१६ चैत्र २०८० शुक्रबार
अन्य

‘वडाबासीको घरदैलोमा नर्सिङ सेवा दिन थालेका छौं’

प्रस्तुति : कृष्ण किसी

महेन्द्र खायमली
वडाध्यक्ष, भक्तपुर नगरपालिका वडा नं– ८

जनप्रतिनिधि भएर जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
जनप्रतिनिधीको पदभारसम्हालेसँगै भूकम्पपछिको सार्वजनिक महत्वका सम्पदा पुनर्निर्माणलाई मुख्य प्रथामिकतामा राखेर पुनर्निर्माण कार्यलाई अगाडी बढायौं।

त्यसक्रममा ६ वटा पाटीमध्ये तीन वटा पाटीको मर्मतसम्भार गरिसक्यौं । तीन वटा पाटीको पुननिर्माण भइराखेको छ । वडाका बाटोहरुमा ढुंगा छपाई कार्य पनि अगाडि बढाइराखेका छौं । यसबाहेक वडाको विभिन्न क्षेत्रमा बाटो खोल्ने, ग्राभ्रेलिंग गर्ने, सडकपेटी निर्माण गर्ने, खोलामा रिटेनिंगवाल लगाउने कार्य भइराखेका छन् ।

साथै महेश्वरीघाट पुनर्निर्माण कार्य भइराखेको छ । चुनावको समयमा हामीले जुन प्रतिवद्धता जनतामाझ व्यक्त गरेका थियौं ।  सोही प्रतिवद्धता अनुसार नै काम गरिरहेका छौं । जनतासँग वडा कार्यालयको सेवाप्रवाह र कारवाहीप्रति सल्लाह तथा गुनासो भए सहजै रुपमा वडा कार्यालयसँग राख्न अनुरोध गर्दछु ।

तपाईको वडामा फोहोरमैला देखिन्छ, कसरी व्यवस्थित गर्दै आइराख्नुभएको छ ?
 जनप्रतिनिधि भएर आएसँगै वडाको सरसफाई विशेष ध्यान दिदैं आइराखेका छौं । पहिला वडामा सरसफाई मजदुर अति नै कम थिए ।

तर, हामी आएसँगै सरसफाई मजदूरहरुको संख्या बढाएर सरसफाई कार्यलाई अगाडी बढाईरहेका छौं । वडाबासीहरुलाई घरघरमा वाल्टिन वितरण गरी घरघरबाट कुहिने र नकुहिने फोहोर छुत्याई फोहोर संकलन गर्ने कार्य गर्दै आएका छौं । ब्रम्हायणीदेखि महेश्वरीसम्मको खोला प्रदूषणलाई न्युनीकरण गर्न नगरपालिकाको पहलमा सरसफाई कार्यक्रम गर्दै आएका छौं ।

साथै एक स्कुल एक सम्पदा सफाई तथा संरक्षण अभियान अन्तर्गत स्कुलहरुलाई सफाई सामाग्री वितरण गरी सम्पदा सफाई कार्यमा लाग्न अनुरोध गर्दै आएका छौं । साथसाथै हनुमन्ते खोलाको प्रदूषण न्युनीकरण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खोलाको किनारमा ह्युमपाइप लगाई फोहोर पानी संकलन गरी सल्लाघारी उपचार पोखरीसम्म लाने योजना सञ्चालन गर्दै आएकोमा सो योजना समयमा सम्पन्न हुन सकेको छैन । योजनाको काम ठेकेदारले सुस्त गतिमा गर्दै आएको छ । त्यसतर्फ छिटो काम गर्नका लागि ठेकेदार र आयोजना कार्यान्वयन गर्ने केयूकेएललाई घच्घच्याइरहेका छौं ।

तपाईको वडामा खानेपानीको हाहाकार छ, कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?
वडामा खानेपानीको चरम हाहाकार छ । माग अनुसारको आपूर्ति गर्न नसक्दा खानेपानीको अभाव भएको हो । खानेपानीको समस्या समाधान गर्न यस वडाको लिवालि क्षेत्रमा डिप वोरिंग गर्ने योजना पास भइसकेको छ । उपभोक्ता समिति गठन गरिसकेका छौं ।

छिटै बोरिंग गरी पानी वितरण गर्ने योजना छ ।त्यसको साथसाथै वडा कार्यालयले घरदैलो नर्सिङ सेवा प्रारम्भ गरिसकेका छौं ।

