२९ असार २०७७ सोमबार
अन्य

१०८ पुस्तक लेख्ने लक्ष्य छ

किराँत धर्मदर्शनका मुन्धुमविद् एवम् ज्योतिर्विद् हुन्, डा. चन्द्रकुमार सेर्मा । यति मात्रै होइन, उनले लेखक परिचय पनि पाएका छन् । उनी ३०–४० वर्षदेखि लेखनमा सक्रिय छन् ।यससँगै उनी किराँत धर्म तथा साहित्य उत्थान संघको संस्थापक महासचिव, विश्व ज्योतिष महासंघ उपाध्यक्ष र दक्षिण एशियाली ज्योतिष महासंघ सह–अध्यक्षका रूपमा कार्यरत छन् । उनीसँग पुस्तक लेखन, दर्शनलगायत विषयमा गरिएको कुराकानी ।

आफ्नो पृष्ठभूमिबारे बताइदिनुहोस् न ?
म पाँचथरमा जन्मिएँ । युवा अवस्थामा शिक्षक हुँदै राजनीतिमा लागे । त्यसक्रममा माले र कांग्रेसको राजनीति पनि गरेँ । अहिले राजनीतिबाट विश्राम लिएर स्वतन्त्र जीवन बिताउँदै छु । अहिले स्वतन्त्र भएर विश्वभ्रमण गरिरहेको छु ।

अहिलेसम्म कति कृति प्रकाशन गर्नुभयो ?
मैले अहिलेसम्म ५१ कृति प्रकाशित गरिसकेको छु । ५२ औं कृतिका रूपमा ‘किराँत मुन्धुम ज्ञानमाला’ प्रकाशोन्मुख छ । यस्तै, ‘आत्मानन्द ज्ञानमाला’ पनि लेख्दै छु । अहिले मेरो दिनचर्या ध्यानसँगै अध्ययन, लेखन र प्रवचनमा बितिरहेको छ ।

देशको परिस्थितिबारे यहाँको धारणा के छ ?
अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार छ । नेकपाको सरकार बन्नु राम्रो छ । तर, प्रतिवद्धता गरेअनुरूप सरकारले काम गर्छ कि गर्दैन भन्नेमा शंका छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान साकार पारी देशको विकास गर्न तीन विषयमा महŒवपूर्ण कदम चाल्नुपर्छ । पहिलो, अमेरिकन इशारा र डलरको भूमिकामा सचेतता । दोस्रो, युरोपियन लगानी र कुटनीतिक चलखेलमा चनाखो । तेस्रो, भारतीय दृष्टिकोण, आर्थिक, राजनीतिक माहोलमा होशियार ।

यो चुनौतीलाई मापन गरी भ्रष्टाचार, अत्याचार, व्यविचार, मानाचार, हाक्काचार, अनाचार निर्मूल नागरिए देश बन्दैन । सरकारको नीति र कार्यक्रम पनि हेरियो, सन्तोषजनक छैन । भाकाचाहिँ ल्याउन कोशिश गरे पनि लय भेटिएको छैन । बाजा बज्दैछ गज ठिक छैन।

यद्यपि सत्प्रयासको प्रोत्साहन दिन चाहन्छु कि नेपाल आमालाई हँसिलो बनाउन हिमाल, पहाड, तराईका आदिवासी, अनादिवासी जनजातिहरूको भाषाभाषीका विश्वविद्यालय स्थापना गरेर संसाधन प्रतिपादनबाट अगाडि बढ्न सुझाव दिन चाहन्छु ।

तपाईँ फलहारी हुनुभएको छ, अन्नविना कसरी बाँच्न सकिन्छ ?
म अझै पूर्णरूपमा फलहारी भएको छैन । तर, १३ वर्षदेखि एक छाक खाना खाँदैछु । मेरो अन्तिम इच्छा फलहारी बन्ने नै हो ।
मैले पूर्वधुलाबारी नेपालमा प्रेमप्रसाद र पश्चिम स्वर्गाद्वारीमा लोकनाथ दुई फलहारी बाबाहरूसँग तालिम लिएको छु । अन्न, फलपूmलको आहारविहारबारे ज्ञान लिएको छु । अन्नविना पनि बाँच्न सकिन्छ । कन्दमुल, फल र शिकारी युगपश्चात कृषीकरण धेरै पछाडि विकसित भएको हो।

सत्य युगमा सन्न र कलियुगमा अन्न भनिएकाले सन्नभन्दा अन्नमा बल गर्नु शास्त्रीय उपदेश भए पनि हाम्रो ध्येय, कलिको कल–कल झगडा अन्त्य गर्न विशुद्ध कर्म गरी समाजमा स्वर्ग अवतरणको अभ्यास हो ।

