४ वैशाख २०८१ मंगलबार
अन्य

म सपनाको कुरा गर्छु...

मेरो एउटा सपना छ,
कुनै दिन म कुस्त पैसा कमाउनेछु
त्यसपछि अहिलेकै जस्तो पुरानो जिन्स,
अमिल्दो टिसर्ट र थोत्रो ह्याट भिर्नेछु,
लामो दाह्री पालेर, थोत्रो चप्पल पड्काउँदै
पुरानो गाउँ र बेचल्तीको बाटो
पैदल नै, बिना कुनै लक्ष्य हिँड्नेछु ।

मनभरि असिम खुसी हुनेछ,
हृदयभरि उम्दा आत्मविश्वास हुनेछ,
गोजीभरि गाँठ र अनौठो आँट हुनेछ
तर, 
त्यहाँ मलाई कसैले चिन्ने छैन,
कसैले मेरो हृदय छिचोल्ने छैन,
मलाई मेरो चर्चित अनुहारले कसैले जान्ने छैन,
नचिनेकामा म आफैँसँग खुसी हुँदै, रमाउँदै अघि बढिरहनेछु
बस्, चित्त बस्ने एउटी रूपसी फेला नपारूञ्जेल म त्यसरी नै हिँड्नेछु,
पुरानो गाउँ र बेचल्तीको बाटो,
पैदल नै, बिना कुनै लक्ष्य,
तर अचानक उसको र मेरो आँखा जुध्नेछ
उसले मलाई मन पराउने छे, 
मैले उसलाई रूचाउनेछु,
मौन आमन्त्रणले मलाई जित्ने छे,
बेसर्त मायाले मेरो हृदय पगाल्ने छे,
अनि म उसको प्रेममा शनैशनै पग्लनेछु,
नखोजेको प्रेम र नसोचेको नयाँ जीवन
हामीले फेला पार्नेछौँ, 
ऊ मेरो प्रसिद्धि र पैसाका कारण होइन, 
मेरो पुरानो ह्याट, थोत्रो टिसर्ट र थोत्रो चप्पलका लागि पनि होइन,
मेरो खुलापन र वास्तविक स्वरूपका कारण मलाई प्रेम गर्नेछे,
म उसको निश्चलता र कञ्चन प्रेमका कारण हुरूक्क हुनेछु ।

मेरो एउटा सपना छ,
त्यसपछि म उसलाई मेरो अढाई करोडको घर देखाउनेछु, 
त्यो घर दस करोडको जग्गामा बनेको हुनेछ,
अनि फेरि म उसलाई मेरा सारा क्याडेलिक कार देखाउनेछु 
अनि फेरि घना वर्षात् र झरीमा नुहाउन बनाइएको इन्डोर स्विमिङ पुल देखाउनेछु 
र, उसलाई भन्नेछु– प्रिया यो सबै तिम्रो हो, किनभने तिमीले मेरो प्रसिद्धि र पैसालाई होइन, 
सिङ्गो मलाई मात्र प्रेम गरेकी थियौ । 
मेरो शरीर र श्वास मात्र तिम्रा होइनन्, 
यी सारा प्रसिद्धि र पैसा पनि तिम्रै हुन् ।
आश्चर्यले डब्डबाएका उसका अनुहार हेरेर म मनमनै रमाउनेछु ।
मेरो एउटा सपना छ, कुनै दिन म च्याम्पियन भएँ भने...

दिन बिते, महिना बिते र बिते वर्षहरू
हुँदाहुँदा जवानी बित्यो र कयौँ कहानी बिते
तर न त त्यो प्रसिद्धि फेला प-यो
न त त्यो रूपसी, 
जसरी हरेक युवा सिसिफस जीवन घिसार्छ,
त्यस्तै एउटा औसत युवा र औसत जीवन भोगिरहेको म
न त प्रसिद्ध नै हुन सकेँ, न त उसरी नै घुम्न निस्कन भ्याएँ
कहिलेकाहीँ सोच्छु, इच्छाहरूका खात 
र सपनाका बजार 
उसरी नै मेरा प्रतीक्षा गर्दा हुन् कि नाइँ !
कहिलेकाहीँ त आफैँ हुँ कि हैन झैँ लाग्ने यो शरीर
कतै अर्काको जीवन पो उधारो जिउँदैछु कि झैँ लागिरहन्छ,
साँच्ची, कसैले भनिदियोस्,
म त्यै पुरानो अथाह रूमानी सपना बाँच्ने
बालक त हुँ म ?
हुँ भने कसैले खोजिदियोस्, 
मेरा ती सपना र भोगोस्, उसैले 
मात्र जान्न पाए हुन्थ्यो, त्यो पुरानो सपना बाँकी छ कि छैन, हँ !

प्रकाशित: १ भाद्र २०७५ १३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App