१६ चैत्र २०८० शुक्रबार
अन्य

फ्रिजको हेरचाह कसरी गर्ने? | टिप्स

आजका दिनमा फ्रिज हरेक भान्सा कोठामा नभई नहुने उपकरण हो । एक दशक अगाडीसम्म पनि नेपाली घरहरुमा फ्रिज अहिले जति प्रचलित थिएन । तर समयसंगै बढीरहेको प्राविधिक अग्रगमन र थोरै बजेटमा पनि फ्रिज खरिद गर्न सकिने भएकाले धेरैले घरमा फ्रिज राख्न थालेका छन् । मानिसहरुले फ्रिजलाई एउटा सामान्य भान्साको उपकरणको सट्टा व्यवस्थित भान्साको एक अपरिहार्य अंगको रुपमा लिन थालेका छन् । मानिसहरु फ्रिज खरिद गर्दा साइज र रकममात्र नसोची फ्रिजमा अनेकौं स्मार्ट फिचरहरु पनि खोज्न थालेका छन् ।

अन्य उपकरणहरु जस्तै फ्रिज पनि लामो समयसम्म प्रयोग गर्नका लागि नै खरिद गरिन्छ । विशेष हेरचाह र ख्यालले मात्र फ्रिजलाई धेरै समयको लागि प्रयोग गर्न योग्य बनाउछ । फ्रिजको प्रयोग आयु र कार्यकुशलता बढाउनका लागि निम्न कुराहरु ख्याल गर्नु आवश्यक छ:

 

फ्रिजको प्रयोग आयु बढाउन

 

फ्रिजको औसत आयु १३ वर्ष भएको मानिन्छ । तर विशेष हेरचाह र सम्भारले फ्रिजको आयु योभन्दा नी लामो हुन सक्छ । फ्रिजको हेरचाह गरेमा तपाईले बेलाबेलामा मर्मत विशेषज्ञलाई बोलाई रहनु पनि पर्दैन । फ्रिजको प्रयोग आयु बढाउनलाई केही टिप्सहरु तल दिईएको छ:

 

बाह्य कवचको सुरक्षा गर्ने

फ्रिजको बाह्य कवच मुख्यतः प्लास्टिक कि स्टिलले बनेका हुन्छन् र यिनीहरु सजिलै संग स्क्र्याच हुन सक्छ र दाग लाग्ने सम्भावना धेरै हुन्छ । फ्रिजमा दाग लाग्न नदिन र स्क्र्याच हुन नदिन फ्रिजलाई तिखा कुना भएको उपकरण भन्दा टाढा राख्नु पर्छ ।  दाग लाग्ना साथ सफा गरिहाल्नु पर्छ । बाह्य कवचको सुरक्षाले फ्रिजलाई धेरै वर्षसम्म नयाँ जस्तै रहीरहन सहयोग पुर्‍याउछ ।

 

क्वाइलको नियमित सफाइ गर्ने

 

हरेक फ्रिजमा चिसो बनाउने कन्डेन्सर क्वाइल हुन्छ । यो मुख्यतः फ्रिजको पछाडी हुन्छ तर कुनै कुनै फ्रिजमा भने अन्य स्थानमा पनि हुन सक्छ। फ्रिजको आयु बढाउनका लागि ६-६ महिनाको अन्तरालमा फ्रिजको क्वाइलमा भएको धुलोलाई सफा गर्नु उचित मानिन्छ । क्वाइल सफा गर्नु अगाडी फ्रिजलाई विद्युत लाइनबाट विच्छेद गर्नुपर्छ ।

 

फ्रिजको भित्री भागको सफाइ गर्ने

फ्रिजको बाह्य भागभन्दा पनि महत्वपूर्ण यसको आन्तरिक भाग हुन्छ र भित्री भाग सफाइ गर्दा झन् विशेष ख्याल पुर्‍याउनु पर्छ । फ्रिजको भित्री भागलाई सेतो भिनेगर प्रयोग गरेर सफा गरेमा त्यहाँ जीवाणुको वृद्धी हुन पाउदैन । भिनेगरले सफा गरेपछि चिसो कपडाले फेरी पुरै सतह सफा गर्नुपर्छ ।

 

ढोकाको सिल मर्मत गर्ने

 

