१६ चैत्र २०८० शुक्रबार
अन्य

हरियाे चुराकाे फेसन

हरियो महिना साउनको महिनालाई सिरदेखि पाउ सम्म हरियो पोसाकमा सजिने फेसनका रुपमा लिने गरिन्छ । साउनको महिनामा हरियो पोते देखि हातमा लगाइने हरिया चुराले बजार रंगिएको छ।

हरियो महिनाको रुपमा मानिने साउनलाई व्यापारीहरुको व्यापार हुने बताउछन् । साउन महिनामा अन्य महिनामा भन्दा साउनको महिनामा अन्य श्रृंगारका सामाग्री संगै हरियो  चुरा निकै बिक्ने गर्छ । हिन्दु मान्यता अनुसार नेपाली समाजमा विवाहित महिलाले साउनको महिनामा हरियो पोते संगै हरियो चुरा लगाउनु पर्ने प्रचलन रहेको छ ।  अन्य समयमा इच्छा अनुसारको रंगको चरा लगाउने प्रचल रहेक पनि साउनको महिनामा भने हरियो चुरा लगाउनु पर्ने फेसन नै चलेको छ । साउनको महिनामा हरियो चुरा विवाहित वा अविवाहित दुबैले लगाउने गर्छन् ।पाटनकी रमा भुसालका हातमा टम्म हरिया चुरा लगाएकी छिन् । छेउछेउकमा पहेला रंगका चुराका बिचमा एक दर्जन हरिया चुरा लगाएकी छिन् । हातमा चुरा बजेको आवाज निकै मन पर्ने उनी बताउछिन् । उनी भन्छिन्,‘साउनको महिनामा अरु रंग भन्दा हरियो, पहेलेको फेसन निकै चल्छ, हरिया चुराहरु हातमा मिलाएर लगाउन मनपर्छ ।’

रमाले हरियो चुरा आफुले मात्र लगाइनन् घरमा आमा र भाउजुलाई पनि उपहार स्वरुप किनिदिइन् । हरियो चुरा हरेक महिलाले लगाउन मिल्ने भएर उपहार रुवरुप हरियो चुरा किन्ने उनले बताइन् । मंगल बजारबो चुरापसलमा चुरा किन्दै गरेकी रमाले ३ दर्जन चुरा किनिन् । ‘म प्रयेक वर्षको साउन महिनामा हरियो चुरा लगाउँछु,’ उनले भनिन्, ‘साउनको महिनामा हरियो सौभाग्यको सामाग्री उपहार स्वरुप दिन उपष्युक्त मानिन्छ त्यहि भएर उपहारको लागि हरियो चुरा नै राजे।’

साउनको महिनामा ब्रर्त बस्ने उनी यो बर्षको साउनको महिनामा पनि ब्रत बसेकी छन् । साउनको महिनामा मनलाई धार्मिक क्रृयाकलापमा अभ्यत बनाउने योजनामा रहेकी छिन् रमा । सोमबारको दिन बिहानै मन्दिर जादा हातभरी चुरा लगाएर जाने उनी बताउछिन् । उनी भन्छिन्, ‘हामा विवाहित महिलाको लागि चुरा पोते भनेको सौभाग्यको सामाग्री हो, यी सामाग्री लगाउदा मनै रमाइलो अनुभब हुन्छ।’

साउनको महिनालाई हरियो चुरा, पोते, मेहेन्दी, हरिया रंगका लुगा लगायतका सामाग्री लगाउने महिनाको रुपमा मानिन्छ । धेरै महिलाहरु साउनको महिनामा हरियो पहिरनमा सजिएर हिडेको देख्न सकिन्छ । असनको चुरा पसलमा हरियो चुरा लगाउदै गरेकी रेनु बुढाथोकी बिद्यार्थी हुन् । भर्खरै मात्र व्याचुलरको परिक्षा सकेर बसेकी रेनु हरियो चुरा रोज्दै थिइन् । धादिङ्की रेनुले यो साल एक दर्जन हरियो चुरा लगाउने बिचारमा रहेको बताइन्। 

‘अघिपछि हात भरि चुरा लगाएर हिडिन्न्, मौकको बेला लगाउ की भनेर हरियो चुरा किन्न आएकी हु ।’ बर्षको एक पटक हरियो चुरामा नारीमा सजाउन पाउदा खुसी लाग्ने उनी बताउछिन् । ब्रर्त र धर्ममा खासै रुचि नराख्ने उनी हरियो चुरालाई फेसनको रुपमा लगाउने उनी बताउछिन् । रेनुले हरियो महिना साउनमा चुरामात्र नभएर लुगा पनि हरियो लगाउने बताउछिन् । उनी भन्छिन्, ‘मौसम अनुसार फेसनमा फेरबदल आउदा नयाँ अनुभब हुन्छ, बेला मौकामा समय अनुसारको फेसन गर्न रुँचाउछु।’

