coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सिनेमामा लेखकको मृत्यु

सन्दर्भ : १
नायक राजेश हमालले पहिलो फिल्म भाग्यरेखा साइन गर्दा उनलाई १० हजार रुपैयाँ दिइएको थियो र नायिका करिश्मा केसीले त्यतिबेला नायकले भन्दा पाँच हजार बढी पाए मात्र खेल्ने भन्ने सर्तमा भाग्यरेखा फिल्म छाडेकी थिइन्, पछि कृष्टि केसीले नायिकामा प्रवेश गरिन् । तर, सिनेमामा दुवैजना नायक–नायिका नरहे पनि सिनेमा बन्यो । तर, चलेन।

यो २०४४ सालको कुरा थियो, यो राजेश हमालले चलचित्रको निम्ति पाएको पहिलो रेट थियो ।
२०५३ सालमा राजेश हमालले पद्मा पिक्चर्सको अवतार नामक सिनेमामा आएर बल्ल एक लाख रुपैयाँ पाए, नेपाली चलचित्रमा एक लाख लिने उनी पहिलो नायक थिए तर उनलाई दश हजारबाट एक लाखसम्म आउन करिब नौ वर्ष चानचुन लाग्यो ।

सन्दर्भ : २
भारतको बलिउड भनिने सिने उद्योगमा प्रवेश गर्दा अमिताभ बच्चन प्रसिद्ध कवि डा. हरिवंश राय बच्चनका पुत्र भनेर चिनिन्थे, उनी कोलकत्ताको बड एन्ड बड इन्टरनेसनल कम्पनीमा म्यानेजर भएर काम गर्थे ।

कोलकत्ताबाट उनी १५ हजार भारुको तलब छाडेर पहिलो फिल्म सात हिन्दुस्तानी खेल्न आए, लेखक ख्वाजा अहमद अब्बासको फिल्ममा । उनलाई अब्बासले १० हजारमा साइन गरेका थिए । सन् १९६९ मा यो त्यतिवेलाको धेरै धनराशि थियो । यो उनको पहिलो पारिश्रमिक थियो ।सात हिन्दुस्तानीपछि अमिताभ धेरै सफल–असफल फिल्म खेल्दै सन् १९७५ मा सोलेसम्म आइपुग्दा उनले एक लाख पाए।

सात हिन्दुस्तानीबाट सोलेसम्म आइपुग्दा उनको फिल्मी जीवनको ६ वर्ष बितिसकेको थियो । केवल ६ वर्षमा उनको रेट १० हजारबाट एक लाखमा चढिसकेको थियो।भारत र नेपाल दुई अलग–अलग देश भए पनि बजारतन्त्रले यसमा तात्विक असर पारेको देखिन्छ । अमिताभ बच्चन र राजेश हमालको समय फरक भएजस्तै बजार पनि फरक थियो, तर यो बजारसँगै यसले तोक्ने अन्य सबै तत्व फरक नै थियो।

भारतका पहिलो सुपरस्टार राजेश खन्नापछि सर्वाधिक चर्चामा आएका अमिताभ बच्चनलाई पहिलो फिल्मबाट सातौँ फिल्मसम्म आइपुग्दा दोस्रो सुपरस्टार घोषणा गरिसकिएको थियो ।
१९७० जनवरी १ मा भारतको ट्रेड म्यागजिनमा फिल्म पत्रकार तथा पिआरओ शब्दकुमारले राजेश खन्नालाई ‘सुपरस्टार इज बर्न’ भनेर लेखेका थिए, तर यस शब्दको आविष्कार फिल्मपत्रकार देवयानी चौबलले गरेकी थिइन्, राजेश खन्नाका निम्ति।

