३० वैशाख २०७८ बिहीबार
अन्य

चराका गुँड खोज्दा...

जिन्दगीरूपी पुस्तकका प्रारम्भिक पृष्ठहरू कहिलेकाहीँ आफसेआफ फर्र पल्टिल्छन् । ती बिर्सन नसकिने भएर बसेका हुने रहेछन् स्मृतिका गर्तमा । सबैका बाल्यकाल आफ्नै किसिमका रङ र अनुभूतिले भरिएको हुन्छ।

जति बेला स्कुले किताबमा ‘मानिस सर्वश्रेष्ठ प्राणी हो’ भन्ने पढ्न भ्याइसकेको थिइनँ, त्यति बेलासम्म मलाई चरा नै सबैभन्दा श्रेष्ठ र सुन्दर लाग्थ्यो सृष्टिमा । मेरो जीवनको उषाकालका अनेक अविस्मरणीय याद छन्, चरासँग जोडिएका।

चारै दिशा स्वच्छन्द भएर उड्ने चरा देख्दा कम्ती कल्पनामा उडेको थिएन मेरो बाल्यवय । उडीउडी फूलका रस चुस्ने निकै साना तर सुन्दर चरादेखि सारौँ, ढुकुर, चिबे, जुरेली, भँगेराजस्ता अनेक चरा घरको आँगनमा टुकुटुकु हिँड्न थालेदेखि नै देखेको हुँ मैले । त्यसबेला तिनका मीठा तर फरकफरक आवाज, गतिविधि र भावभंगीमा हेरेर मज्जा लिनु नै मेरो सुखको संसार थियो । मेरो कल्पनाको सुरुवाती अभ्यास यिनै रङबिरङका चराका पखेटासँगै उडेर भएझैँ ठान्छु । लाग्छ, किताब पढ्नुभन्दा पहिला मैलै धेरै चरा पढेको छु।

कुन चराको गुँड कहाँ छ, कस्तो हुन्छ र कसरी बचेरा हुर्कन्छन् भनेर घरवरिपरिका रूख र जङ्गलमा निकै डुल्ने गर्थे मेरा जिज्ञासु आँखाहरू । चराका गीत, रङरोगन, आकारप्रकार, आनीबानी सबैबाट म औधी आकर्षित हुने गर्थेँ । तिनीहरूलाई आफ्नै किसिमले अध्ययन गर्नुमै निमग्न रह्यो मेरो त्यो समय ।सानो छँदाको त्यो चराप्रेम सम्झँदा आफैलाई अनौठो लाग्छ । अनेकथरि चराका गुँड खोजी हिँडिन्थ्यो, घामपानी र भोकतिर्खाको समेत फिक्री नगरी । प्रजातिअनुसार  फरकफरक प्रकृतिका गुँड देख्थेँ । सृष्टिका सबै जीवनधारीको जीउने शैली, रूचि र विशेषता एकनास नहुने चराका गुँड र जीवन पढेर थाहा पाएको रहेछु त्यतिबेलै।

ढुकुरको बच्चाले मसँग कहिल्यै सामीप्य भाव देखाएन् । खानेकुरा खाने र आफ्नै तालमा बस्ने दैनिकी थियो, उसको । कहिल्यै नजिक भएन त्यो । शरीरमा बल भरिएपछि वेग हानेर उड्यो र कहिल्यै घर फर्किएन । तर, सुगाचाहिँ कहिल्यै घरका मान्छेसँग टाढा हुन चाहेन । उडेर जति पर पुगे घरमै आइपुग्थ्यो ।   

लाहाँचे चराको गुँड देख्दा अजिब लाग्थ्यो । लामो–बलियो चुच्चो, रातो टाउको, नीला खुट्टा र हरियो शरीर हुने यसले आफ्नो चुच्चोले ट्वाकट्वाक ठङदै रूखमा प्वाल पारेर सुरक्षित गुँड बनाउँछ, त्यहीँ पार्छ अण्डा र बचेरा हुर्काउँछ । त्यति कडा रूखमा आफ्नो चुच्चोले कोपीकपी कसरी बस्न लायक प्वाल पार्न सकेको होला भनेर छक्क पर्थेँ । मनमनै त्यसको मिहिनेतको तारिफ गर्न भुल्दिनथेँ ।तोप चराको गुँड देख्दा त्यस्तै मोहित हुन्थेँ म, फेदबाट एकटकले हेरिरहन्थेँ । अग्गा रूखका हाँगामा तुर्लुङ झुन्डिने तोप चराको गुँड विशेष खालको हुन्छ । सुरक्षित बासस्थान निर्माणमा यो सचेत रहेको अनुमान गर्थेँ । सानो चरा तर सीप र श्रम प्रशंसा गर्न लायक, निकै चासो हुन्थ्यो मलाई।

