१६ चैत्र २०८० शुक्रबार
अन्य

जनप्रतिनिधि आएपछि सार्वजनिक जग्गा मिचिएको छैन

वडाध्यक्ष, तारकेश्वर नगरपालिका– ६

जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
जनप्रतिनिधि भएको एक वर्ष बितिसक्यो । स्थानीय तह सम्बन्धि पर्याप्त कानुन नहुँदा हामीले जनताले अनूभूति गर्ने खालको काम गर्न सकिरहेका छैनौं । नगरपरिषद्बाट पारित भएका योजना धमाधम निर्माण भइरहेका छन् । अबको केही महिनाभित्रै जनताले अनूभूति गर्ने काम देखिनेछ । वडाका चार सडक धमाधम ग्राभेलिङ तथा स्तारोन्नति गरिराखेका छौं । तिमिल्सिना बस्ती नजिकै पहिरोले सडक बिगारेको थियो । अहिले २० लाखको लागतमा सो ठाउँमा पहिरो नियन्त्रण गरिँदैछ ।

तपाईंको वडामा खानेपानीको चरम हाहाकार छ, कसरी व्यवस्थित गर्दै हुुनुहुन्छ ?
पर्याप्त मात्रामा खानेपानीका स्रोत नहुँदा वडामा खानेपानीको चरम हाहाकार छ । अन्य स्थानमा भन्दा पनि अग्लो स्थानमा रहेको पानीको समस्या देखिएको हो । वडा कार्यालयले एउटा ड्रिप बोरिङबाट खानेपानीको प्रबन्ध मिलाउँदै आएको छ ।

वडा कार्यालयले पाँचमानेबाट पाँच इन्चको पाइप विस्तार गरेर खानेपानीको व्यवस्था गरेका छौं । वडामा सानो खानेपानी परियोजनाले थेग्ने अवस्था छैन । त्यसैले वडामा खानेपानी व्यवस्थापनको लागि अर्थ मन्त्रालयसँग पहल गरिरहेका छौं । खानेपानी व्यवस्थापनका लागि झन्डै १० करोड रूपैयाँ लागत लाग्ने देखिन्छ ।

तपाईँको वडाका अधिकांश सडक लथालिंग छ, कहिले निर्माण सम्पन्न गर्नुहुन्छ ?
लामो समयदेखि वडाका मुख्य तीन सडक लथालिंग छन् । वर्षांैदेखि सडक अलपत्र हुँदा स्थानीयवासीले सास्ती भोग्दै आइराखेका छन् । सडक घाम लाग्दा धुलाम्मे र पानी आउँदा हिलाम्मे हुने गरेका छन् । यसले जनजीवन नै प्रत्यक्ष प्रभावित पारिरहेको छ ।

पछिल्लो समय नगरस्तरीय योजनाबाट जरुङखु पुलदेखि तीन पिप्लेसम्मको एक किलोमिटर सडक निर्माण थालेका छौं । त्यसका लागि दुई करोड रूपैयाँ विनियोजन भएर काम धमाधम भइराखेको छ । शेषमति–पैँयुटार निस्कने सडकको हालत बेहाल छ । त्यसैगरी कमेरे खोलादेखि बस्नेतटार–चौंगाउँ जाने सडक समेत अस्तव्यस्त देखिएको छ । ति सडकलाई छिट्टै व्यवस्थित गराउनेछौं।

भूकम्पपीडित कहिलेसम्म टहरामा बस्नुपर्ने होला ?
भूकम्प गएको तीन वर्ष बितिसक्यो । तर, अधिकांश भूकम्पपीडितले क्षतिपूर्तिबापतको राहत रकम पाउन सकेका छैनन् । भूकम्पपीडितसँग लालपुर्जा र नक्सापास नहुँदा भवनको नक्सापास समेत हुन सकेको छैन ।

भूकम्पपीडितसँग लालपूर्जा नहुँदा पहिलो किस्ता बापत रकम पाउन सकिरहेका छैनन् । वडामा करिव १४ सय भन्दा धेरै भूकम्पपीडित भएका थिए । तीमध्ये १५ प्रतिशतले मात्रै आफ्नो घर ठडाउन सफल भएका छन् ।

