coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

खप्तड काव्य यात्रा

झम्के साँझ छिप्पिँदै जाँदा मुग्लिङ पुगिसकेका थियौं हामी । मुग्लिङ–नारायणगढ सडक खण्ड बिस्तारको कामले केहीबेर अल्झायो । गण्डक प्रदेशका साथीहरु दिउसैदेखि मुग्लिङमा कुरिबसेका थिए । त्यहाँबाट साथीहरु गनेस पौडेल, अमृत सुवेदी र तारानाथ पहारी थपिए हाम्रो बसमा।

उनीहरुसँगै बसमा चढेका सागर उदासको हातमा बलेनो ब्राण्डको रेडियो देखेर चकित प-यौं हामी । मोबाइल फोनमै रेडियो÷एफएम सबै सुविधा भएको युगमा किन रेडियो बोकेका होलान् यी दमौलीका गीताङेले?

हाम्रो जिज्ञासा केहीबेरमै हल गरिदिए दाइले । सुरुमै उनले हाम्रो ध्यानाकषर्ण गराए। अगाडि बसेका राष्ट्रगानका लेखक व्याकुल माइलाको छेवैमा उभिएर रेडियो खोले–त्यसमा राष्ट्र गानको धुन बज्न थाल्यो ।
हामीले आ–आफ्ना सिटबाट उठेर राष्ट्रगानको सम्मान ग-यौं । मेमोरी कार्डबाट धुन बजाएका रहेछन् उनले । भोली कार्ड फरम्याट हुन सक्छ तर हाम्रो मनको हार्ड डिस्कबाट कहिल्यै डिलिट हुनेछैन हाम्रो राष्ट्रगान।

   

त्यो दिन हामी प्रदेश नं ७ को श्रीपेच ‘खप्तड’ यात्रामा निस्केका थियौं । राष्ट्रगानका लेखक व्याकुल दाइलाई अघि लगाएर । राष्ट्रगान हाम्रो गौरव गाथा । खप्तड पनि हामी नेपालीको गौरव।

भु–स्वर्ग उपमा पाएको खप्तडमा धेरैले रमाउन पाएका छैनन् किनकि खप्तडबाट काठमाडौं टाढा छ, अन्य ठाउँ पनि टाढा छन् । फेरी पर्यटन विकासका आधारभूत पूर्वाधार, विजुली, पानी र होटल सुविधा छैन त्यहाँ।

सबैभन्दा ठुलो कुरा आजसम्म खप्तडलाई पर्यटनको मुलधारमा ल्याउने प्रयास कहिँ कतैबाट भएको देखिँदैन । विवेक पु-याएर आध्यात्मिक पर्यटन विकास गर्न सके खप्तड प्रदेश नं ७ कै सम्मृद्धिको आधार बन्न सक्छ।

प्रकृतिसँगको सामिप्यता, संस्कृतिकर्मीहरुको सम्मान र साइक्लिङ पर्यटनको संभावना अध्ययन नै खप्तड काव्य यात्राका विशेषता हुन्। साहित्य मार्फत खप्तडको पर्यटन प्रवद्र्धन गर्न कन्सेप्ट नेपालले मुलुकभित्रका प्रभावशाली केही कवि, लेखक र पत्रकारलाई भर्खरै खप्तड घुमायो । अब लेखकहरुको सृजनामा दीर्घकालसम्म खप्तड यात्राको प्रभाव परिरहनेछ।   

खप्तड नेपालीको ‘ड्रिमल्याण्ड’ हो । साथीहरु बरोबर खप्तड घुम्न पाए हुन्थ्यो भन्थे । त्यही भएर कन्सेप्ट नेपालले नेपाल पर्यटन बोर्डको विशेष सहयोगमा ‘खप्तड काव्य यात्रा २०७५’ आयोजना ग¥यो । साहित्यको बलमा पर्यटन प्रवद्र्धन गर्न मुलुकभित्रका प्रभावशाली कवि, लेखक र पत्रकारलाई उसले खप्तड घुमायो । अब लेखकहरुको सृजनामा दीर्घकालसम्म खप्तड यात्राको प्रभाव परिरहनेछ।

