१० माघ २०७७ शनिबार
अन्य

श्रीखण्डको अवशेष सिंहदरबार

नेपाली जनताको श्रम र पसिनाबाट निर्मित सिंहदरबार देशको सर्वोच्च प्रशासकीय केन्द्र हो। यो एक सय १४ वर्षदेखि यो प्रशासकीय केन्द्रकारूपमा स्थापित छ।नीति र विधि निर्माणमा पनि सिंहदरवारको नै सर्वोच्चता कायम छ । यसर्थ यसले व्यस्थापकीय सर्वोच्चताको हैसियत पनि पाएको छ । २००७ सालपहिले त न्यायिक सर्वोच्चता पनि यसै दरबारमा निहित थियो।

यस दरबारलाई यी सबैखाले हैसियत दिलाउने पहिलो व्यक्ति थिए, चन्द्रशमशेर।उनको पालादेखि अहिलेसम्म २५ जनाभन्दा बढी व्यक्ति, यस दरबारमार्फत् देशको नेतृत्वदायी भूमिकामा पुगेका छन् । यीमध्ये सबैभन्दा बढी २९ वर्षसम्म शासन गर्ने प्रधानमन्त्री चन्द्रशमशेर नै हुन्।

उनीभन्दा पहिलेका श्री ३ महाराज देवशमशेरले शिक्षा वा सञ्चारको क्षेत्रमा केही सुधारवादी काम गरी जनस्तरमा केही प्रभाव छोड्ने प्रयास गरेका थिए । तर, भाइ चन्द्रलाई उनको लोकप्रियता सह्य भएन । उनी लखेटिए । सत्ताशक्ति हत्याउन राणाकालभरि नै पारिवारिक षड्यन्त्रले निरन्तरता पायो । चन्द्रले त्यस्तो षड्यन्त्रलाई निस्तेज पार्दै लामो समयसम्म निरंकुश सत्ता सञ्चालन गरे । चन्द्रपछि भीम, जुद्ध, पद्म र मोहनले यहीँबाट सत्ता चलाए।

२००७ सालपछि सिंहदरबारमा आमजनताले प्रवेश पाए । प्रजातन्त्रको घोषणापछि जनप्रतिनिधिहरूका लागि सिंहदरबार खुला त भयो । तर, शासनले स्थिरता पाएन । वैधानिक तवरमा जनप्रतिनिधिको निर्वाचनपछि २०१६ सालमा वास्तविक अर्थमा जनताको सरकार त बनियो।

तर, १८ महिनामा वलात् जनप्रतिनिधिको सरकारविरुद्ध षड्यन्त्र गरिएपछि ३० वर्षसम्म सिंहदरबारबाट निरंकुश शासकीय हुँकार मात्र गर्जिइरह्यो, वास्तविक जनप्रतिनिधिका लागि सिंहदरबार प्रवेशमाथि प्रतिबन्ध लगाइयो । २०४६ सालपछि बल्ल सिंहदरबारमा आमजनताको प्रवेश हुन थालेको हो।पञ्चायतकालमा सिंहदरबार नाम मात्रैको शासन केन्द्र हुनु स्वभाविक थियो, नारायणहिटी नै देशको मुख्य शासनकेन्द्र थियो।

सिंहदरबारको यो संक्षिप्त शासकीय चिनारीको झलकसँगै यसको भौतिक अस्तित्वको सामान्य चर्चा गरिनु उपयुक्त नै हुने छ ।चन्द्रशमशेरद्वारा निर्मित सिंहदरबारको अब एक हिस्सा मात्र छ, जुन सबैभन्दा आकर्षक हिस्सा पनि हो । २०७२ वैशाख १२ को भूकम्पीय त्रासदीले थिल्थिल्याएपछि चर्केको पश्चिमी अग्रमोहडा मर्मत रेट्रोफिटिङको क्रममा छ।

