१२ आश्विन २०७७ सोमबार
अन्य

‘दिदीका कारण जेल जानबाट बचेँ’

तस्बिर : कृष्पा श्रेष्ठ

‘आइपुग्नुभयो, आउनुस् आउनुस्,' वातावरणविद् कृष्ण सिग्द्यालको महाराजगंज, चक्रपथ, अन्नपूर्ण मार्गस्थित घरको गेट खोलेपछि बाहिर बसिरहेका सिग्द्यालले निकै हर्षित मुद्रामा हामीलाई स्वागत गरे । उमेरले उनी ७४ वर्ष भइसके तर उनको बोलाइ, शरीरले त्यसो भन्दैन । त्यसमाथि गहिरो अध्ययन, चिन्तन, मनन गरिरहने उनको बानी पहिलेको झैं छ । उनलाई कसैले पनि ७४ वर्षको भइसके भनेर लख काट्न सक्दैन । उनलाई हेर्दा लाग्छ, ‘यदि हामी लगनशील, चिन्तन गर्ने र निरन्तर खट्ने हो भने सायद रिटायर्ड लाइफ भन्ने नै हुँदैन कि !’ 

‘कत्तिको फुर्सद छ ? एकछिन चराचुरुङ्गी हेर्ने कि’ यति भनेर उनले हामीलाई आफ्नै घरमा पालेका विभिन्न प्रजातिका चराचुरुङ्गी देखाए । चराप्रतिको उनको मोह हेर्दा यस्तो लाग्थ्यो हामी सबैले यसरी नै आफ्नो रुचिअनुसारका जीवजन्तु, चराचुरुङ्गी राख्न सके मानव जातिको प्रकृतिसँग तादात्म्यता बढ्थ्यो कि ! उनलाई भने पुस्तैनी देन नै रहेछ यसमा । हामीमध्ये कतिलाई थाहा छ– चराचुरुङ्गी पनि मान्छे जस्तै खुट्टा पसारेर कोल्टो परेर मज्जासँग घाममा सुत्छन् भन्ने ! वातावरण र अर्थशास्त्रको घनिष्ठ सम्बन्धको वकालत गर्ने उनी पछिल्लो समय विभिन्न विषयमा घरकै पुस्तकालयमा अध्ययन अनुसन्धान गर्छन् । उनी अहिले खासै मिडियामा आउँदैनन्, अर्थात रुचाउँदैनन् आउन । उनले भने, ‘सकेसम्म म आफूबारे ‘मिडिया’मा आउन चाहन्न । प्रचार–प्रसारमा आउन मलाई खासै मन पर्दैन ।’ 

उनको अध्ययन गर्ने कोठामा दराजभरि पुस्तक पत्रपत्रिका टन्नै थिए । आफू बसेर अध्ययन गरिरहने कोठामा हामी प्रवेश गर्दा यस्तो लाग्थ्यो हाम्रो देशमा अध्ययन अनुसन्धान गर्ने कोही छैनन् भनेर भनिरहँदा मिडियामा आउन नचाहने सिग्द्यालजस्ता अनुसन्धानकर्ताहरु धेरै नै छन् । सिग्द्यालजस्ता विज्ञहरुको विचार र दर्शन बाहिरिया दर्शनभन्दा मौलिक हुन्छ कि ! प्रशासन, न्याय सेवामा त हामीले आफ्नै परम्पराबाट आधुनिकतातर्फ अग्रसर हुने सम्भावना थियो नि ! हामी यस्ता विषयमा अलि गम्भीर भएको भए! 

वातावरणवादी (यो उनकै शब्द हो) मात्र भनियो भने सिग्द्यालको परिचय अपुरो हुन्छ । उनी पूर्वपत्रकार, पूर्व निजामति कर्मचारी प्रशासन र अर्थशास्त्रका ज्ञाता पनि हुन् । २०२७/०२८ सालतिर त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नाम चलेको आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) मा ‘डंकी वर्क’ (उनकै शब्द) देखि लिएर अनुसन्धानको प्रस्ताव बनाउने कार्यसम्म गरे । अझ अर्काे छुटाउन नहुने कुरा विभिन्न पुस्तकका लेखक पनि हुन् । उनको सबभन्दा पछिल्लो पुस्तक हो– नेपाल, छिमेक र विश्व (माघ २०७३) । 

एसएलसीमा दुई पटक फेल 

कृष्ण सिग्द्याल १९९९ माघ महिनामा काठमाडौंको लैनचौरमा आमा धर्मकुमारी, बुबा अमृतनाथ उपाध्यायको कान्छो सन्तानको रूपमा जन्मिएका हुन् । मन्टेश्वरी पढेर शान्ति विद्या गृह हाइस्कुलमा कक्षा १ देखि १० सम्म पढेका सिग्द्याल एसएलसीमा २ पटक अनुत्तीर्ण भए । त्यति बेलासम्म उनको ध्यान खेलकुदमा मात्रै थियो रे । 

