५ वैशाख २०८१ बुधबार
अन्य

जनताका समस्या हल गर्ने प्रयास गरिरहेका छौं

रविन्द्र महर्जन, अध्यक्ष
ललितपुर महानगरपालिका – २१

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के काम गर्नुभयो ?
जनताको काम धेरै होस् भन्ने चाहना र जाँगरका साथ नगरवासीकै सेवामा लागेको छु । मेरो क्षेत्रमा तीन मुख्य समस्या छन्, जसमा पुनर्निर्माण, लालपुर्जाविहिनको समस्या र राष्ट्रिय योजनाहरूको व्यवस्थापन हो । त्यसैले हामीले लालपुर्जाविहिन स्थानीयलाई लालपुर्जाको व्यवस्था गर्ने र उहाँहरूका मूलभूत समस्या हल गर्ने प्रयास गरिरहेका छौं । यद्यपि, केही त समाधान पनि भइसकेका छन्।

यी काम गर्न निकै चुनौती पनि छ । हामीले जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दा वडा कार्यालय अस्तव्यस्त थियो । हामी आएपछि वडा कार्यालयलाई व्यवस्थित बनाई सेवा प्रवाहलाई सहज र सरल बनाएका छौँ । वडा कार्यालयले नियमित विकास निर्माणलाई द्रुत गतिमा अघि बढाएको छ । त्यसको प्रतिफल अबको केही समयभित्रै देखिने छ ।
तपाईँको क्षेत्रमा भूकम्पले ध्वस्त पारेका बस्ती र सम्पदाहरूको पुनर्निर्माण कहिलेसम्म हुन्छ ?
मेरो वडामा प्राचीन सम्पदा तथा ऐतिहासिक बस्तीहरू छन् । यस्तो ठाउँमा पुनर्निर्माण गर्दा ध्यान दिनु पर्छ । वडा कार्यालयले पनि मौलिक बस्तीलाई त्यसैअनुरूप पुनर्निर्माण गर्ने योजना अघि सारेको छ । जनताहरूलाई त्यसरी नै पुनर्निर्माण गर्न प्रेरित गरेका छौं । हालसम्म हामीले पुनर्निर्माणलाई सोचेजस्तै गतिमा अघि बढाउन सकेका छैनौं । अहिले पनि धेरै समुदाय टहरामै बसेका छन् । स्थानीयले भग्नावशेष पन्छाउन सकेका छैनन्।

यसलाई मध्यनजर राख्दै वडा कार्यालयले सबै घरहरूको निःशुल्क भग्नावशेष हटाइदिने निर्णय गरेको छ । र, यसको थालनी पनि भएको छ । अहिले एउटा घरका भग्नावशेष पन्छाउन स्थानीयलाई ५० देखि ७० हजारसम्म लाग्छ, यो काम वडा कार्यालयले निःशुल्क गर्न थालेको छ । त्यस्तै, घरको डिजाइन पनि बनाइदिने निर्णय गरेका छौं । कतिपय घर बनेका छन् । यो वर्ष एक सय घर बनाउने तयारी गरेका छौं । धेरै घरहरूको नापी नभएकाले दोस्रो किस्ताको अनुदान वितरणमा समस्या पनि छ।
जनताका कस्ता–कस्ता गुनासा आउँछन् ?
धेरै गुनासो आउने गरेको छ । सबैभन्दा बढी पुनर्निर्माणको विषयमा आएको छ । नापी, नक्सा र लालपुर्जाबारे स्थानीय अलमल छन् । हामीले सकेसम्म यसबारे बुझाएका पनि छौं ।
जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
गाह्रो र अप्ठेरो भन्ने कुरा आफूमा भर पर्छ । कुनै पनि काम गर्न सजिलो छैन । अझ सार्वजनिक ठाउँमा बसेर काम गर्न निकै चुनौती पनि छ।

