१५ चैत्र २०८० बिहीबार
अन्य

साली नदीलाई पर्यटकीय गन्तव्य बनाउँछौं

 

शेरगम्भिर थापा
अध्यक्ष, शंखरापुर नगपालिका वडा नं ५

तपाईँ जनप्रतिनिधि भएर आएपछि जनतालाई महसुस हुने गर के–के काम गर्नुभयो ?
जनप्रतिनिधि भएर आएको करिव तीन महिनासम्म शुभकामना तथा बधाइ थाप्दै ठिक्क भयो । गत साउनमा नगरपरिषदबाट बजेट तथा नीति कार्यक्रम ल्यायौं । बाहुन टोलमा खानेपानीको हाहाकार थियो । हामी आएसँगै विशमभारा जंगलबाट पानी ल्याएर वितरण गरेका छौं,  जसबाट २९ घरधुरी लाभान्वित भएका छन् ।

साली नदीबाट नगरकोट जाने ११ किलोमिटरको सडक धमाधम ग्राभेलिङ गरेका छौं । आगामी जेठसम्म पाँच किलोमिटर सडक कालोपत्रे गर्ने योजनासहित काम भइरहेको छ । भूकम्पपछिको आपतकालीन योजना अनुसार नै उक्त योजना निर्माण हुन लागेको हो । त्यसैगरी सिमलको बोटदेखि बुधिनी जाने १० किलोमिटरको सडक ढलान तथा ग्राभेलिङ गर्न थालेका छौं । चित्रेखोलाबाट इटाखेलसम्म जाने सात सय मिटरको ट्रयाक खोल्न सफल भएका छौं ।
तपाईँको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
वडामा खानेपानीको पर्याप्त आपूर्ति गर्न सकिएको छैन, जसका कारण विभिन्न स्थानमा खानेपानी समस्या देखिएको छ । त्यसैले नगरपालिका र वडा कार्यालय दुवै मिलेर खानेपानी व्यवस्थापनको लागि स्रोत तथा बजेटको खोजी गरेका छौं ।

नगरपरिषदबाट विभिन्न २३ वटा साना–ठूला खानेपानी योजनाका लागि ७५ लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं । वडा कार्यालयले विभिन्न ठाउँमा खानेपानीको स्रोत पहिचान तथा ट्यांकी निर्माण अघि  बढाएको छ।
भूकम्पपीडितले राहत नपाउँदा टहराकै बास भइराखेको छ, उक्त समस्या कहिले समाधान गर्नुहुन्छ ?
भूकम्पपीडितले समयमा नै राहत नपाउँदा घर बनाउन सकेका छैनन् । त्यसैले उनीहरू टहरामा नै आफ्नो गुजारा टार्दै आइराखेका छन् । मेरो वडामा ९० प्रतिशत भूकम्पपीडितले आफ्नो घर ठड्याउन सकेका छैनन् ।

