७ वैशाख २०८१ शुक्रबार
अन्य

खुला कारागार

“टाकुले राजाको छाप हो । बुढाले बिया गर्दा दिया हुन् ।”

कालो पोतेमा उनिएको मैलो चाँदीको सिक्का देखाउँदै नानीमाया विकले एक मुठी हाँसोको झोक्का फुकाई पठाइन् । यसो गर्दा उनको अनुहारको गाढा रङको बाक्लो छालामा उमेरका पैनीहरु प्रस्टसँग तन्किन्यो । नसप्रिएका स्याउका स–साना दानाहरु डोकामा राखेर उनि ताल्चा विमानस्थलछेउको चौरमा सानो हाट भर्न आएकी थिइन् । यो त्यही चौर हो जहाँ नेपालगञ्जबाट विमान आउँछ भन्ने खबर सम्प्रेषण भएको दिन ताजा स्याउ, सुकुटी स्याउ, सिमी, चुक अमिलो, स्याउको रक्सीलगायतका स्थानीय स्तरमा उत्पादित सामग्रीहरुको हाट राखिन्छ र हाट भर्ने मुगुको रारा तालको पर्यावरणीय रसास्वादन गरेर फर्किने आन्तरिक तथा बाह्य पर्यटक हुने गर्दछन् । 

नानीमाया विकका जर्जर हातले प्याकिङ गरेको प्रत्येक स्याउका दानामा लामो समयदेखिको दुःखको रङ छ । त्यो दुःखको रङ कहिले रातो हुन्छ कहिले पहेँलो । उनको श्रीमान् मोतिबिन्दुको उपचारका लागि नेपालगञ्ज झरेको हप्तादिन बितिसकेको छ । दुईभाइ छोराहरु कामको सिलसिलामा भारत गएका छन् । 

ती दसैंको छेकोमा आउँछन् । हजारका दुई तीनवटा नोट छाडिराख्छन् । फर्किन्छन् । त्यतिले  घर धान्न मुस्किल छ । त्यसैले नानीमाया आफ्नो बारीमा फलेको स्याउ बेच्न ताल्चा विमानस्थल झर्छिन् । सरकारले स्याउको व्यवस्थापनको जिम्मा लिन्छ भन्ने सुनेको वर्षाैं भईसक्दा पनि त्यस्तो सुगम अनुभव गर्न उनले पाएकी छैनन् । कर्णालीमा हुने उत्पादनको विनिमय तिब्बत सीमाको व्यापार र आवत–जावतमा कडाइ हुन थालेदेखि थालिएको छ । जसले गर्दा कर्णालीवासीहरु उत्पादित सामग्रीको उचित व्यवस्थापनको मारमा छन् । उनीहरु यस्तै स–साना बजारमा सीमित हुन बाध्य छन् । 

धेरै वर्षअगाडि कुनै गैरसरकारी संस्थाले दिएको स्याउका बिरुवा बारीमा लगाएको तर त्यसपछि उनीहरु फर्किएर नआएको अनुभव नानीमायासँग छ । गमगढी बजारसम्म स्याउ पु¥याएर फर्कन त्यसको विनिमयले लगभग ठिक्क मात्रै हुन्छ । त्यसैले उत्पादित स्याउ घरैमा थन्काउनु परेको छ । विकल्पमा सुकुटी तयार पारिन्छ । धेरै जसो मलखाल्डोमा हाल्नुपर्छ । बरु अलिअलि यही सानो हाटबाट आम्दानी हुन्छ । त्यो पनि विमान आउँछ भनेको दिनमा मात्रै । यतिखेर नानीमायाको र हाम्रो प्रतिक्षा साझा छ, नेपालगञ्जबाट आउने विमान । 

घरपरिवार, जागिर, जिम्मेवारी यावत् व्यस्तताबाट मानिसमा आउने दिक्दारीको व्यवस्थापन धेरथोर समय भ्रमणमा निस्केर गर्न सकिन्छ भन्ने मान्यता नेपाली समाजमा स्थापित भएको धेरै भएको छैन यद्यपि तुलनात्मक रुपले यो बढेर गएको छ । म र मानकुमारजी पनि त्यस्तै केही सन्तुष्टि खोज्न नेपालकै सुदूर भेग मुगुमा रहेको रारा तालतिर वेग मारेका थियौं केही दिनअघि काठमाडौंको खाल्डोबाट । 

