८ वैशाख २०८१ शनिबार
अन्य

कंक्रिटले सहरी सौन्दर्य खोस्यो : शितल केसी, नायक

तपाईँलाई मनपर्ने सहर कुन हो ?
सहरी सुन्दरताको दृष्टिकोणले नेपालभित्र पोखरा नै उत्तम सहर मानिन्छ । यहाँ प्रदूषण र मानिसहरूको भीडभाड पनि त्यति छैन । त्यसैले पनि होला, मलाई पोखरा नै मनपर्छ । बाहिरी जिल्लाबाट पोखरा पुग्नेहरूका लागि यहाँ घुम्ने ठाउँहरू प्रशस्त छन् । फेवाताल, गुफा, विन्दवासिनी मन्दिर र अन्य पर्यटकीय पदमार्गहरू पोखराका आर्कषक हुन् । डुंगामा तर्दैगर्दा सेतो माछापुच्छ्रे नियाल्न पाइन्छ।

काठमाडौं उपत्यका कस्तो लाग्छ ?
काठमाडौं सिंगो नेपालको परिचय हो । यो सहरमा सारा नेपालीहरूको संस्कृति र पर्वहरू लुकेका छन् । प्रकृतिले पनि काठमाडौंलाई पनि अथाह सम्भावना दिएको छ । मात्रै हामीले गर्ने विकासका कामकाजहरू कमी भएकाले सहर अव्यवस्थित देखियो भन्ने लाग्छ, मलाई । सरकारी निकायको काम गराई शैली नमिलेकाले पनि काठमाडौं पछिल्लो समय अस्तव्यस्त भएजस्तो लाग्छ।

यहाँको अस्तव्यस्ता कम गर्न के गर्नुपर्ला ?
सहर अस्तव्यस्त हुनुका कारण धेरै छन् । कतिपय कारण  मानिसले नै निम्त्याएका छन् भने कतिपय कारण सरकारले । सरकारले थालेका विकास निर्माणका काम छिटो नसकिँदा त्यसले सहरलाई अस्तव्यस्त बनाएको छ । सहरमा हिँड्डुल गर्न असहज बनाएको छ । अर्को कुरा, सहरको अस्तव्यस्तता कम गर्न यहाँ भएको सेवा–सुविधा अन्तका सहरमा सार्ने, सडक निर्माण छिटो सक्ने, सरकारी निकायहरूबीच समन्वय गर्ने र जनप्रतिनिधिहरूले आफ्ना वाचा पूरा गर्नतर्फ लाग्ने हो भने सहर बन्छ।

सहर सफा राख्न सहरवासीको भूमिका के देख्नुहुन्छ ?
फूलको हेरचाह गर्ने माली भएझैं सहरको हेरचाह गर्ने सहरवासी हुन् । सहर अस्तव्यस्त हुनुको मूल कारण सहरवासीमै जोडिन्छ । सहरमा बस्नेहरू सहरको विकास र सरसफाइप्रति सचेत छैनन् ।

आफ्नो घर बाहिर जेसुकै गरे पनि हुन्छ भन्ने सोच धेरैमा छ । अझ सहरमै घर बनाएर बसेकाहरू आफ्नो घर वा सटरको फोहर सडकमै मिल्काउने गर्छन् । यो एकदमै खराब बानी हो । सहरमा बस्नेहरूले सहरको खाली क्षेत्र र सार्वजनिक क्षेत्रहरूमा जथाभावी फोहर नफालेको भए सहर दुर्गन्धित हुँदैन्थ्यो होला ।

सहरलाई कुरूप पार्ने मूल तत्व के हो जस्तो लाग्छ ?
यहाँका मापदण्ड विपरितका भवनले सहरलाई कुरूप बनाएका छन् । कंक्रिटका भवनले सहरको सौन्दर्यता खोसेको छ । त्यस्तै, सहरमा बस्ने एक छैनन् । सबै आफ्नै सुरमा हुन्छन् । आज मिलेर सहर सफा गरौं है भन्ने हो भने कोही आउँदैनन् । त्यही बाग्मती सरसफाइकै कुरा गर्ने हो भने पनि आफ्नै घर नजिक सरसफाइ भइरहँदा छतबाट टुलुटुलु हेरेर बस्नेहरू छन् ।

अहिले हामी नागरिक नै जाग्न नसक्दा सरकारमा बस्नेले सुन्दर सहरको सपना बाँड्दै ठूलो फाइदा लिएका छन् । तर, सहरको समस्या ज्यूँकात्यूँ छ । कसैले पनि सहरको विकासबारे ध्यान दिएनन् । यस्तो प्रवृत्ति नहटेसम्म सहरको विकास हुन्न।

उपत्यका बाहिर मनपर्ने सहर कुन हो ?
नेपालका अघिकांश सहर घुमेको छु । मलाई पोखरा, बुटवल, कोहलपुर, चितवनलगायत सहर राम्रो लाग्छ । यी सहर नेपालभित्रका सुन्दर सहरमध्ये पर्छन् । पोखरालाई प्रकृतिले नै सजाएको छ । नेपालका हरेक सहरमा आ–आफ्नै विशेषता लुकेका छन् । यहाँका सहरमा अनौंठा प्राकृतिक दृश्य देख्न पाइन्छ।