एउटा संस्कृतको उपकथाको चर्चा गर्दै लेखक सलिम खानले लेखेका छन्, जब गाउँबाट कुनै दूधको बयलगाडी जाँदै थियो, एउटा कुकुर घामबाट बच्न त्यसको छायामा पछिपछि लाग्थ्यो, तर धेरै दिनपछि कुकुरलाई यस्तो लाग्न थाल्यो, त्यो बयलगाडी मेरै कारणले तानिँदै छ । एकपछि एक फिल्म हिट भएपछि हरेक अभिनेतालाई यस्तै लाग्न सक्छ, सारा फिल्म मेरै कारणले चलेका हुन्।

सन् १९७१ मा क्वेस्ट पत्रिकामा फिल्मकार एवं कवि दिलीप चित्रेले सफलतालाई परिभाषित गर्दै लेखेका थिए, यदि भारतमा कुनै यस्तो व्यक्ति होला, जसको आकर्षण देशको प्रधानमन्त्रीभन्दा बढी ज्यादा छ भने त्यो हो, राजेश खन्ना।चित्रेले द करिश्मा अफ राजेश खन्नामा खन्नाको सुपरस्टारडम, मास हिस्टेरिया अनि बजारतन्त्र र उनको महँगो पारिश्रमिकबारे लेखिरहेका वेला भारतमा निर्देशक, लेखक वा अन्य चलचित्रकर्मीको तुलना नै हुँदैनथ्यो।

राजेश खन्नाको युगको प्रशंसा जति भइरहेको थियो, त्यतिवेला उनको विरोध पनि प्रशस्त भइरहेको थियो।एउटा संस्कृतको उपकथाको चर्चा गर्दै लेखक सलिम खानले लेखेका छन्, जब गाउँबाट कुनै दूधको बयलगाडी जाँदै थियो, एउटा कुकुर घामबाट बच्न त्यसको छायामा पछिपछि लाग्थ्यो, तर धेरै दिनपछि कुकुरलाई यस्तो लाग्न थाल्यो, त्यो बयलगाडी मेरै कारणले तानिँदै छ।

एकपछि एक फिल्म हिट भएपछि हरेक अभिनेतालाई यस्तै लाग्न सक्छ, सारा फिल्म मेरै कारणले चलेका हुन्।राजेश खन्नाको यो युगलाई तोड्न सलिम खानले आफ्ना सहकर्मी जावेद अख्तरसित मिलेर सलिम–जावेद नामबाट फिल्म लेख्न सुरु गरिसकेका थिए । स्मरणीय कुरा, सलिम–जावेद जोडी जन्माउन सुपरस्टार राजेश खन्नाकै हात थियो।

राजेश खन्नासित दुई फिल्म आनन्द र नमकहराम खेलेपछि यो सुपरस्टारडम बिस्तारै अमिताभ बच्चनतिर हस्तान्तरण हुँदै गयो । सलिम–जावेदले जञ्जीर फिल्ममार्फत अमिताभ बच्चनलाई १९७३ मे ११ का दिन पर्दामा ल्याए । भनिन्छ, प्रकाश मेहरा निर्देशित यो फिल्ममा अमिताभ बच्चनले पारिश्रमिकस्वरूप ६० हजार लिएका थिए । लेखकद्वय सलिम–जावेदले पनि यस फिल्मको पटकथाका निम्ति ५५ हजार लिएका थिए ।

त्यतिवेला ५० हजार पनि ठूलो रकम मानिन्थ्यो । यस फिल्ममा एउटा संवाद पनि यस्तो थियो, शेर खाँलाई इन्सपेक्टर विजय (अमिताभ बच्चन) लाई मार्न ५० हजार अफर गर्दा शेर (प्राण) ले भन्छन्, ‘एक इन्सपेक्टर की जान की किम्मत ५० हजार रुपैये । मालूम होता है बडा ही इमानदार इन्सान है ।’यो संवादबाट थाहा हुन्थ्यो, त्यो समय ५० हजारको कति मूल्य थियो।

सलिम–जावेदले जञ्जीरका निम्ति लेखकका रूपमा ५५ हजार लिएरै छाडे । त्यति मात्रै होइन, यी दुईले पोस्टरमा आफ्नो नाम पनि निर्देशककै बराबर राख्न लगाए, यो हिन्दी फिल्म इतिहासमा पहिलो र नौलो घटना थियो।