दोस्रो वर्ष २०१५ सालमा पूरक परीक्षामा भने दोस्रो श्रेणीमा उच्च लब्धांकका साथ उत्तीर्ण भए । आइए पढ्न त्रि–चन्द्र कलेज भर्ना भएका सिग्द्यालले ‘आर्टस’ पढेका हुन् । नेपाली माध्यममा विद्यालयमा अध्ययन गरेका उनले त्रि–चन्द्रमा भने अंग्रेजी सुधार्ने राम्रै मौका पाएछन् । कोलम्बो प्लानअन्तर्गत आएका बेलायतका अंग्रेजी शिक्षक वेस्टकटले उनलाई घरैमा बोलाई अंग्रेजी मात्र पढाएनन्, त्यतिबेला झण्डै दुर्लभ अंग्रेजी बिस्कुट र केक पनि ख्वाउँथे रे । ‘घुम्न जाँदा पनि मलाई नै गाइडको रूपमा लिन थाले । मैले लेख्ने अंग्रेजीभन्दा बोल्ने अंग्रेजी अझै राम्रो हुन्छ भन्छन् साथीहरु,’ भन्छन् सिग्द्याल । 

उनी आफूले अब अंग्रेजीमा ‘अलि फरक’ खालको सञ्चारसम्बन्धी पुस्तक लेख्न लागेको पनि बताए । त्यति भन्न नपाउँदै बसिरहेको ठाउँबाट उनी एक्कासि उठे र भने ‘कुनै पनि यस्तो उमेर हुँदैन, सिक्नुनपर्ने होस्÷पढ्नुनपर्ने होस्’ त्यति भनेर आफूले कसरी पढ्छु भन्नेबारे अंग्रेजीको राम्रो उद्धरणका कापी ल्याएर हामीलाई देखाए । उनको पढ्ने शैली र मिहिनेत देखेर सायदै कोही प्रभावित नहोला । 

राजनीतिको अठोट

सिग्द्याललाई भविष्यमा राजनीति नै गर्छु भन्ने थियो रे । उनलाई आठ वर्षको उमेरदेखि नै कसैले त्यतातिर प्रेरित गराई दिएको रहेछ । आठ नौ क्लासमा नागरिक शास्त्र (सिभिक्स) पढ्दादेखि नै प्रजातन्त्र नै अब्बल राजनीतिक व्यवस्था हो भन्ने ठहर गरेछन् । नेपाल छात्र संघमा पदाधिकारी नै भएर काम गरे । एसएलसी पूरक परीक्षा पास गरी त्रि–चन्द्र कलेज भर्ना भएका उनी प्रवेशलगत्तै विद्यार्थी राजनीतिमा छिरी हाले । काठमाडौं छात्र संघको कार्य समिति सदस्यका नाताले विद्यार्थीहरुसँग नजिकको सम्पर्क राख्ने प्रधानमन्त्री बीपी कोइरालासँग पनि सम्पर्कमा पुगे । केही महिनामै बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरु राजा महेन्द्रको ‘कु’ मा परेर काराबास भए । 

त्यसैको विरोध कार्यक्रमस्वरूप विद्यार्थी नेतृ शैलजा आचार्य सहितले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा टुँडीखेलको खरीको रुखको मञ्चमा हुने कार्यक्रममा राजा महेन्द्रलाई कालो झण्डा देखाउने योजना भएछ । त्यसैमा सहभागी हुन सिग्द्याल घरबाट निस्कने तयारी गर्दै थिए । उनकी दिदीले ‘भाइ, कहाँ जान लागेको, तँबाहेक अहिले घरमा कोही पनि छैन, तँ भइनस् भने म कसरी बसुँला’ भनेर सबै कुरा थाहा पाए जसरी आश्चर्यजनक रूपमा उनलाई रोकिछन् । दिदीले त्यसरी सिग्द्याललाई आधा घण्टासम्म घरमै अल्मल्याई दिइछन् । तर प्रजातन्त्रलाई आदर्श ठान्ने, समाजवादप्रति आकर्षित उनी, दिदीलाई फकाइवरी कालो झण्डा देखाउन भेला हुने निर्धारित स्थल त्रि–चन्द्र/घण्टाघर पुगे । तर दुर्भाग्य, त्यहाँबाट टोली हिँडि सकेछ । समारोहमै उनीहरु सबै पक्राउ परेछन् । पछिपछि पनि सिग्द्याल कलाकार शशि शाहको टेबहाल घरको झ्यालबाट जेल भित्रको कार्यकलाप नियाल्थे रे । उनी भन्छन्, त्यति बेला जेल परेको भए मेरो जीवनले अर्कै बाटो लाग्थ्यो । पछि अर्कै तर्फ मोडियो ।’ तर राजनीतिक नेताहरुसँग उनको सम्पर्क पछिसम्म पनि टुटेन । पत्रकारिताले पनि सम्पर्क टुट्न दिएन । 

