१५ चैत्र २०८० बिहीबार
अन्य

भाषा मिठो बनाउने पुस्तक

केही समय अघि कृष्णप्रसाद पराजुलीको स्मृति दिवस मनाइयो। पराजुलीको नाममा स्थापित ‘रमाइला नानी बाल साहित्य पुरस्कार’ यो वर्ष महाकवि देवकोटाका ‘गणेश’ श्यामदास वैष्णवलाई दिइएको खबर आइइरहँदा मैले भने आफ्नो लद्दू नेपालीले गर्दा पाएको दुःख सम्झिँदै पराजुलीको ‘राम्रो रचना : मिठो नेपाली’लाई सम्झिरहें।

चार कक्षा पढ्दा सायद दौंतरीहरू भन्दा एक वर्ष बुढो भएर हो कि म औसत होचाहरुभन्दा केही अग्लै थिएँ । घरबाट दुई मिनेट दूरीमा रहेको स्कुल पुग्दा प्रायः सबा १० बजेको हुन्थ्यो । म पहिलो वा दोस्रो बेन्चमा बस्थें । जसै कक्षा सुरु हुन्थ्यो पछाडीका बेञ्चमा बस्ने होचा साथीहरुको युगल कोरस बज्न थाल्थ्यो, ‘मिस छेक्यो । छेक्यो मिस।’

पछाडी बसेका साथीहरुको अनवरत ‘मिस छेक्यो’ सुनिएपछि मलगायत केही विद्यार्थीलाई पछाडीको बेञ्चमा स्थानान्तरण गरियो । त्यो ‘प्रतिगामी’ कदमको न त विरोध गर्ने न त प्रश्न गर्ने नै ल्याकत थियो।

भेटेर धन्यवाद भन्न नपाए पनि मेरो पुस्तक ‘पिताजीको सुनको तक्मा’को आवरणमै राम्रो रचना मीठो नेपालीको तस्बिर राखेर श्रद्धा अर्पण गरेको छु । आखिर मभित्रको साहित्यिक व्यक्तित्वलाई राम्रो रचनाले नै ब्युँत्याएको हो।

तिनीहरुले ‘मिस छेक्यो, छेक्यो मिस’ भनेर के भन्ने खोजेका थिए, हामीलाई किन पछाडिको बेञ्चमा लगियो केही भेउ पाउन सकिनँ । त्यो पूरै वर्ष म ‘मिस छेक्यो, छेक्यो मिस’ को आंतकबाट पीडित भएको थिएँ।

क्लासभरिका गणेश गोबर विद्यार्थीहरुभन्दा अलि स्मार्ट भएर हो कि किन हो परीक्षाफल नासपाती भन्दा मीठो रह्यो।

कक्षा पाँचमा उक्लँदा सेक्सन ‘बि’ बाट बढुवा मिल्यो, सेक्सन ‘ए’ का लागि।

कक्षा पाँचमा पुगेपछि पो बल्ल बुझें ‘छेक्यो’ शब्दको दिव्य अर्थ!

अनि थाहा पाएँ हामी अपेक्षाकृत अग्ला विद्यार्थीहरुलाई किन पछाडि लगिएका रहेछौं।

अवस्था यस्तो थियो, मलाई ‘छेक्यो’ जस्तो सामान्य शब्दको पनि अर्थ थाहा थिएन । मातृभाषा नेपाल भाषा अर्थात नेवारी भएर मात्र हैन, त्यतिबेला सम्पर्क भाषा नै नेवारी भएकाले पनि नेपालीको न्यून जानकारी थियो।

निम्न माध्यमिक तह पार गरेर हाइस्कुल जाँदासम्म आफ्नो नाम सगर्व लेख्थे– शुसिल । न अर्थ थाहा थियो, न सही हिज्जे नै । ह्रस्व, दीर्घ, क्रिया, प्रक्रिया कुन चराको नाम थियो थाहा हुने कुरा भएन।

माविमा पुगेको सुरुवाती कक्षामा मेरो नाम लेखाइमाथि शिक्षिका मञ्जु अधिकारीले टिप्पणी गर्नुभयो । ‘आफ्नै नामसमेत शुद्धसँग लेख्ने नजान्नेले कसरी एसएलसी पास गर्छौ बाबु?’

राष्ट्रकविकी सुपुत्री नेपाली शिक्षिका मञ्जु अधिकारीको व्यङ्यबाणले घायल भएँ । यति घायल र कायल भएँ कि के गर्ने के नगर्ने बेचैनीबीच आदरणीण मिसको शरणमा पर्नुको विकल्प देखिँन । लाज मान्नु पर्ने कुरो पनि केही बाँकी रहेन । रोगीले डाक्टरसँग रोग लुकाएर लुक्थ्यो र?