यसअघि हिन्दी फिल्म इतिहासमा यस्तो घटना घटेको थिएन । यसअघि हिन्दी फिल्ममा लेखकको अवस्था ‘हरिजन’ बराबर मानिन्थ्यो । चलचित्रको सुटिङपछि स्टुडियोबाट निर्देशक, नायक–नायिका कारमा चढेर सररर बाहिर जान्थे, लेखक पियन वा चौकीदारजस्तो गाडीको छेवमा बसेर उनलाई बिदा गर्थे ।भारतमा लेखकलाई कतिपय ठाउँमा लेखनदास पनि भनिन्थ्यो, तर त्यस्तो अवस्थामा पनि लेखकका रूपमा आफूले मुन्सीजस्तो पद पाउने पहिलो लेखक त प्रेमचन्द थिए, त्यो पनि उनले साहित्यिक जगतमै त्यो पद पाएका थिए, तर सिनेमामा त्यो अझै सम्भव वा साध्य थिएन।

हिन्दी फिल्ममा लेखकका रूपमा पण्डित मुखराम शर्मा, अबरार आल्वी, अमान, कमाल आमरोही, ख्वाजा अहमद अब्बास, गुल्जार आदिले केही सम्मान पाउनुको कारण ती व्यक्ति सिनेमाका प्राविधिक पक्षका ज्ञाता पनि थिए।बरु यस समय सिनेमामा गीत लेखेर साहिर लुधियानवीले गायक गायिका वा संगीतकारले भन्दा एक रुपैयाँ बढी लिएर आफ्नो भाउ बढाए पनि फिल्म लेखकले त्यो पहिचान पाएनन्।

सलिम–जावेदले यसमा खुला बहस सुरु गरे, पाँच मिनेटको गीत लेखेर जाने गीतकारको भन्दा कथा, पटकथा संवाद लेखकको एउटा हिरोको जतिकै मूल्य छ, यो फिल्मका लागि ।
यी दुई यही कुरामा अडिग रहे।सलिम–जावेदले यसअघि अन्दाज, हाथी मेरे साथी, सीता और गीतामा लेखन कार्य गर्दा नाम पनि इज्जतले पाएनन्, बरु तिनको नाउँ स्टोरी बोर्ड नामक समूहमा देखापर्‍यो।

जञ्जीरको सफलतापछि यिनले अन्दाजकै निर्देशक रमेश सिप्पीको अर्को फिल्म सोले (सन् १९७५) त्यस चलचित्रका नायक अमिताभ बच्चनले जत्तिकै पारिश्रमिक लिए । त्यसबाहेक फिल्मको प्रिरिलिजको निम्ति छापिएको पोस्टरमा फिल्मको नाम बराबर सलिम–जावेदको नाम छापेर बधाई दिइएको थियो, निर्माता जिपी सिप्पी र निर्देशक रमेश सिप्पीको तर्फबाट ।
सिप्पी बन्धुकै सन् १९७१ मा प्रदर्शित फिल्म अन्दाजमा यी दुई लेखकको नाउँ सिप्पी फिल्मस् स्टोरी डिपार्टमेन्टमा अतिरिक्त लेखकका रूपमा प्रकाशित थियो।

जञ्जीरपछि अमिताभ बच्चनको पारिश्रमिक बढ्दै गयो, त्यस सँगसँगै यी लेखकद्वयले अमिताभ बच्चन अभिनीत हरेक फिल्ममा अमिताभ बराबर नै पारिश्रमिक लिए, त्यसमध्ये १९७४ को मजबुर, सन् १९७५ को दिवार, सन् १९७५ को सोले, सन् १९७७ को इमान धरम, सन् १९७८ को त्रिशूल, सन् १९७८ को डन, सन् १९७९ मा काला पत्थर, १९८० मा दोस्ताना प्रमुख मानिन्छ।

