१५ चैत्र २०८० बिहीबार
अन्य

‘वडामा प्राकृतिक स्रोतको दोहन भइरहेको छ’

रविन्द्र केसी, वडाध्यक्ष
तारकेश्वर नगरपालिका– २

जनप्रतिनिधि भएर जनताले महसुस गर्ने के काम गर्नुभयो ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । कर्मचारीतन्त्रकै भरमा सञ्चालन हुँदा स्थानीय तह भद्रगोल शैलीमा चल्दै आएको थियो । हामी निर्वाचित भएर आएसँगै पहिलो चरणमा वडाले दिने सेवा प्रवाहलाई व्यवस्थित र सेवाग्राही मैत्री बनाउँदै ल्याएका छौँ । लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास निर्माणमा जनताको धेरै अपेक्षा र चाहना रहेका छन् । जनताकै अपेक्षा र समस्यालाई धेरै हदसम्म सम्बोधन गर्न लागिरहेका छौँ।

निर्वाचित भएर आएसँगै वडामा रहेका कच्ची सडकलाई ग्राभेलिङ गर्नुका साथै ड्रेन खोलेका छौँ । जितपुरफेदीदेखि कालीदेवी स्कुलसम्म डेढ किलोमिटर कच्ची सडक ग्राभेलिङ गरेर व्यवस्थित गराएका छौँ । अर्काेतर्फ, बद्रीनारायण मन्दिरदेखि देवीस्थानसम्म ड्रेन खोलेर ग्राभेलिङ सक्यौँ । त्यस्तै, वर्षात्मा कालीदेवी स्कुलमा हिलाम्मे हुन्थ्यो । त्यसैले ब्लक ओछ्याएर व्यवस्थित बनाएका छौँ ।

तपाईंको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
वडामा खानेपानीको समस्या छ । २०७२ को भूकम्पले अधिकांश खानेपानीका मुहान् सुकेका छन् । जसकारण वडामा पर्याप्त खानेपानीको आपूर्ति हुन सकिरहेको छैन । खानेपानीको समस्यालाई मध्यनजर गरेर वडा कार्यालयले विभिन्न योजना अघि सारेको छ । ढल तथा खानेपानी विभागसँग समन्वय गरेर रक्षादेवी खानेपानी योजना अन्तर्गत एक लाख ३० हजार लिटर क्षमताको ट्यांकी निर्माण गरेका छौँ ।

ट्यांकीसँगै अहिले पाइप ओछ्याउने काम भइरहेको छ । अबको एक महिनाभित्रै उक्त खानेपानी योजनाबाट दुई सय घरधुरी लाभान्वित हुने अपेक्षा गरेका छौँ । त्यस्तै, काभ्रेस्थलीविकास निर्माण उपभोक्ता मञ्चको सक्रियतामा एक लाख ८० हजार लिटर क्षमताको ट्यांकी निर्माण भइरहेको छ । उक्त ट्यांकी अबको ६ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ । उक्त योजनाबाट करिब पाँच सय घरधुरी लाभान्वित हुनेछन्।

तपाईंको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही व्यक्तिले सार्वजनिक जग्गा मिचेका छन् । वडामा करिब २०–२५ रोपनी सार्वजनिक जग्गा मिचिएको छ।

छेउछाउका जनताले नै सार्वजनिक जग्गा अतिक्रमण गरेको देखिन्छ । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण समिति गठन गरिसकेको छ । सार्वजनिक जग्गाको लागत छुट्ट्याउन नापी तथा मालपोत कार्यालयसँग समन्वय गरिरहेका छौँ । वडा कार्यालयले अतिक्रमणमा परेका सार्वजनिक जग्गाको छानबिन गरेर फिर्ता ल्याउने कसरत गरिरहेको छ ।

तपाईंको वडामा भइरहेको प्राकृतिक स्रोतको उत्खनन तथा दोहन कसरी रोक्दै हुनुहुन्छ ?
वडामा अवैध ढंगले प्राकृतिक स्रोतको उत्खनन तथा दोहन तीव्र गतिमा भइरहेको छ । थली, थुम्का एरियामा डाँडा ताछेर अवैध ढंगले उत्खनन भइरहेको छ । वडा कार्यालयले अवैध रूपमा सञ्चालनमा आएका वासिङ तथा फिरफिरे हटाउन बारम्बार निर्देशन दिएको छ । तर, उनीहरूले आलटाल गरिरहेका छन् ।

वडा कार्यालयले अवैध रूपमा सञ्चालनमा आएका वासिङ तथा फिरफिरे हटाउन नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई पत्राचार गरिसकेको छ । तर, अझैसम्म रोक्न सकिरहेका छैनौँ ।

सबैतिर स्वास्थ्यचौकीप्रति जनविश्वास गुम्दै गइरहेको छ नि ?
अन्य स्थानका स्वास्थ्यचौकीको गुणस्तर घट्दै गए पनि मेरो वडामा रहेको स्वास्थ्यचौकी उत्कृष्ट हुँदै आएको छ । हाम्रो स्वास्थ्यचौकी गत वर्ष जिल्ला जनस्वास्थ्य कार्यालयबाट जिल्लाकै दोस्रो उत्कृष्ट भनेर पुरस्कृत भयो । स्वास्थ्यचौकीले आफ्नो सेवालाई विस्तार गर्दै आएको छ । पछिल्लो समय स्वास्थ्यचौकीले ल्याब टेस्ट उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा स्वास्थ्यचौकीले बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी गरेका छौँ ।

कृषकका लागि कस्तो योजना अघि सार्नुभएको छ ?
केही समयअघि हाम्रो वडा अग्र्यानिक कृषि क्षेत्रका रूपमा घोषणा भएको थियो । कालीदेवी उमाविले कृषि प्राविधिक शिक्षा दिँदै आएको छ । वडा कार्यालयले कृषकको क्षमता अभिवृद्धि गर्न मौसमी, बेमौसमी, कृषि तालिम दिँदै आएको छ । जसबाट कृषकको क्षमता अभिवृद्धि मात्रै होइन, कृषिजन्य उपज उत्पादन पनि बढेको छ।

वडा कार्यालयले कृषि समूह गठन गरेर कृषकलाई उन्नत जातका बीउविजन समेत उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, वडा कार्यालयले तीन हजार कागतीको बिरुवा किनेर १५ सय घरधुरीलाई वितरण गर्न लागेको छ ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । वडा कार्यालयले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, महिला सशक्तीकरण लगायत योजनालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
हाम्रो वडा कार्यालय धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण क्षेत्र हो । जहाँ चारधामको बद्रीनारायण मन्दिर, कालीदेवी, तारकेश्वर मन्दिर, देवीस्थान लगायत रमणीय धार्मिकस्थल छन्।

देवीस्थानबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । त्यसैले वडा कार्यालयले आन्तरिक र बाह्य पर्यटक भित्र्याएर पर्यटकीय केन्द्रका रूपमा वडालाई स्थापित गर्ने लक्ष्य राखेको छ । त्यसका साथै वडामा रहेका सम्पूर्ण कच्ची सडक कालोपत्रे र ‘एक घर एक खानेपानीसहितको धारा’ व्यवस्थापन गर्नेछौँ ।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १४ जेष्ठ २०७५ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App