म्याथमेटिकल्ली भन्नुपर्दा प्लेनमा काठमाडौंबाट नेपालगञ्ज र नेपालगञ्जबाट मुगुको ताल्चासम्मको यात्रा जम्माजम्मीमा एक घण्टाको हुन्छ । द्रुत गतिमा अगाडि गइरहेको जीवनबाट व्यस्तताहरुलाई हामी बढीमा एक हप्ताका लागि पर सार्न सक्छौं । त्यसैलाई मनन गरेर एक किसिमको मनस्थिति बनाएर उडेका हामीलाई ताल्चाबाट रारा ताल पुग्न चार घण्टा पैदल हिँड्नुपरेको थियो । हामी नेपालीले जीवनको कुनै एक अध्यायमा पुग्नै पर्ने ठाउँ हो रारा । स्वर्गीय आनन्दानुभूति प्राप्त गर्न सकिने सीमित ठाउँमा रारा पनि एक हो । विकट परिवेशमा पनि केही होटलहरु सञ्चालनमा ल्याएर रारा राष्ट्रिय निकुञ्जले पर्यटकहरुलाई राहत दिएको छ । राराको प्राकृतिक सुन्दरता नियालेपछि हृदयमा एक किसिमको अज्ञात सन्तुष्टि मिल्दछ । राराको निलो दह हृदयमा स–साना फोका जसरी भुलुक्क भई बस्छ । तर जब हामी घर फर्कनका लागि ताल्चा आईपुग्यौं ती खुसीका फोकाहरु एक–एक गर्दै प्वाट्प्वाट् फुटेर जान थाले ।

ताल्चा फिरेपछि 

हामीले काठमाडाैंबाट जाने बेलामै अपनडाउन प्लेनको डेट निश्चित गरेर पेमेन्ट गरेका थियौं । त्यसैअनुसार जागिरबाट बिदा मिलाइएको थियो । घर व्यवहार मिलाइएको थियो । तर जब हामी ताल्चा आईपुग्यौं सारा योजना चौपट हुन पुगे । हाम्रो उडानको समय ९ः३० को थियो । बोर्डिङ पास लिन हामी बुद्ध एयरको अफिसमा पुग्दा जुन रमिता देखियो, मनमा खिन्नता भरियो । अफिसभित्र भनाभन र हानाहानको स्थिति थियो । स्थानीयवासीहरुको दादागिरी यसरी जहीँकहीँ चल्दो रहेछ । उनीहरुका मान्छेलाई बोर्डिङपास नदिए नोक्सान गरिदिने धम्की दिइरहेका थिए । अफिसबाहिर सात जना बिरामीको मुढा पल्टाइएको थियो । परीक्षाका लागि जसरी पनि त्यही दिन उड्नै पर्ने विद्यार्थीको लर्को अर्कोतिर थियो । जम्माजम्मी त्यहाँ आउने विमानको सिट १६ जनाको हुन्छ । तर त्यहाँ चालीसजनाभन्दा बढी मानिस बोर्डिङ पासको निमित्त उभिरहेका थिए । यस्तोमा हामीले बोर्डिङ पास पाउने कुरै थिएन । भनियो ‘यहाँ एक हप्तादेखि मानिस डिलेमा परेका छन् । पहिले उनीहरुलाई उडाउने त्यसपछि मात्र तपार्इंहरुको पालो आउँछ । आज त कुनै हालतमा जान सक्नु हुन्न ।’

हाम्रो खुसीको एउटा फोका प्वाट्टै फुटिगयो । ठिकै छ पहिले बिरामीलाई प्राथमिकता दिनुपर्छ, त्यसपछि विद्यार्थीलाई । अनि हामीभन्दा अघिल्लो दिनदेखि रोकिएकालाई जान दिनुपर्छ । हामी भोलि जान्छौं । समझदारी गरियो । होटल भिजिट कर्णालीमा एक रातका लागि अडिने भयौं । होटलमा पुग्दा पो थाहा हुन आयो कि त्यहाँ त तीन दिनदेखि विमानको पर्खाइमा रहेका एघार जनाको डप्फा रहेछ । अरू होटलमा कति थिए ?