सन् १९८२ मा सलिम–जावेदले दिलीप कुमार र अमिताभ बच्चनका लागि शक्ति नामक फिल्म लेखे।सन् १९७० देखि सन् १९८० सलिम–जावेदको अपार युग थियो, सन् १९८० मा निर्माण नियन्त्रक यश जौहर (फिल्म निर्देशक करण जौहरका पिता) ले जब दोस्ताना बनाउने निर्णय गरे, त्यतिवेला सलिम–जावेदले पटकथाका लागि १२ लाख ५० हजार मागे, जतिवेला अमिताभ बच्चनले बाहिरका फिल्ममा प्रति फिल्म १२ लाख लिन थालिसकेका थिए।

देव आनन्दका फिल्म गाइड, ज्वैल थिफ, प्रेम पुजारीमा निर्माण नियन्त्रक रहिसकेका जौहरले लेखकद्वयलाई १२ लाख ५० हजार नै तिरे ।यो घटनलाई लिएर लेखक सलिम खानले पुराना लेखक अबरार आलवीलाई भने, ‘अबरार साहब, हामीले त्यो गरेरै देखायौँ, जुन बलिउडमा हुन बाँकी थियो।’

एउटा चलचित्रमा लेखकको स्थान तोक्न र बनाउनमा सफल यो जोडी मिस्टर इन्डिया (सन् १९८७) मा गएर अन्त्य भयो, त्यो पनि अमिताभ बच्चनले भूमिका अस्वीकार गर्नुको कारणले ।मिस्टर इन्डियामा नायकको भूमिकालाई लिएर अमिताभ बच्चनको असहमतिलाई दुई लेखकले अलग–अलग इन्टरप्रेट गरेपछि यो जोडी यहीँ गएर टुक्रियो।

अमिताभ बच्चनलाई क्रुद्ध युवा नायकको छवि दिने यो जोडीले सन् १९५६ मा बेलायती लेखक जोन आस्बर्नद्वारा लिखित लुक ब्याक इन एंगरबाट एन्ग्री योङम्यान सापटी लिएका हुन्, यद्यपि हिन्दी फिल्ममा यो शब्दावली ‘मुझे जिने दो’मा सुनील दत्त अनि ‘गंगा जमुना’मा दिलीप कुमारले पनि पाइसकेका थिए, तर महबुब खानको मदर इन्डियामा सुनील दत्तले गरेको विरजुको भूमिकालाई त्यो वेला नै एन्ग्री योङ म्यानको पदावली दिइएको थियो ।
नेपाली सिनेमामा राजेश हमालले गरेका धेरै भूमिकालाई एन्ग्री योङम्यानका ट्याग लागेको थियो।

सिनेमामा नायकलाई चरित्र दिने मात्र नभई चलचित्रमा लेखकको सम्मान र स्थान निक्र्योल गर्नमा उच्चतम भूमिका निर्वाह गर्ने यी दुवै लेखकमध्ये जावेद अहिले कवि र सायरका रुपमा परिचित छन् भने सलिम खान फिल्म नायक सलमान खानका पिताका रूपमा चिनिन्छन्।

जावेद प्रसिद्ध गीतकार जाँ निस्सार अख्तरका छोरा थिए भने उनी चलचित्रमा लेखक नै बन्न आएका थिए, तर पुलिस इन्सपेक्टरका छोरा सलिम खान भारतको इन्दौरबाट चलचित्रका नायक बन्न आएका थिए।आज दुवै लेखकका छोरा चलचित्रमा नायकका रूपमा समर्पित छन्, जावेद अख्तरका छोरा फरहान अख्तर चलचित्र लेखक निर्देशक अनि संगीतकार छन् भने उनकी छोरी जोया अख्तर पनि निर्देशक छिन्।

सलिम खानका तीनै छोरा सलमान, अरवाज अनि सौहेल खान अभिनयमा सक्रिय छन् ।
सलिम–जावेदले ८० को दशकमा हिन्दी सिनेमामा बनाएको आफ्नो गर्वशाली युग फेरि बलिउडमा दोहोरिन सकेन । अहिले फेरि हिन्दी सिनेमामा लेखकको उपस्थिति शून्यबराबर भएको छ, वा मृत अवस्थामै छ ।

