७ वैशाख २०८१ शुक्रबार
अन्य

‘चालू आवमा अधिकांश कच्ची सडक कालोपत्रे गर्नेछौं’

श्यामबहादुर खत्री, वडाध्यक्ष, दक्षिणकाली नगरपालिका –५

जनप्रतिनिधि भएपछि जनताले महसुस गराउने के–के काम गर्नुभयो?
जनप्रतिनिधि भएर आएसँगै चालू आर्थिक वर्षमा नगरपरिषद्बाट ८५ लाखको बजेट तथा नीति कार्यक्रम सार्वजनिक ग-यौं । गत वर्ष ल्याएको नीति तथा कार्यक्रममा समावेश भएका योजनालाई मूर्तरूप दिएर कार्यान्वयनमा ल्याएका छौं । ८५ लाख बजेटमध्ये ७५ लाख रूपैयाँ खर्च भइसक्यो । बाँकी रहेको १० लाख रूपैयाँ अन्तर्गतको योजनामा पनि मूर्तरूपमा अगाडि बढिरहेको छ । जनप्रतिनिधि भएर आउँदा शेषनारायण मन्दिर वरपर रहेका पानीका स्रोत अस्तव्यस्त रूपमा सञ्चालित थिए । हामी आएसँगै पानीका मूल तथा मुहान संरक्षण गर्नुको साथै रेलिङ राखेर व्यवस्थापन गरेका छौं।

वडा कार्यालयबाट १० लाख रूपैयाँ खर्च गरी डोल्लु फुटबल मैदानको स्तरोन्नति ग-यौं । फुटबल मैदानलाई चाक्लो र व्यवस्थित पा-यौं । वडा कार्यालयले वडामा रहेका आर्थिक विपन्न भएर साँझ–बिहान खान धौ–धौ भएका दुई सय ५० जना स्थानीयलाई खाद्यान्न र लत्ताकपडा वितरण गरेका छौं।

तपाईँको वडामा खानेपानीको समस्या कस्तो छ?
भूकम्पले वडामा रहेका अधिकांश खानेपानीका मुहान तितरवितर पारेको थियो । त्यसैले केही स्थानमा खानेपानीको समस्या देखिएको थियो । त्यसैलाई मध्यनजर गरेर नगरपालिका र वडा कार्यालयले गत आवमा ६० लाखको लागतमा डोल्लु बृहत खानेपानी आयोजना सञ्चालनमा ल्याएको हो । जसबाट वडाका करिव पाँच सय घरधुरी लाभान्वित भएका छन् । दक्षिणकाली नगरपालिका वडा नं ५, ६ र ९ मिलेर बृहत शेषनारायण खानेपानी आयोजनाको डिपिआर तयार पारेका छौं । उक्त योजना अनुसार दुई करोड लिटर क्षमताको खानेपानीको टयांकी निर्माण गर्न लागिरहेका छौं । त्यसको लागि नगरपालिकाबाट एक करोड रूपैयाँ, स्थानीय संघसस्थाबाट दुई करोड र खानेपानी तथा सरसफाइ विभागबाट दुई करोड रूपैयाँ गरेर ५ करोड रूपैयाँको लागतमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेका छौं । शेषनारायण खानेपानी आयोजना सम्पन्न भएसँगै वडामा पर्याप्त मात्रामा खानेपानीको वितरण गर्न सक्नेछौं।