मौसम अनुसारको फेसन गर्न रुचाउने रेनु मात्र एक हैनन्, पाटनकी निसा श्रेष्ठ पनि हरेक फेसनमा रमाउन रुचाउछिन् । निसाका लागि हरियो सामाग्री प्रयोग गर्न साउन कै महिना आउनु पर्ने उनी बताउछिन् । हरियो, पंहेलो रंगका श्रिृगांरका सामाग्री लगाउन साउन जीस्तो खास अन्य महिनामा नहुने उनी बताउछिन् । समय, बेला मौका अनुसारको फेसन गर्न रुचाउने निसा हात भरि मेहेन्दी, नारी भरि चुरा लगाएर मख्ख छिन् । उनी भन्छिन्,‘साउनको महिनामा हरियो, रातो, पंहेलो रंगका लुगा लगाउनु, हात भरी चुरा लगाएर हिड्नु सामान्य मानिन्छ तर अन्य महिनामा लगाइयो भने अनौठो मानिन्छ ।’ निसाको लागि साउन महिनामा हरिया सामाग्री लगाउनु भनेको साउन महिनाको उत्सव मनाउनु जस्तै रहेको उनी बताउछिन् । उनी भन्छिन्,‘साउन महिनामा चारै तिर हरियाली हुन्छ, आफुले हरियो लगाउदा मनै रमाइलो हुन्छ, एकहिसावले भन्नुपर्दा प्रकृतिसँग निकटता अनुभव हुन्छ।’

मंगल बजारको एक चोकमा एउटा टोकरीमा मिलाएर राखिएका थिए हरिया चुरा । चुराको टोकरी नजिकै बसेका थिए याकुब कुमार । भारतबाट नेपालमा काम गर्न आएका उनी मौसम अनुसारको सामाग्रीहरुको व्यापार गर्छन् । ‘यो महिना साउनको महिना हो, साउनमा हरियो चुराको व्यापार राम्रो हुन्छ’ उनले भने । अन्य समयमा जुत्ता र लुगाको व्यापार गर्ने उनी तिज सम्म चुराको व्यापार गर्ने उनी बताउँछन् । ‘साउनमा सबै हरियो लगाउने चलन हुन्छ, यो महिनामा हरियो चुरा, पोतेको व्यापार अन्य समयमा भन्दा निकै राम्रो हुन्छ ।’ साउनको महिनाको सुरुवात संगै चाडपर्वको सुरुवात हुने हुदा श्रृंगारको सामाग्रीको व्यापार पनि राम्रो हुने उनी बताउछन् । दुई पिस कडाको ५० रुपैयमा मुल्य पर्ने उनी एक दर्जन चुराको ३० रुपैया पर्ने उनी बताउछन् ।यामकला खड्का लगनखेलमा श्रृगांरको सामाग्री बेच्न सुरु गरेको ८ बर्ष भन्दा बढी भैसक्यो ।  नक्कली गहनाका सामाग्री संगै थरीथरीका चुराहरु बेच्ने गर्छिन् ।

अन्य समयमा रातो चुराको व्यापार राम्रो भए पनि साउनको महिनामा हरियो चुराको माग धेरै हुने उनी बताउछिन् । उनी भन्छिन्,‘विवाहको समय र अन्य समयमा चुराको माग निकै राम्रो हुन्छ तर हरियो रंगको चुरा साउनमा मात्र लगाइने हुदा साउनमा हरियो चुराको व्यापार राम्रो हुन्छ ।’ हरियो चुरा लगाउनेको भिड साउनको महिना भरी हुने उनी बताउछिन् । काममा जाने महिलाहरुले भने मोटो खालको कडा लगाउने उनले बताइन् ।

उनी भन्छिन्,‘कार्यलयमा काम गर्ने महिलाले हातभरी टम्म चुरा नलगाए पनि दुइवटा कडा भएनी लगाउछन्, खाली हात राख्दैनन् ।’ साउनको महिनामा एउटा मात्र भएपनि हरियो चुरा लगाउनु पर्ने मान्यता रहेको उनी बताउछिन् । एक दर्जन हरियो चुराको मुल्य रुपैया २५ रुपैया देखि सुरु हुने उनी बताउछिन् ।  उनी भन्छिन्,‘चुराको मुल्य चुराको डिजाइन, साइज अनुसार भर पर्छ, तर चल्तीमा सादा हरियो चुरा नै व्यापक चलेको छ।’

प्रकाशित: १४ श्रावण २०७५ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App