८ वैशाख २०८१ शनिबार
अन्य

पत्रकार कति सुरक्षित?

हरेक वर्ष अंग्रेजी महिनाको मे ३ मा संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ। युनेस्कोको आह्वानमा वर्षेनी मनाइने यो दिवसमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे बहससमेत हुन्छ।

यो वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस आउनै लाग्दा अफगानिस्तानमा १० पत्रकारले ज्यान गुमाए। गत सोमबार राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा ९ पत्रकारको मृत्यु भयो। आत्मघाती आक्रमणको समाचार संकलन गर्न गएका पत्रकारहरूलाई लक्षित गरी पत्रकारकै भेषमा आएका एक आत्मघाती आक्रमणकारीले विस्फोट गराएका थिए। घटनाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ। यो सन् २००१ पछि अफगानिस्तानमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथिको सबैभन्दा ठूलो आक्रमण हो।

पूर्वी खोस्ट प्रान्तमा भएको अर्को आक्रमणमा बिबिसीका संवाददाता अहमद शाहले ज्यान गुमाए। घर जाने क्रममा उनलाई मोटरसाइकलमा सवार दुई बन्दुकधारीले गोली हानेका थिए ।

समाचार एजेन्सी एएफपी, टोलो न्युज, वान टिभी, रेडियो फ्री युरोप र मसाल टेलिभिजनका पत्रकारहरू काबुलमा भएको आक्रमणमा मारिएका थिए।

बिहीबार मनाइएको विश्व प्रेस स्वतन्त्रता दिवसमा संसारभर नै ती पत्रकारहरूको सम्झना गरियो।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)का अनुसार, सन् २०१८ मा हत्या गरिएका पत्रकारको संख्या ३२ पुगेको छ। यो गत वर्षको पहिलो चार महिनामा भएका मृत्युको तीन गुणा बढी भएको आइएफजेले जनाएको छ।

अफगानिस्तानका पत्रकारहरू संसारमै सबैभन्दा साहसी पत्रकार भएको दक्षिण एसियाका लागि एम्नेस्टी इन्टरनेसनलका नायब निर्देशक ओमार वाराइच बताउँछन्। ‘सबैभन्दा कठिन अवस्थामा काम गर्दा उनीहरूले आफ्नो काम गर्दा पनि धम्की, त्रास र हिंसा भोग्नुपरेको छ,’ उनी भन्छन्।

यो हिंसाले अफगानिस्तानमा काम गरिरहेका पत्रकारमाझ त्रास उत्पन्न गराएको छ । मारिएकाहरू अफगानिस्तानमा काम गरिरहेका पत्रकारहरूका नजिकका साथीहरू थिए, जो समाचार संकलनका लागि विभिन्न ठाउँमा सँगसँगै काम गरेका थिए।

विस्फोट भएको केही समयपछि काबुलमा कार्यरत दर्जनौं समाचार सम्पादक र कार्यकारीहरूले विस्फोट भएको ठाउँमा पुगेर विरोध जनाएका छन्।

‘विश्व प्रेस स्वतन्त्रता दिवसले म र मेरा साथीहरूलाई प्रजातन्त्रका लागि पत्रकारिता गर्ने कुरा सम्झाउँछ,’ हास–इ–शुभ दैनिक समाचारपत्रका प्रधानसम्पादक पर्विज कावाले एएफपीसँगको कुराकानीमा बताएका छन्।

त्यस्तै, सोमबारको विस्फोटमा आफ्ना एक संवाददाता र क्यामेराम्यान गुमाएका वान टिभीका प्रधानसम्पादक अब्दुल्लाह खेन्जानीले बिहीबारको दिन प्रसारकहरूका लागि एक शोक दिन भएको बताएका छन्। उनले एएफपीसँग कुरा गर्दै समाचार कक्षमा खाली कुर्सी देख्दा आफ्ना सहकर्मीहरू भावविह्वल भएको बताए।

त्यस्तै, आफ्ना एक पत्रकार गुमाएको टोलो न्युजका निर्देशक लोटफुल्ला नाजाफिजादाले जोखिमपूर्ण वातावरणमा काम गर्ने अफगान पत्रकारहरूका लागि धेरै सहयोग र संरक्षण चाहिनेमा जोड दिएका छन्।

