coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

वाख्यागीत

मलाई थाहा छ, मेरी द्रौपदीले पनि उसको प्रिय कर्णका लागि दिलको आसन खाली राखेकी थिई । हृदयमा प्रणयको डोरी बाटिँदा पनि कर्ण र द्रौपदीबीच मौनताको सानो पर्खाल थियो जसलाई दुवैले भत्काउन सकेनन् । अनि, द्रोणाचार्यसँग पिता दु्रपदको प्रतिशोधको सपना पूरा गर्न स्वयम्वरमा द्रौपदीले अर्जुनलाई रोज्ने निश्चय गरिन् । झन्, त्यसै बेला अंगदेशका नरेश बनाइएका कर्ण दरबारिया कुलको नभई ‘तुच्छ’ दासका छोरा हुन् भन्ने कसैले बताइदिएपछि कर्णले धनुर्वाण खैँचनै लाग्दा उनले घोषणा गरिन्, ‘म सूतपुत्रसित बिहे गर्दिनँ ।’ 

यही भयो । ठ्याक्कै यस्तै भयो । नहुँदो हो त सायद मुनलाई उसका बाबुआमाले जबर्जस्ती लाने थिएनन् । न मुन नै सायद चुपचाप मलाई छाडेर जान सक्थी । हावाको विपरीत दिशातिर फ्याँकिएको कागजजस्तै आज पनि उसको सम्झनाको तीर मेरो हृदयको भित्तामा बारम्बार ठोकिन्छ । ऊ मेरो सपनामा बारम्बार सुस्तरी मृदु हावाको गतिमा आउँछे र मलाई स्पर्श गरेर जान्छे ।

मुन कक्षाभरिमा सबैभन्दा जब्बर केटी थिई । उस्तै पर्दा केटाकै गाला चड्काइदिन्थी । 

एक दिन म स्कुलबाट एक्लै फर्किरहेको थिएँ । खुट्टामा जुत्ता थिएन । चिसोले चर्चरी फुटेको खुट्टा एकाएक चुच्चेढुंगामा बेस्सरी ठोकियो । बुढीऔँला फत्रक्कै झर्लाझैँ भयो । त्यही तोडमा म रुँदै, स्वर्गीय आमालाई सम्झँदै एक्लै धानको फाँटैफाँट हिँडिरहेको थिएँ । म बेहोसीमा धानका बाला रुँग्दै, छर्दै हिँडेको थिएँ । 

फाँट सकेर खड्कागाउँको उत्तीसघारीमा आइपुग्दा धान झारेको आरोपमा खेतधनी दुईजना केटाले घेरा हालेर मलाई समाते । तिनीहरूले घिसार्दै मलाई उत्तीसको रूखमुनि पु¥याए । एकै छिनमा डोरी लिएर तिनका बाबु दौडँदै आइपुगे । तिनीहरूले हात पछाडि लगेर मलाई उत्तीसको रूखमा टनटनी बाँधिदिए । 

भद्दु केटाले जोडले मेरो मुखमा मुक्का हान्यो । मेरो नाकबाट रगत र आँखाबाट आँसु एकै पटक बरर्र झरे । सहिनसक्नु वेदनाले प्राणै जालाझैँ भयो । अहँ, मैले केही देख्न सकिनँ । जताततै अन्धकार फैलियो । आँखा खुल्दा चारैतिर म तोरीको फूल देखिरहेको थिएँ । एकै क्षणमा त्यो गर्मीमा घरका छानामाथि देखिने रिमरिम औलमा परिणत भयो । हो, टाढाका केही घरमाथिको क्षितिज रिमरिम गरिरहेको थियो । मेरो ओठमा रगत जमिरहेको थियो । ओठमुनि सोझो तल भुइँको एक टाटो धुलो रगतले मुछिएको थियो ।

बाबु चाहिँले मलाई गोडा र गालामा सिस्नोपानी लगाए । अहो, सिस्नोको पोलाइ कति सहिनसक्नु  थियो ! अझ त्यसभन्दा असह्य अपमान थियो । नानाथरी गाली गर्दै केटाहरू मलाई अझै सिर्कनाले नांगो पाखुरामा सोठ्याइरहेका थिए ।  

स्कुलबाट साथीहरू आइपुगे । तिनीहरू अचम्म मानेर हेर्न थाले । बल्ल एउटाले सोध्ने साहस ग¥यो । बाबुचाहिँले उसको सातो लिए । ती, कुखुराका चल्लाजस्तै दच्किए । पर ढिकुरामा पुगेर चुपचाप हेर्न थाले । 

