६ माघ २०७८ बिहीबार
अन्य

चे मारिएको मुलुकमा

एयर होस्टेसले गन्तव्य आउन लागेको घोषणा गरेपछि हामी (म र सुशान्त आचार्य)ले आङ तन्कायौँ । सिटबेल्ट बाध्यौँ र झ्यालबाट बाहिर चिहायौँ । यो मेरो दोस्रो बोलिभिया यात्रा भए पनि उत्साह भने पहिलोभन्दा कम थिएन।

जहाज र जमिनको दूरी जति नजिक हुँदै थियो, लापाजका स–साना टाकुरे पहाड, खोल्साखाल्सी र कंक्रिट जंगलका आकृति उति नै स्पष्ट हुँदै गइरहेका थिए । जनवरी २१, २०१८ साँझ ६ बजेतिर हामी सवार बोलिभियाना डी एभिएसन (बिओए)को जहाज लापाजस्थित एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो।

आवश्यक औपचारिक प्रक्रिया पूरा गरेर विमानस्थलको आगमन कक्षबाट बाहिर निस्कँदै गर्दा चिसो हावाको झोक्काले अनुहारमा हिर्काइहाल्यो । पाँच दिनअघि काठमाडौं छाड्दा मौसम चिसै भए पनि लापाजको जस्तो ठन्डा थिएन । ‘अहो, यहाँ त निकै चिसो रहेछ,’ सहयात्री आचार्यले ज्याकेटको चेन तान्दै भने ।

‘यहाँ अलि चिसै हुन्छ,’ म पूर्वअनुभवी भई टोपलेँ । लापाज काठमाडौंभन्दा चिसो नहोस् पनि किन ? जसले राखेको छ, संसारकै सबैभन्दा उचाइमा अवस्थित राजधानी र अन्तर्राष्ट्रिय विमानस्थल हुने सहरको रेकर्ड ।हुन त, काठमाडौं र लापाजको खासै सम्बन्ध छैन, प्रत्यक्ष–परोक्ष माध्यमबाट हुने सामान्य आयात–निर्यातबाहेक । समय नै करिब १० घन्टा फरक पर्ने र सीधा रेखा तानेर नाप्ने हो भने झन्डै २० हजार किलोमिटर टाढा पर्ने लापाज पुग्न कम्तीमा चारपटक त जहाज नै फेर्नुपर्छ । घन्टौँ ट्रान्जिटमा बस्नुपर्छ ।

यति हुँदाहुँदै पनि नेपाल र बोलिभियाबीच केही समानता छन्, सम्पर्क छन् । सबैभन्दा महत्वपूर्ण समानता भनेको दुवै मुलुक भूपरिवेष्ठित हुन् । समाजवादी र कम्युनिस्ट विचार बोक्ने पार्टी धेरै भएको नेपालमा तिनका नेता कार्यकर्ता चे ग्वेभाराको विचारबाट प्रभावित छन् भने बोलिभियाले बोकेको छ, अमेरिकी खुफिया एजेन्सीको सहयोगमा उनलाई मारेको कलंक।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार नेपाल र बोलिभियाबीच झिनो व्यापारिक आदान–प्रदान छ । तथ्यांकले देखाउँछ, सन् २००९ देखि २०१७ सम्म बोलिभियाबाट नेपालले २३ करोड ४५ लाख ७९ हजार रुपैयाँका सामान आयात गरेको छ भने सात लाख दुई हजार नौ सय ७५ रुपैयाँ बराबरको निर्यात।

नेपाली धागो र टाँक बोलिभिया पुग्छन्, बोलिभियाका टिन, तरकारीको बीउ र औषधिमा प्रयोग हुने तेल नेपाल आउँछन् ।नेपालको झिनो राजनीतिक र व्यापारिक सम्बन्ध भएको त्यही देशमा हामी पुगेका थियौँ, भू–परिवेष्ठित मुलुकसम्बन्धी प्राज्ञिक छलफल गर्नलाई ।समुद्री सतहबाट चार हजार ६१ मिटर उचाइको एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थल बाहिर चिसो मात्र होइन, अक्सिजनको कमी पनि थियो । कम उचाइबाट पुग्ने कतिपयलाई सास फेर्नै अप्ठेरो भइरहेको थियो।