फ्रिजको ढोका लगाउदा फ्रिज पूर्ण रुपमा सिल भएको हुनुपर्छ – बाहिरको ताप भित्र छिर्नु हुदैन । यस्तो भएको खण्डमा फ्रिजले राम्रो संग काम गर्दैन । फ्रिज राम्रो संग सिल छ छैन भनेर जाँच गर्नलाई ढोका बन्द गरेर ढोकाको बीचमा सानो पेपर राख्नुहोस् । पेपर त्यहाँ अडिन सकेन र खस्यो भने तपाईको फ्रिज राम्रो सिल छैन ।

 

फ्रिज धेरै भरेर नराख्ने

फ्रिजको कम्प्रेसर जति धेरै चल्छ त्यति नै थोरै फ्रिजको प्रयोग आयु हुन्छ । फ्रिजले थाम्न सक्नेभन्दा धेरै वस्तुहरु फ्रिजमा राख्यो भने फ्रिजमा चाडै खराबी आउन सक्छ । फ्रिज खाली राखेर फ्रिज चलाईरहनु पनि हुदैन । फ्रिज खाली छ भने फ्रिज बन्द गरिदिएको राम्रो हुन्छ।

 

फ्रिजलाई कार्यकुशल बनाउन 

 

अन्य विद्युतीय उपकरणहरु जस्तै फ्रिजलाई पनि राम्रोसंग चल्नका लागि मिलेको वातावरण चाहिन्छ । अव्यवस्थित रखाई र अनुचित प्रयोगबाट फ्रिजको कार्यकुशलता घट्छ, अर्थात् फ्रिजले सोचे जस्तो काम गर्दैन र सोचेभन्दा बढी उर्जा खपत गर्छ । फ्रिजलाई कार्यकुशल बनाउनका लागि निम्न कुराहरु ख्याल गर्नु पर्छ:

 

फ्रिजलाई अन्य तापको स्रोतबाट टाढा राख्ने

फ्रिजलाई घाम, चुल्हो, माइक्रोवेभ र अन्य विद्युतीय उपकरणबाट टाढा राख्नुपर्छ । फ्रिज अन्य तापको स्रोतको नजिक भएमा यसले चाहिने भन्दा बढी कम्प्रेसर चलाउनु पर्छ जसले गर्दा अनावश्यक उर्जा खपत हुन जान्छ र फ्रिजको कार्यकुशलता घटेर आउछ ।

 

फ्रिजको ढोका अनावश्यक नखोल्ने

फ्रिजको ढोका चाहिने अनावश्यक खोल्नु उचित होइन किन कि यसले गर्दा कम्प्रेसर र फ्रिजको लाइट धेरै चल्नु पर्छ र यसले सोचेभन्दा बढी उर्जा खपत गर्छ । उर्जाको सहि खपत गर्न र फ्रिजलाई कार्यकुशल बनाउन यो सबैभन्दा सामान्य तर महत्वपूर्ण उपाय हो ।

 

ठीक तापक्रमको प्रयोग गर्ने

फ्रिजको तापक्रम बाहिरी तापक्रमको अनुसार मिलाउनु पर्छ । जाडो महिनामा फ्रिजको तापक्रम केही घटाए पनि फरक पर्दैन । फ्रिजको तापक्रम ३५-३८ F राखेर फ्रिजरको तापक्रम ०-५ F राख्नु उचित हुन्छ । यसले फ्रिजको कार्यकुशलतामा धेरै सुधार ल्याउछ र उर्जा खपत पनि कम हुन्छ ।

 

फ्रिजको माथिल्लो भाग खाली राख्ने

धेरैको भान्सामा फ्रिजको माथिल्लो भागमा भान्साका विविध सामानहरु राखेको पाइन्छ तर यसले फ्रिजको कम्प्रेसरलाई नचाहिने भार दिन्छ जसले गर्दा कम्प्रेसर धेरै चल्छ र उर्जा खपत बढी हुन जान्छ । त्यसैले फ्रिजको माथिल्लो भाग सधै खाली राख्नु अति उचित हुन्छ ।

 

फ्रिजमा ध्यानपूर्वक खानेकुरा राख्ने  

फ्रिजमा धेरै तातो खाने कुरा राख्नु राम्रो होइन । फ्रिजमा राख्नु अगाडी सो खाने कुरालाई सेलाउन दिनु पर्छ । खानेकुरा कोठाको तापक्रममा पुगेपछि बल्ल फ्रिजमा राख्नु राम्रो हो । यसले धेरै उर्जाको बचत गर्छ र फ्रिज कुशलता पूर्वक चल्छ ।

प्रकाशित: १८ चैत्र २०७४ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App