२०२५ साल भदौमा सरकारले सोच्दै नसोचेको एउटा विचित्रको घटना भयो । विकास सेवाका जम्माजम्मी १३०० कर्मचारीले उनीहरुलाई अन्याय प-यो भनी विरोध स्वरूप सामूहिक हड्ताल गरे । त्यसको योजना तथा कार्यान्वयनको नेतृत्व सिग्द्यालले नै गरेका थिए । त्यसको फलस्वरुप उनी सरकारी सेवाबाट खोसिए पनि, जबकि उनले खुला प्रतिस्पर्धाबाट परराष्ट्र सेवामा शाखा अधिकृत पदका लागि लोक सेवा आयोगको परिक्षासमेत पास गरिसकेका रहेछन् । ‘किन विरोध गरेको त ?’ ‘भनी सोध्दा उनी भन्छन्’ ‘त्यति बेलासम्ममा पञ्चायत व्यवस्था प्रजातान्त्रिक होइन भन्नेमा म दृढ भइसकेकाले— ‘हेर, विद्यार्थीले नगरेको काम कर्मचारीले गरेर देखाइ दिन्छ’ भन्ने जनाउन सिंहदरबारमा सामूहिक हड्तालको योजना गरेको । त्यसमा खोसिएका १५/१६ जना साथीलाई पुनः रोजगार दिलाउन उनी अनिच्छाका साथ आफू राष्ट्रिय समाचार समिति (रासस) मा प्रवेश गरेका रहेछन् । दुई महिनाका लागि गएका उनलाई त्यो पेसा मन परेछ र निरन्तरता दिएछन् । तत्कालीन विद्यार्थी नेता पूर्व सभामुख दमननाथ ढुंगानालगायतलाई यसको आद्योपान्त जानकारी छ रे । 

पुँजीवादी देश अमेरिका 

२०१७ साल पुस १ गते जेल पर्नुअघि उनीसँगको भेटमा बिपीले उनलाई इजरायल जान सुझाएका रहेछन् । उनी कसरी इजरायल जाने भन्ने सोचमा रहेछन् । त्यसैबीच एउटा अमेरिकी छात्रवृत्तिमा अमेरिका वा इजरायल पठाइने भन्ने रहेछ । ‘तोफेल’ जस्तै अमेरिकी सहयोग नियोगको ‘अब्जेक्टिभ’ अंग्रेजी परीक्षामा त्यतिबेलासम्मका सबै प्रशिक्षार्थीलाई उछिनेका उनी हाँस्दै भन्छन्, ‘पुँजीवादी देश किन जाने, हामी समाजवादमा विश्वास गर्नेले । अमेरिका पठाउने भन्दा तीन पटकसम्म मानिन, पछि इजरायल नै पठाउने भनेपछि बल्ल व्यावसायिक÷मेकानिकल विशेष कोर्समा २ वर्षका लागि इजरायल गएँ ।’

पौडी पोखरी र इजरायली प्रेमिका ?

इजरायल बस्दा उमेरअनुसार प्रेमस्रेम पनि गरियो कि ? भनी सोध्दा उनी अलि गम्भीर पनि भए र भने, ‘हाम्रो आवासमा एउटा राम्रो पौडी पोखरी थियो । त्यहीँ बस्नेबाहेक बाहिरबाट पनि मान्छे पौडी खेल्न आउँथे । त्यसै सिलसिलामा एकजना आमा नभएकी डाक्टरकी छोरी सराहसँग भेट भयो । उनी पौडी पोखरीमा निरन्तरजस्तै आउँथिन् र मेराबारे साथीहरुसँग पनि सोधपुछ गर्दी रहिछन् । तर, मैले यस कुरालाई अघि बढ्न दिइनँ । त्यत्तिबेला विदेशी महिलालाई बिहे गर्दा उनीहरु तथा आफूलाई पनि निकै गाह्रो हुन्थ्यो ।’ कैयन् नेपालीले त्यो भोगेको उनले राम्ररी नियालेका रहेछन् । नेपाली समाज अलि त्यस्तै थियो । उनको नेपालमै बस्ने दृढ ईच्छा र राजनीतिमा जाने आकांक्षामा सबै किसिमबाट बाधा पर्ने हुनाले त्यसतर्फ अघि नबढेको बताए । पौडी र पश्चिमा नाचमा दख्खल नै राख्ने सिग्द्याललाई शिक्षा र अन्य प्रसङ्गमा विदेशमा रमाउने र उतै बस्ने धेरै अवसर पछिसम्म प्राप्त भएका रहेछन् । तर उनलाई मुलुक छोड्न मन लागेन छ । सबै अवसरलाई उतै छोडी दिएछन् । 