टाउकोमा सानो जुरो हुने र मीठो लयमा गीत गाउने जुरेली चराको गुँडचाहिँ साना र मझौला रूखमा देखेको थिएँ । एकमाने कचौरा जस्तो चिटिक्क गुँड बनाउने यो चरा पनि म सानोमा खुब मन पराउथेँ । यसको मधुर आवाले सुनिरहूँ लाग्थ्यो ।सारौँ, गौँथली र भँगेराका गुँड आफ्नै घरगोठ वरिपरि हुन्थेँ । सारौँले घरको गारोमा भएका खटप्वालमा सुकेका झार लगेर गुँड बनाएको देख्थेँ । काठको सानो टेको लगाएर बचेरा कत्रा भए भनेर नछोइकन बेलाबेला हेर्दा रमाइलो लाग्थ्यो । गौँथलीको गुँड बनाउने तरिका अरू चराको भन्दा बेग्लै देख्थेँ । भिजेको लेसिलो माटो आफ्नो चुच्चाले ओसारेर घरबाहिर दलिनमा यो चराले गुँड बनाएको निकै रुचि लिएर हेर्थेँ ।

निकै मिहिनेत र समय लगाएर बनाइएको हुन्थ्यो । यस चरालाई छुन हुन्न भनिन्थ्यो गाउँघरतिर । लगभग भँगेरा जत्रै तर जिउको रङ खैरो र कालो, पेटतिर सेतो रङ हुने यो चराको निकै बेरसम्म आकाशमा उडिरहनसक्ने क्षमताले आकर्षित गथ्र्यो । भँगेराको गुँड पनि घर नजिकैको गोठमा र परालको टौवामा सानै छँदादेखि नै देखेको हुँ । आमाले चामल, कनिका छरिदिँनु हुँदा आँगनै ढाक्ने गरी समूहमा आएर भँगेराले चारो टिप्दाको दृश्य हेर्न मज्जा लाग्थ्यो ।चिबे चरा घरभन्दा अलि पर्तिरको सुरिलो रूखको टुप्पामा गुँड बनाएर बस्ने गथ्र्यो । भँगेराभन्दा केही ठूलो र कालो रङको चरा निकै लामो बेग हानेर उडेको हेर्दा रमाइलो मान्थेँ । आफूभन्दा ठुल्ठूला चरालाई पनि यसले लखेट्ने गरेको देखेको थिएँ, आफ्नो गुँडतिर आएका बखत । यो अलि लडाकु प्रवृत्तिको चराजस्तो लाग्थो, आत्मरक्षाका लागि हरदम सचेत र सिपालु।

ढुकुर पनि मलाई सानो छँदा निकै मन पर्ने चरा हो । ढुकुरका गुँड खोज्दै धेरै वटा रूखतिर नजर डुलाएको सम्झना आउँछ । यसलाई अन्न खान मनपर्ने हुँदा खेतबारी नजिकका मझौला रूखतिर गुँड बनाएको देख्थेँ । रूखको हाँगामा काप परेको ठाउँमाथि थोरै सुकेका झार मात्र राखेर गुँड बनाउने र त्यहीँ बच्चा हुर्काउने हुँदा ढुकुर गुँड बनाउने मामिलामा अरू चराभन्दा अल्छी जस्तो लाग्थ्यो । अण्डाबाट सुरुमा भुत्ला नै नभएका बच्चा निक्लेका, बिस्तारै भुत्लाले ढाकिँदै गएको र हेर्दाहेर्दै केही दिन पछि माउसँगै उडेको समेत रुचिपूर्वक हेर्ने गर्थेँ।