तपार्इँको विचारमा सहर कस्तो हुनुपर्छ ?
सहर भन्नेबित्तिकै सफा–सुन्दर, मनमोहक र सुविधायुक्त हुनुपर्छ । सहरवासीले सहरमा छु भन्ने अनुभूति लिने खालको हुनुपर्छ । सहरका हरेक क्षेत्र व्यवस्थित देखिनुपर्छ । सहरवासीबीच वैरभाव हुनुहुँदैन ।

परेको बेला एक–अर्कालाई सहयोग गर्ने भावना हुनुपर्छ । अर्को कुरा, सहरका समस्याबारे नागरिकले सरकारलाई घच्घच्याइरहन सक्नुपर्छ । हाम्रा सहरमा यी कुरा पाउन मुस्किल छ । सहरमा खुट्टा तान्नेहरू धेरै छन्।

तपाईँ कुन–कुन देशका सहर घुम्नुभएको छ ?
करिब ६ वटा देशका सहर घुमेको छु । मलेसिया, दुबई, बैंकक, हङकङलगायत सहर पुगेको छु।

कस्ता रहेछन् विदेशका सहर ?
विदेशका सहर सुविधायुक्त र व्यस्थित छन् । सहरमा कतै पनि फोहर र अस्तव्यस्त देखिन्छ । प्रविधिले सहरलाई निगरानी गरेको हुन्छ।

विदेशका सहर र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
हाम्रा सहर पौराणिक र ऐतिहासिक छन् । यहाँका सहरमा अस्तित्व कहीँ भेटिन्न । विदेशका सहर सबै कृत्रिम सहर हुन् । छोटो इतिहास भएका सहर पनि आज नेपालभन्दा धेरै विकसित भएका छन् ।

हाम्रो सहर विकास हुन नसक्नुको मुख्य कारण दीर्घकालीन राज्य सञ्चालन नीति नहुनु हो । त्यस्तै नेताहरूमा दूरदृष्टि पनि नहुनु हो । राज्य सञ्चालन गर्ने नेतृत्व वर्गमा सहर विकासको यथेष्ट र स्पष्ट अवधारणा हुन्थ्यो भने हाम्रा सहर पछि पर्ने थिएनन् ।
उपत्यकाको धुवाँधुलो र अस्तव्यस्ता कसरी हट्ला ?
सरकारले चाहने हो भने छिनभरमै सहरलाई सफाचट राख्न सक्छ । तर, सरकारमा रहनेले नसोचेका कारण यो हाल भएको हो । सहर बिग्रनुको पीडा चिल्लो कारका गुड्ने नेताले होइन, सर्वसाधारणले खेप्नुपरेको छ ।

पछिल्लो समय उपत्यकावासीलाई सहरको धुवाँधुलोले सताएको छ । काठमाडौं बिग्रनुको मुख्य कारण यहाँ बस्नेले काठमाडौंलाई माध्यम मात्रै बनाए । ट्राफिक जाम र धुवाँधुलो रोकथामको कामलाई चाँडै सक्ने हो भने सहर केही व्यवस्थित हुन्थ्यो।

तपाईँको सपनाको सहर कस्तो हुनुपर्छ ?
मैले सोचेको सहर सफा, व्यवस्थित र सुविधायुक्त हो । सहरमा हरेक सेवा पाइयोस् । सबैले एकैखाले सुविधा उपभोग गर्न पाउन् । स्वच्छ वातावरण होस् । कतै पनि प्रदूषण नदेखियोस् र सरकारी सुविधा होस् । यति भयो भने सहर सुन्दर लाग्छ होला । तर, हाम्रा सहरमा यी सबै सुविधा लिन पाइएको छैन।

पछिल्लो समय घुमेको सहर कुन हो ?
शनिबार मात्रै बुटवल र मेरो जन्मभूमि अर्घाखाँची गएर आएको थिएँ ।

उपत्यकाको मननपर्ने पक्ष के के हुन् ?
यहाँको प्रदुषण र ट्राफिक जाम, घुँलोघुँवा मन पर्दैन ।

यहाँका मनपर्ने पक्ष ?
मलाई यहाँको मौसम सदावहार छ । संसारमा कहीँ गए पनि यस्तो मौसम भेटिन्न । यहाँ ऐतिहासिक मठ–मन्दिर र जात्रा पर्वहरू छन् । यसले धेरैलाई उपत्यकामा तान्छ ।

फुर्सदको बेला सहरमा घुम्ने बानी कतिको छ ?
त्यति धेरै घुम्ने बानी छैन । कहिलेकाहीँ साथीभाइसँग साइत जुर्याे भने हिँड्छौं । नत्र दैनिक काममै व्यस्त भइन्छ ।

मन भएर पनि घुम्न नपाएको सहर ?
मलाई धनकुटाको हिले जान मन छ । यो सहरबारे धेरै सुनेको छु । तर, पुग्न पाएको छैन ।

सहरको मनपर्ने खान्की के हो ?
घरमै बनाएको दाल, भात र तरकारी खान्छु ।

प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: २१ जेष्ठ २०७५ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App