चन्द्रशमशेरले १९६० सालदेखि १९८६ सम्म २६ वर्ष यसैमा बसेर शासन गरेका थिए । यसको निर्माण कार्य १९५८ सालमा सुरु भएको थियो । देवशमशेरलाई लखेटेपछि श्री ३ बनेका चन्द्रले सिंहदरबार नबनुन्जेलसम्म थापाथली दरबारबाट शासन गरे । १९६० फागुनमा निर्माण पूरा भएपछि उनी यस दरबारमा सरे । इन्जिनियरहरू कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले झन्डै तीन वर्षमा यस विशाल दरबारको निर्माण सम्पन्न गरेका थिए।

यस दरबारको निर्माणपूर्व चन्द्रशमशेरले सेतो दरबार, लाजिम्पाट दरबार र चारबुर्जा दरबार किन्ने चर्चा चलाएका थिए । तर, इन्जिनियरहरूले तीभन्दा राम्रो दरबार चाडै बनाउने बताएपछि सिंहदरबारको निर्माण तत्कालै सुरु भयो। ज्याला न्यूनतम मात्र दिइयो । यसरी मितव्ययी ढंगमा निर्माण गर्दा पनि त्यसबेला झन्डै ५० लाख रूपैयाँ खर्च भएको कुरा इतिहासकार पुरुषोत्तम शम्सेर राणाले लेख्नुभएको छ । निर्माण सम्पन्न भई त्यहाँ बस्न थालेपछि चन्द्रले यो दरबार नेपाल सरकारलाई बेचे।

र, सरकारी कोषबाट दुई करोड रूपैयाँ झिकेर निजी बनाए । सरकारलाई बेचेको घोषणा एकातिर गरे, अर्कातिर दरबारलाई प्रधानमन्त्री निवास पनि बनाए । र, आफू त्यहीँ बसे।उनीपछिका जुद्धबाहेक अन्य प्रधानमन्त्रीले यसै दरबारलाई आफ्नो सरकारी निवासका रूपमा प्रयोग गरे।भनिन्छ, यस दरबारमा ९ ठूला चोकहरू थिए । र, एक हजारजति कोठाहरू थिए । २०३० असार २५ गते अगाडिपट्टिको खण्डबाहेक ९ वटै चोक वरिपरिका दरबार खण्डहरू नष्ट भए।

अघिल्तिरको भाग पनि चिनियाँ अग्नि नियन्त्रकहरूको मद्दतले विस्फोटक पदार्थ प्रयोग गरी जलिरहेको खण्डबाट छुट्याएर आगो फैलिन नदिने उपाय गरेपछि जोगिएको बताइन्छ ।
राजा वीरेन्द्र यो दरबार जलेको देखेर भावविह्वल भएका थिए भन्ने पनि बताइन्छ। सायद अरु धेरैजना त्यसरी नै सुक्सुकाएका थिए।राष्ट्रिय सम्पदाको अकल्पनीय क्षतिपछि सिंहदरवारको आंशिकरूपमा पुनर्निर्माण त गरियो । तर, मौलिक दरबारको दुरुस्त प्रतिरूप बनाउन प्राविधिक कारणले वा सम्भव देखिएन वा आवश्यक ठानिएन।

सामान्य बाहिरी प्रभावलाई अलिकति अपनाउन खोजेजस्तो देखिए पनि पुनर्निर्मित सिंहदरबार पूरै आधुनिक संरचनागत ढाँचामा छ । त्यसको निर्माण आधुनिक सुविधायुक्त ढंगमा बनाइयो । दरबारको शास्त्रीय मौलिकतालाई जोगाएर पुनर्निर्माण गरिँदा ऐतिहासिक महत्व बढ्ने थियो भन्ने सोच नीति निर्माताहरूमा आएन । २०३० साल पहिलेको मौलिक दरबार एसियाभरिकै ठूलो थियो भनिन्छ।