खप्तडमा हरेक वर्ष जेठ शुक्ल दशमीका दिन गंगा दशहरा मेला लाग्छ । मेला भर्न हजारौंको घुइँचो लाग्छ । यसपाली जेठ १० गते मेला परेको थियो । त्यही मेला भर्ने उद्धेश्यले हाम्रो यात्राको चाँजो मिलाइएको थियो ।
हामीले जेठ ६ गते काठमाडौंबाट यात्रा सुरु ग¥यौं । मुग्लिङबाट साथीहरु थपिनु अघि बसमा व्याकुल दाई, अभय श्रेष्ठ, हेमन्त विवश, घनश्याम खड्का, आरके अदिप्त गिरि, दीपेन्द्रसिंह थापा, सुरेन्द्र राना, होमनाथ भण्डारी, चन्द्र काफ्ले, देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ र म थियौं।

मुग्लिङबाट रौनक थपियो–मित्र आरके रेडियो घन्काउँदै बसभित्रै नाच्न थाले, अनि त यात्रामा सांगीतिक माहौल बनिहाल्यो। 

राती नारायणगढबाट कविहरु भूपिन, निमेष निखिल, हेमन यात्री र समालोचक उदय अधिकारीले पनि सहयात्रा गरे । हाम्रो समूहका धेरैका लागि सुदूरपश्चिम नौलो गन्तव्य थियो । त्यसैले सबैको अनुहारमा उत्साहको दियो चम्कियो।  

भोलिपल्ट मध्यान्ह हामी धनगढी पुग्यौं । त्यहाँ होटल दिनेशमा सुन्दर सुदूरपश्चिम अभियानका अगुवा गोपी हमालले हाम्रो स्वागत गरे । गोपी दाइ कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा ०६३ सालमा ‘सुन्दर सुदूरपश्चिम’ अभियान थालिएको थियो । अभियानले सुदूरपश्चिमका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिक महत्व उजागर ग-यो । सुदूरपश्चिमेलीमा आत्मगौरब बढायो ।
खानापछि त्यो अभियानबारे दाइबाट सुन्यौं हामीले । गोपी दाइले काव्य यात्राको संयोजक मलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर विदाई गरे । त्यो क्षणमा भावुक बन्यौ हामी।

त्यही दिन हामीलाई दिपायल पुग्नु थियो । अबेर भैसकेको थियो तर धनगढी र काठमाडौंमा वायुयान संग्रहालय चलाउँदै आएका क्याप्टेन वेद उप्रेती दाइको निम्तो मान्न हामी त्यहाँको संग्रहालय पुग्यौं । त्यहाँ नमुना जहाज र वृत्तचित्र हे-यौं अनि वेद दाईसँग सेल्फी खिचायौं।

धनगढीबाट अर्का साथी थपिए–टोपेन्द्र शाह रसिक, कैलाली गजल मञ्चका अध्यक्ष।

फेरी यात्रा सुरु भयो । अत्तरियाबाट गोदावरी हुँदै उकालो चढेपछि बल्ल शितलो भयो । दिपायल पुग्दा मध्यरात भैसकेको थियो । हाम्रो बसको छतमा ४ वटा माउन्टेन बाइक पनि थिए । हामी काव्य यात्राकै सिलसिलामा खप्तड क्षेत्रमा साइक्लिङ पर्यटनको संभावना खोजी गर्न पनि निस्केका थियौं।

तिनै साइकलेहरु देवेन्द्र, रञ्जन, गोपाल र सुदिपजीले मलाई जिस्काए, ‘तिम्रो त ग्रहमै राती राती पुग्ने लेखेको रैछ ।’ हाँसेर टारिदिएँ मैले।

निन्द्रा माया मारेर साथी अरुण बम हामीलाई कुरिरहेका थिए । त्यहाँका तीन होटलमा बाँडिएर सुत्यौं हामी।  
हुन त यात्राका हरेक दिन महत्वपूर्ण हुन्छन् । हाम्रो यात्राको तेस्रो दिन अर्थात जेठ ८ गते विशेष थियो । त्यो दिन हामीले शैलेश्वरी मन्दिरको आँगनमा डोटीका तीनजना सत्पात्रलाई सम्मान ग-यौं । ती लोकसंस्कृतिकर्मी थिए–गोपाल पार्की, पदम नेपाली र धनबहादुर मल्ल।

उनीहरुको अनुहारमा छाएको खुशी पढेर हामी झिग्रानातिर लाग्यौं । डोटी सदरमुकाम सिलगढीबाट करिब १५ किमि दुरीको झिग्रानासम्म कच्चि सडकमा जीपमा ठयाक्कै दुई घन्टा लाग्यो।

