२९ असार २०७७ सोमबार
अन्य

उपत्यकामा डेंगुको संक्रमण बढ्दो

मध्य तराईमा बढी देखिने लामखुट्टेबाट सर्ने डेंगु ज्वरो काठमाडौंमा तीन वर्षअघि नै भित्रियो । तापक्रममा भएको  वृद्धिसँगै उपत्यका मात्रै होइन, पहाडी र केही हिमाली जिल्लामा समेत डेंगु देखा परिसकेको छ । 

यो रोग एसिडएजेप्टाई र एसिड एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट सर्छ । केही वर्षअघि काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको एक अध्ययनले सफा पानी र छहारीयुक्त वातावरण मन पराउने यस्तो लामखुट्टे काठमाडौंका झण्डै १२ प्रतिशत घरमा भएको देखाएको थियो । यस्तो लामखुट्टे संक्रमित व्यक्तिलाई टोकेपछि स्वस्थ व्यक्तिलाई टोक्दा यो रोग सर्छ । 

गएका वर्ष पनि काठमाडौंमा डेंगुका बिरामी भेटिए पनि तिनीहरुले केही दिनअघि डेंगु संक्रमित क्षेत्रमा भ्रमण गरेको इतिहास थियो । ‘पछिल्ला दिनमा उपत्यकामा डेंगु भेटिएका बिरामी कोही पनि हालै उपत्यकाबाहिर गएका छैनन्,’ टेकु अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले भने । 

यसको अर्थ डेंगु उपत्यकामा स्थानीय संक्रमणको रूपमा छ भन्ने हो । यसअघि लामखुट्टे भए पनि स्थानीय रूपमा रोग देखिएको थिएन । चिकित्सकहरुले रोग फैलाउने लामखुट्टेको ठूलो संख्या भएको काठमाडौंमा स्थानीय रूपमा संक्रमण भेटिनुले रोग महामारी फैलिनसक्ने चेतावनी दिएका छन् । यो अवस्थामा उपत्यका मात्रै होइन । चितवन, बुटवल, भैरहवा, धादिङ, दाङ, नवलपरासीलगायतका जिल्लामा भयावह रूपमा छ ।

डेंगुका चार प्रकारमध्ये क्लासिक सामान्य र मृत्युको सम्भावना कम हुने धेरै अवस्थामा आफंैँ निको पनि हुन्छ । चिकित्सकका अनुसार एकपटक सामान्य लक्षण देखिएर निको भए पनि दोस्रोपटक संक्रमण हुँदा डेंगु ह्यामरेजिक सक सिम्ड्रोमको अवस्था देखिन सक्छ । डेंगु ह्यामरिङ, डेंगु सक सिम्ड्रममा समयमै उपचार नगरे मृत्यु हुने सम्भावना बढी हुन्छ । संसारमा डेंगु संक्रमण भएका १० प्रतिशत मानिसमा ह्याम्रेज र सकको अवस्थामा पुग्छन् । 

चिकित्सकहरुका कुनै नयाँ–ठाउँमा डेंगु पहिलोपटक देखिएकोले पहिलो संक्रमणमा कम मात्रामा जटिलता देखिने र सामान्य रुघाखोकीजस्तै निको भए पनि दोस्रोपटक फरक खालको संक्रमण भएमा गम्भीरता र मृत्युदरसमेत बढी हुन्छ।

डा. पुनका अनुसार डेंगुका चार टाइपमध्ये पहिलोपटक एउटा टाइप संक्रमण हुने र अर्कोपटक अर्को टाइप संक्रमण भएमा आन्तरिक रक्तश्राव (ह्यामरेजिक) मा जाने सम्भावना बढी हुन्छ । 

काठमाडाैंमा यो पटक कुन टाइपको डेंगु देखिएको छ भन्ने पत्ता लगाउन सरकारले नमुना बैंकक पठाएको । साथै विभिन्न ठाउँबाट लामखुट्टेका प्युपा संकलन गरेर प्रयोगशालामा त्यसको वयस्क हुँदासम्मको वृद्धिको विश्लेषण गरी डेंगुको टाइप एकिन गर्न मद्दत मिल्छ ।

सामान्यतः वर्षा सकिने समयमा बढी देखिने डेंगु ज्वरो वर्षा सुरु भएसँगै देखिने गरेको छ । यो रगतमा रोग भएको व्यक्तिलाई टोकेपछिको लामखुट्टेले टोक्दा स्वस्थ मानिसमा फैलिन्छ ।  विज्ञहरुले उपत्यका यसै पनि बढी जनघनत्व हुनु, संक्रमित क्षेत्रबाट आवत–जावत हुनु, रोग सार्ने लामखुट्टे पनि पाइएकोले रोगले महामारीको जोखिम बढी लिएको छ ।

जोखिमलाई दृष्टिगत गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्मी सुरु भएसँगै जनस्वास्थ्य कार्यालय एवं स्थानीय निकायलाई पूर्व सावधानी अपनाउन निर्देशनसमेत दिने गरिएको छ । महाशाखाका अनुसार सबै निकायहरु मिलेर जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने र बँच्ने उपाय अपनाउन विभिन्न माध्यमबाट सचेतना फैलाउने र जोखिम हुने लामखुट्टे घटाउन नसके यो रोग जहाँसुकै भयावह रूपमा पनि हुन सक्छ । 