आगमन कक्षबाट बाहिर निस्केर ट्याक्सी स्ट्यान्डतर्फ लाग्दै गर्दा भेटिए हाम्रो नाम लेखिएको प्लेकार्ड बोकेर उभिएका ट्याक्सी ड्राइभर मार्सेलो । उनलाई विमानस्थलसम्म पठाउने बन्दोबस्त मिलाएको थियो, होटल कालाकोटोले, जसलाई हामीले बनाउँदै थियौँ, बोलिभिया बसाइको मुकाम।

ट्याक्सीमा चढेपछि हामीले ड्राइभरसँग कुरा गर्न चाह्यौँ, वर्तमान बोलिभियाबारे सामान्य नागरिकको धारणा बुझ्न खोज्यौँ । सायद, ड्राइभर पनि हाम्राबारे बुझ्न चाहन्थे, केही कुरा जान्न चाहन्थे । तर, ड्राइभर र हामीबीच तगारो भइदियो भाषा, हामी स्पेनिस नजान्ने, ड्राइभर अंग्रेजी।

हामीले जे भने पनि उनी ‘यस’ भन्थे, इसारा गरेपछि मात्र बुझ्थे । इसाराकै भरमा हामी लाग्यौँ होटलतर्फ । होटलजाँदा सडक छेउछाउ भिरालोमा बनेका बाक्ला बस्ती छिचोल्यौँ । घरहरू यस्तो भिरालोमा बनेका थिए कि, जुनसुकै बेला पहिरो गएर हामी चढिरहेको ट्याक्सीलाई नै थिच्ला जस्तो लाग्थ्यो ।भिराला बस्ती र भिरालोमै बनेको सडक पार गर्दै हामी होटलमा पुग्यौँ । लामो हवाई यात्रा तय गरेर बोलिभिया पुग्नुको उद्देश्य थियो, भूपरिवेष्ठित मुलुकहरू स्विट्जरल्यान्ड, लाओस, नेपाल, रुवान्डा र बोलिभियामा ग्रामीण रूपान्तरण, रोजगारी एवं महिलामा प्रभावसम्बन्धी ६ वर्षे प्राज्ञिक अनुसन्धान परियोजनाको वार्षिक समीक्षा तथा योजना तर्जुमामा सहभागी हुनु।

लापाजमा मैले बोलिभियाली साथीलाई चेबारे सोध्ने प्रयास गरेँ । तर, कसैले पनि खासै धेरै जानकारी दिन भने सकेनन् । यद्यपि बोलिभियालीले त्यस घटनालाई अहिलेसम्म बिर्सन भने सकेका रहेनछन् । कतिपयले त चेको हत्यापछि अमेरिकी सैनिकले प्रत्यक्ष रूपमा बोलिभियाको राजनीतिमा हस्तक्षेप गरेको समेत मान्ने रहेछन् ।

कार्यक्रमका विभिन्न सत्र र चरण लापाज र अन्य सहरमा आयोजना गरिएका थिए । त्यसका लागि पाँचै मुलुकका २३ अनुसन्धानकर्ता २१ जनवरीमै लापाजमा भेला भइसकेका थिए ।हालसम्म मैले भ्रमण गरेका एक सय दुई मुलुकमध्ये दक्षिण अमेरिकी महादेशको बोलिभिया नितान्त अनौठो थियो । अनौठो भएकैले यहाँको यात्रा पनि रोचक र रोमाञ्चक बन्यो।

इतिहासका विभिन्न कालखण्डमा शक्ति संघर्षको केन्द्रबिन्दु रहेको बोलिभिया अक्टोबर ९, १९६८ को एउटा घटनाले विश्वभर चर्चामा रहने गरेको छ । त्यस घटनाको ५१ वर्षपछि पनि हालसम्म विश्वभरका कतिपय मानिसले बोलिभियालाई माफ गर्न सकेका छैनन् भने कतिपयले उसलाई स्याबासी दिइरहेका छन् ।
बोलिभियालाई बदनामी र स्याबासी दुवैको पात्र बनाउने घटना थियो, दक्षिण अमेरिकी समाजवादी क्रान्तिकारी नेता चे ग्वेभाराको हत्या । अमेरिकी जासुसी संस्था सिआइएको सहयोगमा बोलेभियाको सेनाले चेलाई लापाजबाट सात सय ८९ किलोमिटर दक्षिण पूर्वस्थित सानो गाउँ लाहिगुरेरामा हत्या गरेको थियो।

