coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘लालपूर्जा नहुँदा भूकम्पीडीतले राहत पाएनन्’

विष्णुप्रसाद श्रेष्ठ,वडाध्यक्ष
शंखरापुर नगरपालिका– ७

जनप्रतिनिधी भएर जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
हामी जनप्रतिनिधी भएर आउँदा वडामा रहेका राजकुलो भत्किएर लथालिंग अवस्थाबाट गुज्रिएको थियो । राजकुलोको पानी जभाभावि चुहिने समस्या थियो । हामी आउने बित्तिकै केही स्थानको राजकुलो सरसफाई– मर्मतसम्भार गरेर व्यवस्थित गरेका छौं । मेरो वडामा राजकुलो लप्सेफेदीदेखि छलम्बुटारसम्म करिव ५ किलोमिटर एरियामा फैलिएको छ ।

त्यसैले अन्य स्थानको राजकुलो मर्मतसम्भारको योजना क्रमागत ढंगले अगाडी बढाएका छौं । ढुल्ला महादेवस्थानबाट कठनचोक जाने आठ सय मिटरको ट्रयाक खोलेर सञ्चालनमा ल्याएका छौं । त्यसैगरी वडामा विभिन्न स्थानमा रहेका भित्रि गल्लीमा ढुङगा तथा ब्लक ओछ्याउने कार्यलाई अगाडी बढाइरहेका छौं । वडा कार्यालयले  राजकुलो व्यवस्थापनको लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेर काम गरिरहेको छ ।
तपाईको वडामा खानेपानीको चरम हाहाकार छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
खानेपानीका मुहान तथा स्रोत बर्षेनी सुक्दै गइराखेका छन् । जसको कारणले वर्षेनी वडामा खानेपानीको समस्या बढ्दै गइराखेको छ ।

जनसंख्या वुद्धिसँगै खानेपानीको स्रोत बढाउन नसक्दा खानेपानीको हाहाकार भएको हो । वडामा खानेपानी व्यवस्थापनको लागि खानेपानी संस्थान मातहतको अनुगमन तथा सुपरीवेक्षण विभागले ३ करोड ४५ लाख लागतमा महादेव स्थानमा चार लाख लिटर क्षमताको ट्याङकी निर्माण गरिसकेको छ । अहिले ट्याङकीमा पानी संकलन गर्ने काम भइरहेको छ ।

अबको केही साताभित्रै टयाङकीमा जम्मा भएको खानेपानी वडाबासीलाई वितरण गर्ने तयारी गरेका छौं । अहिले जनताको घरदैलोमा खानेपानी वितरणको लागि वितरणलाइन बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । उक्त खानेपानी आयोजनाबाट करिव ७ सय घरधुरी लाभान्वित हुने अपेक्षा गरेका छौं।

तपाईको वडामा थुप्रै ऐतिहासिक सम्पदा भूकम्पले क्षतिग्रस्त भएका छन्, कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ ?
मेरो वडा साँखुको ऐतिहासिक कोर बस्ती हो, जुन सम्पदा सहरको नामले परिचित छ । यो ३३ सय वर्ष पुरानो ऐतिहासिक बस्ती पनि हो, जुन शंख आकारमा बनेको छ ।

यसैबाट नगरपालिकाको नाम पनि शंखरापुर राखिएको हो । २०७२ को भूकम्पले दुई दर्जनभन्दा धेरै  ऐतिहासिक सम्पदामा क्षति पुग्यो । वडा कार्यालयले भूकम्पले भत्काएका ऐतिहासिक सम्पदा पुननिर्माणको लागि पुरात्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरेर काम गरिरहेको छ । अबको पाँच वर्षभित्र क्षतिग्रस्त सम्पूर्ण ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्ने लक्ष्य राखेका छौं ।

ऐतिहासिक कला संस्कृति जोगाउन के–के गर्नुभएको छ ?

साँखु ऐतिहासिक मठमन्दिर र कला संस्कृतिले भरिभराउ क्षेत्र हो । यहाँ ३३ सय वर्ष पुराना ऐतिहासिक सम्पदा छन् । साँखुको कोर वस्ती वडा नं ६ र ७ मा पर्छन् । जहाँ गुजुमुज्ज पुरानो वस्ती रहेको छ । साँघुमा विशेष गरेर माधवनारायण (श्रीस्वस्थानी), बज्रयोगिनी जात्रालगायत महत्वपूर्ण चाडपर्व मनाउँदै आइरहेका छौं।

वडा कार्यालयले पुराना ऐतिहासिक जात्रा तथा पर्व संरक्षणको बर्षेनी बजेट छुट्टाउँदै आएको छ । वडा कार्यालयले संस्कृति जर्गेना र संरक्षणको लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । ऐतिहासिक बाजागाजाको संरक्षणको साथै नयाँ पुस्ताका युवायुवतीलाई प्रचिनकला संस्कृति सम्बन्धि तालिम दिदैं आएका छौं । जसबाट एकपुस्ताबाट अर्काे पुस्तासमक्ष संस्कृति पुस्तान्तरण हुन सहयोग पुग्नेछ ।

भूकम्पपीडित कहिलेसम्म टहरामै बस्नुपर्ने होला ?