बिए लगायत स्वाध्यायन

इजरायलबाट फर्केपछि भने उनीले स्वाध्यायन गरे तर कलेज गएर होइन । पुराना साथीभाइ खोज्दै, सँगै पढ्दै सबै डिग्री हासिल गरे । सरकारी जागिर, रासस, सिडाको प्राज्ञिक काम र फेरि रासस र भारतीय दैनिक ‘इण्डियन एक्सप्रेस’ को विशेष समाचारदाताको काम पनि हिँड्यो समय साथसाथै । 

हाजिर गर्न पाँच थरी आवाज

सिग्द्यालले कानुन पनि पढेका हुन् । कानुन पढ्दाको रमाइलो कुरा भने कहिल्यै बिर्सँदैनन् । समाचार सम्पादन गर्ने बेला साँझ सबैजना सँगै कलेज जान नपाउने, तर मुटकोर्टको हाजिरी अनिवार्य थियो । साथीहरुले उनलाई हाजिर गरिदिन भन्दा रहेछन् । कहिलेकाहीँ त पाँचजनासम्मको पनि हुने । उनले एउटा ‘उपाय’ लगाएछन् । त्यो के भने पाँचजना साथीको हाजिर गर्दा पाँच थरी आवाज निकाल्ने, कहिले बसेर त कहिले उठेर ! एकदिन गुरुले शंका गरेछन् । उनी भन्छन्, ‘गुरुले तपाईं फलानो हो र ? भनेर सोधे । साथीको नाम लिँदा म नै त्यो मान्छे हो भनेर अड्डी कसें । झण्डै सय जनाको कक्षामा खासै पत्तो नै हुँदैन्थ्यो’ । 

हाम्रा दामली 

उनले आफ्नो डेढ वर्षे नेपालको कलेज लाइफको कुरा गर्दा साथीभाइको धेरै पटक नाम लिए । उनका साथीहरुमा कलाकार शशि शाह, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, श्रष्टा यादव खरेल, ईन्द्रबहादुर श्रेष्ठ (उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पनि भए), पुष्कर पन्त (गणितिज्ञ) र दिनेश कोइराला आदि थिए । उनी ‘आफू बाहेक’ सबै जना आ–आफ्नो क्षेत्रमा अब्बल भए भन्छन् । उनले भने यति मज्जाले मिलियो कि अहिले सम्झिँदा पनि बडो आनन्द आउँछ ।’ भेटघाटमा उनको सरलता, शालीनता र शब्दको चयन मार्मिक थियो । कलेजका ती साथीभाइका बीच अहिले पनि पालैपालो गरी समूह भेट हुने चलन रहेछ । 

अहिलेका पुस्ता पृथक

सिग्द्याल अहिले हजुरबुबा भइसके । मुसुक्क मुस्कुराउँदै उनले भने ‘१२ वर्ष लागेको नाति म भन्दा अग्लो छ, नापिन पो आउँछ’ । आफ्नो पुस्ता, छोराछोरीको पुस्ता हुँदै नातिनातिनीको पुस्तासम्म आइपुग्दा अहिलेका बच्चा जिज्ञासा र अवसरका हिसाबले भाग्यमानी भएको बताए । उनले भने, ‘अहिलेका बच्चामा सिक्ने उत्सुकता धेरै छ । उनीहरुमा आत्म–विश्वास पनि छ । यो पुस्ता देख्दा मलाई निकै खुसी लाग्छ’ । उनी नेपालको भविष्य यो नाति पुस्तामा छ र यिनलाई बाटो लगाउने आजको अहं प्रश्न हो भन्छन्। 

‘तपार्इंले धेरै क्षेत्रमा हात हाल्नु भयो त’ भनी सोध्दा जीवनमा आफूले विशेषता के मा हासिल गर्ने त भन्ने कुरामा घोत्लिँदा वातावरणको क्षेत्रलाई छाने भन्छन् । उनी नेपाल वातावरण पत्रकार समूह (नेफेज) को संस्थापक अध्यक्ष हुन् । दक्षिण एसियाकै पहिलो सामूदायिक रेडियो सगरमाथाको भातृसंस्था नेफेज नै हो । नेफेज संघ संस्था दर्ता गर्न नपाइने पञ्चायत व्यवस्थामै उद्योग विभागमा दर्ता भई सुरु भएको हो । उनी पढे लेखेका जो कसैले पनि आजकल एउटा क्षेत्रमा विशिष्टीकरण गर्नुपर्ने बताउँछन् ।

प्रकाशित: २४ असार २०७५ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App