२०७२, वैशाख १२ को भूकम्पमा परी नवनिर्मित भवनहरू पनि केही चर्केका देखिन्छन्। पूर्वपट्टि रक्षा मन्त्रालयसँग कम्पाउन्ड जोडिएको एउटा खण्ड पुरानो अवस्थामै थियो। भूकम्पले त्यस्लाई निकै क्षति पुर्‍याएपछि गत वर्ष त्यसलाई भत्काइयो । भूकम्पअघि त्यहाँ महिला, बालबालिका तथा समाज कल्याण र श्रम मन्त्रालय थिए । काम नलाग्ने मात्र नभई भित्र पस्न पनि सुरक्षित नभएकाले सिंहदरबारको त्यस खण्डलाई भत्काइनुपथ्र्यो, भत्काइयो । त्यसका पुराना इँटाहरू अव्यवस्थित ढंगमा चाङ लाएर राखेको भने देखिन्छ।

भूकम्पले क्षतिग्रस्त भवन भत्काइएपछिको त्यहाँ देखिने दृश्य उदेकलाग्दो छ। पहिलेका भग्नावशेषकै भाग, पुरानो दरबार खण्ड भएकै ठाउँमा श्रम तथा रोजगार मन्त्रालयको नयाँ भुइँतले भवन निर्मित छ । मन्त्रालयहरूका हजारौँ पुराना फाइल र कागजातहरूको डंगुर यत्रतत्र देखिन्छ । दशकाँै पहिलेदेखिका नेपाली जनताका सरोकारका कागजपत्रहरू हुन् ती । तिनमा कतिपय ऐतिहासिक महŒवका अभिलेखहरू पनि हुन सक्छन्।

भविश्यमा कसैलाई चाहिने कागजपत्र पनि त्यहाँ हुन सक्छन् । ती कामै नलाग्ने भए पनि सिंहदरबारलाई प्रदूषित बनाएर कुहाएर त्यहिँ किन राख्नु ! कतै लगेर डढाए त भइहाल्यो नि ! तिनको व्यवस्थापन त्यहाँबाट सुरक्षित भवनमा सरेका मन्त्रालयहरूकै होइन र ! प्रधानमन्त्रीको कार्यालय त्यसैसँग जोडिएको छ । त्यस्ता पुराना कागजात तीन-चार ट्रकभन्दा बढी होलान् । सिंहदरबारभित्रको भौतिक बेथितिको एउटा लाजलाग्दो दृश्य त्यहाँ देखिन्छ । भग्नावशेषको उत्तरपट्टि कर्मचारीका दुधे नानीहरूको ‘डे केयर’ छ।

देशकै केन्द्रीय सरकारी निकायको परिसरमा रहेको त्यो ‘डे केयर’मा दिउँसो रमाउने नानीहरू भग्नावशेषबाट उडेको धुलो मिश्रित हावामा दिनभरि श्वास फेर्छन् । र, कार्यालय समय सकिएपछि तिनका आमाहरू त्यहि भग्नावशेषमाथि टेक्दै पूर्वी वा दक्षिणी गेटबाट बाहिरिन्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै देखिने त्यस्तो लथालिंग अवस्थाले मन्त्रालयहरूकै अव्यवस्थित कार्यशैलीलाई उदांगो पारिरहेको प्रतीत हुन्छ।यो एउटा सामान्य जनसरोकारको विषय हो । यस सँगसँगै यहाँ राष्ट्रिय सरोकारको एउटा पक्षलाई पनि जोड्न आवश्यक छ।

सिंहदरबार निर्माण गर्दा चन्द्रशम्सेरले आफ्नै नाउँका इँटा र तिनमा निर्माण गर्दाको साल (इस्वी) पनि उल्लेख गर्न लगाएका थिए । उनको नाम र साल अंकित इँटाहरू नै सम्पूर्ण दरबार बनाउँदा प्रयोग भएको प्रष्ट छ । ‘श्री ३ चन्द्र कि जै’, ‘श्री ३ चन्द्र’ अनि साल अंकित इँटाहरूद्वारा निर्मित पुरानो दरबार खण्डको भग्नावशेषमा थुपारिएका इँटाहरू पुरातत्विक दृष्टिले मूल्यवान् छन्।