कलियुगको प्राण, अन्नमा त्राण’ भन्ने उखानलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
वास्तवमा प्राण न अन्नमा हुन्छ, न त कन्दमुलमा रहन्छ । श्वासप्रश्वासमय प्राणेश्वर त आत्मा हो, आत्मा परमात्मामा सम्बन्धित हुन्छ । आत्माद्वारा सञ्चालित श्वासप्रश्वासलाई नै प्राण भनिन्छ ।

तर, प्राणले मूल आत्मा चिन्दैन । आत्मा सर्नासाथ शरीर मर्छ । आत्मालाई अन्न, सन्न, कन्दमूल, ध्यान, ज्ञान, विज्ञानले प्राण बाँच्ने नभई प्राणवायु वायु, तेज, जल त्रितत्व समिश्रणमा आत्माज्योतिको अंश वंशरूपि परमात्माको निगाहमा श्वास वा प्राणले भोजन खोज्ने आत्माको लागि नभई भौतिक शरीरको लागि मात्र हो । अन्नमय कोश, प्राणमय कोश भिन्नभिन्नै छ।

अन्न परित्याग गर्न साधन, साधक र साध्य के हुनुपर्छ ?
मन्त्र, तन्त्र, जन्त्र र यन्त्र नभएर सबैभन्दा पहिले मन स्वस्थ हुनुपर्छ, मनलाई मनोविज्ञान ठीक पार्न सकिन्छ । म अन्नले बाँचेको होइन । परमात्माले आत्मा र आत्माले उत्पादित श्वासप्रश्वास प्राण संप्रेषण गर्दो रहेछ ।

यो हृदयको गतिदेखि ब्रह्मस्त्रासारमा अंशरूपी आत्मा नवरंगी भन्दा अर्कौ रंगको ईश्वरीय ज्योति बिम्बको पहिचान गर्न साधकले ध्यानप्रविधिद्वारा साधन गरौं, साधनले साध्दा साध्य हुन्छ । ‘साधन, साधक र साध्य’ त्रितत्व नै मूल हो । मूलमा भूल हुँदैन, मूल ध्यान हो । बुद्ध भगवान, वेदव्यास, फाल्गुनन्द, आत्मानन्दहरूले यही प्रविधिद्वारा सिद्ध गरी सिद्धात्मा भए, देवात्मा, महात्मा, पुण्यात्मा परमात्माकै शाखाप्रशाखा हुन्।

कसरी ५१ पुस्तक लेख्नुभयो, अब कति पुर्याउने लक्ष छ ?

म योग र ध्यान गरेपछि हरेक दिन बिहान ७ बजे लेख्न सुरु गर्थें । दैनिक एक–दुई घन्टा लेख्थें । यसो गर्दा महिनामा एउटा पुस्तक तयार भयो । ३०–४० वर्षदेखि यही कामलाई निरन्तरता दिएँ र ५१ पुस्तक प्रकाशन भयो । १०८ पुस्तक लेख्ने मेरो लक्ष्य छ ।

आफ्नो नाममा पनि प्रतिष्ठान स्थापना गर्नुभएको रहेछ, प्रतिष्ठान खोल्नुको कारण के हो ?
देशमा राम्रो ज्ञान, राम्रो मान्छेको प्रोत्साहन हुँदैन, उनलार्इ राज्यले केही देला दिन्छ जस्तो लागेन । पार्टीबाहिरका मानिस राष्ट्र र समाजको लागि योगदान दिने व्यक्तित्वहरूको मूल्य र मान्यता न्यून छ । यहि सशंकित भएर मेरो आफ्नै नाममा ‘किराँत याक्थुङ पापोहाङ सेर्मा चन्द्रकुमार लिम्बू प्रतिष्ठान’ दर्ता गरेको छु । 

मैले १११ रोपनी जग्गादान गरी किराँतेश्वर आत्मा पवित्र माङ्हिम मन्दिर निर्माण गरिरहेको छु । परिसरभित्र गौशाला, ध्यानशाला, योगशाला, ज्योतिषशाला, ज्ञानशाला, वृद्धवृद्धा आश्रम, अनाथ बालबालिकालय, किराँत गुरूकूल भवनहरू स्थापित गरी दशकौं करोडको योजना सकेर सन्यासव्रत ग्रहण गर्ने प्रतिज्ञारत प्रणमा सेवारत छु । सबै कुरा मेरो अन्तिम इच्छापत्र र जीवनीमा भूत, वर्तमान र भविष्य मात्र नभएर पुनर्जन्मबारे पनि प्रष्टयाएको छु ।

प्रकाशित: २ असार २०७५ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App