानो पहाड उभ्याएर । डोजर त्यहाँ पुग्दा र त्यो पहाड पन्छाउँदा निकै समय लाग्यो । सडक खुला गरिएपछि पनि एकले अर्कोलाई उछिनेर अघि जाने सवारी साधनबीचको अव्यवस्थित होडले अर्को एक घण्टा ढिला भयो । यात्राको अस्तव्यस्तताले साँझ विराटनगर पुगिने सम्भावना टार्दै थियो । नभन्दै राती २ नै बज्यो विराटनगर पुग्दा।

‘दीपेन्द्रजी, गाडी विराटनगरको राजवंशी चोक पुगेपछि त्यहीँ ओर्लेर फोन गर्नुहोला हामी लिन आउने छौ,’ प्रयागजीले दिउँसो पटकपटक फोन गरेर भन्नुभएको थियो, ‘तपाईँलाई हामी राती अलपत्र पार्ने छैनौँ ।’ रातीहुँदो उहाँलाई दुःख दिन मन लागेन र भने, ‘मेरो चिन्ता नगर्नुहोला म गाडी चालकसँग सल्लाह गरेर उनीहरू बस्ने गेस्ट हाउसतिर बस्ने छु ।’ राती दुई बजे विराटनगर बसपार्क पुग्दा कालो निस्तब्ध रात र चकमन्नता सिवाय केही थिएन । महानगरका होटल र गेस्ट हाउस आफैँ मस्त निद्रामा थिए । गाडीभित्र नै सुत्नु बाहेक अरू कुनै उपाय नभएको बताएर गाडीका चालक र सहचालक गाडीभित्रै सिटमा घ्वार घ्वार घुर्न थाले । तर म निदाउन सकिनँ।

संयोगले त्यतिबेलै ड्युटीमा रहेको प्रहरीको भ्यान त्यहीँ आएर घ्याच्याक्क रोकियो । म गाडीबाट झरेर प्रहरीलाई कुनै गेस्ट हाउसमा बास व्यवस्थाका लागि सहयोग गर्न बिन्तीभाउ गरें । उनीहरूले मेरो कुरा सुने र नजिकैको ‘न्यू अप्सरा’ गेस्ट हाउसमा ढोका ढकढक्याएर खोल्न लगाए । अनि मात्र निद्रा र थकानले गलित लखतरान शरीरले मज्जाको विश्राम पायो । यस्तो अप्ठ्यारोमा सहयोग गर्ने ती प्रहरीलाई मनैदेखि धन्यवाद दिएँ । कोठाको चुकुल लगाएर ओछ्यानमा पल्टिने बित्तिकै छिनभरमै भुसुक्कै निदाएछु, गहिरो र मीठो निद्रामा परेछु।

बसपार्कका गाडीका ट्याँट्याँ टीँटीँ र घ्यार्रघुर्रले गर्दा बिहान छिट्टै निद्रा खुल्यो । नित्यकर्म र नुहाइधुवाइ गरेर प्रयागजीलाई फोन गरेँ । उहाँ हतारहतार लिन आउनुभयो झोराहाटबाट । म राजवंशी चोकमा उहाँको बाइकमा चढेर गफिँदै झोराहाटतिर लाग्यौँ । सडकका दायाँबायाँतिरका खेतमा हुर्किंदै गरेका धानका गाँजहरूले बिहानको कलिलो घामको मनोहर किरणसँग मिसिएर आफ्नै लयमा हरिया मुस्कान छर्दै थिए । विराटनगरको राजवंशी चोकबाट ६ किलोमिटर उत्तरपूर्वी भूभागमा अवस्थित झोराहाट हराभरायुक्त, शान्त र आकर्षक लाग्यो । गाउँको प्राकृतिक स्वच्छतामा लुटपुटियो मन।