१० प्रतिशतले मात्रै घर बनाएका छन् । अधिकांश भूकम्पपीडितले पहिलो किस्ताबापतको रकम बुझे पनि घर बनाउन सकिरहेका छैनन्।वडा कार्र्यालयले भूकम्पपीडितलाई राहत उपलब्ध गराउन राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग समन्वय गरे पनि अपेक्षाकृत उपलब्धी हात पार्न सकेको छैन । वडामा करिब १२ सय भूकम्पपीडित छन् ।
तपाईँको वडामा कृषियोग्य जमिन छ, किसानका लागि कस्तो योजना अघि सार्नुभएको छ ?
मेरो वडामा कृषियोग्य जमिन पर्याप्त छ । किसानहरूले आलु, तरकारी, धान, मकै, गहुँलगायत अन्नबाली उब्जाउँदै आइराखेका छन् । किसानहरूले आलुको व्यावसायिक  खेती गर्दै आइराखेका छन् । त्यसैले वडा कार्यालयले आलुको उन्नत जातको बीउबिजनमा ५० प्रतिशत अनुदान दिँदै आएको छ, जसबाट किसानलाई खेती गर्न प्रोत्साहन मिलेको छ । त्यसैगरी सीपमूलक तथा अन्य अभिमुखीकरण कार्यक्रम नियमित चलाउँदै आएका छौं ।
नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि दुई करोड रूपैयाँ बजेट विनियोजन भएको छ । सडक, खानेपानी तथा भूकम्पपीडितका लागि भवन निर्माणलगायत योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।
तपाईँको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही व्यक्तिले सार्वजनिक जग्गा मिचेका छन् । मेरो वडामा २०३३ सालतिर अधिकांश पर्ती तथा ऐलानी जग्गा मिलेर सर्वसाधारणले घर तथा खेती गर्दै आएका छन् । सरकारले समयमा नै पहल नगर्दा वडा कार्यालयलाई सार्वजनिक जग्गा आफ्नो मातहत ल्याउन समस्या भइराखेको छ । यसमा वडा कार्यालयले भन्दा पनि संघीय सरकारले नै पहलकदमी गरेर सरकार मातहत ल्याउनुपर्ने देखिन्छ । हामी जनप्रतिनिधि आएपछि सार्वजनिक जग्गा कहीँ पनि मिचिएको छैन ।
वडा कार्यालयले सेवाग्राहीलाई सिफारिस गरेबापत महँगो शुल्क उठाउँदै आउनुभएको छ रे नि ?
वडा कार्यालयले गर्ने विभिन्न किसिमको सिफारिसमा महँगो शुल्क लिँदै आइराखेको गुनासो आइराखेको छ । घर तथा जग्गा नामसारीलगायत सिफारिस गर्दा सेवाग्राहीबाट पाँच सय रूपैयाँ लिँदै आएका छौं । यसअघि कर्मचारीले पाँच सय रूपैयाँ उठाउँदै आएकाले घटाउन नसकेका छौं । कर्मचारीले सिफारिस शुल्क घटाउन आनाकानी गरेकाले समस्या भइराखेको छ । मैले सबैसँग समन्वय गरेर  सिफारिस शुल्क घटाउने योजना बनाएको छु।
ऐतिहासिक साली नदी प्रदूषित हुँदै गइराखेको छ, यसको संरक्षण गर्न कस्तो योजना छ ?
मेरो वडामा ऐतिहासिक साली नदी छ । तर, बढ्दो घनाबस्तीसँगै पछिल्लो समय नदी प्रदूषित भइरहेको छ । नदी व्यवस्थित गर्नका लागि वडा कार्यालयसँग पर्याप्त बजेट छैन । त्यसैले समस्या भइराखेको छ । वडा कार्यालयले नदीलाई व्यवस्थित गर्नका लागि बृहत् गुरुयोजना बनाउनु पर्ने आवश्यकता बोध गरिसकेका छौं । त्यसैले अबको केही वर्षभित्रै गुरुयोजना नै बनाएर साली नदीलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने छौं।

तपाईँको वडा पर्यटकीय स्थल नगरकोटसँगै जोडिए पनि केही फाइदा उठाउन सक्नुभएको छैन नि ?
मेरो वडा पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको छ । तर, व्यवस्थित सडक नहुँदा हाम्रो वडामा पर्यटकको आउजाउ हुन सकेको छैन । त्यसैले वडा कार्यालयले साली नदीबाट  नगरकोट जाने ११ किलोमिटरको सडक धमाधम ग्राभेलिङ गरेका छौं । अबको केही वर्षभित्रै उक्त सडक कालोपत्रे गरेर पर्यटकीय स्थलको रूपमा स्थापना गर्ने तयारी गरेका छौं । नगरकोटसँगै जोडिएको स्थानमा बाक्लो तामाङ बस्ती छ । जहाँ होमस्टे स्थापनाको सम्भाव्यता अध्ययन गरिराखेका छौं।

प्रस्तुतिः  हिमाल लम्साल

प्रकाशित: ३ वैशाख २०७५ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App