८ वैशाख २०८१ शनिबार
अन्य

संरक्षणकाे पर्खाइमा पिआइए पार्क

ललितपुरको गोदावरी नगरपालिका–६ स्थित लेलेमा रहेको पिआइए मेमोरियल पार्क संरक्षण अभावमा ओझेलमा परेको छ। सरोकारवालाले व्यवस्थापनमा चासो नदिएपछि पार्क ओझेल परेको हो। 

अहिले पार्क गलत क्रियाकलाप गर्नेको ‘अखडा’ बनेको छ । स्थानीय ठूली थापा पछिल्लो समय पार्कमा लागूऔषध सेवन गर्ने तथा गलत क्रियाकलाप गर्नेहरू आउने गरेको बताउँछिन् । ‘पहिले मानिसहरू सोधखोज गरी यहाँ घुम्न आउँथे । तर, आजभोलि लागूऔषध सेवनकर्ता तथा गलत क्रियाकलाप गर्ने युवायुवती मात्र आउने गरेका छन्,’ उनले भनिन् । 
पछिल्लो समय पार्कमा गलत क्रियाकलाप गर्न आउने बढेकाले स्थानीय आजित भएको अर्का स्थानीय साधुराम थापाले बताए । ‘पार्क क्षेत्र रमणीय भएकाले घुम्न निकै उपयुक्त छ,’ उनी भन्छन्, ‘तर, व्यवस्थापन, संरक्षण र प्रचारप्रसार नहुँदा ओझेल पर्न थालेको छ ।’ पार्क संरक्षणमा सरकारी निकायले पनि बेवास्ता गरेको उनको दुखेसो छ। 

उनी पार्क व्यवस्थापन अस्तव्यस्त रहेको बताउँछन् । पार्कमा खानेपानीको व्यवस्था नहुँदा यहाँ आउनेहरू समस्यामा पर्ने गरेको उनी सुनाउँछन् । पार्कमा अहिले पनि दुर्घटनामा ज्यान गुमाउनेहरूका आफन्त आएर धुपबत्ती बाल्ने तथा श्रद्धाञ्जली दिने गरेका छन्। 

पछिल्लो समय पार्कको सुरक्षागार्ड पनि घटेको उनी बताउँछन् । उनका अनुसार पहिले पार्कमा तीन सुरक्षागार्ड राखिएका थिए । अहिले भने एक जना मात्रै छन्। 

पार्कका सुरक्षागार्ड कृष्णकुमार थापा पछिल्लो चार महिनायता पाकिस्तान एयरलाइन्सले पार्कको सुरक्षा तथा व्यवस्थापनमा सहयोग रोकेको बताउँछन् । उनी २५ वर्षदेखि पार्कको सुरक्षा गर्दै आइरहेका छन् । ‘पहिले पाकिस्तानी दूतावासमार्फत तलव सुविधा पाइन्थ्यो । तर, चार महिनायता दिएको छैन,’ उनले भने। 

त्यसयता एक बेलायती महिलाले आफूलाई तलब सुविधाबाफतको रकम दिएको सुरक्षागार्ड थापाले बताए । उनका अनुसार तीनै महिलाले केही महिनाअघि पार्कमा जस्ता र गमला राखेकी थिइन्। 

पार्क निर्माणपछि जीवनस्तरमा सुधार हुने अपेक्षा गरिए पनि केही फाइदा नभएको स्थानीय बताउँछन्। ‘पार्क बन्दा फाइदा होला भन्ने सोचेका थियौँ । तर, यसबाट केही फाइदा भएन,’ ठूली थापाले भनिन्।

व्यवस्थापन फितलो हुँदा पार्कमा आउने मानिस घटेको उनी बताउँछन् । पार्कतर्फ जाने सडकबारे सांकेतिक चिन्ह पनि राखिएको छैन। 

पार्कको व्यवस्थापन गर्न पाकिस्तान एम्बेसीमार्फत एयरलाइन्सलाई इमेल गरिए पनि रेस्पोन्स नआएको उनले बताए । 
पार्क संरक्षणमा वडा कार्यालयले पनि चासो नदिएको सुरक्षा गार्ड थापा बताउँछन् । यसबारे वडा कार्यालयले नगरपालिका कार्यालयमा बुझेर खबर गर्ने जानकारी दिएको उनले बताए। 

२०४९ असोज १२ गते ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटना भएपछि ज्यान गुमाउनेहरूको सम्झनामा पार्क निर्माण गरिएको थियो । दुर्घटनामा विभिन्न देशका १६७ व्यक्तिले ज्यान गुमाएका थिए । 
दुर्घटनाको केही समयपछि पाकिस्तान एयरवेजले मृतकको सम्झनामा पार्क बनाएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ९५ जनाको शव वाकसमा राखेर पार्कमा सिलालेख बनाइएको छ। 

प्रकाशित: ९ चैत्र २०७४ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App