झिग्रानाबाट खप्तड राष्ट्रिय निकुञ्ज सुरु हुन्छ । त्यहाँबाट ठाडै उकालो करिब ५ घन्टा हिँडे बीचपानी पुगिन्छ । यात्रामा सबैभन्दा सकस साइकलेलाई भयो । बीचपानीसम्म आउँदा उनीहरुले कतै गुडाउन पाएनन्, धेरै ठाउँमा काँधमा बोक्ने र धकेल्ने गर्नु प-यो । तैपनि उनीहरुको अनुहारमा चमक थियो । सायद साहसिक काम गर्नेहरु अफ्ठेरोमै  रमाउँछन् कि!

अपरान्ह ४ बजे उकालिएका हामी ९ बजे बीचपानी पुग्यौं । हामी पुग्दा पोखरेली मित्र गनेस भान्छामा कुखुरा खुइल्याउँदै थिए । मिठै सुप खुवाए तिनले।

त्रिबेणीधाममा मेला भर्न मान्छेहरु आउनेक्रम सुरु भैसकेको थियो । त्यसैले बीचपानीमा दुखम् सुखम रात वितायौं हामीले । हाम्रो समूह सकारात्मक सोच भएको थियो, कसैले गुनासो गरेको सुनिएन।   

खप्तड क्षेत्रका बीचपानी र निकुञ्ज मुख्यालमा मात्र होटल छन् । ती पर्यटकीय सुविधाका होइनन्, सामान्य खाना र बास पाइन्छ । हामीले सिल्पिङ व्याग बोकेका थियौं, त्यसले राम्रै काम ग-यो।

जबसम्म पर्यटनका आधारभूत पूर्वाधार खानेपानी, बाटो, बिजुली र होटल सुविधा हुँदैन तवसम्म कुनै पनि गन्तव्यमा चलहपहल बढ्दैन । खप्तडमा सुविधायुक्त होटल, लज तथा रेष्टुँरा खोल्न अबेला भैसक्यो । त्यसैले निकुञ्ज प्रशासन, प्रदेश सरकार र स्थानीय गाउँपालिकाले यसमा पहल गरिहाल्नु पर्छ।  

दोस्रोपटक खप्तड यात्रामा थिएँ म । पहिलोपटक ०६७ फागुनमा आउँदा यहाँका पाटनमा हिउँ खेल्न पाइएको थियो । यतिबेला दशहरा मेला भर्ने उत्सुकता छ मनभरि । बल्ल खप्तडको सौन्दर्यमा रमाउने दिन आयो–बिहानै हिँड्यौं । बल्ल साथीहरुले ठाउँठाउँमा साइकल कुदाउन पाए।

दिपायलबाट पत्रकार साथीहरु प्रकाश बम, टिआर पौडेल र पवन महराले पनि साथ दिए । निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले खप्तड पर्यटन महोत्सव मनाइरहेको थियो, आज हाम्रै व्याकुल दाईबाट महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय गरेछ उसले । उनीहरुले दाइका लागि घोडा पठाइदिएछन्।

व्याकुल दाई घोडा चढेर अघि लागे । हामी पछि लाग्यौं । जब खप्तडका पाटन देखियो तब नेपालको झण्डा फर्फराउँदै साथीहरु फोटो सेसनमा व्यस्त भए । कवि दीपेन्द्रसिंह चाहिँ बाटोमा भेटिएकाहरुसँग अन्तवार्ता गरिरहन्थे।   

हामी मध्यान्ह त्रिबेणीधाम पुग्नु अघि दुइ जना किशोरी स्याउली थापेर बसेका थिए । उनीहरुले रुमालमा फूल बिच्छाएका थिए । त्यसमा पैसा राखेर मात्र अघि बढ्न पाइँदो रहेछ । दान गरेर अघि बढ्यौं । तल पाटनमा भलिबल प्रतियोगिता चलिरहेको थियो । हामीलाई डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले स्वागत गरे । उनी आफैंमा गायनकला भएका प्रतिभा । उनले एउटा अस्थायी होटलमा पु¥याए जहाँ खाना पाक्दै थियो।

