१६ चैत्र २०८० शुक्रबार
अन्य

दलकाे अाडमा सार्वजनिक जग्गा हडप्ने दाउ

ललितपुर महानगरपालिकाले पाटन मंगलबजारमा रहेको करिब २ रोपनी खाली जग्गामा मन्दिर बनाउन खोज्दै छ । सम्पदा क्षेत्रमा भने जस्तो मन्दिर बनाउन पुग्ने जग्गा उसकै संरक्षणमा भएपछि महानगरले त्यसको अवधारणा समेत अघि सारिसकेको छ । तर, सो जग्गा उपभोग गर्न भने महानगरलाई नै कठिन भइरहेको छ।

 नगरपालिकाको पुरानो भवन रहेको सरकारी जग्गालाई केही व्यक्तिले व्यापारिक भवन बनाउन खोजेका छन् । त्यसको लागि दिनहुँ त्यस क्षेत्रमा व्यवसायीहरू पुग्ने गरेका छन् । उनीहरूले राजनीतिक दलहरूको आडमा व्यापारीक भवन बनाउन दाउ खेलिरहेको स्थानीयको भनाई छ । ‘सम्पदा क्षेत्रमा सडकको आडैमा रहेको मिलेको खाली जग्गामा धेरैले आँखा गाडेका छन्,’ स्थानीय राजमान शाक्यले भने, ‘तर, यसलाई पुरानै स्थितिमा पु¥याउनुपर्छ, व्यक्तिगत स्वार्थको लागि सरकारी खाली जग्गा दुरुपयोग गर्न पाइन्न।’

९० सालका भूकम्प भन्दा पहिले यो जग्गामा महादेवको मन्दिर थियो । तर, भुकम्पले मन्दिर तहसनहस पारेपछि त्यसको भग्नावशेष हटाएर तत्कालीन ललितपुर नगरपालिकाले भवन बनाएको थियो । उक्त मन्दिरमा रहेका गजुर र मुक्तिहरु पाटन संग्रहालयमा राखिएको छ । अहिले उक्त जग्गा खाली छ । जग्गाको एक साइट पार्किङ स्थल बनाइएको छ भने अर्कातिर झार उम्रिएर ढाकिएको छ।

जग्गा खाली भएपछि महानगरले पुरानै स्थितिमा पुर्याउने निर्णय गरेको छ । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कुनै पनि हातलमा उक्त क्षेत्रको जग्गा भाडामा नदिने जानकारी दिए । ‘यो ठाउँमा निकै सुन्दर महादेवको मन्दिर थियो,’ उनले भने, ‘अब हामीले त्यही मन्दिर बनाउँछौं, व्यापारीहरूले भन्दैमा हामीले उक्त जग्गा त्यसै छाड्न मिल्दैन।’

‘९० सालका भूकम्प भन्दा पहिले यो जग्गामा महादेवको मन्दिर थियो । तर, भुकम्पले मन्दिर तहसनहस पारेपछि त्यसको भग्नावशेष हटाएर तत्कालीन ललितपुर नगरपालिकाले भवन बनाएको थियो । उक्त मन्दिरमा रहेका गजुर र मुक्तिहरू पाटन संग्रहालयमा राखिएको छ ।’
 

२००८ सालपछि उक्त जग्गामा तत्कालीन ललितपुर नगरपालिकाले भवन बनाएको थियो । बुद्दिराज बज्रचार्य मेयर भएपछि पुल्चोकमा भवन सारेका थिए । त्यसपछि उक्त भवनमा प्रहरी बस्दै आएको थियो । ०७२ सालको भूकम्पले क्षति पुर्याएपछि उक्त भवनमा बस्दै आएको मंगलबजार प्रहरी प्रभाग पनि सर्यो । त्यसलगत्तै महानगरले उक्त जग्गा खाली गरायो । वरीपरीका भग्नावषेश पन्छायो । अहिले भण्डारखाल नजिकै अस्थायी भवन निर्माण गरि प्रहरी बस्दै आइको छ । तर, खालीमा जग्गामा भने धेरैले आँखा गाड्न थालेका छन्।

पछिल्लो समय सम्पदा क्षेत्रमा व्यवसायीक पसलहरु सञ्चालन गर्दा पाटन दरबारको अगाडिबाहेक खुला स्थान छैन । पाटन दरबार भित्रै पनि व्यवसायीक पसलहरु छन् । तर, दरबार क्षेत्र प्रवेश गर्ने चोकमै रहेको उक्त खाली जग्गा विवादमै फस्न थालेको छ ।ललितपुर उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष अजरमान जोशीले पनि उक्त जग्गालाई खुला रूपमा कायम गर्नुपर्ने माग राख्छन् । ‘यो जग्गा महानगरको नाममा छ, यसलाई खुला वा पुरानो स्थितिमा फकाउँदा राम्रो हुन्छ,’ जोशीले भने, ‘केही व्यवसायीहरुले यस ठाउँलाई व्यापारी क्षेत्र बनाउने चलखेल गरेका छन्, सम्पदा क्षेत्रमा कुनै पनि व्यापारीक भवन सञ्चालन गर्न पाइन्न।’

उनका अनुसार यो जग्गामा पहिले ढुंगेधारा थियो । त्यसको फोटो पनि सुरक्षित राखिएको छ । दरबार क्षेत्रको मुटुमा रहेको जग्गामा व्यापारिक भवन बनाउनै नमिल्ने उनको भनाई छ ।भवनको इतिहासलाई कोट्याउँदै पूर्वमेयर वुद्धिराज बज्राचार्यले उक्त जग्गामा मल्लकालीन समयमा बनाएको ढुंगेधारा पुरिएकाले पुरानै स्वरुप दिनुपर्ने बताए । ‘यो जग्गामा भवन बनाउँदा ऐतिहासिक ढुंगेधारा पुरिएका छन्,’ उनले भने, ‘हामी त्यहाँ उत्खनन् गरी पुरानै अवस्थामा कायम राख्न जरुरी छ ।’ उनका अनुसार सोही ठाउँमा रहेको मन्दिरलाई पनि पूरानै रुप दिन जरुरी छ।

पुरातत्व विभागका ललितपुर शाखा प्रमुख काजीमान प्याकुरेलले सम्पदा क्षेत्रमा व्यापारिक भवन बनाउन नहुने बताए । ‘हामीले यस जग्गामा कुनै व्यवसायीक संरचना बनाउँन दिन्नौं,’ उनले भने, ‘स्थानीयसँग छलफल गरि के गर्ने भन्ने निष्कर्ष निकाल्छौं।’

मंगलटोल सुधार समिति अध्यक्ष किरणमान प्रधानले उक्त स्थानलाई खुला रुपमै कायम गर्नुपर्ने बताए । उनले सम्पदा क्षेत्रको जग्गा खुला राख्दा नै उपयुक्त हुने जानकारी दिए । ‘यो जग्गामा सरकारीले ध्यान दिएर पुरानै स्थितिमा फर्काउन जरुरी देखिन्छ, यदी कोही व्यवसायिक भवन बनाउन कस्सियो भने हामीले चर्को विरोध गर्छौं,’ उनले भने ।
 

प्रकाशित: १४ श्रावण २०७५ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App