१६ चैत्र २०८० शुक्रबार
अन्य

कहिले अन्त्य होला टहराको बास

देकोचाका भूकम्पपीडितले बनाएका सामूहिक अस्थायी टहरा । तस्बिर : कृष्ण किसी

भूकम्प गएको तीन वर्ष बित्दा पनि भक्तपुरका भूकम्पपीडितहरू टहरामै बस्न बाध्य छन् । घर पुनर्निर्माण गर्न नसक्दा पीडितहरू अस्थायी टहरामै कष्टपूर्ण जीवन जिउन बाध्य भइरहेका हुन्।

भक्तपुरको देकोचास्थित अस्थायी टहरामा बस्दै आएका गौरी साँगाछेंले घर बनाउन नसकेकाले जस्ताको टहरोमुनि रात काट्नु परेको दुखेसो पोखे । उनको टहराभित्र अन्य सदस्यसहित दुईजना पाका उमेरका पनि छन्।

‘हामी गरिबको भागमा दुःख मात्रै लेखेको रहेछ,’ उनले सुनाए, ‘भूकम्पले भत्केको सानो टुक्राको जग्गा भाउजू र आफ्नो नाममा कित्ताकाट हुन नसक्दा हामीले राहत पाएका छैनौं ।’
भूकम्पछि देकोचामा ३६ परिवारको टहरा थियो । तीमध्ये अहिले पनि झण्डै १५ परिवारले टहरा छाड्न सकेका छैनन् । पीडितहरूका अनुसार घर बनाउन नसक्नुका धेरै कारण छन् । घर बनाउने जग्गा नहुनु, पैसा नहुनु, सानो क्षेत्रफलको टुक्रे जग्गामा नयाँ मापदण्ड अनुसारले नक्सा पास गर्न नमिल्नु, दाजुभाइबीचको झगडा, सधिँयारसँगको सीमा विवादलगायत कारणले घर बनाउन नसकेको पीडितहरू बताउँछन्।

भूकम्पछि देकोचामा ३६ परिवारको टहरा थियो । तीमध्येअहिले पनि झण्डै १५ परिवारले टहरा छाड्न सकेका छैनन्।

स्थानीय रामलक्ष्मी न्हेम्हाफुकीले महँगीले घर बनाउन नसकेको बताइन् । आफैले घर बनाउन नसक्दा अस्थायी टहरामै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको उनले सुनाइन् । ‘भूकम्पयता हामीले साह्रै दुःख पाएका छौं,’ उनले दुखेसो पोखिन्, ‘तीन वर्ष बित्दा पनि सरकारको राहत पाएका छैनौं ।’  अहिले जिल्लाका विभिन्न स्थानका पीडितहरू अझै टहरामै बस्न बाध्य छन् । देकोचासहित, च्याम्हासिंह, लिवाली, कमलविनायक, इन्द्रायणी, व्यासी, गरुडकुण्डल, भीमसेनस्थान, बाराहीलगायत ठाउँका भूकम्पपीडित अस्थायी टहरामै छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका अनुसार जिल्लामा २७ हजार ६ सय ४४  लाभग्राही (गुनासोसहित) छन् । तीमध्ये २३ हजार एक सय २५ परिवारसँग अनुदान सम्झौता भएको छ । त्यसमा २३ हजार एक सय १८ ले पहिलो किस्ता, दुई हजार आठ सयले दोस्रो र दुई हजार एक सयले तेस्रो किस्ता पाएका छन् ।कार्यालय प्रमुख शिवराम गेलाल टहरामै बस्नेहरू भूकम्पपीडित सयौं रहेको बताउँछन् । सरकारी निकायले तिनीहरूको यकिन तथ्यांक भने निकाल्न सकेको छैन।

भूकम्पले जिल्लामा सबैभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्र प्रभावित भएको थियो । भूकम्पपश्चात नगरभित्र मात्रै ८७ स्थानमा दुई हजार तीन सय ६ परिवारका १४ हजार तीन सय ३८ जना अस्थायी शिविरमा बस्न बाध्य भएका थिए । नगरभित्रका व्यासी, देकोचा, कमलविनायक, गरुड कुण्ड, च्याम्हासिंह, लिवाली, कमलविनायक, भेलुखेल, हनुमानघाट, बाराहीलगायतका क्षेत्रका जताततैका अस्थायी शिविरमा पीडितहरुले कष्टकर जीवन बिताएका थिए ।
 

प्रकाशित: १४ वैशाख २०७५ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App