७ आश्विन २०७७ बुधबार
अन्य

उद्यम सिकाउन पहल

उद्यमी कुशकुमार जोशीको मनमा एक किसिमको डर थियो, कतै आफ्ना छोराछोरीलाई विदेशमा पढाएपछि उतै बस्ने हुन् कि ? अष्ट्रेलियाको बोन विश्वविद्यालमा इन्टरप्रेनरसिप विषयमा अध्ययन गर्न पठाएकी छोरी सहारा र बेलायतको लिड्स विश्वविद्यालयमा इन्टरनेसनल बिजनेस गर्दैगरेका छोरा कुशल विदेशमै रमाउने हुन् कि भन्ने चिन्ताको विषय थियो । कुशले एउटा उपाय निकाले, त्यो भनेको बिदाका बेलामा उनीहरूलाई नेपालमै बोलाउने, परिवारसँग छपक्कै भिजाउने ।

‘बिदाको बेलामा यतै बोलाएपछि त्यहाँ पैसा कमाउने र त्यहाँको पैसामा रमाउने भन्ने कुरा हुँदैन,’ कुशकुमार भन्छन्, ‘त्यहीँ बसेर पैसा कमाउने लोभ जाग्दैन । घरमा आउँछन्, बस्छन्, पारिवारिक भावनात्मक सम्बन्ध बलियो हुन्छ, परिवारको मायामोह हुन्छ ।’  उतै बस्ने हुन् कि भन्ने चिन्ताका पछाडि नेपालको अस्थिर राजनीति, असुरक्षा, सानो बजार र नियम–कानुनअनुसार नचल्ने परिपाटी नै हो । नेपालका अधिकांश युवा मुलुकको परिस्थितिबाट विरक्तिएर विदेश पलायन भइरहेको पृष्ठभूमिमा कुशकुमारले नेपालमै छोराछोरीलाई रोख्न चालेको कदम कामयाबी भएको  छ । तीन वर्षयता छोरी सहारा हिमालयन बाम्बो कम्पनी हाँक्दै छिन् । सुरुको एक वर्ष बाबुसँगै काम सिकेकी सहारा अहिले बाम्बो कम्पनीको प्रमुख कार्यकारी भएकी छन् । उता छोरा कुशल भने एक वर्षदेखि कुशकुमारको सबैभन्दा पुरानो कम्पनी नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) मा मार्केटिङ एसोसिएट्सको भूमिकामा छन् । ‘छोरीले बाम्बोको पूरै जिम्मेवारी लिइसकेकी छन्,’ कुशकुमार भन्छन्, ‘छोरा एक वर्षदेखि इन्टर्न गर्दैछ, काम सिक्दै छ ।’ आफ्नै कम्पनीमा काम सिक्दै गरेका छोराले चाँडै नयाँ बिजनेस थाल्न सक्ने विश्वास देखिन्छ कुशकुमारमा ।

सहारा भन्छिन्, ‘हामीलाई नेपालमै बसेर केही गर्नुपर्छ भन्ने गरी हुर्काइएको हो ।’ त्यस्तै कथन कुशलको छ । कुशल भन्छन्, ‘पढिसकेपछि नेपालमै आएर काम गर्ने सोच थियो, त्यही मान्यतामा काम गर्दैछु ।’ भर्खर काममा लाग्दै गरेका छोरा–छोरीलाई नेपाल अस्तव्यस्त र भ्रष्टाचारले बेला–बेलामा अत्याउने गरेको अनुभव गरेका छन् कुशकुमारले र त्यस्तो बेला आफू बलियो आधार बनेर अगाडि उभिन्छन् उनी । ‘मैले केही आधार बनाएको छु, अब छोरा–छोरीले आफ्नो क्षमताले त्यसलाई अगाडि बढाउनु पर्छ,’  कुशकुमार भन्छन्, ‘कम्पनीमा छोरा–छोरीले बाबुले गरेको कामलाई अगाडि बढाउने हो । बाबुको दबाब उनीहरू हुनुहँुदैन ।’ तीन दशकदेखि उद्यममा लागेका कुशकुमार अध्ययनले इलेक्ट्रिकल इन्जिनियर हुन् । उनले सबैभन्दा पहिले २८ वर्षअघि थाइल्यान्डको इकरात इन्जिनियरिङसँगको साझेदारीमा स्थापना गरेको निक ट्रान्सफर्मर उत्पादनमा अब्बल मानिन्छ । नेपाल पूर्वाधार विकास कम्पनीका संस्थापक कुशकुमार, लिबर्टी इनर्जी हाइड्रो पावर, इनर्जी इन्जिनियरिङ र हिमालयका ब्याम्बोका अध्यक्ष हुन् । २८ वर्ष अघि २ करोड ४० लाखको लागतका स्थापना गरेको निकको तुलनमा ब्याम्बो उद्योगमा ८ करोडको लगानी रहेको बताउँदै कुशकुमार भन्छन्, ‘ब्याम्बो प्रोजेक्टको सबै जिम्मेवारी छोरीमा छ । उनी निर्णायक तहमा छिन्, म त जिम्मेवारी दिँदै आफू अभिभावकीय भूमिकामा बस्ने सोचमा छु ।’ १५ वर्षअघि काठको फ्लोरिङ लगायतका काम गर्दै आएका जोशी २०७२ वैशाखको भूकम्पपछि नेपालमा ब्याम्बो, काठ लगायतका सामग्रीको माग बढेको विश्लेषण गर्दै नयाँ क्षेत्रमा हात हालेका हुन् । कुशकुमार भन्छन्, ‘उद्यम, व्यापार प्रतिको समर्पण, इमानदारिता, सम्झौता नगर्ने बानी र आफ्ना ब्रान्डप्रति प्रतिबद्धता मुख्य सूत्र हुन्, मसँगको संगतमा छोरा–छोरीले यही कुरा सिक्दैछन् ।’