मुन स्कुलबाट एक्लै फर्किरहेकी थिई । उसले नदेखोस् भनेर मनमनै पुकारा गरेँ । नदेख्ने त कुरै थिएन । एउटी केटीले यस्तो हालतमा देख्दा म आत्महीनताले मरेतुल्य भएँ । मेरो अनुमानविपरीत मुनले चुपचाप मेरा छरिएका किताब बटुलिदिई । मानौं सुग्रिबको पक्षमा अपरिचित राम सहाय भएर उपस्थित भइदिए । तिनीहरूले उसलाई पनि हकारे । ऊ डराउने खालकी केटी नै थिइन ।

‘उसलाई छाड्देऊ’, मुनले संयमपूर्वक भद्दुलाई भनी ।

‘किन छाड्ने ? यसले हाम्रो आधा मुरी धान झारेको छ । तँ तिर्छेस् ?’

‘तिर्छु । घरमा लिन आऊ । मान्छेलाई गाईवस्तुजसरी बाँधेर कुट्न पाइन्छ ?’

‘.................।’

‘.....भद्दु, उसलाई छाड्देऊ ।’

‘छाड्देऊ रे ! यो तेरो को हो ? कि तेरो पोइ हो ?’

‘जो भए पनि तिम्लाई के ! उसलाई छाड्देऊ !’

भद्दुको अश्लील प्रश्नमाथि मुनको नरम जवाफले मेरो हृदय कृतज्ञताले ढक्क फुल्यो । भद्दुको ओठमा भने धूर्त मुस्कान फैलियो । मुनका आँखामा आँखा गाढेर उसले ओठ बङ्ग्याउँदै सोध्यो, ‘ल, ठिक छ, यो तेरो ‘केटो’ हो भने छाड्दिन्छु । तर, तँ मलाई के दिन्छेस् भन् त ?’

मुन के जबाफ देओस् !

‘तँ मसँग पोइला आउँछेस् भने यसलाई छाड्दिन्छु । आउँछेस्, हैन त ?’ भद्दु मुनका आँखामा आँखा जुधाएर हाँस्न थाल्यो । उसका बाबु र भाइ पनि हाँसे । लाग्थ्यो, मुनले अब भद्दुको गाला चड्काउँछे । तर, उसले ओठबाट कुनै शब्द चुहाइन । अपमानित भएको कुनै प्रतिक्रिया पनि जनाइन । 

उसले चुपचाप मेरो डोरी फुकाइदिई । सबै जना चुपचाप हेरेको हे-यै भए । 

उत्तीसघारीबीच खुड्किला खोपिएको गोरेटोमा ऊ अगाडि लागी । झाँसीकी रानीले मुक्त गराएको प्रजाजस्तै म उसको पछि लागेँ । 

मुन शारीरिक रूपले असाध्यै बलियी होइन । तर, उसमा अनुपम साहस थियो । ऊ पढ्न पनि कमजोर थिइनँ । घाँस काट्नु, भकारो सोहोर्नु, ठूलाठूला भारी बोक्नु उसको जीवनका अतिरिक्त पढाइहरू थिए । म भने हरेक कुरामा कमजोर थिएँ ।

त्यस घटनापछि उसैबाट मैले साहस बटुल्न सिकेँ । हामी स्कुलबाट फर्कँदा ढोड, छ्वाली वा परालको कुन्युँको छेको लागेर ‘वाख्यागीत’ गाउँथ्यौँ । तपाईँले सोचेजस्तो यो, किशोरकिशोरीबीच लुकिछिपी हुने वर्जित क्रियाकलाप थिएन । हामी ज्यापुका खेतबाट मौसमअनुसार लसुन, मुला, बोडी, काँक्रो चोरेर ल्याउँथ्यौँ र यहीँ छेको लागेर खान्थ्यौँ । केही नपाउँदा बोडीका कलिला पातमा नुन बेरेर खान्थ्यौँ । नारी स्वभाव झल्काउँदै ऊ मेरो भागमा बढी नै राखिदिन्थी । यही हाम्रो वाख्यागीत थियो । 

मलाई कताकता मनको धागो फुकेर चङ्गाको ककामा झैँ ऊसँग जोडिएझैं लाग्थ्यो । मैले उसको नाममा कविता लेखेँ । उसको मुहारचित्र बनाएँ । पछि भावुक न भावुक प्रेमपत्र लेखेँ । म कसरी उसलाई दिने आँट गर्न सक्थेँ ?