मीठो बोलीवचनका धनी रहेछन् प्रयागजी । उहाँबाट प्राप्त आतिथ्य र आत्मीयताले उहाँसँग घुलमिल हुन बेरै लागेन । कुराकानीका क्रममा थाहा पाएँ, यहीँ गाउँमै बसेर उहाँले अहिलेसम्म ५० भन्दा बढी नाटक निर्देशन गरिसक्नुभएको रहेछ । पर्खाल, बहुलाकाजीको सपना, नथाकेका आस्थाहरू, नआएको प्रजातन्त्र, लुटिएको आँगन आदि उहाँद्वारा निर्देशित प्रशंसा बटुल्न सफल नाटक रहेछन् । विसं ०३१ मा ८ वर्षकै उमेरमा गाउँमा मञ्चन भएको सत्य हरिश्चन्द्र नाटकमा हरिश्चन्द्रका छोराको भूमिकामा अभिनय गर्नु भएर नाट्य क्षेत्रमा जोडिनुभएका उहाँले कयौं नाटकमा अभिनयकलाको अब्बलता प्रदर्शित गरिसक्नुभएको रहेछ । साँच्चै गतिशील व्यक्तित्व भेटे उहाँभित्र।

भदौ ९ गते झोराहाट पुग्दा घडीको सुइले बिहानको ९ बजाउने तरखर गर्दै थियो । कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने भएको हुँदा झोराहाटका बारेमा बुझ्ने र केही बेर आराम गर्ने समय पाइयो । प्रयागजीले झोराहाट पुग्ने बित्तिकै झोराहाट नाट्य केन्द्रका अध्यक्ष भरत गुरागाईं र कवि उमेश लुईंटेलसँग भेट गराउनुभयो । छोटोमीठो संवादबाट केन्द्रका गतिविधिबारे मैले केही जिज्ञासाहरू समाधान गर्न पाएँ । कुराकानी रमाइलो भयो।

सेतै फुलेका कपाललाई कुमकुमसम्म छाड्नुभएका नाट्यकर्मी गुरागाईं पहिलोचोटि झट्ट देख्दै गम्भीर प्रकृतिका मान्छेजस्ता लागे मलाई । मैले आफ्नो कवितासंग्रहको किताब उपहार दिँदै कुरा सुरु गरेँ । नाट्यकर्मसँगै लेखन क्षेत्रमा पनि उहाँ परिचित हुनुहुन्छ । उहाँका सिर्जनशील व्यक्तित्वबारे केही जानकारी पहिल्यै पाइसकेको थिएँ । त्यसैले पनि कुराकानी गर्न सहज भयो । उहाँसँगै भेटिनुभएका लुइँटेलजीसँग त्यसअघि भेट नभएको भए पनि एक अर्काका साहित्यिक रचनाका माध्यमबाट अप्रत्यक्ष चिनजान र कुराकानी भइसकेको थियो । बिम्बप्रयोगमा कुशल एक साधनाशील कविका रूपमा चिन्छु म उहाँलाई । ‘गाउँमा कविता’ कार्यक्रमका सहसंयोजक पनि हुनुहुँदोरहेछ उहाँ।

झोराहाटसँग नाटकको सम्बन्ध निकै पुरानो रहेछ । गाउँमा रहेका आफन्त भेट्न बर्माबाट आएका भवानीशङ्कर पोखरेलको अग्रसरतामा विसं ०१६ मै ‘लक्ष्मीपूजा’ नाटक प्रदर्शन गरिएको रहेछ । कृषिकर्म गर्ने युवालाई फुर्सदमा अभिनयकला सिकाएर नाटक देखाउने चलन त्यसपछि पनि रोकिएन छ । उखानटुक्का, गीत, प्रहसन समेत प्रयोग गरेर देखाइने त्यस्ता नाटक सुरुसुरुमा मनोरञ्जनकै लागि मञ्चन गरिएका रहेछन् । यही पृष्ठभूमिबाट गाउँमा लोकप्रिय हुँदै गएको नाटक मञ्चनको परम्परालाई व्यवस्थित गर्ने क्रममा पछिल्लो समयमा नाट्य केन्द्र स्थापना भएको रहेछ।

