८ वैशाख २०८१ शनिबार
अन्य

तीन वर्षको विकल्प खोज्दै महानगर

उपत्यकाको फोहर ‘डम्प’ गरिँदै आएको सिसडोल भरिएपछि काठमाडौंका स्थानीय तह त्यसको विकल्पको खोजीमा लागेका छन् । बञ्चरेडाँडामा डम्पिङ साइड तयार हुन अझै तीन वर्ष लाग्ने भएपछि त्यतिञ्जेलसम्म सिसडोल नजिकै फोहर फाल्ने विकल्प खोज्न थालिएको हो।

१२ वर्षदेखि फोहोर फाल्ने ठाउँ सिसडोलमा अबको १५-२० दिनसम्म मात्रै फोहोर फाल्न सकिने काठमाडौं महानगरले जनाएको छ । विकल्पमा अर्को साइट तयार नहुँदा यही साइटको क्षमता बढाउँदै फोहोर चाङ लगाएर राख्ने गरिएको थियो । तर, अहिले सबैतिर फोहर भरिएपछि बञ्चरेडाँडा बन्द गर्नुपर्ने स्थितिमा रहेको हो।

लगानी बोर्डले काम थालेको बञ्चरेडाँडामा डम्पिङ साइड तयार हुन अझै तीन वर्ष लाग्छ । महानगरले सिसडोल नजिकै रहेको खाली ठाउँमा तीन वर्षलाई फोहर फाल्न सकिने बताउँदै आएको छ । तर, यो ठाउँ तयार हुन अझै तीन महिना समय लाग्ने अनुमान गरिएको छ ।

सिसडोल भरिएपछि त्यसको तत्काल समाधान खोज्न काठमाडौं महानगरपालिकाले गएको शुक्रबार सबै नगरपालिकालाई आग्रह गरेको थियो । बैठकमा फोहर फाल्ने विकल्प खोजी गर्न अरु स्थानीय तहले पनि सघाउनुपर्ने महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत यादव प्रसाद कोइरालाले बताएका थिए । उनले उपत्यकाको फोहर व्यवस्वथापनका लागि विगतमा काठमाडौं महानगरपालिका एक्लैले जिम्मेवारी लिँदै आएको भन्दै अन्य निकायले पनि त्यसमा लगानी गर्ने तत्परता देखाउनुपर्ने बताए । ‘अहिले काठमाडौं महानगरको फोहर मात्रै सिसडोल जाँदैन, यहाँका अन्य नगरपालिकाले पनि काठमाडौं महानगरलेजस्तै फोहर उत्पादन गर्छन्,’ उनले भने, ‘अब ती निकायले पनि हामीसँग सहकार्य गर्नुपर्छ ।’ उनले सिसडोल नजिकै रहेको आलेटार क्षेत्र यसको विकल्प हुने बताए।

बैठकमा उपत्यकाका सबै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपस्थित थिए । फोहर फाल्ने विषय उपत्यकाको मुख्य समस्या भएको भन्दै सहभागीहरूले त्यसमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका थिए । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद दाहालले ललितपुरमा फोहर फाल्ने कुनै ठाउँ नभएकाले काठमाडौं महानगरसँगै सहकार्य गरेर अघि बढ्ने बताए । ‘हामीले यसको छिटो समाधान खोज्नुपर्छ,’ उनले भने, ‘१५-२० दिनमै सिस्डोलकै छेउमा तीन वर्ष फोहर फाल्न मिल्ने नयाँ ठाउँ तयार पार्नुपर्छ।’

सिसडोल भरिएसँगै काठमाडौंको फोहर समाधानमा चुनौती थपिएको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले दीर्घकालीन उपाय अवलम्बन नगर्दा उक्त समस्या बल्झिएको हो । यसको समाधान गर्न ९ वर्षअघि सरकारले लगानी बोर्डको कार्यालय अन्र्तगतको प्रोजेक्टलाई अघि सारेको थियो । तर, उक्त प्रोजेक्टले बञ्चरे डाँडामा फोहोर व्यवस्थापनको लागि पूर्वाधार तयार पार्न सकेको छैन । महानगरले ६ महिनाअघि नै ३ महिनाभन्दा धेरैको फोहोर सिसडोलमा नअट्ने बताएको थियो । तर, ६ महिना बित्दा पनि बञ्चरेडाँडालाई तयार पार्न सकेको छैन ।

महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिबहादुर कुँवरले बर्षात्को बेलामा सधै समस्या आउने गरेको बताए । उनले फोहरको डंगुरमाथिबाट फोहोर बोक्ने ट्रिपर गुड्दा धसिने गरेको सिसडोलमा दैनिक २० ट्रिपर पनि फोहर बिर्सजन गर्न कठिन भइरहेको जानकारी दिए । ‘अहिले समाधान नगर्ने हो भने दसै तिहारमा काठमाडौं गन्हाउने हुन्छ,’ उनले भने, ‘त्यसकारण तीन वर्षको लागि विकल्प तत्काल खोज्न जरुरी छ ।’ उनले सबै स्थानीय तहले मिलेर सहजीकरण गर्ने हो भने महानगरको फोहर सममाधान गर्न काठमाडौं महानरलाई मात्र भारी नपर्ने बताए । गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासीनीले सबै नगरपालिका मिलेर फोहरको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । उनले भने, ‘हामीले जसरी भए पनि फोहर समाधानको दीर्घकालीन उपाय खोज्नुपर्छ ।

उपत्यकाका तीन जिल्लाबाट सिसडोलमा दैनिक करीव ११ सय मेट्रिक टन फोहोर पुग्छ । महानगरले व्यवस्थापन गरिरहेको सिसडोलमा अन्य नगर तथा संस्थाले शुल्क तिरेर फोहोर विर्सजन गर्दै आएका छन् । महानगरले न्युनतम ८ टनसम्म रु १ सय ५० र ८ टन माथिको फोहोरको शुल्क २ सय ५० रुपैँया लिएर फोहोर विर्सजन गर्न दिन्छ ।
सरकारले २०५८ सालमै नुवाकोटकै बञ्चरेडाँडालाई ल्याण्ड फिल्ड साइड बनाउन स्थानीयलाई मुआब्जा बुझाइसकेको थियो । हालको ककनी गाउँपालिका वडा २ मा पर्ने यस क्षेत्रमा ल्याण्ड फिल्ड साइट बनाउनको निम्ति २०६१÷६२ देखि वार्षिक ढेड करोडभन्दा बढी रकम विनियोजन गर्दै आएको छ ।

 

प्रकाशित: २१ श्रावण २०७५ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App