२६ श्रावण २०७७ सोमबार
अन्य

सडकमा गीत गाएर परिवार पाल्दै

संसारी माया विचित्र मरेर के पो लाग्छ र नगर व्यार्थै लोभी मन छोडेर जान्छ व्यर्थैको धन... । यो गीत गाएर बौद्ध स्तुप क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत  गरीरहेकी थिइन्, सुर्खेतकी ३६ वर्षीय लैलुन निशा मिया । उनी दृष्टिविहिन  हुन् । आफ्नो पेट पाल्नको लागि सडकमा गीत गाउँछिन् उनी।

उनी दृष्टिविहिन हुनेमा धेरै कारण छन् । सानो छँदा दादुरा रोग लाग्यो । गाउँघरमा अशिक्षित मान्छे भएपछि विभिन्न जडीबुटी लगाएकै कारण मियाको आँखा गुमाउनुप-यो । अहिले त्यो दिन सम्झँदा उनको आखाभरि आँसु रसाउँछ । उनले यसरी सडकमा गीत गाउँदै गरेको पाँच वर्ष बित्यो । तर, उनीभित्र भएको प्रतिभा झन् तिखारिँदै गएको छ । ‘मसँग गीत गाउने कला छ, त्यसैले गाउँछु चोरेर, ठगेर खादिनँ,’ उनले सुनाइन्, ‘यसरी पनि पेट पाल्न सकिन्छ भन्ने अहिले थाहा पाएकी छु ।’ उनको परिवारमा ५ जना छन् । उनको श्रीमान पनि आँखाको ज्योति गुमाइसकेका छन् । सासुससुराले पनि कान सुन्न सक्दैनन् । श्रीमानले बिए पढे पनि अहिलेसम्म जागिर पाएको छैन । उनी भन्दै थिइन, ‘मेरो भाग्यले गर्दा सडकमा ल्यायो।’

दिनमा ५ सय जति कमाएको उनी बताउँछिन् । ‘यति पैसाले त मेरो केही पुग्दैन घरभाडा पनि तिर्नुपर्छ,’ उनले भनिन् । सरकारले दृष्टिविहीनहरूलाई प्रदान गर्दै आएको भत्तामा पनि उनलाई विभिन्न कारण देखाई भत्ता नपाएकोमा गुनासो गरिन् । ‘अरु केही सरकारले दिन नसके पनि मेरो भत्ता दिए हुन्थ्यो,’ उनले भनिन्।

मिया र उनका श्रीमान् मिली सडकमा भोकभोकै बसेर गीत गाउँदै उनीहरूको गुजारा चल्दै आएको छ ।
उनीजस्तै झापा कटनकवान नगरपालिका वडा न.६ का २८ वर्षीय दृष्टिविहिन जेठा ममु सन्देश पनि यसैगरी सडकमा गीत गाएर बस्छन् । उनी जन्मैजात दृष्टिविहिन थिए । उनी भन्छन्, ‘दिनमा ३ सयदेखि १५ सय सम्म कमाएर आफ्नो जीविकोपार्जन गर्दै आएको छु ।’ उनले सडकमा बसेर आफ्नो कला प्रस्तुत गर्दै आएको ७ वर्ष भईसक्यो । तर अझै सडकले उनलाई छोडेको छैन । सन्देश बिहान ६ बजेदेखि बेलका ५ बजे सम्म कहिले रत्नपार्क त कहिले बौद्ध हुदै आफ्नो बास स्थान सुन्धारा पुग्छन् ।

सडकमा भोकभोकै कला प्रस्तुत गरेर नै उनले आफ्नो एउटी छोरी नर्सरीमा बढाउदै आएका छन् । सरकारले उनीहरू जस्ता दृष्टिविहिनहरूका लागि ६ सय रुपैय भत्ता दिए पनि केही नपुग्ने बताए । दृष्टिविहिनहरूका लागि सरकारले भत्ता बढाउनुपर्ने उनको माग छ।

अर्का दाङ घोराही उपमहानगरपालिकाका ३३ वर्षीय दृष्टिविहिन सुदिप ओली पशुपति क्षेत्रमा सुरिलो तालले मादल बजाई दर्शनको लागि आएका भक्तजनहरूलाई मनोरञ्जन दिलाइरहेका थिए । उनको पनि जन्मैजात आँखा गुमाउनुपरेको बताए । गाउँमै दुःख–सुख सहेर एसएलसी सम्म पढे । त्यसपछि कलाकारिता गर्ने उद्देश्यले काठमाडौं प्रवेश गरे।

उनले विभिन्न ठाउँमा गएर बाजागाजाहरू पनि सिके । तर, काम भने पाएनन् । उनले भन्दै थिए, ‘म दृष्टिविहिन भएकोले पनि होला कसैले संगीत क्षेत्रमा काम दिएन ।’ त्यसपछि आफ्नो जीवन र परिवारलाई पाल्नका लागि सडकमा आउन बाध्य भए । उनको कथा सुनेपछि जो कोहीको पनि आँखा रसाउँछ । सडकमा आएर आफ्नो कला प्रस्तुत गर्दे आएको सात वर्ष भइसक्यो । अहिले दिनभरि गीत गाएर, मादल बजाएर ४/५ सय कमाएको उनले बताए।

उनले भने, ‘सारंगी सिक्दै छु म एउटा राम्रो कलाकार बन्न चाहान्छु ।’ उनको इच्छा त छ । तर, आँखा नदेख्ने भएकै कारण काम पाउन सकिरहेको छैन । सार्वजनिक ठाउँमा गीत गाएर कला प्रस्तुत गरे । पनि कुनै कुनै मान्छेहरुले पैसा नदिएको दुखेसो पोखे । दृष्टिविहीनहरूका लागि विभिन्न मागहरू उठाए पनि सरकारले नसुन्ने जस्तो गरेको उनले बताए।

तस्बिर : श्याम राई

प्रकाशित: २२ भाद्र २०७५ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App