५० प्रतिशतले दोस्रो किस्ता लिएर भवन निर्माण गरिरहेका छन् । लालपूर्जा नहुँदा करिव चार सय भूकम्पपीडित अझै टहरामा नै बस्नुपर्ने बाध्यता रहेको छ । वास्तविक भूकम्पपीडितले राहतबापतको रकम नपाउँदा यो वर्षको झरी समेत टहरामा नै बिताउनुपर्ने बाध्यता छ । त्यसैले भूकम्पपीडितलाई राहत वितरण प्रक्रिया सहज बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बारम्बार अनुरोध गरेका छौँ ।

तपाईँको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै भूमाफियाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका छन् । अधिकांश पर्ती तथा ऐलानी जग्गा मिलेर सर्वसाधारणले घर तथा खेती गर्दै आएका छन् । सरकारले समयमा नै पहल नगर्दा वडा कार्यालयलाई सार्वजनिक जग्गा आफ्नो मातहत ल्याउन समस्या भइराखेको छ । यसमा वडा कार्यालयले भन्दा पनि संघीय सरकारले नै पहलकदमी गरेर सरकार मातहत ल्याउनुपर्ने देखिन्छ । हामी जनप्रतिनिधि आएपछि सार्वजनिक जग्गा कहीँ पनि मिचिएको छैन । वडामा करिव १०–१५ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ ।

तपाईँको वडामा कृषियोग्य जमिन छ, किसानका लागि कस्तो योजना अघि सार्नुभएको छ ?
मेरो वडामा कृषियोग्य जमिन पर्याप्त छ । किसानहरूले आलु, तरकारी, धान, मकै, गहुँलगायत अन्नबाली उब्जाउँदै आइराखेका छन् । किसानहरूले आलुको व्यावसायिक खेती गर्दै आइराखेका छन् । त्यसैले वडा कार्यालयले आलुको उन्नत जातको बीउबिजन उपलब्ध गराउँदै आइराखेको छ । त्यसैगरी सीपमूलक तथा अन्य अभिमुखीकरण कार्यक्रम नियमित चलाउँदै आएका छौं ।

ज्येष्ठ नागरिक तथा महिलाको लागि कस्तो योजना अघि सार्नुभएको छ ?

वडा कार्यालयले ज्येष्ठ नागरिकको लागि सामाजिक सेवा सुरक्षा भत्ता घरदैलोमा गएर वितरण गर्दै आएको छ । वडा कार्यालयले महिलाहरूको लागि आयआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन गरेर क्षमता अभिवृद्धि गर्ने काम गरिरहेको छ । अहिले महिलाहरूले ब्रेकरी, सिलाइबुनाई तथा भान्छामा लगाउने जुत्तालगायत उत्पादन गर्न थालेका छन् । वडा कार्यालयले महिलाहरूलाई व्यावसायिकतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?

नगरपरिषद्बाट वडा कार्यालयका लागि एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन भएको छ । सडक, खानेपानी तथा भूकम्पपीडितका लागि भवन निर्माणलगायत योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं
कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?

पाँच वर्षभित्र वडा कार्यालयमा पर्ने मुख्य सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छु । त्यसका लागि संघीय तथा प्रदेश सरकारसँग समन्वय गरेर सडक विस्तार अभियानलाई सार्थकता दिनेछु । वडा कार्यालयले नमुना जलविद्युत निर्माण गरेर काठमाडौं उपत्यकामा रहेका विद्यालयका विद्यार्थीलाई देखाउने लक्ष्य राखेको छु ।

महादेव खोला आसपासमा झोलुंगे पुल निर्माण गरेर पर्यटकीय आकर्षण बढाउने सपना बोेकेको छु । स्थानीय ग्रामीण क्षेत्रका किसानहरूको क्षमता अभिवृद्धि गर्न विभिन्न आयआर्जनमूलक तालिमको साथै होमस्टे सञ्चालन गर्ने तयारी गरेको छु ।
प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १ असार २०७५ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App