वडामा बसेर काम गर्दा एक जनाको मन रिझाएर मात्रै पनि हुन्न । सबैलाई समेटेर समस्या हल गर्दै अघि बढ्नुपर्ने हुन्छ । यद्यपि स्वच्छ मनले जनताको काम गर्नेलाई खासै अप्ठेरो पनि छैन । स्थानीय निकायप्रति जनताको अत्यधिक आशा र भरोसा देखिन्छ । स्थानीय तहको कार्य क्षेत्र र दायरा निकै फराकिलो र व्यापक छ । स्थानीय तह सीमित स्रोत–साधन र बजेटमा सञ्चालन हुँदै आइरहेको छ । जसकारण जनताको अपेक्षाकृत काम गर्न सकिरहेका छैनौँ ।
तपार्इँंको वडामा अधिकांश सडक लथालिंग देखिन्छन्, कहिलेसम्म सुधार्नु हुन्छ ?
मेरो वडा ग्रामीण र सहरी दुवै भेगमा पर्छ । यहाँ सांस्कृतिक र मौलिक बस्ती भएका ठाउँहरू छन् । अधिकांश सडक कच्ची र धुलाम्मे छन् । यो सही कुरा हो । सडक र सम्पदा बनाउन हामीले चासो दिएका छौं । पहिले कालोपत्रे भएका सडक पनि भत्किएर लथालिंग र भताभुंग अवस्थामा छन् । ठेकेदार र डिभिजन सडक कार्यालयको लापरबाहीका कारण वर्षाैंदेखि सडक कालोपत्रे हुन सकेका छैनन् । जसकारण राष्ट्रिय योजनामा परेका सडक कहिले सम्पन्न हुने अन्योलता कायमै देखिन्छ । अर्को कुरा पुनर्निर्माणको काम सकेपछि मात्रै सडक बनाउने भनेर हामीले सोचेका छौं । घरको पुनर्निर्माण सकिएपछि खोकना क्षेत्र ढुंगा छाप्छौं ।
तपार्इँको वडामा पर्ने खोकनामा फास्ट ट्रयाक मुआब्जा विवाद झन्–झन् चुलिँदै गएको छ, यसको समाधान कसरी गर्नुहुन्छ ?
अहिले हाम्रो वडामा देखिएको मुख्य समस्यामध्ये यो पनि एक हो । सकेसम्म स्थानीय र सरकारी निकायलाई मिलाएर लैजाने कोसिस गरेका छौं । पहिलेभन्दा अहिले केही समाधान पनि भएको छ । स्थानीयको सुझाव लिएर यसको  समाधानतर्फ लाग्छौं ।
वडाभित्र पर्ने सम्पदा पुनर्निर्माणको काम कहाँ पुग्यो ?
सम्पदा पुनर्निर्माणका लागि हामीले छुट्टै योजना बनाएर अघि बढेका छौं । यसको लागि जितापुर मण्डल पाटी र सांस्कृतिक पर्व सञ्चालन पाटी भनेर गठन पनि भइसकेको छ । यसले सम्पदाको रेखदेख र पुनर्निर्माणलाई अघि बढाउने छ । त्योसँगै खोकनामा पर्ने रुद्रायणी मन्दिर पुनर्निर्माणका लागि हामीसँग बजेट अपुग भएकाले राष्ट्रिय तहमा पहल गरेका छौं । बजेट आउनेबित्तिकै काम सुरु हुन्छ ।
पछिल्लो समय वडा कार्यालयले के–के काम गरिरहेको छ ?
मुख्य कुरा त माथि नै भनिसकें । त्योबाहेक हामीले अन्य काम पनि अघि बढाएका छौं । प्रति जग्गाको संरक्षण, खानेपानीको समस्या समाधान, सरसफाइ, कृषि, शिक्षा, स्वास्थ्यलगायत योजना छन् । स्वास्थ्य योजनाअन्तर्गत पहिलो चरणमा घर–घरमा स्वास्थ्य अभियान पनि सञ्चालन गरिसकेका छौं । बेला–बेलामा शिविरहरू पनि गरेका छौं।