चिकित्सकहरुका अनुसार संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घण्टासम्म रगतमा भाइरस फैलिन्छ । त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोकेमा रोग सर्छ । लामखुट्टेले टोकेपछि मानिसमा यसको लक्षण तीनदेखि १४ दिनभित्र देखिन्छ । पहिलोपटक संक्रमण फैलिएका ठाउँमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिने, जटिलता कम देखिने भएको औषधि पसलमा गएर औषधि खाएर पनि निको हुनसक्छ । तर दास्रोपटक फरक भाइरस भएको लामखुट्टेले टोक्दा जटिलता बढ्छ ।

चिकित्सकहरुले शरीरमा डेंगु भाइरस बोकेका बिरामी एक ठाउँबाट अर्को ठाउँमा आवत–जावत गर्दा रोग फैलिने गरेको छ ।  

पछिल्लोपटक सन् २००९ मा चितवन, बुटवल, नवलपरासी, धनगढीलगायतका स्थानमा ठूलो संख्यामा बिरामी पर्दा गम्भीर अवस्था भएका बिरामी राजधानी आएका थिए । ती स्थानमा त्यसपछि प्रत्येक वर्ष ठूलो संख्यामा डेंगुका बिरामी भेटिने गरेका छन् । 

अक्सर भदौको सुरुवातपछि कात्तिकसम्म पनि डेंगुका बिरामी बढी देखिने गरेका छन् । यो वर्षको मूल जोखिमको समय बाँकी नै रहेकोले उपत्यकासहित अन्य ठाउँमा लामखुट्टेको टोकाइबाट कसरी बच्ने भन्ने जनचेतनाको जरुरी देखिएको चिकित्सकहरु बताउँछन् । उनका अनुसार उपत्यकामा बढी जनसंख्या भएकोले यहाँ रोग फैलिएमा नियन्त्रण गर्न कठिन हुन्छ ।

त्यसमा पनि काठमाडौंमा पानीको अभाव रहेकोले पानी संकलन गरेर राख्ने प्रवृत्ति, जथाभावी थोत्रा टायर राखिने प्रवृत्ति, गमलाहरूको प्रयोग र प्रशस्त पानी जम्ने ठाउँ रहेकोले लाममुट्टेको संख्या वृद्धिका लागि उपयुक्त वातावरण रहेको विज्ञहरू बताउँछन् । 

बढी जनघनत्व भएका ठाउँ जस्तै : बसपार्क, बढी यातायात आउजाउ गर्ने चोकहरुमा रोग बढी फैलिन सक्छ । 
नेपालमा २००४ मा पहिलोपटक भेटिएकोमा सन् २००६ र २००९ मा महामारी देखिएको थियो । सन् २००९ मा मात्रै प्रमाणित र शंकास्पद गरी १० हजारभन्दा बढी बिरामी चितवनमा मात्रै १९ भन्दा बढीको मृत्यु भएको थियो । पहिलोपटक चितवनमा देखिएको डेंगुज्वरो सन् २००६ मा ९ जिल्ला सन् ००९ मा ३५ भन्दा बढी जिल्लामा भेटिसकेको छ ।

यस्ता डेंगुको खोप र छुट्टै उपचार छैन । बिरामीको उपचार लक्षणका आधारमा गरिन्छ ।  डेंगु संक्रमणले गर्दा शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यसले घातक रूप लिँदा छाला, पेट, आन्द्राजस्ता शरीरका भित्री भागमा रक्तश्राव हुन्छ । भाइरसले रगतमा भएको प्लेटलेट्सलाई आक्रमण गर्छ । विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार वर्षेनी करिब ५ करोड व्यक्ति डेंगुबाट संक्रमित हुन्छन् भने यसको जोखिममा करिब २ अर्ब ५० करोड व्यक्ति छन् ।  
डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा टोक्छ । कालो छाला भएकोलाई भन्दा गोरो छाला भएको व्यक्तिलाई टोक्ने सम्भावना बढी हुने विज्ञहरू बताउँछन्  । यस्ता लामखुट्टे विशेषतः शितल तथा छहारीयुक्त ठाउँमा पाइन्छन् । सफा पानी जम्ने ठाउँमा लामखुट्टेले अण्डा पार्छ । मरासैनीले काठमाडांैमा दिउँसो लामखुट्टे हुनसक्ने ठाउँहरुमा जाँदा पूरा बाउला भएको लूगा लगाउन, सफा पानी छोपेर राख्न, गमलामा पानी जम्न नदिन आग्रह गरेका छन् । 

सावधानी 

डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा टोक्ने हुँदा टोकाइबाट बच्ने 
सफा पानी पनि छोपेर राख्ने  
खुला ठाउँमा पानी जम्न नदिने 
झ्याल ढोकामा तारको जाली लगाउने 
बिरामीलाई कम्तीमा पनि ५ दिनसम्म अलग्याएर राख्ने 
घर तथा छिमेकमा लक्षण देखिए स्वास्थ्य संस्थामा खबर गर्ने गर्नुपर्छ ।  

डेंगुको अवस्था र लक्षण 

डेंगु फिबरमा
उच्च ज्वरो
टाउको दुख्नु 
आँखाको गेडी दुख्नु
जोर्नीहरु दुख्नु
फ्लुजस्तो लक्षण देखिनु । 

डेंगु सक सिन्ड्रोमका लक्षण

पेट दुख्नु, नाक, गिँजा तथा आन्द्राबाट रक्तश्राव हुनु 
छालामा राता टाटा देखिनु, लगातार वान्ता हुनु, 
वान्तामा रगत देखिनु, कालो दिसा हुनु, अत्यधिक तिर्खा लाग्नु
कमजोरी महसुस हुनु ।

प्रकाशित: २९ जेष्ठ २०७५ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App