देशभित्र र बाहिरका प्रसिद्ध लेखकका कृतिमा आधारित नाटकहरू झोराहाटमा मञ्चन भइसकेका छन् । स्थानीय विषयवस्तु, परिवेश र संस्कृतिमा आधारित नाटकहरूले समेत झोराहाटलाई परिचित बनाउँदै लगेको छ । थारू, मुसहर, झाँगड र बाँतर जाति झोराहटका आदिबासी हुन् । यिनै आदिबासीका संस्कृतिमा आधारित खडखडी,  धुपेन के धुइयाँ जस्ता नाटकहरूमा स्थानीयताका बिम्बहरू रोचक तबरले उतारिएका छन्।

‘नाटक प्रस्तुतिका लागि सबै जनशक्ति गाउँमा नै तयार गरिन्छ,’ गुरागाईंले भन्नुभयो, ‘नयाँ पुस्ता र त्यसमा पनि निम्न वर्गका ग्रामीण युवायुवतीको नाटकमा रुचि र आकर्षण बढ्दै गएको छ ।’ केही दिन अघि मात्र झोराहाट नाटकघरमा १५ दिने कार्यशालामा सहभागी युवाले लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासमा आधारित नाटक प्रदर्शन गरेर वाहवाही नै बटुलेका रहेछन् । यस्तो प्रगति सुन्दा खुसी लाग्यो।

झोराहटमा नाटकघर निर्माणको प्रसङ्ग पनि त्यत्तिकै रुचिकर छ । झोराहाट घुम्न आएका अमेरिकी नागरिक ब्रुस पार्डोल गाउँको नाट्य गतिविधि देखेर प्रभावित बनेछन् र नाटकघर निर्माणका लागि आर्थिक सहयोग गरेछन् । त्यसमा चन्दा सङ्कलनबाट उठेको रकम पनि थपथाप गरी नाटकघर बनाइएछ । नेपाली रूपैयाँ ४० लाख बराबरको भौतिक संरचना रहेछ नाटकघरमा । त्यहाँ जेनेरेटर, क्यान्टिन र होस्टेल पनि देखेँ । विसं ०७३ वैशाखमा उद्घाटन भएको नाटकघरको होस्टेलमा केही विद्यार्थी बस्ने गरेका छन् । यी विद्यार्थी गाउँका अन्य स्थानमा आवश्यक परेका बेला नाटकका लागि अभिनयकला सिकाउन पुग्छन्।

विगत ३ वर्षदेखि प्रत्येक वैशाखमा केन्द्रकै आयोजनामा झोराहाटमा साहित्यकला उत्सव हुँदै आएको छ । नेपाल र अन्य देशका विभिन्न विधाका स्रष्टाहरूलाई बोलाएर नाटकघरमा रचना वाचन, परिचर्चा र साहित्यसँग सम्बन्धित बहस चलाउने गरिएको छ । उत्सवमा सहभागी स्रष्टाहरू २ दिन गाउँमा नै बस्छन् । उनीहरूका लागि आफ्ना सिर्जनामा ग्रामीण बिम्बहरू घुसाउन र यहाँको प्राकृतिक स्वच्छतासँग आत्मीयता गाँस्न यो राम्रो मौका बन्ने गरेको छ।

विसं ०७३ वैशाखदेखि प्रत्येक महिना ४ जना कविहरूलाई छनोट गरेर ‘गाउँमा कविता’ कार्यक्रम गर्दै आएको छ झोराहाट नाट्य केन्द्रले । यसै सिलसिलामा सत्ताइसौँ शृङखलामा सहभागी हुने अवसर मिल्यो मलाई पनि । नाटकघरमा पहिलो चोटि पुग्दा प्रवेशद्वारमाथि सजाएर राखिएको ठूलो हलोमा मेरा आँखा टक्क अडिए । लाग्यो, नेपाली ग्रामीण परिवेश चिनाउन राखिएको जीवन्त कृषिबिम्ब हुनुपर्छ त्यो।