यसले वृद्ध र बालबालिकाहरूलाई सहज बनाएको छ । कृषिअन्तर्गत राजकुला व्यवस्थापनको काम पनि अघि बढाएका छौं ।  चापागाउँदेखि खोकनासम्मको राजकुलोमा पानी आउने गरी व्यवस्थापन गर्छौं । सरसफाइ व्यवस्थापनका लागि डस्टबिन वितरण पनि गरेका छौं।अर्को कुरा खोकना सांस्कृतिक सहर हो । यहाँ मूर्त र अमूर्त सम्पदाहरू छन् । सम्पदा संरक्षणअन्तर्गत सांस्कृतिक अभिलेख संकलन पनि भइरहेको छ ।
विकास निर्माणमा जनसहभागिता कस्तो छ ?
विकास निर्माणमा जनताको उत्साहजनक सहभागिता देखिँदैन । सबै काम सरकारले नै गरिदेओस् भन्ने मानसिकता विकास भएको पाइएको छ । त्यसैले वडा कार्यालयले पछिल्लो समय हरेक विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता बढाउने प्रयत्न गरिरहेको छ । सकेसम्म स्थानीयलाई हरेक खालका विकासका काममा सहभागी बढाउने कोसिस गरेका छौं।
युवाहरूलाई लक्षित गरेर वडा कार्यालयले कस्ता कार्यक्रम ल्याएको छ ?
हामीले युवा, गृहिणीलगायतलाई समेटेर अघि बढ्ने योजना बनाएका छौं । युवाहरूको क्षमता अनुसारका रोजगार र सीपहरू दिने लक्ष्यसहित वडा कार्यालय अघि बढेको पनि छ।

त्यस्तै ज्येष्ठ नागरिकको क्षेत्रमा पनि छुट्टै कार्यक्रम बनाउँदै छौं । खोकनाकै उपल्लो बस्तीमा वृद्धहरूको लागि भवन निर्माण गर्ने योजना छ।

तपाईँ महानगरको आर्थिक विकास समितिको संयोजक पनि हुनुहुन्छ, महानगरको आन्तरिक आम्दानी बढाउन कसरी काम गर्दै हुनु हुन्छ ?
हामीले यो वर्षलाई करको वर्ष भनेर घोषणा गरेका छौं । लामो समयदेखि कर नतिरेका व्यवसायीलाई करको दायरामा ल्याउन अनुगमन गरिरहेका छौं ।व्यवसायी दर्ता गराउने र उनीहरूलाई करको दायराका ल्याउने पहल गरिरहेका छौं । सबै व्यवसायीहरूलाई करको दायरामा ल्याउन वडास्तरीय रूपमा कर संकलनमा लागिरहेका छौं ।
नगरपरिषदबाट कस्ता योजनाअघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका सबै शीर्षकमा लगभग एक करोड रूपैयाँ बजेट विनियोजन भएको छ । भौगोलिक हिसाबले यो वडा ठूलो छ । ऐतिहासिक सम्पदाहरू भएका ठाउँहरू छन् । वडा कार्यालयले जनताको आवश्यकता हेरेर सडक, खानेपानी, सम्पदा, स्वास्थ्य, शिक्षालगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । हालसम्म १६ लाख बजेट खर्च भएको छ ।
कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
पाँच वर्षमा वडालाई नमुना बनाउने योजना छ । अहिलेसम्म अड्किएका सबै कामहरू सक्ने योजनाअनुरूप अघि बढेको छु । मेरो कार्यकालभित्रै प्रत्येक वडावासीको घर–घरमा पानीसहितको धारा र सडक व्यवस्थापन गर्ने छु।

स्वास्थ्य चौकी र सरकारी निकायलाई समेत व्यवस्थित बनाउने छु । वडामा रहेका सम्पूर्ण कच्ची सडकलाई बजेटले भ्याएसम्म कालोपत्रे गर्ने योजना बनाएको छु । तर, वडा कार्यालयको बजेटले कालोपत्रे गर्न सकिँदैन । त्यसमा संघीय तथा प्रदेश सरकारले पर्याप्त बजेट उपलब्ध गराए मात्रै सकिने छ ।
प्रस्तुति :शिवहरि घिमिरे

प्रकाशित: ७ वैशाख २०७५ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App