भूकम्पपीडीतले राहत रकम नपाएको गुनासो आइराखेको छ, कसरी व्यवस्थापन गर्नुभएको छ ?
भूकम्प गएको तीन वर्ष बितिसक्यो ।तर,अझै  पनि भूकम्पपीडीतले घर पुननिर्माण गर्न सकिरहेका छैनन् । भूकम्पपीडितले सरकारबाट पाउने अनुदान रकम उपलव्ध गराउन सहजीकरणको भूमिका खेलिराखेका छौ । नक्सा पास दस्तुरमा छुटको व्यवस्था गरेका छौं ।

परम्परागत शैलिको घर निर्माणमा अगाडिको मोहडामा लाग्ने काठ, इटा र छानामा लाग्ने खर्चको ३५ प्रतिशतसम्म अनुदानको व्यवस्था मिलाएका छौं । भूकम्पले पुरानो वस्ती क्षेत्रभित्र धेरै नै प्रभावित पारेको थियो । जसको कारणले उक्त क्षेत्रमा रहेका सडक पूर्णरुपमा बिग्रिएका छन्  ।

जगाती र च्याम्हासिंह रोडको चोकमा सवारी जामको समस्या छ, त्यसको समाधानका लागि के कसरी अगाडि वढिरहनुभएको छ ?
च्याम्हासिंह चोकको टाफिक जामलाई समाधान गर्नको लागि व्रम्हायणीदेखि थुसाचा जोडने खोला किनारको बाटोलाई पिच गर्ने योजना छ । त्यो योजना छिटै कार्यान्वयन गर्दैछु । जगातीको जाम व्यवस्थापन गर्नका लागि टाफिक प्रहरीसँंग समन्वय गरी व्यवस्थित गर्ने योजना छ। 

 तपाईको वडा पुरानो घना वस्ती र नयाँं विकिशत क्षेत्रमा परेको छ, त्यसको छुटाछुटै योजनाबद्ध विकासका के कस्ता योजनाहरु छन् ?
पुरानो वस्तीलाई परम्परागत शैलिको घरहरु निर्माण गर्न प्रोत्साहित गर्ने र परम्परागत शैलिको घरभित्र सवै किसिमको आधुनिक सुविधासम्पन्न बनाउने योजना छ । नयाँं वस्तीमा वडाबासीहरुको आवश्यकता र इच्छा अनुसार नगरपालिकाको निर्माण मापदण्डसँंग मिल्ने गरी वस्ती विकास गर्ने योजना छ । साथै नयाँंवस्तीक्षेत्रभित्र खुला क्षेत्रलाई हरियाली प्रबद्र्धन गरी स्वच्छ वातावरण वनाउने योजना छ।   

तपाईको वडामा ख्वप इन्जिनियरिंग कलेज र ख्वप कलेज अफ इन्जिनियरिंग कलेज रहेका छन्, शैक्षिक गुणस्तर सुधार्न के गर्दै हुनुहुन्छ ?

भक्तपुर नगरपालिकाले सस्तो, सर्वसुलभ र गुणस्तरीय शिक्षा दिनको लागि नै हाम्रा अग्रजहरुले इन्जिनियरिंग कलेजहरु मात्रै होइनन् अरु विभिन्न कलेजहरु पनि सञ्चालन गरिराखेको छ । जुन देशभरका स्थानीय निकायहरुमध्ये यो पहिलो काम हो ।

यसका साथै नगरपालिकाले वडा–वडामा शिशुस्याहारदेखि उच्च तह अध्यापन हुने कलेजसम्म सञ्चालन गर्दै आएको छ । त्यसकारण नगरबासीहरु निरन्तर शैक्षिक विकासको लागि निरन्तर लागिरहनुभएको छ । कलेजको शैक्षिक गुणस्तर सुधार्नको लागि विभिन्न योजना अघि सारेको छु।

 अन्य वडाले भन्दा यहाँले के फरक योजना अघिसार्नुभएको छ ?
नगरपालिकाकै अगुवाईमा हामीले घरघरमा नसिंग सेवा सुरु गरेका छौं । यो सेवाले प्रत्येक वडावासीको घरमा हाम्रो नर्स र स्वास्थ्यस्वयसेविका गई त्यसको वातावरण, सरसफाई, शिक्षा, स्वास्थ्यलगायतका अन्य कुराहरुमा सल्लाह, सुझाब र उपचारलगायतका कामहरु गर्दै आइरहनु भएको छ ।

घरघरमा वाल्टिन वितरण गरी कुहिने र नकुहिने फोहोरलाई घरघरबाटै छुत्याएर व्यवस्थित गर्ने काम पनि हामीले गर्दै आएका छौं ।

प्रस्तुति : कृष्ण किसी

प्रकाशित: २५ असार २०७५ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App