मेरो वडामा लामो समयदेखि बसोबास गर्दै आइराखेका स्थानीयबासीको लालपूर्जा पाएका छैनन् । जसको कारणले पनि भूकम्पपीडीतले पहिलो किस्ता वापतको राहत रकमबाट बञ्चित भइराखेका छन् ।  २०७२ सालको भूकम्पले मेरो वडामा धेरै नै प्रभावित बनायो ।

करिव ७ सय घर भत्किएका थिए । तिमध्ये तीन सय जतिले पुननिर्माण गरिरहेका छन् । अन्यले निर्माण गर्न सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माणको लम्बेतान प्रक्रियाका कारण भूकम्पपीडितले पहिलो किस्ता बापतको रकमसमेत पाएका छैनन् । त्यसैले समस्या भइराखेको छ । यसको समाधानका लागि हामीले पहलकदमी गरिरहेका छौं । नगरपालिकाले सम्पदा क्षेत्रमा भवन बनाउने भूकम्पपीडितका लागि एक लाख रूपैयाँ अनुदान दिइरहेको छ । नक्सापास लगायतका अन्य सेवा पनि निःशुल्क दिइरहेका छौं ।

तपाईको वडामा चार वटा पोखरी मासिदैं गइराखेका छन, संरक्षण गर्ने कस्तो योजना छ ?

मेरो वडामा चार वटा ऐतिहासिक पोखरी रहेका छन् । कमलपोखरी,पुखुलाछी पोखरी, महादेवस्थानको पोखरी र बिजा पोखरी रहेका छन्। कमलपोखरी अहिले सुकिसकेको छ ।त्यसैले वडा कार्यालयले कमलपोखरी संरक्षणको लागि योजना तर्जुमा गरिसकेका छौं । करिव डेढ करोड रुपैयाँको लागत इष्टिमेट तयार भइसक्यो ।

साँखुको कोर एरिया गुजुम्र्ज वस्ती रहेका छन् । एक घर अर्काेसँग जोसिडएर निर्माण भएका छन् । जहाँ जनुसुकै बेला आगजनी हुने उच्च जोखिम देखिन्छ ।त्यसैले वडा कार्यालयले चार वटै पोखरीको पानी संरक्षण गरेर विपत् व्यवस्थापनको लागि उपयोग गर्ने नीति अनुसार काम गरिरहेको छ ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सडक, खानेपानी, राजकुलो पुननिर्माण÷मर्मतसम्भार र भूकम्पपीडितका लागि भवन निर्माणलगायत योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं।

तपाईंको वडामा अधिकांश सडक लथालिंग देखिन्छन् । कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ ?
जोरपाटी–साँखु सडक खण्डमा अधिकाशं पर्खाल लगाउने काम सम्पन्न भइसकेको छ । माटो सम्माएर कालोपत्रे गर्न सकिने अवस्था देखिन्छ ।तर, ठेकेदार कम्पनीले विभिन्न बाहानाबाजी गरेर सडक विस्तार कार्यमा ढिलासुस्ती तथा आलटाल गरिरहेको छ।

जसको कारणले स्थानीयबासीले सास्ती खेप्दैं आइराखेका छन्् । बेलुका पाँच बजेपछि सवारीसाधन चल्नै मान्दैनन् । कहिलेकाहीँ स्थानीयबासी विरामी परेपनि अस्पतालसम्म लैजान समेत मुस्किल भइराखेको छ । लामो समयदेखि सडक नबन्दा जनताले सास्ती भोगिरहेका छन् । हाम्रो वडामा अधिकांश कच्ची छ । मेरो कार्यकालसम्म वडामा रहेका कच्ची सडकलाई ग्राभेलिङ गर्ने योजना बनाएको छु ।

वडाबासीलाई कस्तो योजना अघि सार्नुभएको छ ?
मेरो कार्यकालसम्म बडाबासीलाई आत्मनिर्भरको बाटोमा लैजाने योजना बनाएको छु ।कृषकको लागि बेमौसमी तथा नगदेबालीमा आकर्षित गर्दै आर्यआर्जनमुलक क्षेत्रमा सक्रिय बनाउने योजना गराएको छु ।त्यसैगरी महिलाहरुको लागि सिलाईबुनाई–व्युर्टिसियन लगायतका तालिम दिएर स्वरोजगार बनाउने प्रयत्न गर्नेछु।
                                            

प्रस्तुति हिमाल लम्साल

 

प्रकाशित: २४ वैशाख २०७५ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App