२३ असार २०७७ मंगलबार
अन्य

शिक्षा र अहिलेका युवा

थोरै शब्दमा नेल्सन मण्डेलाले कति सुन्दर कुरा भनेका छन् ! यतिबेला संसारभरि नै बद्लिँदो परिवेशमा शिक्षालाई कसरी धार लगाएर शक्तिशाली हतियार बनाइरहने भन्ने बहस चलिरहेको छ । संसार बदल्ने हतियार भने नेपालमा अलि भुत्तिदै जाने पो हो कि भन्ने आशंका प्रत्येक वर्ष बढ्दै जान थालेको छ । र, यसको कारण भने हरेक वर्ष सिकाइमा कमजोर विद्यार्थीको उत्पादन र घट्दो एसईई परिणाम नै हो ।

शिक्षा संसारकै शक्तिशाली हतियार हो, जसलाई संसार बदल्न प्रयोग गर्न सकिन्छ  – नेल्सन मण्डेला

‘शिक्षाको जरो तीतो हुन्छ तर त्यसले दिने फल बडो स्वादिलो हुन्छ,’ एरिस्टोटलले भनेका छन् । यो स्वाद लिन सरकार र अभिभावक दुवै पक्षले ठूलो लगानी गरिरहेका हुन्छन् । यसको उद्देश्य नै भविष्यका युवा कस्तो शिक्षित चाहिएको हो, कस्तो शिक्षाले दीक्षित बनाउने हो भन्ने हुन्छ । अभिभावक जत्तिकै सरकार चिन्तित देखिए पनि सशक्त कार्यान्वयन पक्ष फितलो हुँदा संसारकै शिक्षा प्रणालीसँग दौडिनुपर्ने नेपाली शिक्षाको अवस्था लङ्गडो पो होला कि भन्ने चिन्ता बढेर गएको छ । 

संसार यतिबेला नयाँ नयाँ प्रविधिमा लगानी गरिरहेको छ । अबको समय ती प्रविधिमा अभ्यस्त हुने जनशक्ति चाहिन्छ । त्यसका लागि विद्यालय शिक्षाको जग दह्रो हुनुपर्छ अनि मात्र दह्रो आधारभूत ज्ञान पाउने जनशक्तिले नयाँ–नयाँ प्रविधिसँग पौंठेजोरी खेल्न सक्छ ।

यसपालिको एसईई परीक्षाको परीक्षाफल प्रकाशित हुँदा गत वर्षको भन्दा झण्डै ६.४७ प्रतिशतले नतिजा खस्किएको देखियो । खासगरी ०.८ देखि २.० ब्यान्डसम्म ल्याउने प्रतिशत बढी देखियो । अर्थात्, ई र सी ग्रेडिङ ल्याउने विद्यार्थीको संख्या धेरै पाइयो । जबकि एसईई ल्याउनुको उद्देश्य नै विद्यार्थीको ग्रेडिङ र सिकाइ राम्रो होस् भन्ने उद्देश्य थियो र यस उद्देश्यमा सरकार, शिक्षा मन्त्रालय र विद्यालयहरु नराम्रोसँग चुकेका छन् ।

गणित र विज्ञानसँगै नीतिशास्त्र (मोरल साइन्स) मा जोड दिइनु अहिलेको आवश्यकता हो । हामीलाई चाहिने आदर्श जनता वा पुस्ता निर्माण गर्न नीतिशास्त्र अनिवार्य पढाइनुपर्छ र त्यो प्रभावकारी रुपमा पढाइनुपर्छ । गणित र विज्ञान हाम्रो जीवनका मेरुदण्ड नै हुन् । यी विषयमा छेडछाड गरिनु हुन्न ।

हुन त हाम्रो जीवनमा धेरै किसिमका परीक्षा दिइरहनुपर्छ तर हामीले एसईईलाई किन जोड दिइएको होला भन्ने कतिपयलाई लाग्ला । खासमा जग बलियो भयो भने त्यसमाथिका कुनै पनि परीक्षामा अब्बल हुन समस्या हुँदैन । मलाई आज पनि सम्झना आउँछ– एसएलसी तयारी कक्षा ७ बाट हुन्थ्यो । ४÷५ कक्षाबाट नै एसएलसीमा राम्रो अंक आओस् भनेर अंग्रेजी, विज्ञान, गणितमा राम्रो नम्बर ल्याउन हामी सक्दो मिहिनेत र बढीभन्दा बढी अभ्यास गर्ने गथ्र्यौं । एसएलसीमा डिस्टिङ्सन वा बढीमा फस्ट डिभिजन ल्याउने घरमा ठूलो उत्साह छाउँदो र उत्सव मनाइन्थ्यो । एसएलसी परीक्षा हाम्रो सपनासँग गाँसिएको थियो । 

एसएलसीले नै सबैथोक गर्छ, त्यही परीक्षाले नै डाक्टर, इन्जिनियर बनाउँछ र सपना पूरा गरिदिन्छ भन्ने होइन तर एसएलसीको नाममा अनुशासन, सपना, परिवारको माया, ममत्व र धेरै थोक गाँसिएको हुन्थ्यो । त्यो गाँसिएको तङ्खव हिजोआजको एसईईमा गायब पो भएको हो कि ! कुनै तन्तुले काम गर्न छाडेको हो कि ! एसईई भनेको सपना देखाउने, उत्साह बढाउनेभन्दा पनि शैक्षिक ‘प्रयोग’ मात्र हुने हो कि ! अभिभावकमाझ चिन्ता बढेर गएको छ ।

छोटो समयमा विकसित भएका दक्षिण कोरिया, चीन, फिलिपिन्स, सिंगापुरको इतिहास हे¥यो भने त्यहाँ शिक्षामा गरिएको लगानी र शिक्षित जनशक्तिमाथिको सरकारी विश्वास नै मुख्य कारण हो भन्ने बुझ्न सकिन्छ । युवा जमात जति चाँडो शिक्षित भयो, त्यति नै त्यो मुलुक विकसित हुन्छ रसफलतातिर अग्रसर भएको पाइन्छ । 

नीतिनिर्माणमा बसेकाहरुलाई के कुरा राख्न चाहन्छु भने, शिक्षाको स्तर उकास्न पूर्ण प्रतिबद्धता चाहिन्छ । विद्यार्थीलाई राजनीतिबाट पर राख्नु पर्छ । राम्रो पढाउने शिक्षकलाई पनि पुरस्कृत गर्नुपर्छ । शिक्षण पेशालाई सम्मान गर्नुपर्छ । सरकारको शिक्षाप्रतिको प्राथमिकता मात्र होइन, त्यसमा दुरदृष्टि हुनुपर्छ । आजका युवा भोलिका कर्णधार हुन् । युवा शक्तिलाई उचित पथ प्रर्दशन गर्न विद्यालयीय शिक्षालाई बढीभन्दा बढी प्रभावकारी बनाउन भूमिका खेलौँ । 

हामीकहाँ पढ्ने चलन बढ्दो छ । पढाइले कहीँ लैजाँदैन । एक जना विद्वानले भनेका छन्, पढाइभन्दा अध्ययन जरुरी छ। अध्ययन नगरी ज्ञान पाइँदैन र ज्ञान बिनाको मानिस मूर्ख नै हुन्छ । र, सबैलाई थाहा छ, मूर्ख जमातले विकासमा कुनै योगदान दिँदैन । 

प्रकाशित: १६ श्रावण २०७५ १९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App