त्यसभन्दा पनि पुराना ‘श्री ३ वीर’ लेखिएका इँटाहरू पनि भेटाइन्छन् । सामान्यतया सय वर्ष पूरा भएपछि यस्ता सार्वजनिक भवनहरूलाई पुरातात्विक दृष्टिले राज्यले संरक्षण दिनुपर्छ । ऐतिहासिक महत्व हेरी त्यस्ता सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सकिन्छ । त्यहाँ देखिएका इँटाहरूमा सन् १९०३, १९०९ आदि लेखिएको छ । यसबाट के बुझ्न सकिन्छ भने चन्द्रशम्सेर त्यहाँ सरेपछि पनि अरु कतिपय भवन, संरचनाहरू बन्दै गए ।

त्यसै ठाउँमा अब बन्न लागेको भवन के कस्तो भन्ने आदिको टुंगो लागिसकेको हुनसक्छ। तर, त्यहाँ आधुनिक शैलीको (अर्थ, परराष्ट्रजस्तै) भवन नबनाईकन त्यहिँको पुराना इँटाहरू मात्र प्रयोग गरी सानो चिटिक्क परेको पहिलेकै दरबारको प्रतिकृति जस्तो, दुई तले भवन (दरबार) बनाउन सकिन्छ । त्यहिँ दरबारका काठ प्रयोग गर्न सकिन्छ । झ्याल वा ढोकाहरू नमक्किएका जति सबै प्रयोग गर्न सकिन्छ । त्यसरी निर्माण गरिएको दरबारलाई सिंहदरबार संग्रहालयको रूपमा स्थापित गर्न सकिन्छ।

त्यस संग्रहालयमा देशमा प्रत्येक प्रधानमन्त्रीहरूका आ–आफ्नो समयका अति महत्वपूर्ण दस्तावेजहरूलाई संग्रह गर्नुका साथै उनीहरूका कार्यकालका महत्वपूर्ण घटनाक्रमहरूको पनि दस्तावेजीकरण गरेर स्वदेशी, विदेशी आगन्तुकहरूका लागि ऐतिहासिक गन्तव्य स्थल बनाउन सकिन्छ। त्यस्ता ऐतिहासिक सामग्रीहरूमा व्यक्तिगत प्रयोगका वस्तु जस्तै उपहारहरू पनि राख्न सकिन्छ, जस्तो अमेरिकी राष्ट्रपति कार्यालयमा हरेक राष्ट्रपतिका ऐतिहासिक दस्तावेजहरू सुरक्षित राखिने गरेको बताइन्छ।

सिंहदरबारमा नेपालका प्रधानमन्त्रीहरूका फोटोसिवाय केही छैनन्।अन्यत्र इतिहासलाई राष्ट्रिय संरक्षण दिइन्छ, नेपालमा इतिहास मेट्न राजनीतिक दलहरू नै उद्यत देखिएका छन् । त्यहिँकै ऐतिहासिक इँटा, काठ, झ्यालढोका आदिको प्रयोगबाट सुन्दर संग्रहालयको निर्माण हुन्छ । पुराना भौतिक सामग्रीको प्रयोग गरी द्वारिकाज बनेको त सबैलाई थाहै हुनुपर्छ।

चन्द्रशमशेरकालीन इँटाहरू पुरातात्विक महत्वका छन्। संग्रहालय भवन बनाएपछि बाँकी रहेका टुक्राटुक्री इँटा बिक्री गर्न सकिन्छ । यो पंक्तिकारले सन् २००० मा जर्मनीको बर्लिन पुगेका बेला त्यहाँ विभिन्न ऐतिहासिक महत्वका संग्रहालयहरू देख्ने अवसर पाएको थियो । पूर्वी र पश्चिमी जर्मनी एकीकरण भएको एक दशक मात्र भएको थियो । सन् १९८९ मा जर्मन जनताले बर्लिनको पर्खाल ढालेपछि जर्मनी एकीकरणको घोषणा गरिएको थियो ।