म सधैँजसो आँगनमा पिखःलखुलाई ढोगेर मुनसँग मेरो प्रेम साकार होस् भन्ने कामना गर्थेँ । सायद ऊ पनि मलाई प्रेम गर्थी । त्यस्ती जब्बर केटी नत्र मसँग किन यति नरम हुन्थी ? स्कुलबाट भागेर हामीले त्यति बेला खुबै चलेको फिल्म ‘जीवनरेखा’ र ‘प्यार झुकता नहीँ’ हेरेका थियौँ । दुवै उसलाई मन परेका थिए । अर्कोपल्ट ‘कान्छी’ हेर्दा ऊ हलमै रोएकी थिई । 

त्यसताका मलाई साइकल कुदाउन खुबै मन पथ्र्यो । म बेलाबेला घरबाट अण्डा चोर्थेँ र एक मोहोर भाडामा साइकल कुदाउँथे । उसलाई पनि सिकाउन चाहन्थेँ । ऊ मसँगै टाढा कतै साइकलमा यात्रा गरिरहेको कल्पना गर्थेँ । 

साहसिकता उसको पर्याय थियो । तर, किन हो, साइकल कुदाउन सक्छु भन्ने आत्मविश्वास उसलाई कहिल्यै भएन । एक दिन ऊ नराम्ररी लडी । उसको देब्रे गोडा पाइतालादेखि घुँडासम्मै सुन्निएको थियो । तर, ऊ भोलिपल्ट पनि चढ्न तयार भई र लडी । सायद खुट्टा मर्किएको थियो । चोटले ऊ रुन पनि सकिरहेकी थिइनँ । मैले उसलाई खै गरेँ । एकछिनको मौन र मोहक मुस्कानपछि मसिनो स्वरमा उसले भनी, ‘मैले साइकल चढेको तिम्लाई मन पर्छ नि, होइन?’

मुनले कति आत्मीयतापूर्वक भनेकी ! मेरो मुटु ढक्क फुल्यो । हे भगवान्, कतै मेरो सासै उडेर माथि नपुगोस् !

दिनहरू बिते । हप्ता, महिना, ऋतु र वर्षहरूले पनि नयाँ कोट लगाए । म ठान्थेँ, मुनसामु मेरो हृदयको पाना खुला छ । सायद ऊ पनि त्यस्तै ठान्थी । तर, न मैले त्यसको पर्दा उघार्न सकेँ, न उसले जरुरी ठानी । 

अनि एक दिन, कक्षा ९ को नयाँ सत्र सुरु हुनै लाग्दा उसले अप्रत्यासित घोषणा गरी, ‘अब म आउँदिनँ, तिम्लाई मैले कसोरी भेट्नु ?’

मानौं, नुहाउँदा नुहाउँदै धारा सुकेको थियो । मानौं, हिँड्दाहिँड्दै सडक पहिरोले पुरियो । म अकमक्क परेँ । एक्कासि मलाई फेरि द्रौपदीले भनेझैँ लाग्यो, ‘म सूतपुत्रसित बिहे गर्दिनँ ।’ मैले लगभग रुन्चे स्वरमा सोधेँ, ‘तिमी अब आउँदिनौ ? किन आउँदिनौ ?’

‘त्यो तिमीलाई थाहा भइहाल्छ । लौ त राम्ररी पढ्नू, कस्सैले हेपेको सहेर नबस्नू !’ 

फेरि ऊ सिनेमाकी जब्बर नायिकाको अवतारमा फर्केकी थिई । अलिकति अर्तीउपदेश दिएर नाटकीय तरिकाले एउटी द्रौपदी उसको प्रिय कर्णबाट बिदा भई । 

नभन्दै भोलिपल्टदेखि ऊ आइनँ । मलाई एक्कासि आफू भीरबाट खसेर खोचमा एक्लै लडिरहेझैँ लाग्यो ।

ऊ मामाघर बसेर पढिरहेकी थिई । पञ्चायतको उत्कर्षमा उच्चजातीय ब्राह्मण किशोरीसँग एक निम्नवर्गीय वैश्यको ‘असमान र अव्यक्त प्यार’ टिक्ने कुरै थिएन । त्यसैले बाबु–आमाले उसलाई जबर्जस्ती लगेका थिए । ऊ कहाँ गई, मलाई थाहा भएन । 