सन् १९९० देखि दुई हजार पाँच सयभन्दा धेरै पत्रकारको हत्या भएको छ। पछिल्लो २८ वर्षका घटना हेर्दा पत्रकारहरूलाई उनीहरूले गरेको कामका लागि लक्षित गरी मारिएको पाइएको छ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)का अनुसार, अफगानिस्तानमा हालै भएको घटनापछि सन् २०१८ मा हत्या गरिएका पत्रकारको संख्या ३२ पुगेको छ। यो गत वर्षको पहिलो चार महिनामा भएका मृत्युको तीन गुणा बढी भएको आइएफजेले जनाएको छ।

गत वर्ष रिपोटर्स विदाउट बोर्डसले अफगानिस्थानलाई पत्रकारका लागि संसारको सबैभन्दा खतरनाक मुलुकको तेस्रो स्थानमा राखेको छ। अफगानिस्तानका मिडियाहरूले सरकारले पत्रकारहरूको सुरक्षा दिन नसकेको भन्दै भत्र्सना गरेका छन्। एउटा आत्मघाती आक्रमण भइसकेपछि पुनः दोहोरिने घटनाप्रति संवेदनशील हुन र सुरक्षा अपनाउन अफगान सरकारसँग बारम्बार माग हुने पनि गरेको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिबिसीको लन्डनमा रहेको प्रसारण भवनको बाहिर करिब सय पत्रकार भेला भए। उनीहरूले मृत्यु भएका पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिबिसीका पत्रकार शाहको फोटो लिएर एक मिनेट मौन धारण गरे।

‘उनी एकदमै मेहनती संवाददाता थिए। उनको उज्जवल भविष्यलाई दुष्टहरूले समाप्त गरिदिए,’ बिबिसीको अफगान सेवाका इनायातुलहक यासिनीले भने।

अफगान पत्रकारहरूमाथिको यो आक्रमण एसियाका फिलिपिन्स, म्यानमार र पाकिस्तानसहितका देशमा प्रेस स्वतन्त्रताबारे चासो र चिन्ता बढिरहेको समयमा भएको थियो।

अफगान पत्रकारहरू मारिएको दिनमा फिलिपिन्सका रेडियो प्रसारक एडमन्ढ सेस्टोसोलाई आक्रमणकारीहरूले डुमागेटको दक्षिणी सहरमा गोली हानेको ह्युमन राइट्स वाचले जनाएको छ। सोमबार गोली हानिएका उनको मंगलबार मृत्यु भएको थियो।

बिबिसी न्युजका निर्देशक फ्रान्सेस्का अनस्वर्थले लन्डनमा भएको भेलामा विश्व पत्रकारका लागि जोखिमपूर्ण भएको बताएकी थिइन्।

‘राजनीतिक दलका नेताहरूले पत्रकारहरूलाई जनताको सेवा गर्ने र सूचना पुर्याउनेभन्दा पनि कुनै हिसावले शत्रु भएको रूपमा चित्रण गरेका छन्। यो निकै खतरापूर्ण नजीर हो,’ उनले भनिन्।

स्वतन्त्र सञ्चारका अभियान्ताहरूले फिलिपिन्समा पत्रकारमाथि भएका आक्रमणका घटनाहरू रोड्रिगो डुटेर्टे सन् २०१६ को मे मा राष्ट्रपति निर्वाचनमा विजयी भएपछि बढेको बताएका छन्। उनी राष्ट्रपति भएपछि फिलिपिन्समा पत्रकारको हत्यासहित ८५ आक्रमणका घटना भएका छन्।

म्यानमारमा आङ सान सुकीले सन् २०१६ मा सत्ता सम्हालेपछि उनको नेतृत्वको सरकारले प्रेस स्वतन्त्रता प्रवद्र्धनमा सहयोग गर्ने आशामा तुषारापात भएको थियो । सन् २०१८ को विश्व प्रेस स्वतन्त्रता सूचक अनुसार म्यानमार ६ स्थान खस्केर १३७ औं स्थानमा पुगेको देखाएको छ। पछिल्ला सर्वेक्षणहरूले पनि पत्रकारहरूले धम्की, भौतिक आक्रमण भोगिरहेको र पत्रकारहरू पक्राउ भएको बताएको उल्लेख गरेका छन्।