चौरमा पल्टिएर हामीले पाटनमा आँखा डुलायौं । केही युवा घोडा कुदाइरहेका थिए । साँझ घोडा दाउनेमा घोडा दौड हुँदैरहेछ, त्यसलगत्तै खप्तड महोत्सव उद्घाटन हुने कुरा सुनियो।

खप्तड आध्यात्मिक भूमी । स्कन्द पुराणमा खप्तडलाई खेचराद्री पर्वत भनिएको छ । पाण्डव र युधिष्ठिर यतैबाट स्वर्ग गएका थिए रे ! यहाँका ढुँगाढुँगामा देवताको बास छ।

केदारढुँगा, सहस्रलिंग, नागढुँगा, त्रिबेणीधाम आदि तीर्थ हुन् । त्यसो त सिंगो खप्तड नै पवित्र  तीर्थस्थल हो।

हामी खाना खाइवरी खप्तड बाबाको आश्रमतिर उकालियौं । तिनै बाबाकै कारण खप्तडको राम्रो विज्ञापन भएको छ । उनले जीवनका ५ दशक खप्तडमा साधना गरेका थिए । त्यहीँ बसेर ‘विचार विज्ञान’ जस्ता ज्ञानबर्धक पुस्तक लेखे उनले । आश्रममा बाबाको कुटी, उनले प्रयोग गरेका सामान र उनको मूर्ती सजाइएको छ । खप्तड घुम्नेहरु आश्रम नपुगी फर्कंदैनन् । हामीले उनको प्रतिमामा मन फूल चढायौं।

केही साथीहरु घोडा दौड हेर्न घोडा दाउनेतिर लागे, हामी चाहिँ फर्कियौं । फर्किंदा पाटनमा भिड लागिसकेको थियो । रंगीचंगी पोशाक लगाउनेहरुको भिड । हामीले त्यहाँका अस्थायी पसलमा जेरी, तरकारी र पकौडा खायौं।

बस्ने कतै पाल थिएन, हजारौं मान्छे थिए । ‘हैन यति धेरै मान्छे कसरी रात विताउँछन् ?’, मैले अचम्म मानेको देखेर होटल संघ डोटीका अध्यक्ष दीपक खड्का बोले, ‘रातभर भगवानको नाउँमा शित खाएर बस्न पाउँदा गर्व मान्छौं हामी।’

नभन्दै डेउडा गाएर रात कटाएछन् तिनले । हामीले त्यो रात आर्मी व्यारेकको टेन्टमा अनिदै वितायौं । टेन्टबाट चुहिएको शित र चिसोले रातभर निदाउनै सकिएन । मध्यरातमा अभय दाईले टेन्टभित्रै ठट्टा गरे, ‘लौ अब कवि सम्मेलन गरौं।’

‘काव्य यात्रा’ भन्नेवित्तिकै ठाउँठाउँमा कविता लेख्दै र सुनाउँदै हिँड्ने होला भन्ने जस्तो लाग्छ । तर, यो यात्रा त्यस्तो थिएन । लेखकलाई खप्तड घुमाएर त्यहाँका विम्बहरु उनीहरुको लेखनमा दीर्घकालसम्म झल्कियोस् भन्ने उद्वेश्य थियो । समयक्रममा त्यसको प्रभाव देखिने नै छ।

हाम्रो होस्टेमा पर्यटन बोर्ड, डोटी उद्योग वाणिज्य संघ, रैका टुर्स एण्ड ट्राभल्स, पूर्वी चौकी गाउँपालिका, नव जीवन सहकारी धनगढी, एभियसन म्युजियम काठमाडौं, शिखर नगरपालिका–१०, निकुञ्ज प्रशासन र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले हातेमालो गरेका थिए।

जेठ १० गते दशहराको दिन, त्रिबेणीधाममा स्नान गरेर सहस्रलिंग दर्शन पछि धमाधम तिर्थालु घर फर्कन थाले । साँस्कृतिक अध्येता मित्र हेमन्तका अनुसार दशहरा विशेषतः चेलिबेटीले मनाउने पर्व हो । उनीहरु पुतला नाच नाच्ने र गाउने गर्छन।

