coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

वडालाई पर्यटकीय केन्द्र बनाउन अग्रसर छौं

राधाकृष्ण श्रेष्ठ
अध्यक्ष, शंखरापुर नपा–६

जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । यसले विकास निर्माण अस्तव्यस्त थियो । वडामा खानेपानीको हाहाकार थियो । हामी आएसँगै भक्तपुरको सीमा क्षेत्रबाट खानेपानी ल्याएर सामूहिक धाराबाट वितरण गरेका छौं।

यसबाट करिव तीन सय धरधुरी लाभान्वित भएका छन् । वडामा भित्री गल्लीमा तीन सय विद्युतीय बत्ती जडान गरेका छौं । रातको समयमा झिलिमिली भएको छ । वडामा फि–वाइफाई जडान गरेका छौं । जसका लागि २७ वटा डिभाइस जडान गरेका छौं । वडा नम्बर ६ देखि ७ सम्म करिब डेढ किलोमिटरको राजकुलो मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएका छौं ।

जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
जनता र समाजको लागि काम गर्न भनेर नै राजनीतिमा आएका हौं । काम गर्न केही अप्ठेरो पक्कै हुन्छ । त्यस्ता अप्ठेराहरूलाई पार गर्दै जनताको मनमा बस्नकै लागि राजनीतिमा आएका हौं । लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा जनताका चाहाना र आकांक्षा धेरै छन् । स्थानीय निकायसँग सीमित स्रोतसाधन भएकाले केही समस्या छन् । हामी आफ्नो तर्फबाट जनतालाई सहज र सरल सेवा दिन दत्तचित्त भएर लागेका छौं ।

तपाईंको वडामा थुप्रै ऐतिहासिक सम्पदा भूकम्पले क्षतिग्रस्त भएका छन्, कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ ?
मेरो वडा साँखुको ऐतिहासिक कोर बस्ती हो, जुन सम्पदा सहरको नामले परिचित छ । यो ३३ सय वर्ष पुरानो ऐतिहासिक बस्ती पनि हो, जुन शंख आकारमा बनेको छ । यसैबाट नगरपालिकाको नाम पनि शंखरापुर राखिएको हो । २०७२ को भूकम्पले सम्पदा क्षेत्रमा धेरै नै प्रभावित गर्‍यो।

१६ वटाभन्दा धेरै ऐतिहासिक मठमन्दिरमा क्षति पुग्यो । पुनर्निर्माणको गति अति नै सुस्त गतिमा भइराखेको छ । अहिलेसम्म दुई सम्पदा पुनर्निर्माण गरेका छौं । अन्य सम्पदाको टेन्डर प्रक्रिया भइराखेको छ । माधवनारायणको गर्भगृह पाहुना घर लगायतको टेन्डर प्रक्रिया अघि बढिसक्यो । अबको चार वर्षभित्र क्षतिग्रस्त सम्पूर्ण ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्ने लक्ष्य राखेका छौं।

ऐतिहासिक कला संस्कृति जोगाउन के–के गर्नुभएको छ ?
साँखु ऐतिहासिक मठमन्दिर र कला संस्कृतिले भरिभराउ क्षेत्र हो । यहाँ ३३ सय वर्ष पुराना ऐतिहासिक सम्पदा छन् । साँघुमा विशेष गरेर माधवनारायण (श्रीस्वस्थानी), बज्रयोगिनी जात्रालगायत महत्वपूर्ण चाडपर्व मनाउँदै आइरहेका छौं।

साँघुमा विभिन्न थरिका आठ गेट छन् । यहाँ बुहारी भिœयाउने गेट, छोरी अन्माउने गेट, मृत्यु भइसकेपछि शव निकाल्ने गेट, जात्रामा देवीदेवता भित्राउने लगायतका छुट्टाछुटै गेट छन् । जसको आ–आफ्नै विशेष महत्व छ । वडा कार्यालयले ऐतिहासिक सम्पदा, मठमन्दिर, रितिरिवाज कला, संस्कृति संरक्षण गर्नको लागि वार्षिक बजेट नै विनियोजन गरेको छ । यस्तै हामीले नयाँ पुस्ताका युवाहरूलाई ऐतिहासिक बाजागाजा सम्बन्धि तालिम दिँदै आएका छौं । संस्कृति पनि एक पुस्ताबाट अर्काेमा हस्तान्तरण हुँदै छ ।

