६ वैशाख २०८१ बिहीबार
अन्य

‘अतिक्रमणमा परेको ६ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्यायौँ’

नरेन्द्रदास श्रेष्ठ, वडाध्यक्ष
तारकेश्वर नगरपालिका– ४

तपाईं जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के काम गर्नुभयो ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा अस्तव्यस्त रुपमा सञ्चालन हुँदै आएको रहेछ । हामी आएसँगै स्थानीय तहका सेवालाई सुधार्ने प्रयास गरिरहेका छौँ । महादेव खोलाको किनारामा १५–२० वटा बंगुर फार्म सञ्चालन हुँदै आएको थियो । त्यसले खोला वरिपरिको बस्तीमा धेरै समस्या पारेको थियो ।

अहिले उक्त फार्म हटाएका छौँ । वडाको विभिन्न १५ स्थानमा सोलारबत्ती जडान गरेका छौँ । त्यस्तै, सहरी स्वास्थ्य क्लिनिक स्थापना ग¥यौँ । सियाने खोलाको जीर्ण पुललाई नगरपालिका र वडा कार्यालयको समन्वयमा निर्माण कार्य अघि बढाएका छौँ ।

तपाईंको वडाका सडक लामो समयदेखि लथालिंग छन्, कहिलेसम्म मर्मत–सम्भार गर्नुहुन्छ ?

लामो समयदेखि वडाका सडक लथालिंग छन् । सडक विभागले निर्माण थालेको अष्टलक्ष्मी हलदेखि काभ्रेस्थलीसम्मको पाँच किलोमिटर सडक अस्तव्यस्त छ । मुआब्जा विवादले सडक विस्तार हुन सकिरहेको छैन ।

जसकारण स्थानीयवासीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले महादेवखोला करिडोरको थालनी गरे पनि बजेट अभाव देखाउँदै निर्माण सम्पन्न गर्न सकेको छैन । महादेवखोलाको २० मिटरको मापदण्ड अहिले १२ मिटरमा घटाइएको छ । त्यसकारण वर्षात्का वेला बाढीले समस्या निम्त्याउने सम्भावना छ । वडा कार्यालय मातहत पाँच किलोमिटर भित्री सडक रहेका छन् । ती सडकलाई क्रमशः कालोपत्रे गर्ने तयारी गरिरहेका छौँ ।

वडा कार्यालयको भवन नहुँदा जनताले सास्ती भोगिरहेका छन्, कहिले निर्माण गर्नुहुन्छ ?
वडा कार्यालयको आफ्नै भवन छैन । अहिले वडा नम्बर ५ को कार्यालयबाट सेवा प्रवाह गर्दै आइरहेका छौँ । पायक पर्ने स्थानमा वडा कार्यालय नहुँदा जनताले सास्ती भोग्दै आइरहेका छन् ।

त्यही समस्यालाई मध्यनगर गरेर वडाको पायक पर्ने स्थानमा ३१ लाखको लागतमा भवन निर्माण गरिरहेका छौँ । जग तयार पारेर गाह्रो लगाउने काम भइरहेको छ । सम्भवतः आउँदो साउनभित्रै भवन निर्माण सम्पन्न गरेर कार्यालय सार्नेछौँ।

तपाईंको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
वडामा आवश्यक मात्रामा खानेपानी आपूर्ति गर्न सकिएको छैन । वडामा खानेपानीका मुहान अति नै कम छन् । त्यसैले अन्य वडा कार्यालयसँग समन्वय गरेर खानेपानीको व्यवस्था मिलाइरहेका छौँ ।

हामी आएसँगै पुरानो पाइपलाइन मर्मत–सुधार गरी पानी वितरणलाई व्यवस्थित पार्न खोजिरहेका छौँ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्वय गरेर मेलम्चीको पानी वितरण गर्न अनुरोध गरेका छौँ ।

भूकम्पपीडितले राहत नपाउँदा टहराकै बास भइरहेको छ, यो समस्याको हल कहिलेसम्म गर्नुहुन्छ ?
मेरो वडामा तीन सय ६ घर–परिवार भूकम्पपीडित छन् । समयमै राहत नपाउँदा कतिपयले घर बनाउन सकेका छैनन् । वडामा १८७० सालमा तत्कालीन राणा सरकारले लालमोहर लगाएर दिएका गुठीका जग्गा रहेका छन् । अधिकांश भूकम्पपीडितको जग्गा गुठी मातहत रहेका छन् । यसले पनि समस्या निम्त्याएको छ ।

अधिकांश भूकम्पपीडितले पहिलो किस्ताबापतको रकम बुझे पनि घर बनाउन सकिरहेका छैनन् ।वडा कार्यालयले भूकम्पपीडितलाई राहत उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरे पनि अपेक्षाकृत उपलब्धि हात पार्न सकेको छैन ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सडक, खानेपानी, वडा कार्यालयको भवन निर्माण तथा भूकम्पले भत्किएका ऐतिहासिक संरचना लगायत पूर्वाधार निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम गरिरहेका छौँ ।

तपाईंको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही व्यक्तिले ५० रोपनीभन्दा धेरै सार्वजनिक जग्गा मिचेका छन् । वडामा प्राविधिक तथा अमिन नहुँदा सार्वजनिक जग्गा छुट्ट्याउन समस्या भइरहेको छ । हामी आएसँगै दुई ठाउँमा मिचिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन सफल भएका छौँ ।

शिखर सुजको कारखानापछाडि रहेको तीन रोपनी पाँच आना जग्गा फिर्ता ल्याइसक्यौँ । त्यस्तै, लोलुङ पोखरीनजिकै मिचिएको दुई रोपनी १३ आना जग्गा वडा कार्यालय मातहत ल्याइसक्यौँ । क्रमशः अन्य स्थानमा मिचिएका सार्वजनिक जग्गा फिर्ता ल्याउनेछौँ ।

महिला र ज्येष्ठ नागरिकका लागि कस्ता योजना अघि सार्नुभएको छ ?
वडा कार्यालयले ज्येष्ठ नागरिकका लागि सामाजिक सेवा सुरक्षा भत्ता घरदैलोमा गएर वितरण गर्दै आएको छ । सामाजिक सुरक्षाभत्ता बैंकमार्फत ज्येष्ठ नागरिकको घर–घरमा पुगेर वितरण गर्दै आएका छौँ ।

यसले ज्येष्ठ नागरिक निकै हर्षित हुनुभएको छ । वडा कार्यालयले महिला सशक्तीकरण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । त्यस्तै, महिलाका लागि आर्यआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ।  

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?

मेरो कार्यकालसम्म वडालाई नमुना वडाका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छु । वडामा सडक, खानेपानी शिक्षा लगायत आधारभूत पूर्वाधार पुर्याउने लक्ष्य राखेको छु । पाँच वर्षभित्र वडा कार्यालयमा रहेका भित्री सडक कालोपत्रे र प्रत्येक वडावासीको घरदैलोमा खानेपानीसहितको धारा पुर्याउने योजना रहेको छ ।
प्रस्तुति ः हिमाल लम्साल

 

प्रकाशित: २५ जेष्ठ २०७५ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App