गुरुआमाकै छत्रछायाँमा नेपालीको कखरा सिक्न थालें । मेरो कमजोर नेपालीलाई सुधार गर्न एक दिन उहाँले मलाई एउटा पुस्तक दिनुभयो । ‘ल यो पुस्तकलाई आधार मानेर लेख्ने गर तिम्रो नेपाली बन्छ,’ उहाँले सहृदयी हुँदै भन्नुभयो।

रातो पहेँलो गाता भएको किताब हातमा लिएँ र आवरण हेरेँ– राम्रो रचना मीठो नेपाली । लेखक–कृष्णप्रसाद पराजुली ।
यही ‘राम्रो रचना : मीठो नेपाली’, मेरा लागि गीता बन्यो, गीत बन्यो । भाषिक सुधार मात्र हैन साहित्यिक अनुवांशिक अवयवहरू नै शरीरका कोषिकाहरुमा हुल्दिए जस्तो भयो।

नेपाली पनि ठिकठिकै लेख्न थालेँ । अलि अलि मौलिक रचना पनि फुर्न थाल्यो । १० कक्षा पढ्दापढ्दै देशभरि हुने निबन्ध प्रतियोगिताहरूमा भाग लिएँ । कतिमा पहिलो भएँ, कतिमा दोस्रो । सुरुवातकालीन अवस्थामा पुरस्कार हात पर्न थालेपछि नेपालीलाई अझ सुधार्न राम्रो रचनालाई दोहो-याई, तेहे-याई पढेँ । अवस्था यस्तो आयो अब लेखन प्रतियोगिता भयो कि पुरस्कार पक्का भन्ने जस्तो हल्का गौरव र हल्का घमण्ड जस्तो भाव जाग्यो।

धेरैजसो प्रतियोगिताका उपहार साहित्यिक पुस्तकहरु हुन्थेँ । एक पटकको पुरस्कारमा देवकोटा, सम, लेखनाथ, विकल, गोतामे, भिक्षु, मल्ल दाजुभाइलगायतका साहित्यिक किताबको एक थाक हात लाग्यो । राम्रो रचनाले हुलिदिएको साहित्यिक रस महारथी लेखकका कृतिहरुमा झ्याङिन थाल्यो । एसएलसीमा त्यसको परिणाम देखियो । देशभरिकै विद्यार्थीमा नेपाली विषयमा सर्वोच्च ल्याउने मध्येमा परियो।

एसएलसीपछि आइएस्सीमा एक पेपर नेपाली पढियो । त्यसपछि पढाइका क्रममा नेपाली विषयसँग औपचारिक, अनौपचारिक, शिष्टाचार, जम्का भेट कुनै भेट हुन सकेन । तर पनि नेपालीसँगको नाता टुटेन।

विदेश हुँदा एक पटकको जमघटमा मेरो नेपाली देखेर एक साथी चित खाए । ‘हैन सुशील तेरो नेपाली कसरी यस्तो भयो ?’ उनले झटारो हानें।

मैले उत्तर फर्र्काएँ, ‘म स्टुडेन्ट भिसामा धेरै वर्ष नेपालमा बसें नि त।’

मेरो उत्तरले त्यहाँ भएका सबै दौंतरी दङगिए । वास्तवमा मेरो नेपाली राम्रो बनाउने खास गुरु त पराजुली लिखित राम्रो रचना नै हो।

समयको हण्डर र ठक्कर खाँदै कहिले पूर्व गइयो, कहिले पश्चिम । काष्ठमण्डपको पूरानो थातथलोबाट फुत्किएर टेकू पारीको सानेपामा बास बनाएर गुजारा गर्दै थिएँ। पढाइको कामले विदेसिनु प-यो । सुनें पराजुली बा पनि सानेपा आसपासकै घरमा रिटायर्ड जीवन बिताउँदै छन्।

समय हो । कहिल्यै कसैलाई पर्खदैन । पराजुली बा पनि महाप्रस्थमा लागे । म यता थेसिस र कामको मिलमा पेलिइरहेँ।

पराजुलीसँग कहिल्यै भेट हुन सकेन । भेट नभए पनि उहाँको पुस्तक र गुण यो छातीको पत्र पत्रमा टाँसिएकै छ । भेटेर धन्यवाद भन्न नपाए पनि मेरो पुस्तक ‘पिताजीको सुनको तक्मा’ को आवरणमै राम्रो रचना मीठो नेपालीको तस्बिर राखेर श्रद्धा अर्पण गरेको छु । आखिर मभित्रको साहित्यिक व्यक्तित्वलाई राम्रो रचनाले नै ब्युँत्याएको हो।

पराजुलीलाई हार्दिक श्रद्धा सुमन । दीर्घजीवि बनोस राम्रो रचना मीठो नेपाली।

प्रकाशित: १६ भाद्र २०७५ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App