विश्वकै सबैभन्दा अग्लो भू–भागमा पाइने एक प्रजातिको भ्यागुता जुन रारा तालमा मात्रै पाइन्छ । त्यसैको अनुसन्धानको निमित्त आएका तीन नेपाली युवाहरु हामी बसेको कोठासँगैको कोठामा बसेका थिए । तिनीहरुसँग रारा तालमा महिनादिन लगाएर समातिएका विशेष प्रजातिका भ्यागुता थिए । जुन छिटोभन्दा छिटो ल्याबमा पु¥याउन आवश्यक थियो । तिनीहरु विमानको पर्खाइमा तीन दिनदेखि त्यहीँ थिए । काठमाडौंबाट छिटो आउन ताकेता भए पनि बोर्डिङ पासको प्राथमिकतामा उनीहरु परिरहेका थिएनन् । भोलि भोलि भन्दै तिनीहरु त्यहाँ रोकिएका थिए । अनुसन्धान बिग्रने त्रासले एकदम आत्तिएको देखिन्थे । 

हामी ताल्चा झरेको दिन बोर्डिङपास हात नपरेपछि दिनभरि होटलमै बस्यौं । होटलमै भेटिएका सातजनाको अर्को एउटा जम्बो टोली थियो । ती काठमाडौंकै कुनै कलेजका मास्टर रहेछन् भन्ने कुरा संवादको क्रममा थाहा हुन पुग्यो । सीमित बिदा लिएर रारा घुम्न गएका तिनीहरु पनि पछिल्लो दुई दिनदेखि विमानको प्रतिक्षामा थिए । रारा आउँदा जिप रिजर्भ गरेर आएका तर बाटोको अवस्था  देखेर जिप रित्तै फर्काइदिएका रहेछन् । 

‘यहाँ अपनडाउन प्लेन टिकट लिएर आउनेले त बोर्डिङपास पाएका छैनन् । जिपमा आउनेले कहाँ भनेको बेला पाउँछन्?’

दिउँसो बुद्ध एयरका कर्मचारी खनिएको टोली तिनै थिए । हामी त ओहोर–दोहोर टिकट बनाएर आएका । भोलि त पक्का उड्नेछौं । यसरी ढुक्क भयौं ।

दोस्रो दिन

भोलिपल्ट करिब आठ बजे नै होटल चेक आउट गरेर विमानस्थल झ-यौं । विमानस्थल लगभग सुनसान थियो । हाटबजार पनि थिएन । केही समयमा ती तीन रिसर्चवाला युवा पनि आइपुगे । तिनीहरुसँगै कलेजका मास्टरहरु पनि आइपुगे । सबै अबको एकाध घण्टामा नेपालगञ्ज पुग्छौं भनेर दंग थिए । तर जब विमानस्थलका कर्मचारी आएर आज विमान आउँदैन भने हाम्रो अनुहारको रङ पारि हिमालमा देखिएको काला पत्थर जस्तो भएर गयो । एकदम सपाट !

हामी रन्थनिएर एयरपोर्टछेउको सानो बजार पुग्यौं । बजारमै सुन्यौं कुनै एकजना विदेशीले आजका लागि ताल्चा आउने विमान रिजर्भ गरेर लुक्ला लगेको कुरा  । 

उफ् ! राज्यको निरिहता । यता बिरामी, विद्यार्थीदेखि पर्यटकहरु कति दिनदेखि अड्किएका छन् ? बेपरवाहको पनि हद हुन्छ ।