म्यानमारमा रोहिंगा मुस्लिमको गैरकानुनी हत्याबारे अनुसन्धानमूलक रिपोर्टिङ गरिरहेका दुई जना रोयटर्सका पत्रकारविरुद्ध कानुनी प्रक्रिया सुरु गरिएको छ। उनीहरू दोषी ठहरिए १४ वर्षसम्मको कारावास सजाय हुन सक्नेछ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानका पत्रकारहरूले राजधानी इस्लामावादमा जुलुस गरे। जुलुसमा उनीहरूले अफगानिस्तानमा हालै मारिएका सहित मारिएका पत्रकारहरूका फोटोहरू र ‘मारिएका तर चुप नलागेका’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। पाकिस्तानमा पनि सञ्चारमाध्यममाथि विभिन्न हिसावका बन्देजहरू लगाइएका छन्।

पाकिस्तान केही वर्षअगाडि पत्रकारका लागि संसारको सबैभन्दा खतरा मुलुकको सूचीमा थियो। त्यतिबेला धेरै पत्रकारहरू सैनिक र विद्रोहीको चपेटामा परेका थिए। अहिले पनि पाकिस्तानमा बेपत्ताका घटना भइरहेका छन् भने अखवारका स्तम्भहरू पनि घटाइएका छन्। त्यसबाहेक, टेलिभिजन च्यानललाई पनि बन्द गर्न वा समाचार प्रसारण नगर्न दबाब दिइँदै आएको छ।

फ्रिडम नेटवर्क वाचडगले गत वर्ष पाकिस्तानमा सञ्चारकर्मी र सञ्चारमाध्यममाथि भएका एक सय ५० भन्दा धेरै आक्रमण र हिंसाका घटनाको रेकर्ड गरेको छ। यो निकै कठिन र आपत्तिजनक भएको कश्मिर पत्रकार मञ्चका अध्यक्ष आविद खुर्सिदले बताए।

सञ्चार अधिकारवादी संस्थाहरूले सन् १९९० देखि मारिएका, पक्राउ गरिएका र बेपत्ता पारिएका पत्रकारहरूको संख्या ट्रयाक गर्दै आइरहेका छन्। यो डाटामा पत्रकार, सहयोगी, दोभाषे, चालक भनेर छुट्याएको छ। त्यस्तै, दोहोरो भीडन्त, लक्षित आक्रमण र जोखिमपूर्ण काममा मारिएका भनेर पनि छुट्याइएको छ।

आइएफजेका अनुसार, सन् २०१७ मा संसारभर ८२ पत्रकारको हत्या भएको थियो। यो संख्या पछिल्लो दशकको सबैभन्दा कम हो। सन् १९९० को दशकमा अल्जेरिया, पुरानो युगोस्लोभाकिया र रुवाण्डामा भएका सशस्त्र द्वन्द्वमा पत्रकारहरूको हत्या हुन थालेको थियो। सन् २००३ मा इराकमा सुरु भएको युद्धसँगै पत्रकारहरूको हत्या बढ्दै गयो । यसले गर्दा सन् २००६ मा संसारभर एक सय ५५ जना पत्रकारले ज्यान गुमाए भने सन् २००७ मा एक सय ३५ जना पत्रकारले ज्यान गुमाए।

गत वर्ष पत्रकारको हत्या घटे पनि यसले राहत नदिने विश्लेषकहरू बताउँछन्। पत्रकारहरू मर्ने कारण बदलिँदै गएकाले ढुक्क हुने अवस्था नभएको उनीहरूको भनाइ छ। ‘सिरिया र इराकमा आइएसको प्रभुत्व बढ्दै गएपछि पत्रकारहरू पत्रकार भएकै कारणले मारिएका छन्। उनीहरू दोहोरो भीडन्तमा मारिएका होइनन्, ताकेरै मारिएको हो,’ कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका रोबर्ट मेहनीले बताएका छन्।

(एएफपी र बिबिसीका सामग्रीको आधारमा शिक्षा रिसालले तयार पारेको सामग्री)

प्रकाशित: २२ वैशाख २०७५ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App