धरतीभन्दा माथि बादल, बादलभन्दा माथि एउटा लोक थियो । त्यहाँ फूलपरीहरू बस्थे । त्यसैले त्यो लोकलाई फूललोक भनिन्थ्यो । त्यो लोक एकदम सुन्दर र रमाइलो थियो । त्यहाँ रङ्गीचङ्गी फूलपरीहरू बस्थे । जताततै मिठो सुगन्ध र सुवास फैलिएको थियो । त्यसैले त्यो लोक स्वर्गभन्दा पनि रमाइलो थियो।
फूललोकका परीहरू हेर्न स्वर्गबाट देवताहरू बेलाबेला त्यहाँ गइरहन्थे । तर धरतीबाट भने कमैमात्र जान्थे । धरतीबाट गएकाले फूलपरीलाई धर्तीमा आउन आमन्त्रण गर्थे ।
एकदिन एउटी फूलपरीलाई धरतीमा ओर्लन मन लागेछ ।
‘मानिसहरू बस्ने धरती त एकदम रमाइलो होला । एकपटक घुम्न जान्छु ।’ यस्तै सोचेर उनी धरतीमा झरिन् ।
उनी एक सुन्दर गाउँमा पुगिन् । गाउँको एउटा घरमा एकजना असाध्यै राम्री बालिका थिइन् । भर्खरै फूललोकबाट झरेकी परीले ती बालिकालाई देखिन् । बालिकाले पनि उनलाई देखिन् । दुवैको हेराहेर भयो ।
फूलपरी चुपचाप बसिन् । उनी बोल्नै सकिनन् । बालिका, उनको परिवार र अन्य बालबालिका सबै फूलपरीको वरिपरी झुम्मिन थाले । सबै चिन्तित थिए । उनीहरू फूलपरीलाई चाँडै सन्चो होस् भनी कामना गरिरहेका थिए । उनको उपचारमा खटेका थिए । अनेक उपाय लगाएर फूलपरीलाई सञ्चो बनाउन लागेका थिए । तर कसैगरी पनि फूलपरीको व्यथा कम भएन ।
फूलपरीले उनलाई सोधिन्, ‘आहा ! तिमी त मभन्दा पनि राम्री रहेछ्यौ । तिम्रो नाम के हो ?’
तर त्यो बालिका बोल्दै बोलिनन्, मात्र एकोहोरो हेरिरहिन् । फूलपरीलाई अचम्म लाग्यो । ‘हैन धरतीका मान्छे बोल्दैनन् कि क्या हो ?’ उनले सोच्न थालिन्।
त्यसपछि फूलपरी धरतीका विभिन्न ठाउँमा डुल्न थालिन् । मानिसहरू आआफ्ना काममा व्यस्त थिए । जताततै हरियाली थियो । तर धरतीमा एउटै देखिनन् । फूल नहुनाले धरती उजाडजस्तो देखिन्थ्यो । त्यहाँ एउटै पनि रङ्चङ्गी फूल थिएन ।
‘धरती त रमाइलो छ तरफूलहरू नहुनाले उजाड देखिन्छ ।’ फूलदेशी परीले सोचिन्।
‘बरु फूललोकमै फर्कनुपर्ला ।’ यस्तै विचार गरी उनी फूललोकतिर उड्नै लागेकी थिइन् । त्यही बेला उनले फेरि उही बालिकालाई देखिन् । बालिकाको आँखाबाट आँसु बगेको पनि देखिन् ।
‘यो त रुन पो थालिन् त ।’ फूलपरीले मनमनै सोचिन् र सोधिन्, ‘तिमीलाई के भयो ? मसँग केही त बोल ।’
बालिका बोल्न खोजिन् तर उनको ओठ थरथरायो । उनी बोल्नै सकिनन् । उनको अनुहारमा चमक देखियो । उनले हात जोडेर बिन्ती गरिन्।
फूलपरीले उनको हात समातिन् र भनिन्, ‘म तिमीलाई छाडेर जान्न । तर तिमीले किन हाँस्न र बोल्न नचाहेकी हौ ? बताऊ । आऊ हामी सँगै खेलौँ।’
फूलपरीले उनको हात तानिन् । बालिका बिस्तारै उठेर आइन्।
फूलपरीले उनलाई हँसाउन खोजिन । अनि बोल्न लगाउन अनेक प्रयास गरिन्।
फूलपरीसँग ती बालिका धेरै दिन सँगै खेलिन् । खेल्दाखेल्दै एकदिन ती बालिका बोल्न थालिन् । कहिल्यै नबोल्ने छोरी बोल्न थालेकोमा बालिकाको परिवारमा खुसी छायो ।फूलपरीसँग खेल्दा र बस्दा उनी हाँस्न थालिन्, खुसी हुन थालिन्।
‘छोरी त बोल्न पनि थाली । हाँस्न पनि थाली ।’ एकदिन उनकी आमाले खुसी व्यक्त गर्दै भनिन्।
‘यो सबफूलपरीको कमाल हो ।’ बुबाले भने।
