७ वैशाख २०८१ शुक्रबार
अन्य

‘व्यावसायिक कृषिलाई प्रवद्र्धन गरेका छौं’

अमृका बलामी, वडाध्यक्ष, दक्षिणकाली नगरपालिका–९

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो?
स्थानीय तह २० वर्ष जनप्रतिनिधिविहीन भयो । लामो समय जनप्रतिनिधि नहुँदा स्थानीय तहले गति लिन सकेको थिएन । २०७२ सालको भूकम्पले वडामा रहेका पानीका मुल तथा मुहान सुके । मुहान सुकेसँगै वडामा खानेपानीको चरम हाहाकार मच्चियो । वडा कार्यालयले तीन सय १८ मिटर उचाईमा पानी लिफ्टिङ गरेर ३ सय ९९ घरधुरीमा पु-याएका छौं । हिउँदको समयमा एक दिन बिराएर र वर्षात्को समयमा एक दिनमा एकपल्ट खानेपानी उपलब्ध गराएका छौं । अबको डेढ वर्षमा तीन सय ३३ घरधुरीमा खानेपानी व्यवस्थापन गर्ने लक्ष्य राखेका छौं । जनप्रतिनिधि निर्वाचित भएर आउँदा वडामा केही जनताको घरमा मात्रै शौचालय थियो । हामी आएसँगै वडामा दुई सय ४४ नयाँ शौचालय निर्माण भएका छन्।

तपार्इँको वडामा रहेका सडकको हालत कस्तो छ?
काठमाडौं जिल्लामा भए पनि वडा विकट एरियामा पर्छ । मकवानपुरसँग सीमा जोडिएको क्षेत्र हो । त्यसैले यातायातको राम्रो व्यवस्था छैन । दक्षिणकालीदेखि मकवानपुरसम्मको पाँच मिटर चौडा भएको मुख्य सडक पर्छ, जुन मर्मतसम्भारको अभावले खाल्डाखुल्डी पुरेको छ । नगरपालिकाले वर्षात्को समयमा जुनसुकै बेला पहिरो खस्ने जोखिमलाई मध्यनजर गर्दै एउटा डोजर र ट्रिपर उद्दारको लागि खटाएका छौं । वडामा २२ किलोमिटरभन्दा धेरै कच्ची÷ग्राभेल सडक छन् । वडाकै बजेटमा २२ किलोमिटर सडक कालोपत्रे गर्न सक्ने अवस्था छैन । त्यसैले वडामा रहेका मुख्य चार सडकलाई विभिन्न तहलाई  जिम्मेवारी दिने तयारी गरेका छौं । नगरपालिका, प्रदेश सरकार, वडा कार्यालय र जनसहभागिता र संघीय सरकार मातहत  निर्माणको जिम्मा दिने तयारी गरेका छौं।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गइरहेको छ, सुधार्न कस्तो योजना अघि सार्नुभएको छ?
पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेका छन् । त्यसैले हामी निर्वाचित भएर आएसँगै सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्ने प्रयत्न गरिरहेका छौं । वडामा चार सामुदायिक विद्यालय छन् । जसमा एक मावि, तीन वटा आधारभूत रहेका छन् । सेतिदेवी माविमा हालसालै मन्टेश्वरी आधारित किर्डरगार्डेन कक्षा सञ्चालनमा ल्याएका छौं  । वडा कार्यालयले  सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार्न अभिभावक र शिक्षकसँग नियमित सरसल्लाह गरिरहेका छौं । वडाका निजी डल्फिन म्याजिक स्कुल र उर्गेन दोर्जे छोलिङ स्कुलले समेत निःशुल्क पठनपाठन गराउँदै आइरहेका छन् । अनाथ असहाय विद्यार्थीलाई प्राथमितामा राखेर अध्ययन गराएको छ । कालीदेवि आधारभूत प्राविमा विद्यार्थीको लागि खाजाको व्यवस्था मिलाएका छौं।

किसानको लागि कस्तो योजना अघि सार्नुभएको छ?
वडा कार्यालयले जनतालाई आत्मनिर्भर र स्वरोजगार बनाउन कृषि क्षेत्रलाई लाग्न प्रेरित गर्दै आएको छ । वडा कार्यालयले कृषि उपकरण र बीउबिजनमा अनुदान दिँदैं आइरहेका छौं । वडामा अहिले विभिन्न समूह गठन गरेर व्यावसायिक कृषि खेती गर्दै आइरहेका छौं । जनताको जीवनस्तर नसुध्रिसम्म आर्थिक समृद्धि हात पार्न सक्दैनौं । त्यसैले वडा कार्यालयले वडामा रहेका कृषकलाई कृषि क्षेत्रमा लाग्न प्रोत्साहन गरिरहेको छ । वडा कार्यालयलाई लप्सीको पकेट क्षेत्र घोषणा गरिसक्यौं । अहिले वडामा प्रत्येक घरधुरीमा लप्सीको खेती हुँदै आइरहेको छ । वडामा पाँच वटा बचत सहकारी र तीन वटा कृषि सहकारी सक्रिय छन् । वडामा रहेका कृषकले सामान्यतया १५ लाखदेखि डेढ लाख रूपैयाँसम्मको लप्सीको बेचविखन गर्दै आइरहेका छन् । वडामा अहिले काक्रो, फर्सी, सिमी, काउली, बन्दा, टमाटर सागसब्जी लगायतका तरकारीको उत्पादन र बिक्री वितरण गर्दै आइरहेका छौं।

