coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मिथिला कलामा महिला हिंसा

कलाकार सरिता मण्डल राजपा नेता महन्थ ठाकुरलाई चित्रबारे जानकारी दिँदै । तस्वीर : उपेन्द्र/ नागरिक

तराजुको एकातिर घुम्टो लगाएकी महिला छिन् । अर्कोतिर पगरी गुथेका पुरुष छन्।महिलातिर कार, मोटरसाइकल, गरगहनालगायत थुपै्र सामान राखिएको छ । तर, तराजुको पल्ला पुरुषतिरै ढल्केको छ।

छोरीले जति पढे वा दाइजो ल्याए पनि त्यो कमी नै हुने भावना व्यक्त गर्दै कलाकार पुनमकुमारी दासले बनाएको मिथिला कलामा आधारित उक्त चित्रले बिहीबार धेरैको ध्यान खिँच्यो । राजधानीको अरूपण आर्ट ग्यालरीमा व्यक्त गरिएको दाइजो प्रथाको त्यो कुरूप दृश्यले समाजमा बचेको कुरीतिको झल्को झनै ताजा गरायो।

‘यो मेरो अनि समाजले भोगेको र भोग्दै गरेको नियति हो,’  दासले भनिन्,  ‘जतिसुकै ठूला कुरा गरे पनि समाजले कुप्रथाको जालोबाट अझै उन्मुक्ति पाउन सकेको छैन ।’मिथिला कलामार्फत् स्थानीय जनजीवन र संस्कृति वर्णन गर्दै आएका कलाकारले यस पटक महिला हिंसाको यही जालोलाई  समेटेर चित्र प्रदर्शनी गरेका छन्।

राजधानीको अरूपण आर्ट ग्यालरीमा बिहीबार सुरु भएको प्रदर्शनीमा दाइजो, भ्रूण हत्या, बोक्सी प्रथालगायत महिला हिंसाका विभिन्न पाटोलाई मिहिन ढंगबाट देखाइएको छ ।मिथिला कलामा लामो समयदेखि कुची चलाउँदै आएकी  मिथिलादेवी यादव, सरिता मण्डल, पुनमकुमारी दास र रुवी कर्णले समाजमा देखेका भोगेका कुरीतिलाई कलामार्फत् संयुक्त रूपमा पस्केका हुन्।

‘अझै पनि मागेजति दाइजो नल्याए महिला कुटिने गरेका छन्,’ जनकपुर घर भई राजधानी कर्मथलो बनाएकी सरिता मण्डलले भनिन्, ‘मैले त्यही कथालाई चित्रमार्फत व्यक्त गरेको छु ।’  त्यसैगरी आफूले मन पराएको केटासँग बिहे गर्न नपाइने, छोरी पाएको आरोपमा विभेद गर्ने समाजको अर्को पाटो पनि चित्रमार्फत देखाएकी छन् ।‘समाज ‘छोरी पाए अपमान, छोरा पाए सम्मान’को मानसिकताले ग्रस्त छ,’ उनले भनिन्, ‘पेटमा छोरी नै भन्ने थाहा पाए भने अझै भ्रूण हत्या गर्न दबाब दिने गरिएको छ।’

मण्डलको जस्तै धारणा राख्छिन्, मिथिलाकुमारी यादव । ३५ वर्षदेखि मिथिला कलालाई चित्रमा उतार्दै आएकी उनले यस पटक महिला हिंसाका अनेक रूपलाई चित्रमार्फत् देखाएकी छन् ।उनले बोक्सीको आरोपमा कुटिँदै गरेकी महिला, घुम्टोभित्रबाट संसार चियाउँदै गरेकी महिलाको चित्र मात्र होइन, महिलालाई सपोर्ट गरे उनी शक्तिशाली बन्ने चित्रसमेत बनाएकी छन् । ‘समाजले महिलालाई हेपेर निरिह बनाउने कि सहयात्री बनाएर बलियो बनाउने यो परिवार र समाजकै हातमा छ,’ उनले भनिन्, ‘तर, समाज महिलालाई बलियो बनाउनेभन्दा पनि निरिह बनाउनेतर्फ नै छ ।’

छोरीले जति पढे वा दाइजो ल्याए पनि त्यो कमी नै हुने भावना व्यक्त गर्दै कलाकार पुनमकुमारी दासले बनाएको मिथिला कलामा आधारित उक्त चित्रले बिहीबार धेरैको ध्यान खिँच्यो । राजधानीको अरूपण आर्ट ग्यालरीमा व्यक्त गरिएको दाइजो प्रथाको त्यो कुरूप दृश्यले समाजमा बचेको कुरीतिको झल्को झनै ताजा गरायो ।

उनका कुरामा सहमत छिन्, रुवी कर्ण । दाइजो कारण महिलामाथि हुने हिंसासम्बन्धि चित्र बनाएकी उनले यसको निराकरणका लागि पहल होस् भन्ने चाहना समेत व्यक्त गरिन् । ‘यस्तो चित्र फेरी बनाउन नपरोस्,’ उनी भन्छिन्, ‘यो हामीले  देख्न तथा सुन्न नचाहेको तर देखिरहेको वा सुनिरहेको यथार्थ हो ।’

शिक्षाका कारण दाइजो प्रथा घट्नुपर्नेमा झनै बढ्दै गएकामा उनीहरूको चिन्ता छ । पढेलेखेकै कारण छोराका लागि धेरै दाइजो माग्ने गरिन्छ । ‘जति धेरै पढ्यो उति धेरै तिलक भन्ने चलन छ,’ दास सुनाउँछिन्, ‘यो समस्याले सबैलाई सताएको छ ।’ आफूले दाइजो दिन पर्दा दुःखी हुनेहरू लिन पाउँदा खुसी हुने भएकाले यस्तो कुप्रथा अझै नहटेको उनको बुझाई छ।

सामाजिक विभेद मुुलुकभर रहेको र खासगरी महिला सामाजिक विभेदको सिकार हुँदै आएको अरूपण आर्ट ग्यालरीका निर्देशक एंग कलाकार रमेश खनालले बताए । ‘अझै पनि बुहारीले अकुत सम्पत्ति ल्याइनन् भनेर जिउँदै जलाइएको घटना सार्वजनिक भएका छन्,’ उनले भने, ‘यही चित्रमार्फत सम्पूर्ण चेलीले–बेटीले न्याय खोजिरहेका छन् ।’


 

 

 

 

प्रकाशित: ३० असार २०७५ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App