एकपटक गुँडमा हुर्केर उड्ने बेला भएका जोडी ढुकुरको बच्चा घरमै लगेर पाल्ने विचार आयो । डोकाडाला बुन्ने गाउँ नजिकका मान्छेलाई बाँसको चोयाबाट पिँजडा बुन्न लगाएँ र ढुकुरको बच्चा त्यसमा राखेर पालेँ । खाने कुरा र पानीको राम्रो प्रबन्ध मिलाएले छिट्टै हुर्किए । बेलाबेलामा पिँजडा बाहिर निकालेर खेल्न, हिँड्न पनि छोडिदिन्थेँ । आफ्ना आँखा अघिल्तिर आफूले पालेका ती ढुकुरका बच्चाको जोडी खेलेको, हिँडेको र खाने कुरा टिपेर खाएको हेरेर रमाइलो मान्थेँ ।
हेर्दाहेर्दै एक दिन ती जोडी एकैसाथ भुर्र उडेर घरभन्दा परको टाँकीको टुप्पामा पो पुगेर बसे । त्यो रूख निकै अग्लो थियो, म चढ्न सक्दिनथेँ । चढ्न सकेको भए पनि त्यहाँबाट अर्को बेग हानेर झन् टाढा पुग्ने स्वतन्त्रता र सम्भावना थियो । उडेर बेग हानेपछि घरमा त्यति धेरै माया गरेर पालेको ढुकुर फर्किदै फर्किएन ।

गाउँतिर मानिसले आपसमा कुरा गर्दा तिमी त कस्तो ढुकुरजस्तो बैगुनी भन्ने गरेको सुनेको थिएँ, त्यो त्यति बेला नै प्रस्ट बुझेँ । हुन त आफ्नै स्वतन्त्र संसारमा स्वच्छन्द भएर बाँच्ने चरालाई मैले आफ्नो खुसीका लागि नियन्त्रणमा राख्नु कदापि सही थिएन, बुद्धि केही छिप्पिएपछि मात्र बुझ्दै गएँ । चरा त झन स्वतन्त्रताको प्रतीक मानिन्छ । उसलाई आफ्नो स्वतन्त्रताभन्दा प्रिय अरू के होला !कक्षा ३ सम्म पढुन्जेल एक जना चराप्रेमी साथी हस्तबहादुरसँग म खुब मिल्थेँ । उमेरले केही जेठो भएँ पनि सँगै पढ्थ्यौँ । ऊ त्यति बेला कालीमाटी मुछेर विभिन्न चराका आकृति पनि बनाउँथ्यो, दुरुस्तै लाथ्यो मलाई । त्यो देख्दा लोभिन्थेँ र बनाउने प्रयास गर्थेँ ।

तर, त्यति राम्रा बन्दैनथे मेरा । ऊ चित्र पनि राम्रो कोर्ने गथ्र्यो । खेलकुदमा सबैलाई जित्थ्यो र रुख चढ्न पनि त्यत्तिकै सिपालु थियो । पढाइमा बाहेक सबै कुरामा अगाडि थियो । उसले चराका बारेमा मलाई धेरै कुरा सुनाउँथ्यो । उत्सुकता बढाउँथ्यो । उसकै लहैलहैमा लागेर कहिले स्कुल नै नपुगी, कहिले स्कुलमा पुगेर पनि पूरा समय नबसी चराचुरुंगीको संसार चियाउन ऊसँगै वनपाखा पखेरा डुलिहिँड्थे ।पछि कक्षा ३ को अन्तिम परीक्षा नै नदिई उसले पढाइ छाड्यो । म पढाइको लयमा फर्किएँ । कस्तो अनौठो भयो भने साथीले पढाइ छाडेर हाम्रो साहचर्य टुटेकै वर्ष म कक्षामा प्रथम भएर उत्तीर्ण हुन पुगेछु।

सानो छँदा सुगा पनि मलाई खुब मन पथ्र्यो । घरमा पालेपछि मान्छेसँग रत्तिने र सिकाएका केही शब्दको आवाज नक्कल गरेर समेत सुनाएको देखेर म सुगा पाल्न एकदम इच्छुक बनेँ। सुगाको गुँड खोज्न साथी लिएर जंगलतिर भौँतारिन्थेँ । सुगाको गुँड पत्ता लगाउन सुरिला रूखहरूमा प्वाल छ कि छैन भनेर खोज्नुथ्र्यो । साथी रूख चढ्न सिपालु थियो । ऊ अग्लो रूखमा सुरेली खेल्दै सुगाको गुँडमा पुग्यो । सुगा मात्र छिर्न सक्ने सानो प्वाल थियो गुँडमा । साथीले हँसियाले काटेर रूखको त्यो प्वाल अलि ठूलो बनायो र हात हात छिराएर हुर्कदै गरेको बच्चा निकाल्यो । प्वाँखहरू लामा भइसकेको हुँदा छिट्टै गुँड छोड्ने तयारीमा भएजस्तो देखिन्थे बचेरा । ती बचेरा घरमा लगेर पाल्ने मेरो बाल्य मनको चौचौ पूरा गर्न त्यसरी सहयोग गरेको थियो आफूभन्दा बलियो र रूख चढ्न सिपालु साथीले।