गत वैशाखयता वडाबाट करोड रूपैयाँभन्दा धेरैको तरकारी बिक्री वितरण भइसक्यो । मैले पनि कृषि उद्यम खोलेर  बेरोजगारलाई रोजगारी दिँदै आइरहेको छु।

कस्तो उद्यम गर्दै आउनुभएको छ?
जनप्रतिनिधि भए पनि मैले क्रियाशील कृषि फार्म सञ्चालन गर्दै आइरहेको छु । ३५ रोपनी क्षेत्रफलमा व्यावसायिक खेती गर्दै आइरहेको छु । क्रियाशील कृषि फार्ममा १२ जनालाई रोजगारी समेत दिएको छु । फार्ममा काक्रो, फर्सी, सिमी, काउली, बन्दा, टमाटर लगायतका तरकारी र सागको उत्पादन गरेर मुनाफा कमाइरहेको छु । आफूले जानेको सीप तथा अनुभव अन्य कृषकलाई सीप हस्तान्तरण गर्दै आइरहेको छु । केही नेताले गरिखाने पेशा बनाएकाले राजनीतिमा विकृति भित्रिएको हो । आफ्नै पेशा वा व्यावसाय चलाए राजनीतिज्ञ भ्रष्ट र गलत काम गर्न सक्दैन । त्यसैले राजनीतिलाई कमाईखाने भाडो बनाउनुहुँदैन भन्ने भावनाबाट अभिप्रेरित भएर लागेको छु । जनप्रतिनिधिहरू जनताको भावना अनुसारको काम गर्न नसक्दा संघीयतामाथि नै प्रश्नचिह्न खडा भएको छ।

तपाईको वडामा भूकम्पपीडितको समस्या कस्तो छ?
२०७२ सालको भूकम्पको प्रभाव वडामा धेरै नै प-यो । भूकम्पले वडामा रहेका पाँच सय ८८ घरमा क्षति पु¥याएको थियो । भूकम्पले क्षति भएकामध्ये हालसम्म ३ सय २५ घर निर्माण सम्पन्न भइसके । अन्य घर निर्माणधिन अवस्थमा रहेका छन् ।  ५ सय ४८ भूकम्पपीडितले पहिलो किस्ता वापतको राहत रकम पाइसके । दोस्रो किस्ता पाउनेको संख्या ४ सय ५० रहेको छ । त्यस्तै गरी तेस्रो किस्ता पाउनेको संख्या दुई सय ९२ रहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत फेरिँदा किस्ता पाउन केही ढिला भएको थियो । वडामा रहेका अन्य भूकम्पपीडितले एक वर्षभित्रै भवन निर्माण गर्ने लक्ष्य राखेका छौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि ८५ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेट सबै शीर्षकमा खर्च गरिसक्यौं । वडा कार्यालयले खानेपानी, सडक, कृषि, महिला तथा लक्षित वर्गलाई समेटेर खर्च गरेका थियौं । बजेट न्यून भएकाले  वडाको विकास पूर्वाधार निर्माणमा समस्या देखिएको हो । चालु आर्थिक वर्षको लागि पनि ८५ लाख रूपैयाँ नै बजेट विनियोजन भएको छ । वडा कार्यालयले खानेपानी, पूर्वाधार लगायतका क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको छ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ?
देशकै नमुना वडा बनाउने सपना बोकेको छु । एक घर एक धारासहितको खानेपानी । एक कृषक एउटा करेसाबासी । २० घर एक समूह बनाउने लक्ष्य राखेको छु । त्यस्तै गरी ५० घर एक स्वास्थ्य स्वयमसेवी राख्ने तयारी गरिरहेको छु । दुई सय ५० घर एक सुडिनीको व्यवस्था गर्ने योजनासहित काम अगाडि बढाइरहेको छु । वडामा प्रचुर मात्रामा कृषियोग्य जमिन छ । त्यसैले लप्सीको पकेट क्षेत्र घोषणा गरिसक्यौं । वडालाई नमुना कृषि क्षेत्रको रूपमा स्थापित गर्नेछु।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १८ भाद्र २०७५ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App