coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पुर्न थालियो चावहिल–जोरपाटी–साँखुको खाल्डा

चौतर्फी विरोध आएपछि चावहिल–जोरपाटी–साँखु सडकको खाल्डा पुर्ने काम थालिएको छ । विस्तारको क्रममा रहेको सडकमा ठूलठूला खाल्डा बनेपछि सवारी गुड्याउनै समस्या भएको थियो । सडकका खाल्डाले चावहिल–साँखु सडकमा हिँडिनसक्नु थिएन । पानी पर्दा खाल्डामा पानी जमेर पोखरी जस्तै हुने गथ्र्यो।

टुसाल चोक–जोरपाटी चोक, नारायणटार–बाग्मती पुल, दक्षिणढोका–नर्लिङ रिसोर्ट, मूलपानी जाने बाटो–गोकर्ण रिसोर्ट गेट, डाँछी चोकलगायत ठाउँमा सडकमा ठूलठूला खाल्डा छन् । यी खाल्डा पुर्ने काम तीव्ररूपमा भइरहेको काठमाडौं उत्पयका सडक विस्तार आयोजनाले जनायो।

आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठाका अनुसार तत्कालको लागि ग्राभेल गरेर खाल्डा पुर्ने काम भइरहेको छ । यसअघि पनि सडकमा ठूलठूला खाल्डा भएपछि पुर्ने काम गरिँदै आएको उनले बताए । उनका अनुसार पछिल्लो समयमा सडक विस्तारले समेत गति लिएको छ । साइड क्लियर भएको ठाउँमा पोल गाड्ने, ह्युम पाइप ओछ्याउनेलगायत विस्तार कार्य भइरहेको छ।

यसअघि भने विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूप आसपास खण्डमा मात्रै खाल्डा पुरिने गरिएको थियो । यसपटक भने लामो समयसम्म खाल्डा नपुर्दा बौद्धनाथ क्षेत्रमै ठुल्ठूला खाल्डा बनेका थिए । चावहिल–साँखुको १२ किमि सडक विस्तार आयोजनाले सडकको चौडाइ विस्तार गरेर २२ मिटर बनाउन २०७२ असोज १३ गते ठेक्का लगाएको छ।

तर, मापदण्ड मिचेर बनाइएका संरचना हटाउन नसक्दा विस्तारको काम सुस्त गतिमा छ । विस्तार भइरहँदा सडकको मर्मत नगर्दा सडक भने घाम लाग्दा धुलो र पानी पर्दा असारे खेतजस्तो हुने गरेको छ ।यो सडक अहिले होइन, ३० वर्षदेखि यस्तै छ । ठेक्का लाग्ने, समयमै काम नहुने प्रवृत्ति यो सडकमा देखिएको हो ।

२०४५ मा गोरखापत्रमा प्रकाशित सूचनाअनुसार काठमाडौं उपत्यका नगर विकास समितिको १६ कात्तिक २०४५ मा बसेको बैठकले जोरपाटी–साँखु सडकलाई आर्टेरियल सडक (रणनीतिक सडक) सरह कायम गर्ने उल्लेख छ ।
त्यसपछि पाँच पटक ठेक्का लागेको थियो । सडक मापदण्डलाई कायम गरेर २२ मिटर फराकिलो बनाउन विस्तार आयोजनाले २०७२ मा लगाएको ठेक्का सहित ६ पटक ठेक्का लागेको पाइन्छ ।

ठेक्का लागेर समयमै काम नहुने र वर्षौं अलपत्र रहँदै आएको छ । पछिल्लो २०७२ मा लागेको ठेक्का पनि २०७४ चैतमै सम्पन्न हुनुपर्ने हो । तर, अहिलेसम्म ३० प्रतिशत पनि काम हुन सकेको छैन । ठेक्का अवधि थप एक वर्ष थपिएको छ ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App