सुगाको बच्चा घर आएको केही दिनमै रत्तिसकेको थियो । खुसी मानेजस्तो गर्दै खाने कुरा खाने, घरका मानिसको शरीरमा आएर बस्ने गर्न थालेको थियो । घरको प्रिय सदस्यको स्थान लिन उसलाई समय लागेन । म कतै घरबाहिर निस्केर फर्किदा देख्ने बित्तिकै भुर्र उडेर आउथ्यो र थपक्क मेरो काँधमा बस्थ्यो ।यसअघि पालेको ढुकुरको बच्चाले मसँग कहिल्यै सामीप्य भाव देखाएको थाहा पाइन ।  खानेकुरा खाने र आफ्नै तालमा बस्ने दैनिकी थियो ढुकुरको । जति माया दर्साए पनि चिनेजस्तो गरेन र नजिक हुन पनि चाहेन । शरीरमा बल भरिएपछि बेग हानेर उड्यो र घर फर्किएन । तर, यो सुगाको स्वभाव ढुकुरको भन्दा ठीकविपरित पाएँ ।

ढुकुरको बच्चाजस्तै सुगाको बच्चा पनि घरमा हुर्कियो, बल भरिएर वयस्क भयो तर कहिल्यै घरका मान्छेसँग टाढा हुन चाहेन । उसले सधैँ सामीप्य भाव प्रदर्शित गरिरह्यो । खेल्दै, डुल्दै उडेर जति पर पुगे पनि फर्किएर घरमै आउँथ्यो ।सुगा सबैको नजरको प्रिय पात्र बन्यो, सबै उसँग रमाउँथे । मलाई पनि किताबका पाना पल्टाएर भन्दा यही सुगासँग खेलेर समय गुजार्दा आनन्द आउथ्यो । साँझबिहान म यताउता डुल्दा साथी त्यही सुगा हुन्थ्यो । म हिँड्दा त्यो आफै मेरो काँधमा आरामसँग बस्थ्यो । उसलाई माया, आत्मीयताको कमी महसुस नहोस् भन्नेमा म पनि चनाखो बन्थेँ।
एक दिन अचानक त्यो सुगा गायब भयो । सुरुमा कसैले चोरेर लग्यो कि जस्तो लागेको थियो ।

तर, ऊ जहाँ पुगे पनि घर नै आउने भइसकेको थियो । चोरेर ऊ के चोरिन्थ्यो ! यताउता खोजेँ, घरबाट अलि पर उसका भुत्ला र शरीरको अलिकति अवशेष मात्र भुइँमा देखियो । बैगुनी ढाडे बिरालोले मुसा नपाएको झोकमा कताबाट आएर त्यही सुगालाई खाएछ । आँखा रसाए, बाल्यकालमा पहिलो पटक शोकानुभूति त्यस क्षण नै भएको थियो मलाई ।त्यो सुगाको त्यस्तो दुःखद अन्त्यले धेरै दिनसम्म घर नै सुनसान लाग्यो र निकै खल्लोपन महसुस गरेँ । त्यसपछि चराको गुँड खोजी हिँड्न चटक्क छाडेँ । पछि निकै पश्चात्ताप बोध भयो ।ती चरालाई उसको मातृवात्सल्यको काखबाट अलग गर्नु र उसको प्राकृतिक संसारबाट बिरानो तुल्याउनु आफ्नो भुल नै ठान्छु । हुन त बाल्यकाल भनेको नै देखासिकी र लहैलहैमा बढी रम्ने उमेर हो । एउटा उमेर आउँदो रहेछ त्यसरी बहकिने ।

प्रकाशित: १९ श्रावण २०७५ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?