मेरी द्रौपदी मसँगै हुँदी हो त कथाले अर्कै मोड लिन्थ्यो । कर्ण र द्रौपदीको प्रेम सफल हुँदो हो त महाभारतको कथा पनि अर्कै हुने थियो । प्रेमको सरोबरमा पौडिरहेकी द्रौपदीमा कुनै कुण्ठा र आक्रोश रहने थिएन । उनी पाँच पतिकी साझा पत्नी हुनुपर्ने थिएन । उनले दुर्योधन र पितासमान धृतराष्ट्रको अपमान गर्ने परिस्थिति पनि हुने थिएन । कर्णले पनि वेश्या भनेर दुर्योधनको काखमा बस्न योग्य ठह-याउने थिएनन् । न उनमा युद्धको त्यस्तो भोक हुने थियो । तैपनि युधिष्ठिरले द्रौपदीलाई जुवामा हारेपछि सभामा ल्याउन खोज्दा रजश्वला भएर एकवस्त्रमा रहेकी उनीप्रति कर्ण सहानुभूतिले द्रवित भएका थिए । द्रौपदीले पनि दिल खोलेर आफ्नो मजबुरी प्रकट गरेकी थिइन् । हो, तिनको सुषुप्त प्रेम सफल भएको भए, महाभारत युद्धमा त्यत्रा मान्छे र हात्तीघोडा मारिने थिएनन् । पितामह भीष्मले बारम्बार मजबुरीको भाषा बोल्नुपर्ने थिएन, न द्वारकावासी कृष्णको महत्वाकांक्षाले काम गर्नेवाला थियो । मुख्य कुरा, सुमेरुको हिउँमा चिप्लेर अन्तिम अवस्थामा पतिहरूले द्रौपदीलाई एक्लै छाड्ने अवस्था आउने थिएन ।

मेरी द्रौपदी कहाँ छिन् ? तिनको के हाल छ ? म केही थाहा पाउँदिनँ । तर, महावीर कर्णमा जस्तो मभित्र कसैप्रति प्रतिशोध, कुण्ठा र हीनता छैन । उत्तीसको रूखमा बाँधेर मलाई यातना दिनेहरूलाई र मुनलाई मबाट छुटाइनाले उसका बाबु–आमालाई पनि मैले माफी दिइसकेँ । म केबल तिनीहरूलाई तŒवबोध गराउन चाहन्छु । दुःख यस कुरामा छ कि, मेरी द्रौपदीले पनि सायद उसको प्रिय कर्णलाई भुसुक्कै बिर्सिदिई । सायद ऊ झाँसीकी महारानी लक्ष्मी बाई थिई र म उसले मुक्त गराएको साधारण प्रजा मात्र थिएँ । नत्र किन ऊ त्यसपछि मलाई भेट्न कहिल्यै आइन वा सम्पर्कको कुनै सूत्र मलाई दिइनँ ? 

प्रेम त ऊ पनि गर्थी, मेरो अन्तरमनले भन्छ । कि उसले पनि मलाई दया गर्न र बिर्सनलायक पात्र ठानी ? जीवनको रंगमञ्चमा म बिर्सिइने र नचिनिने पात्रकै भूमिकामा त छु अहिलेसम्म ! 

हो, जन्म र जराको विभेदलाई निरर्थक सावित गर्न बुद्ध, गान्धी वा लेनिनले जस्तै म अवश्य केही असाधारण काम गर्छु । कि ठूलो लेखक वा कलाकार बन्छु । मुनसँगको सुषुप्त प्रेममाथि एउटा महान् उपन्यास लेख्छु । अथवा ठूलै आविष्कार गर्छु । मुनकै उपकारको बदलामा सही, कि मिर्गौला वा कुनै अंगदान दिएर, कि आफैँ मरेर पनि अरूलाई बचाउँछु । बल्ल मानिसहरूलाई थाहा हुनेछ, जन्मकै आधारमा कोही हेय वा महान् हुँदैन । मलाई सजाय दिनेहरूलाई पनि त्यतिखेर पछुतो हुनेछ । (मेरी प्यारी द्रौपदी ! कुनै दिन तिमीलाई पनि थाहा हुनेछ कि तिम्रो कर्ण बिर्सनलायक पात्र किमार्थ थिएन ।) 

बाँचीवर्ती रहे, मेरो प्रसिद्धि सुनेर एक दिन खोज्दैखोज्दै ऊ मलाई भेट्न अवश्य आउँछे । अनि उसलाई पनि गर्व हुनेछ कि कुनै दिन म उसको आत्मीय ‘साथी’ वा त्यसभन्दा अझ बढी केही थिएँ । अथवा मेरो हृदयविदारक प्रेमकथा पढेर पश्चातापले खरीको गिन्डोझैँ चिरिँदै प्रायश्चित गर्न आउनेछे । त्यसपछि सबै बिर्सेर हामी कतै कुन्युँको छेको लाग्नेछौँ र फेरि एकपटक निस्फिक्री वाख्यागीत गाउनेछौँ । 

मेरी द्रौपदी, समय र नियतिको कोर्राले घाइते बनाएको तिम्रो कर्ण त्यही दिनको प्रतीक्षामा छ ।

प्रकाशित: १ भाद्र २०७५ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App