हामीले स्नान त गरेनौं, चोखो पानीले मुख धोएर सहस्रलिंग हुँदै खप्तड दह पुगेर फर्कियौं । दिनभरको हिँडाईमा बेस्सकरी थाक्यौं, राम्रो खानापिनाबिनै हिँड्दा पनि दुःखी थिएनौं किनकि हामी भूस्वर्गमा थियौं ।
खप्तडमा कवि मित्र भोजराज न्यौपानेलाई ‘मिस’ ग-यौं हामीले । हामी सँगै बसेर यात्रा योजना बनाएका थियौं तर उनी आउन पाएनन्। 

सरकारले डोटी, अछाम, बझाङ र बाजुराका भूभाग मिलाएर २०४२ सालमा निकुञ्ज बनाएको थियो । दुई सय २५ वर्ग किमिमा फैलिएको खप्तड जैविक फूलबारी हो । यतैबाट राराताल र बडिमालिका हुँदै रामारोशनसम्म पदयात्रा गर्न सकिन्छ।

हामी चाहिँ तीन रात खप्तडमा विताएर ११ गते बिहान आएकै बाटो फर्कियौं । हामीलाई निकुञ्जका वार्डेन चन्द्रबहादुर चन्द र मध्यवर्तीका अध्यक्ष रामप्रसाद उपाध्यायले खादा लगाइदिए । साँझ दिपायलमा बास बसेर भोलिपल्ट काठमाडौं प्रस्थान गर्ने हाम्रो योजना । पर्यटनकर्मी दाइ अमरबहादुर शाहीले सालमुनि दर्शन नगरी नफर्कनु भनेका थिए । त्यसैले हामी दिपायल नजिकैको सालमुनि र भागेश्वर पनि दशर्न गर्नेछौं ।   
झिग्रानाको ओरालो झर्ने बेला लाग्यो–राष्ट्रिय गौरवको यस्तै अर्को सम्पदा रारातालमा पनि ‘रारा काव्य यात्रा’ गर्न पाए कस्तो होला!

कसरी पुग्ने : काठमाडौं–धनगढी ७०० किमि, बसमा १६ घन्टा अथवा हवाई यात्रा एक घन्टा १० मिनेट । धनगढी–सिलगढी २०० किमि, बसमा ७ घन्टा । सिलगढी–झिग्राना १५ किमि, जीपमा २ घन्टा । झिग्रानाबाट १० घन्टा पदयात्रामा खप्तड राष्ट्रिय निकुञ्जको हेड क्वार्टर।

आधुनिक रिसोर्ट खोल्छौं  


नरेन्द्र खड्का
अध्यक्ष, डोटी उद्योग वाणिज्य संघ
खप्तड भुस्वर्ग हो तर त्यहाँ खाने÷बस्ने राम्रो सुविधा छैन । झिग्रानादेखि बीचपानीमा  निकुञ्जले हामीलाई कम्तिमा २५ वर्षका लागि रिसोर्ट खोल्न लिजमा जग्गा दिएमा हामी बीचपानी र निकुञ्ज हेडक्वार्टरमा रिसोर्ट खोल्छौं । साथीहरु लगानी गर्न इच्छुक छन् । हामी झिग्रानामा पनि राम्रो रिसोर्ट बनाउँछौं । हामीले झिग्रानादेखि बीचपानीसम्म केवलकार सञ्चालन गर्न खुत्रुके अभियान चलाएका छौं । त्यसमा दुई लाख रुपैयाँ जम्मा भैसकेको छ ।

खप्तड भ्रमण वर्ष


दीर्घ बोगटी
अध्यक्ष, पूर्वीचौकी गाउँपालिका, डोटी
हामीले ०७५ साललाई खप्तड भ्रमण वर्षका रुपमा मनाइरहेका छौं । यो वर्ष हामी व्यापक रुपमा खप्तडको प्रचार गर्नेछौं । हाम्रो गाउँपालिकाले त्रिबेणीघाटमा ५० लाख रुपैयाँ खर्चेर तीर्थालु बस्ने ठाउँ बनाउनेछ । बगलेख लगायत अन्य गाउँमा होमस्टे गराउनेछौं । साथै खप्तडमा यस क्षेत्रको कला, संस्कृति, जीवनशैली र जैविक विविधता झल्काउने संग्रहायल बनाउनेछौं । झिग्रानाबाट बीचपानीसम्म मोटर बाटो पु¥याउन प्रदेश र केन्द्रीय सरकारसँग लबिङ गर्दैछौं।

प्रकाशित: २६ जेष्ठ २०७५ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App