अचानक आफ्नो छोरीमा आएको परिवर्तन देखेर उनीहरूको परिवारमा हर्ष छाएको थियो । अब त फूलपरी र बालिकाबीच अटुट मित्रता गाँसियो । दुवै सँगसँगै बस्न खेल्न थाले । उनीसँग खेल्दाबस्दा फूलपरी धरतीमै रमाउन थालिन् । उनले आफ्नो फूल लोकलाई पनि बिर्सन थालिन् । फूलपरीसँग अन्य धरतीका बालबालिकाहरू पनि रमाउन र खेल्न थाले।
एकदिनको कुरा हो, फूलपरी बिरामी भइन्। आफूलाई नयाँ जीवन दिने फूलपरी नै बिरामी भएकोमा बालिका धेरै दुःखी भइन् । उनका आमाबुबा पनि दुःखी भए । उसँगै खेल्ने केटाकेटी पनि दुःखी बने।
फूलपरी ! तिमीलाई के भयो ?’ बालिकाले दुःखी हुँदै सोधिन्।
फूलपरी चुपचाप बसिन् । उनी बोल्नै सकिनन् । बालिका, उनको परिवार र अन्य बालबालिका सबै फूलपरीको वरिपरी झुम्मिन थाले । सबै चिन्तित थिए । उनीहरू फूलपरीलाई चाँडै सन्चो होस् भनी कामना गरिरहेका थिए । उनको उपचारमा खटेका थिए । अनेक उपाय लगाएर फूलपरीलाई सञ्चो बनाउन लागेका थिए । तर कसैगरी पनि फूलपरीको व्यथा कम भएन ।
थलिएकी फूलपरीलाई पनि आफू बाँच्दिन भन्ने लागेको रहेछ । उनले एकदिन बडो दुःखी हुँदै भनिन, ‘अब म बाँच्दिनँ । म जाने समय आइसकेको छ ।’ यसो भनिरहँदा फूलपरीका आँखा आँसुले भरिएका थिए । यो देखेर बालिकाका पनि आँखा भरिए । फूलपरी ! त्यस्तो नभन, तिमीलाई केही पनि हुन्न ।’ बालिकाले रुँदै भनिन् ।
तर आफू नबाँच्ने कुरामा फूलपरी ढुक्क भएकी थिइन् । अनि उनले आफ्नो लागि एक काम गरिदिन बालिकासँग अनुरोध गरिन्।
‘के काम हो भन न । म तिम्रा लागि जे काम पनि गर्न तयार छु ।’ बालिकाले आँसु पुछ्दै भनिन्।
‘हेर, म मरेपछि मलाई खाल्डो खनेर पुर । केही समयपछि त्यहाँ एउटा फूलको बोट उम्रिनेछ । त्यसमा राम्रा अनि सुन्दर फूल फुल्नेछ । त्यसको बीउ जहाँ छ-यो त्यहीँ फूलको बोट उम्रिनेछ र रङ्गीचङ्गी फूल फुल्नेछन् । तिमीले त्यसको बीउ धरतीभरि छर । धरतीभरि फूल फुल्नेछन् । ती फूलले सुगन्ध छर्नेछन् । धरतीको सुन्दरता बढ्नेछ । यसरी म फूल बनी तिम्रो नजिक रहिरहनेछु ।’ यति भनी फूलपरीले आफ्नो देह त्याग गरिन् ।
फूलपरीले देह त्याग गरेपछि सबै मानिसहरू रुन थाले।
‘फूलपरी, हामीलाई छाडेर नजाऊ ।’ केटाकेटीहरू पनि रोए । बालिका पनि रोइन्।
फूलपरीले भनेझैँ बालिका, उनका साथीहरू र परिवार मिलेर फूलपरीको शवलाई नजिकै एउटा खाल्डो खनेर पुरिदिए । उनीहरू हरेक दिन त्यहीँ कुरेर बस्न थाले।
केहि दिनपछि त्यहाँ एउटा बिरुवा उम्रियो । त्यो बिरुवा बिस्तारै बढ्न थाल्यो । त्यो बिरुवालाई मानिसहरू निकै जतनले स्याहार गर्न थाले । नभन्दै एकदिन त्यसमा एउटा फूल फुल्यो । त्यसमा बीउ पनि लाग्दै गयो।
‘छोरी, त्यो फूलको बीउ जताततै छरिदेऊ ।’ आमाले बालिकालाई सम्झाइन्।
‘हुन्छ आमा ।’ उनले भनिन् । त्यसपछि उनले त्यो फूलको बीउ धरतीमा छरिन् ।
बीउ छरेको केही समयपछि धरतीभरि फूलका बोटहरू उम्रिन थाले । ती बोटमा रङ्गीचङ्गी फूल फुल्न थाले।
उजाड धरतीमा रङ्गीचङ्गी फूल फुलेपछि सबै मानिस खुसीले नाच्न थाले । उनीहरूको अनुहारमा अचानक खुसी छाउन थाल्यो । धरती पनि सुन्दर देखियो । चारैतिर फूलको सुवास फैलिन थाल्यो।
बालिका पनि रमाइन् । उनी सरासर फूलपरीको चिहानमा गइन् । त्यहाँ उनले फूलपरीको आत्मा फूललोकतर्फ उडिरहेको देखिन् । फूलपरीले उनलाई बिदाइको हात हल्लाइन् । उनले पनि फूलपरीलाई बिदाइ गरिन् र हात उठाएर हल्लाइरहिन्।
प्रकाशित: २३ असार २०७५ ०५:३६ शनिबार