ताल्चामा बाह्र बज्नुअगाडि कहिलेकाहीँ दुईवटासम्म विमान आउँदो रहेछ । त्यसपछि हावा चल्दो रहेछ । हामी अर्को विमान आइहाल्छ कि भनेर निकै अबेरसम्म बस्यौं । भोकप्यासले गलाएपछि बिहान बोेकेर गएको झोलासहित पुनः अघिकै होटलमा फर्कियौं । 

होटलमा त आयौं तर छटपटी बढेर गयो जब साहुजीले भने, ‘यहाँ प्लेन आउने कुराको ठेगान नै छैन । कहिले रिजर्भ लगिदिन्छ  । कहिले मौसम खराब भइदिन्छ । यसरी कहिलेकाहीँ त हप्तौं प्लेन नआउन पनि सक्छ ।’

तेस्रो दिन

बिहानैदेखि सिमसिम पानी पर्न सुरु ग-यो । मौसमको खराबीको कारण विमान उडान स्थगित गरिएको खबर सुुनियो । अब भने कलेजका मास्टरहरुको डप्फा अब भने फोनमा व्यस्त देखिन थाले । ती हामी जसरी नै आत्तिएका थिए । कोही हेलिकोप्टर रिजर्भ गर्ने कुरा गर्दै थिए । कोही अब सुर्खेत झरेर नेपालगञ्ज पुग्नुलाई नै प्राथमिता दिइरहेका थिए । तर निक्र्योल गर्न सकिरहेका थिएनन् ।

दिउँसो पानीको गति धिमा भएर गयो । म, मानकुमारजी र रिसर्चवाला टोली भने सुर्खेत जाने बस पाइन्छ कि भनेर तल बसपार्कतिर ओर्लियौं । 

हावाको वेग तेज गतिको थियो । सुर्खेत जाने बस बिहानै हिँडिसकेछ । स्थानीयवासीहरुले  रिजर्भ जाने भए नेपालगञ्जबाट जिप मगाउन सकिन्छ चालीस हजारमा भनेको पनि सुनियो । ओहो ! यति रकममा त उडेरै काठमाडौं पुगिन्छ । समय पनि बचत हुन्छ । हामी अकमकियौं । जागिरबाट लिएको बिदा सकिसकेको थियो । मानकुमारजीको कोरिया जाने दिन नजिकिँदै थियो । 

मलाई ताल्चा खुल्ला कारागार जस्तै लाग्यो । जता गए पनि जान सक्छौं भनेर चारैतिर खुल्ला छ ताल्चा । तर जाने माध्यम र विकल्प भयावह थियो । वर्षाैपश्चात् मोटरमार्ग जोडिएको छ रारासम्म । तर बाटोको विस्तार र स्तरीकरण नहुञ्जेल यात्रुहरु कैद हुनेछन् बारम्बार । 

‘हाम्रो देशको नाम थाहा छ ?’ प्रसंगमा रहेर प्रश्न गरियो ।

“छैन ।” तेह्र वर्षका धनबहादुर विकसँगै चालीस वर्षे साउन्या विकले संयुक्तरूपमा टाउको हल्लाए  । हामी अवाक् ! राज्यको निरिहता । देशसँग जनताको प्रेम नहुनुको प्रमाण योभन्दा अरू के हुन सक्छ ? केहीबेर रिसर्चवाला गु्रप र हामी विमानस्थलतिरै बरालिँदै थियौं । त्यतिखेरै भेटिएका हुन् स–साना दस बाह्रवटा भेडा लिएर घरतिर बाटो नाप्दै गरिरहेका ती हजुरबा र नाति ।  

छिनभरमै मौसम बिग्रियो । हावा हुरीसहित पानी दर्किन थाल्यो । हामी निथु्रक्क भएर होटल फर्कियौं । होटलमा कलेजका मास्टरहरु ताससँग तनाव साटिरहेका भेटिए । एयरका एजेन्टले खबर छोडेका रहेछन् होटल मालिकलाई । भोलि पक्का विमान आउने भएको छ । बोर्डिङ पास बनिसकेको छ । यद्यपि ती रिसर्चवाला टोलीको प्लेन अझै कन्फर्म थिएन । ती पुनः निराश देखिए । भोलिपल्ट बिहान होटल साहुजी भन्दै थिए ‘तिनीहरुले सबेरै सुर्खेतको बस समाते ।’