तपाईको वडाका सम्पूर्ण सडक कच्ची छन्, कहिलेसम्म कालोपत्रे गर्नुहुन्छ?
सडक विभागले समयमा नै सडक निर्माण नगर्दा बाल निकेतनदेखि फर्पिङ बजारसम्मको सडक अलपत्र पारेर छाडेको थियो । वडा कार्यालयले ५ मिटरको सडकलाई चौडा गरेर ११ मिटरको बनाएका छौं । वडा कार्यालयको बारम्बार तोकेता गरेसँगै सडक विभागले उक्त सडक निर्माणको लागि साढे चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सम्भवत दसंैभित्र उक्त सडक निर्माण सुरु हुनेछ । डोल्लु खोलादेखि डोल्लु बृहत खानेपानी आयोजनासम्मको आधा सडक कालोपत्रे भइसकेको छ । आधा सडक चालू आवमा कालोपत्रे गर्ने योजना बनाएका छौं । वडाका केही स्थानमा कच्ची सडक छन् । वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर समस्या भइराखेको छ । त्यसैले चालू आवभित्रै वडामा रहेका अधिकांश कच्ची सडक कालोपत्रे गर्ने योजना अघि बढाउनेछौं । चार वर्षभित्रै वडाका सम्पूर्ण सडक कालोपत्रे गर्ने योजना रहेको छ।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ?
वडामा करिव दुई सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा छ ।  दुई सय सार्वजनिक जग्ग्गामध्ये २०–२५ रोपनी सार्वजनिक जग्गा केही भूमाफियाले अतिक्रमण गरेर उपयोग गरिरहेका छन् । कु्नै ठाउँमा सर्वसाधारणले जग्गा अतिक्रमण गरेर घर बनाएका छन् । कतै खेती गरिरहेका छन् । अब सरकारको नीति अनुसार नै सार्वजनिक जग्गा संरक्षणमा लाग्नेछौं । वडा कार्यालयले एक वर्षभित्रै अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता गर्ने योजना बनाएका छौं।

भूकम्पपीडित कहिलेसम्म टहरामा नै बस्नुपर्ला?
२०७२ सालको भूकम्पले वडाका रहेका अधिकांश भवन थिलोथिलो भएको छ । भूकम्पले प्रभावित स्थानीय जनताले अझैसम्म राहत पाउन सकेका छन् । भूकम्पले वडामा रहेका पाँच सयभन्दा धेरै घरधुरी प्रभावित भएको थियो । तीमध्ये दुई सय जनाले मात्रै पहिलो किस्ता वापतको राहत रकम पाएका छन् । अन्य भूकम्पपीडितले राहत रकम पाउन सकेका छैनन् । जसको कारणले अधिंकाश भूकम्पपीडित अझै पाल अथवा टहरामा नै  बसोबास गरिरहेका छन् । वडा कार्यालयले पुरानो वस्तीमा रहेका भूकम्पपीडितलाई नयाँ मापदण्ड भन्दा पुरानै मापदण्ड अनुसार भवन निर्माण गर्न सिफारिस गरेका छौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बेवास्ताकै कारणले भूकम्पपीडितले राहत पाउन सकिरहेका छैनन् । प्राधिकरणमा भर्खरै नयाँ कार्यकारी अधिकृत आएका छन् । अबको केही समयभित्रै कार्यकारी अधिकृतलाई भूकम्पपीडितको समस्या समाधान गरिदिन अनुरोध गर्नेछौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि ८५ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये ७५ लाख रुपैयाँ बजेट अनुसार खर्च गरिसक्यौ । उपभोक्ता समितिले समयमा नै काम नगरेकाले १० लाख रूपैयाँ खर्च हुन नसकेको हो । वडा कार्यालयले खानेपानी आयोजना, सडक, ढल, ऐतिहासिक सम्पदा संरक्षण शीर्षकमा बजेट खर्च गरेको छ । बजेट न्यून भएकाले वडाको विकास पूर्वाधार निर्माणमा समस्या देखिएको हो । चालू आर्थिक वर्षको लागि पनि ८५ लाख रूपैयाँ नै बजेट विनियोजन भएको छ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
शेषनारायण मन्दिर क्षेत्रलाई समेटेर बृहत गुरुयोजना बनाउन लागेका छौं । त्यसको लागि १० लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं । उपत्यकामा रहेका चार धाममध्ये शेषनारायणधाम हाम्रो वडामा पर्छ । त्यसैले उक्त क्षेत्रलाई व्यवस्थित गर्न बृहत गुरुयोजनाको तयारी गरेका छन् । वडामा व्यवस्थित स्वमिङ पुल, पर्यटकीय पदमार्ग, भ्यूटावर लगायतका पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छु । त्यसको अलवा वडामा खानेपानीका प्रशस्त स्रोत भएकाले वडा कार्यालयकै स्वामित्वमा मिनरल वाटर उद्योग खोलेर स्थानीय जनतालाई स्वरोजगार बनाउने योजना बनाइरहेको छु । वडामा रहेका बेरोजगार युवा तथा महिलालाई स्वरोजगार बनाएर व्यवसायतर्फ अगाडि बढाउने योजना  छ।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १५ भाद्र २०७५ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App