कविता सुन्न टाढाटाढाका बस्तीबाट समेत स्रष्टा र अनुरागी जम्मा भएका थिए । मैलै सोचेभन्दा धेरै उपस्थिति देखेँ नाटकघरमा ।  झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा बस्नुहुने लेखक, साहित्यकारहरू पनि कार्यक्रममा भेटिनुभयो । कविता प्रस्तुतिका लागि मसँगै झापाकी भवानी क्षेत्री, मोरङका प्रेम सन्जेल र मकवानपुरका रामकुमार एलनले मञ्च पायौँ । दर्शक दीर्घामा मैले पढेका र सुनेका धेरै जना लेखक साहित्यकारहरूले हामीलाई चासोका साथ सुन्दै र हेर्दै हुनुहुन्थ्यो। स्रष्टा व्यक्तित्व र अनुरागीहरूको उत्साहजनक उपस्थितिले नाटकघर भरिएको देख्दा हामी चारै जना हौसियौँ र पालैपालो प्रस्तुतितिर लाग्यौँ । छोटो मन्तव्य सहित आ–आफ्ना कविता वाचन गरेर सुनायौँ हामीले।

भवानी क्षेत्रीले सुनाउनुभएका कवितामा मातृवात्सल्यका बिम्ब, नारीमनका अनुभूति र परम्पराजन्य रूढताको विरोध प्रस्ट बुझ्न सकिन्थ्यो । प्रेम सन्जेलले मूलरूपमा राजनीतिक र प्रशासनिक क्षेत्रका विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्नुभयो । रामकुमारजीका कवितामा पनि समसामयिक जीवनभोगाइका चित्रण नै पाइन्थे । मेरा कविताले चाहिँ कस्ता प्रभाव पारे कुन्नि ! कार्यक्रम सकिएपछि भेट भएका केही साथीहरूले प्रशंसा गर्न चाहिँ कन्जुस्याइँ गर्नुभएन है।

हामी चारै जनाका सिर्जना र प्रस्तुतिमा रहेको प्रवृत्तिगत विविधताले फरकफरक आस्वादनीयता महसुस गरायो होला कार्यक्रममा भन्ने अनुमान रह्यो मेरो । तोकिएकै समयमा सुरु भएको कार्यक्रम विलम्ब नभई सकियो । कार्यक्रमको अन्त्यसम्म पनि उपस्थित कोही घटेजस्तो लागेन।

कार्यक्रम सकिएपछि मित्र उमेशजीसँग केही बेर गफिँदै ग्रामीण परिदृश्यमा टहलिएँ । नयाँ ठाउँ पुग्दा महसुस हुने अवलोकनको आनन्द मलाई पनि भयो । बेलुकीको भोजन उमेशजीकै घरमा भयो र प्रयागजीको आग्रहअनुसार बास बस्न चाहिँ प्रयाग निवास पुग्यौँ । कार्यक्रम सोचे अनुसार नै सफल भएकोमा आयोजकका हैसियतले उहाँहरू पनि सन्तुष्ट नै देखिनुहुन्थ्यो।

भदौ १० गते बिहान सबेरै झोराहाटबाट फर्किने धुनमा थिएँ म । प्रयागजीले खाना खाएर मात्र निक्लन जोड गर्नुभयो । तारा भाउजूले पनि चाँडचाँडै भान्सा तयार गरिसक्नुभएको रहेछ । खानपिन भयो । प्रयागजीको स्कुटरमा दुईभाइ गाडी चढ्ने चोकसम्म पुग्यौँ । उहाँसँग बिदा भई म गन्तव्यतिर गतिशील बनेँ । झोराहाटबाट भौतिक रूपमा टाढिँदै गर्दा मेरो मनमा चाहिँ झोराहाटबाट प्राप्त सांस्कृतिक स्नेह झन् प्रिय र गाढा बन्दै झङ्कृत हुँदै थियो।

प्रकाशित: २३ भाद्र २०७५ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App