ऐतिहासिक एकीकरणपछि पर्खालका ढालिएका अवशेषहरूलाई संकलन गरी बिक्री गर्ने योजना त्यहाँको सरकारले बनायो । चेक प्वाइन्ट चार्लीस्थित संग्रहालयमा पर्खालका टुक्राटुक्री ५, १०, १५, २० डचमार्क (त्यसबेला युरो चलनमा थिएन) बिक्रीमा थिए । त्यहाँ पुगेका पर्यटकहरू लामबद्ध भई कंक्रिटका टुक्रा किनिरहेका थिए।

त्यस्तै मौलिक सिंहदरबारका भौतिक अवशेषहरू बिक्री गर्ने प्रबन्ध मिलाउन सरकारको ध्यान पुग्न सके त्यसको ऐतिहासिकताले महत्व पाएको ठहरिने थियो । अर्को, मर्मत सम्भार हुँदै गरेको सिंहदरबारको पुरानो मूल खण्ड वास्तुकलाको दृष्टिले नेपालमा मात्रै नभई एसियाभरिमै उत्कृष्ट मानिन्छ । त्यहाँ निर्मित स्तम्भहरू प्राचीन ग्रिसेली कोरिन्थिएन तथा डोरिक स्तम्भ निर्माण ढाँचाको प्रभाव झल्किने गरी निर्माण गरिएको वास्तुविद्हरूको भनाई छ।

त्यसको निर्माण भएपछि दरबारको त्यस खण्डलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रयास गरिनुपर्छ । त्यहाँ कुनै कार्यालय राखिनु हुँदैन । त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा सरंक्षण गरिनु आवश्यक देखिन्छ । सिंहदरबार देशकै प्रतिष्ठा वृद्धिका लागि महत्वपूर्ण स्मारक हो भन्ने कुरा पुरातत्व विभागले राम्रै बुझेको छ ।

पुरातत्व विभागले सरकारसँग नीतिगत रूपमा सिंहदरबारको ऐतिहासिकतालाई ध्यानमा राखी मूल भवनको मर्मत सम्भार पूर्ण भएपछि त्यसलाई आफ्नो मातहतमा ल्याई अन्य दरबार क्षेत्रहरूझैँसम्पदा स्थलका रूपमा संरक्षणको दायित्व बहन गर्न सक्छ । पूर्वपट्टिको भग्नावशेषमा नयाँ भवन बनाउँदा त्यहिँकै इँटा, काठ प्रयोग गरी पुरानै शैलीमा ठिक्कको दरबार (भवन) बनाउन नीतिगत रूपमा सुझाव दिन सक्छ ।

पुरानै शैलीको नयाँ दरबारको प्रतिरूप बनाउनको निम्ति अहिले बनिइसकेको भुइँतले नयाँ भवनलाई व्यवस्थापन गर्न पुरातात्वले सम्बन्धित निकायसँग कुराकानी अगाडि बढाउन सक्छ । पुराना पुरातात्विक सामग्रीको सर्वोत्तम उपयोग गरी राष्ट्रिय महत्वका स्थल र सम्पदाहरूको संरक्षण गर्ने शीर्ष जिम्मेवारी पुरातत्व विभागकै हो । हामीकहाँ श्रीखण्ड धेरै छन् । तर, तिनको महत्व हँसियाको बिँडका लागि मात्र भएको छ ।

पुरातत्वले सिंहदरबार परिसरभित्र रहेको श्रीखण्डको अवशेषलाई ध्यानमा राखी हँसियाको बिँडमा उपयोग गर्ने सरकारी नीतिलाई सच्याउन भूमिका खेल्न सक्छ।सरकारले पनि श्रीखण्डलाई हँसियाको बिँडमा उपयोग नगर्ने नीति लिनु उपयुक्त हुने छ । राष्ट्रिय सम्पदालाई सम्मान गर्दा राष्ट्रकै सम्मान हुने कुरा निर्विवाद छ।
 

प्रकाशित: ८ वैशाख २०७५ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App