१६ चैत्र २०८० शुक्रबार
अन्य

उपत्यकाबासी धमिलो पानी पिउन बाध्य

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को लापारवाहीको कारणले उपत्यकाबासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य भएका छन् । केयुकेएल महांकाल र सुन्दरजल प्रसोधन शाखाले पानी नथिग्राइकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् ।

हिलो मिसिएको धमिलो पानी मानवस्वास्थ्यको लागि निकै हानीकारक रहेको चिकित्सकले बताएपनि गोकर्णेश्वर नगरपालिकासहितका उपत्यकाबासीले धमिलो  तथा हिलो मिसिएको पानी उपयोग गरिरहेका छन्।

गोकर्णेश्वरनगरपालिका वडा नं ४ किसीगाउँका हरिप्रकाश श्रेष्ठले दिनहुँ हिलो मिसिएको खानेपानी उपयोग गर्नुपरेको गुनासो गरे ।‘विहान उठेर धारो खोल्दा हिलो मिसिएको लेदो पानी आउने गर्छ,’ उनले भने,‘ ‘बर्खायाम सुरुभएसँगै कहिल्यै सफा पानी पिउन पाएका छैनौं ।’ उनका अनुसार केयुकेएलको चरम लापारवाहीको कारणले गोकर्णेश्वरसहित उपत्यकाबासीले हिलो मिसिएको दुर्गन्धित पानी पिउन बाध्य भएको बताउँछन् ।‘सुन्दरजल प्रसोधन केन्द्रले धमिलो पानी नथिग्राइकन सोझै जनताको घरमा पठाउने गर्छ । जुन उपयोग गर्न समेत नहुने देखिन्छ,’ उनले भने,‘हिलो मिसिएको धमिलो पानी पिउनुहुदैंन भन्ने थाहा छ ।तर, विकल्प नभएपछि के गर्नै सकिन्छ र ?’

उनका अनुसार पछिल्लो समय किसीगाँउ, सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण, जोरपाटी लगायतका स्थानीयबासीले जोखिम मोलेर नै धमिलो पानी उपयोग गरिरहेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठ सुन्दरीजलमा रहेको पुरानो पानी प्रसोधन गर्ने फिल्टरले काम नगरेकाले धमिलो पानी आउने गरेको बताउँछन् ।‘सुन्दरीजलमा रहेको पानी प्रसोधन गर्ने फिल्टरले राम्रोसँग काम नगर्दा समस्या आएको हो,’ उनले भने,‘प्रसोधन केन्द्रले खोलाबाट आउने पानी नथिग्राइ सोझै जनताको घरदैलोमा पठाउँदा धमिलो आउने गरेको हो ।’ वडाध्यक्ष श्रेष्ठले वडा कार्यालयले हिलो मिसिएको धमिलो पानीको बारेमा बारम्बार सुन्दरीजल तथा महांकाल प्रसोधन केन्द्रलाई गुनासो गरेपनि सम्बोधन नभएको बताउँछन् । ‘पानी शुद्धिकरण गरेर मात्रै पठाउन धेरै पटक अनुरोध गरिसक्यौं,’ उनले भने,‘वडा कार्यालयको अनुरोधलाई प्रसोधन केन्द्रले वेवास्ता गर्दै आइरहेका छन् । कुन बेला वडाबासीलाई पानीजन्य रोगको संक्रमणले सताउने हो भन्ने डर लागिरहेको छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पताल टेकुका ट्रपिकल कन्स्ल्टयान्ट मेडिसिन विशेषज्ञ डा.  अनुप बास्तोला वर्षात्को समयमा पानीजन्य रोगको उच्च हुने भएकाले सावधानी अपनाउनुपर्ने बताउँछन् ।‘वर्षायाममा खानेपानीको स्रोतमा मान्छेका तथा जनावरका मलमुत्र मिसिने उच्च जोखिम हुन्छ । त्यसैले गर्दा धमिलो पानी पिउनै हुदैंन,’ उनले भने,‘मलमुत्रकै कारणले पानीजन्य रोगको संक्रमण एक्कासी फैलिने गर्छ ।त्यसैले  जहाँ पार्यो ।

त्यहीको पानी पिउनुहुदैंन । पानीलाई उमालेर वा क्लोरिनयुक्त झोर वा फिल्टर गरेर मात्रै पिउनुपर्छ ।’ वर्षात्को समयमा टाइफाइड, झाडापखला, रुघाखोकी,स्वासप्रश्वास, हैजा, आउँ, जन्डिस, भाइरल ज्वरो लगायतका रोगको संक्रमण हुने भएकाले खानेकुरा र पानीमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । ‘बर्खायामको पानी अत्याधिक मात्रामा दुषित हुने गर्छ । त्यसैले पानी उपयोग गर्दा धेरै नै सावधान अपनाउनुपर्ने देखिन्छ,’ उनले भने,‘हिलो मिसिएको धमिलोपानीमा व्याक्टेरिया धेरै हुने भएकाले पानी निर्मुलीकरण गरेर मात्रै पिउनुुपर्छ ।’ चिकित्सक बास्तोलाले वर्षायाममा पानीमा मात्रै होइन, खानेकुरामा पनि विशेष जोड दिनुपर्ने सुझाव दिएका छन् । वर्षायाम लागेसँगै पानीजन्य संक्रमणबाट लाग्ने रोगका विरामीको संख्या दिनानुदिन बढिरहेको अस्पतालले जनाएको छ।  

काठमाडौं उपत्यकामा पानी प्रशोधनका लागि सुन्दरीजल, महांकाल, बाँसबारी, बालाजु, बोडे मनोहरा, सैंबु –भैसेपाटी लगायतका स्थानमा प्रशोधन केन्द्र रहेका छन् । काठमाडौं उपत्यकामा दैनिक खानेपानीको माग ४१ करोड लाख ५० करोड लिटर छ । केयुकेएलले दैनिक करिब १० करोड ७२ लिटर पानी वितरण गर्दै आएको छ ।  १० करोड ७२ लाख लिटर मध्ये २० प्रतिशत पानी चुहावटमै सकिने केयुकेएलको दशौँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । हिउँदको तुलानामा वर्षायाममा केही मात्रामा पानीको आपूर्ति सहज हुने केयुकेएलले जनाएको छ।

काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिको जिम्मेवारी पाएको निकाय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्दा उपत्यकामा वर्षौंदेखि  उपत्यकामा खानेपानीको अभाव सिर्जना हुदैँ आइराखेको । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) महांकाल चौर, सुन्दरीजल शाखा प्रमुख उमेशबाबु मरहठ्ठाले भुइँचालोको कारणले खानेपानीको प्रसोधन केन्द्रमा असर पारेकाले हिलोमिसिएको धमिलो पानी आउने बताउँछन् ।‘भुइचाँलो र मेलम्चीको पाइपलाइन विस्तारको कारणले पानी धमिलो भइरहेको छ,’ उनले भने,‘देख्दा पानी धमिलो देखिएपनि । पूर्णरुपमा ट्रिटमेन्ट गरेर नै पठाएका छौं ।’ उनका अनुसार पानी थिग्राउने प्रयाप्त रिर्जभायर ट्याङकी नहुँदा समस्या भइराखेको छ।

प्रकाशित: २१ श्रावण २०७५ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App