छोरी सहारा यहीँबाट स्नातकोत्तरको अध्ययन पनि गर्दैछिन्— डिजास्टर म्यानेजमेन्टमा । ‘हामीहरू नेपालमै काम गर्ने हो भन्ने हिसाबले अगाडि बढाइएका हौं, त्यही मान्यतामा नेपालमा आएर काम थालेका छौं,’ सहाराले भनिन्, ‘नेपालका अधिकांश युवामा नेपालमै बसेर काम गर्ने चाहना छैन, मेरा ८० प्रतिशत साथी विदेशमै रमाएका छन्, नेपालबाट ब्रेन ड्रेन भइरहेको छ ।’ आफूले बाबुबाट व्यापार, उद्यम कसरी गर्ने भनेर सिकिरहेको उनी बताउँछिन् । सहारा भन्छिन्, ‘मैले जे–जति सिकेकी हुँ, त्यो बुबाबाट नै हो ।’ नेपालको राजनीतिक, प्रशासनिक व्यवस्था भने उनीहरूका लागि सबैभन्दा चुनौती देखिन्छ । ‘यहाँ काम गर्न प्रशस्त धैर्य चाहिने रहेछ, कठिन परिस्थितिको सामना गर्नुपर्छ,’ सहारा भन्छिन्, ‘यहाँ कुनै सिस्टम छैन, आफँैले सबै थोक गर्नुपर्छ ।’ परिवारका सदस्यहरूबीच अफिस, घर र घुम्न जाँदा पनि बिजनेसकै कुरा हुने अनुभव सहारासँग छ ।

नेपालमा युवालाई काम गर्न लगानीको पनि उत्तिकै समस्या रहेको उनको अनुभव छ । ‘कतिपय युवा पुस्ता आफ्नो हिसाबले काम गर्न चाहन्छन् तर बैंकहरूले प्रोजेक्टमा लगानी गर्दैन,’ सहारा भन्छिन्, ‘यहाँ दिगो भएर काम गर्न प्रशस्त चुनौती छन्, त्यसैले धेरै युवा देश छाडेर बाहिर जान्छन् ।’ नेपालमा बजार खोज्न पनि चुनौती रहेको उल्लेख गर्दै सहारा भन्छिन्, ‘नयाँ पुस्ताले झेल्नुपर्ने यस्ता समस्यामा अघिल्लो पुस्ताले सहयोग र समन्वयात्मक भूमिका खेल्नुपर्छ ।’ विदेशमा पढेका नेपाली युवा नेपाल फर्किनुपर्ने र उनका परिवारले जिम्मेवारी दिने र सहयोग गर्ने वातावरण बनाउने धारणा कुशकुमारको छ । उनी भन्छन्, ‘विदेशमा खर्च गरेर पढेको उनीहरूलाई दिन हो र ?’

अहिलेको पुस्ता नयाँ सोच र चिन्तनको अवस्थामा रहेकोले उनीहरूले आफ्नै हिसाबले काम गर्नुपर्ने धारणा राख्छन् कुशकुमार । ‘बाबुले गरेकै काम गनुपर्छ भन्ने छैन, आफैँले नयाँ–नयाँ क्षेत्र खोज्न सक्नुपर्छ,’ कुशकुमार भन्छन्, ‘हामी अघिल्लो पुस्ता भनेका प्लेटफर्म मात्र हौं ।’

भर्खर काम सिक्दै गरेका कुशल आफ्नै केही गर्ने सोचमा देखिन्छन् । ‘फरक किसिमको काममा लाग्ने सोच बनाएको छु, त्यसैमा लाग्छु,’ कुशल भन्छन्, ‘नेपालमै काम गर्न पढेर फर्र्र्किएको हुँ, बुबाले स्थापना गरेका उद्यम, व्यापारलाई फरक किसिमले बिस्तार गर्ने हो, फैलाउने हो, ठूलो बनाउने हो ।’ जोशी परिवार सोलार फार्मिङको नयाँ योजनामा लागिरहेको देखिन्छ ।

कुशलको विचारमा नेपालको सानो बजार भएकाले काम पनि सजिलो छ  । उनी भन्छन्, ‘हाम्रो छिमेकमा भारत–चीनजस्ता ठूल्ठूला बजार भएकोले नेपालमा ठूला कम्पनीको छिर्दैनन्, त्यसैले नेपालमा व्यापारमा ठूलो प्रतिस्पर्धा हुने सम्भावना देखिँदैन ।’

उद्यममा बजार लिन लामो समयसम्म धैर्य राख्नुपर्ने उदाहरण दिन्छन्, कुशकुमार । ‘निकलाई बजारमा स्थापित गराउन १५ वर्ष लाग्यो, अहिले यसको माग राम्रो छ ।’ अहिलेको पुस्ताले उद्यम र व्यापारमा धैर्यता राख्नुपर्ने र कतिपय अवस्थामा घाटा खाएर पनि आफ्ना उत्पादनको गुणस्तरमा सम्झौता गर्न नहुने सुझाव उनको छ ।

कुशकुमारको परिवारमा छोरी सहारा, छोरा कुशल छन् जो बाहिर उद्योगधन्दा र व्यापारमा सक्रिय छन् । गृहिणी भूमिकाकी सुनिताले भने घर सम्हालेकी छन् । ‘सुनिताले घर सम्हालेकाले मात्र  हामी बाहिर काम गर्न पाइरहेका छौं ।’ 

प्रकाशित: २६ चैत्र २०७४ १७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App