भूकम्पपीडित अझै टहरोबाट घरमा सर्न सकेका छैनन् । उनीहरूले कहिलेसम्म टहरामा बस्नुपर्ने हो ?
लामो समयदेखि भूकम्पपीडितले पहिलो किस्ताबापतको राहत रकम पाउन सकेका छैनन् । जसका कारण अधिकांश भूकम्पपीडित टहरामा नै बस्न बाध्य छन् । राष्ट्रिय पुनर्निर्माणको लम्बेतान प्रक्रियाका कारण भूकम्पपीडितले पहिलो किस्ता बापतको रकमसमेत पाएका छैनन् । त्यसैले समस्या भइराखेको छ । यसको समाधानका लागि हामीले पहलकदमी गरिरहेका छौं । नगरपालिकाले सम्पदा क्षेत्रमा भवन बनाउने भूकम्पपीडितका लागि एक लाख रूपैयाँ अनुदान दिइरहेको छ । नक्सापास लगायतका अन्य सेवा पनि निःशुल्क दिइरहेका छौं ।

तपाईंको वडामा अधिकांश सडक लथालिंग देखिन्छन्।कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ ?
मेरो वडामा अधिकांश सडक कच्ची छन् । जोरपाटी–साँखु सडक लामो समयदेखि विस्तार हुन सकेको छैन । स्थानीयले मुआब्जा र उचित क्षतिपूर्तिको माग गर्दै अवरोध गरिरहेका छन्। लामो समयदेखि सडक नबन्दा जनताले सास्ती भोगिरहेका छन् । हाम्रो वडामा करिब २० किलोमिटर सडक कच्ची छ । मेरो कार्यकालसम्म वडामा रहेका कच्ची सडकलाई ग्राभेलिङ गर्ने योजना बनाएको छु।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्को बैठकबाट वडा कार्यालयको लागि ५० लाख रूपैयाँ बजेट विनियोजन भएको छ । ऐतिहासिक कला, सम्पदा संरक्षण, खानेपानी, सडक, ढल, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधारलाई मुख्य प्रथामिकतामा राखेर बजेट विनियोजन गरेका छौं । नगरपालिकाबाट हाम्रो सेवा सुविधाको लागि भन्दै मोटरसाइलको अफर आएको थियो । तर, मैले अस्वीकार गरें ।
 
तपाईंको वडामा केही भूमाफियाले नाई खोला डाइर्भसन गरेर बाटो बनाएका छन् नि ?
जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही भूमाफियाले नाई खोलाको प्राकृतिक स्वरूप बिगारेर प्लटिङ गरेका रहेछन् । हामी निर्वाचित भएर आउनेबित्तिकै खोलाको प्राकृतिक स्वरूपलाई पुरानै धारमा ल्याएका छौं । केही भूमाफियाले खोलाको धार परिर्वतन गरेर करिब चार रोपनी जग्गा अतिक्रमण गरेका रहेछन्।नगरपालिकाले अतिक्रमण परेको सार्वजनिक जग्गा फिर्ता ल्याउन छानविन समिति बनाइसकेको छ । अब समितिले छिट्टै काम थाल्ने तयारी गरेको छ ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
अहिले पनि मेरो वडा शंखरापुर नगरक्षेत्रकै नमुना वडाको रूपमा चिनिन्छ । जहाँ शुष्मा कोइराला अस्पताल, सामुदायिक विद्यालय, प्राइभेट स्कुल, प्राविधिक शिक्षालय लगायतका शिक्षण संस्था छन्।

यो क्षेत्रमा थुप्रै सम्पदा भएकाले वडा नं ६ र ७ पर्यटकीय केन्द्र बनाउन अग्रसर छौं । पुरातात्विक महत्वका सम्पदालाई जोगाउँदै आन्तरिक र बाह्य पर्यटकको केन्द्रविन्दुका रूपमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेका छौं ।

प्रस्तुति : हिमाल लम्साल

 

प्रकाशित: ३० चैत्र २०७४ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App