चौथो बिहान ९ बजे ।

हेलि आयो । हेलि आयो  ।
अघिसम्म आइरहेको माहुरीको जस्तो गुनगुनको भोलुम अचानक बढेर गयो जब गमगढीको आकाश हुँदै बुद्ध एयरको ट्वीनेटर ताल्चाको सानो विमानस्थलतर्फ सोझिएर आयो । यतिखेर सम्ममा केही चउरमा पल्टाइएका बिरामीबाहेक लगभग सबै जसो मानिसहरु विमानस्थलको ठिक मास्तिरको फराकिलो पाटाको छेउमा उभिसकेका थिए । म र मानकुमार भने त्यही ढिस्कोको मुनि ट्वीनेटर चढ्न लामबद्ध थियौं । लामबद्ध थिए कलेजका मास्टरहरु पनि । ट्वीनेटरले विमानस्थल नजिकै आएर १८० डिग्रीको कोणमा फन्को मा-यो अनि बिस्तारै उत्तर–दक्षिणको सिधा धावनमार्गमा ल्याण्ड भयो । यात्रुहरु ओर्लिए, यात्रुहरु चढे । यतिञ्जेलसम्म ट्वीनेटरबाट उत्पादित घ्याँरघ्याँरको ठूलो ध्वनि हाम्रो कानले खपिरह्यो । ट्वीनेटरले टेक अफ लियो । 

अबको २५ मिनेटमा हामी नेपालगञ्ज ओर्लिनेछौं । नेपालगञ्जबाट विविध विकल्पसहित घर पुग्नेछौं । हामीलाई लाग्यो जो जो ट्वीनेटरभित्र छन् ती मुक्त भए । 

र सम्झनामा जानी थापा 

“नाम ?”
“जानी थापा । बुडाको नाम मानसिंह थापा । साठी वर्षका भया । मु त बयालीस मात्त । खत्याडबाट आया हुम् । पहिलेका श्रीमान् सुकेर मरेका नेपालगञ्जमा । दम थियो । तमकन सुङरे लागेर यिनीसँग भागेर बिया ग-या हुम् । तर अहिले दुःख लाग्या छ । रातदिन शंका गर्छन् । माया पुनि ग-या हुन् । तर मनको सन्तोक पो सन्तोक ।”

हामी बसेको होटल मर्मत हुँदै थियो । मिस्त्री थिए खत्याडका मानसिंह थापा । उनैकी श्रीमती थिइन् जानी थापा जो बारीबाट ढुंगा ओसार्दै थिइन् । सावालां रङ्गकी जानी हंसिली आईमाई थिइन् । मसँग बसेर गफ गरेको एकाध घण्टामै घाम लागेको आकाश जसरी खुलेर गइन् । उनले बोलेको पूरा बुझ्न समस्या त थियो यद्यपि मैले उनको शारीरिक हाउभाउ, मुहारको एक्सप्रेसनबाट यति अनुमान लाएँ कि उनी दोस्रो विवाह गरेर उति खुसी छैनन् । श्रीमान्को शंकालु बानीले दुःखी भएको कुरा बताउँदै गर्दा उनको श्रीमान् हामीतिर आफ्ना ठूला आँखा निकालेर हेरिरहेका थिए । 

हामी होटलमा बसुञ्जेल जानी आइरहन्थिन् । फर्किने अन्तिम बिहान अलिकति स्याउका दाना र कालो सिमीको कोशेली बोकेर आइपुगेकी थिइन् ।  

“मकन तमीसँग मितिनी लाउन्या मुन छ ।”

छुट्टिने बेलामा जानीले गरेको रहर रहरमै सीमित भएर गयो । काश मसँग समय हुँदो हो त म औपचारिक रूपमै जानीको मितिनी हुन्थेँ । हृदयले त ऊ अहिले पनि मेरो मितिनी नै हुन् ।

प्रकाशित: १ भाद्र २०७५ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App