निर्देशकले अंग्रेजी वा कोरियन फिल्मको डिभिडीबाट हुबहु सिनेमा कपी गर्छन्, अनुवाद गर्नका निम्ति एउटा लेखनदासको खाँचो हुन्छ, त्यो काम कुनै पनि समय उनका सहायक वा अरु कसैले पनि गरिदिने चलन छ।हाल नेपाली फिल्मको अवस्थामा पनि लेखकको हालत त्यही छ।नेपाली सिनेमामा सुरुवातदेखि लेखकको अवस्था क्षतिपूर्तिका रूपमा लिइन्छ, कतिपय ठाउँमा लेखकको नाउँ सम्म पनि दिइँदैन।

उदाहरणका लागि ‘साथीका लागि यो हात सलाम हो, दुश्मनका लागि यो हात फलाम हो, नाम हो मेरो पृथ्वी’ भनेर राजेश हमालले बोल्ने सम्वाद कुन लेखकको हो, कसैलाई थाहा छैन वा राजेश हमालले मञ्चमा बोल्दा यसबारे खुलाउन जरुरी पनि मानेनन्।राजेश हमाल मात्र होइन, शिव श्रेष्ठ, भुवन केसी, अर्जुनजंग शाही, रविन्द्र खड्का, विजय लामा, कृष्ण मल्ल, सौगात मल्ल, दयाहाङ राई, अनमोल केसी कसैले पनि बोल्ने संवाद् वा पटकथा कुनै लेखकले लेखेका होलान्, तर तिनको चर्चा कहिल्यै कतै भएको पाइँदैन।

पहिलो नेपाली सिनेमाका लेखक दुर्गाप्रसाद श्रेष्ठदेखि लिएर सबैभन्दा बढी पारिश्रमिक पाउने सेतो बाघका लेखक डायमनशमशेर राणासम्म आइपुग्दा धेरै लेखकले नेपाली सिनेमामा लेखकका रूपमा योगदान दिइसकेका छन्, विजय मल्ल, चेतन कार्की, केशवराज पिँडाली, हिराकुमार सिंह, डा. ध्रुवचन्द्र गौतम, अविनाश श्रेष्ठ, ब्रजेश खनाल, मोहन निरौला, नयनराज पाण्डे आदि तर तिनको उपस्थितिमा पनि कुनै नायकले हिन्दी फिल्मकै संवाद हुबहु नेपालीमा अनुवाद गरेर अनमोल केसीकै स्वरमा ‘मेरा दुश्मनहरूले सोचिरहेका होला म फर्केर आउने छैन भनेर’ बोल्छन् भने लेखकको उपस्थितिको के अर्थ रहला त?

सलिम–जावेदले आफ्नो फिल्म डन, जञ्जीरको रिमेक गर्दा पनि त्यसमा आफ्नो अहम् अस्तित्व खोजे । जब डन– २ बनाइयो, त्यतिवेला पनि उनीहरूले हामीसित दोस्रो डनको निम्ति स्वीकृति लिइएको थिएन भनेर मुद्दा हालेका छन्, त्यो मुद्दा अहिले मुम्बईको उच्च अदालतमा निर्णयाधीन नै छ।लेखक हुनुको अर्थ यो पो हो त।

एउटा लेखकले सिनेमामा नायकको जतिकै महत्व सिर्जना गर्ने सलिम खान र जावेद अख्तरको जोडी टुट्नु भारतीय सिने इतिहासमा व्यावसायिक युगको अन्त्य त हो नै, तर सलिम खान स्वयमंले भनेका छन्, मारियो पूजोले जस्तै एउटा गडफादर लेखेर मर्न पाऊँ ।
उनको यो प्रार्थना जारी छ ।
 

प्रकाशित: १५ वैशाख २०७५ ००:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App