चे हत्याको ४७ वर्षसम्म बोलिभियाली सरकारले उनको चिहान कहाँ छ भन्ने समेत पत्तो दिएको थिएन । ४७ वर्षपछि भने बोलिभियाका अवकाशप्राप्त सैनिक जनरल मारियो भर्गासले उनको चिहान रहेको ठाउँबारे बताएका थिए । त्यसैका आधारमा चिहानबाट चेको अस्थिपञ्जर उत्खनन गरी क्युबा पुर्‍याएर उनको समाधिस्थल बनाइएको थियो।

लापाजमा मैले बोलिभियाली साथीलाई चेबारे सोध्ने प्रयास गरेँ । तर, कसैले पनि खासै धेरै जानकारी दिन भने सकेनन् । यद्यपि बोलिभियालीले त्यस घटनालाई अहिलेसम्म बिर्सन भने सकेका रहेनछन् । कतिपयले त चेको हत्यापछि अमेरिकी सैनिकले प्रत्यक्ष रूपमा बोलिभियाको राजनीतिमा हस्तक्षेप गरेको समेत मान्ने रहेछन्।

बोलिभिया नेपालजस्तो सधैँ स्वतन्त्र मुलुकका रूपमा अस्तित्वमा रहन सफल देश होइन । यो मुलुक १५२४ देखि १८२५ अगस्ट ७ सम्म स्पेनको उपनिवेश थियो । दक्षिण अमेरिकाभर पोर्चुगल र स्पेनजस्ता उपनिवेशविरुद्ध आन्दोलन चर्कंदै गएपछि बोलिभिया पनि स्वतन्त्र भएको हो । दक्षिण अ‍ेमरिकाबाट स्पेनलाई धपाउनमा भेनेजुयलाका सैनिक तथा राजनीतिज्ञ एवं स्वतन्त्रता सेनानी सिमोन बोलिभारको महत्वपूर्ण भूमिका रहेको छ।

उनको नेतृत्वमा दक्षिण अमेरिकीले भेनेजुयला, कोलम्बिया, इक्वेडर र पेरुबाट स्पेनिसलाई धपाए । त्यसपछि उनी बोलिभिया आइपुगे । उनकै नेतृत्वमा स्पेनिस साम्राज्यलाई लखेटेपछि बोलिभियाली जनताले उनलाई पहिलो राष्ट्रपति मात्र बनाएनन्, उनकै नामबाट देशको नामाकरण समेत गरे, बोलिभार गणतन्त्रका रूपमा।

स्पेनिस उपनिवेश समाप्त भए पनि बोलिभिया आन्तरिक उपनिवेश र नवउपनिवेशबाट अछुतो रहन सकेन । अन्य धेरै दक्षिण अमेरिकी मुलुकमा जस्तै बोलिभियाको अर्थराजनीतिमा पनि संयुक्त राज्य अमेरिकाले लामो समयसम्म प्रभाव जमायो । आफ्नो प्रभाव कायम राख्न उसले बोलिभियाको लोकतान्त्रिक सरकारलाई सैनिक ‘कु’मार्फत हटाउन समेत भूमिका खेलेको इतिहास छ । जसको प्रभाव बोलिभियाली समाजमा समेत परेको देखिन्छ ।

अमेरिकालाई रिझाउनकै लागि रेने बारिएनटोस्ले सैनिक शक्तिको बलमा दुईपटक राष्ट्रपति भइसकेका भेक्टर स्टेन्सरोलाई सन् १९६४ मा अपदस्थ गराउन सफल भए । त्यसको दुई वर्षपछि उनी चुनाव जितेर राष्ट्रपति बने । तर, तीन पटक राष्ट्रपति भैसक्दा पनि बारिएनटोस्बाट स्वार्थ पूरा गराउन सफल नभएपछि अमेरिकाले बोलिभियाली सेनालाई हातमा लिएर ‘कु’ गराउन सफल भयो । र, जनरल अल्फ्रेडो ओभान्डो कान्डिया राष्ट्रपति हुन पुगे।

सिआइएको योजनामा बोलिभियाली सेनाले चे ग्वेभाराको हत्या गरेपछि त अमेरिकी प्रभाव थप बढ्न पुग्यो । अमेरिकी प्रभाव अर्थ, राजनीति र सैन्य संरचनामा समेत परेपछि बोलिभियाली सरकार अमेरिकी बुख्याँचासरह बन्न पुगेको त्यहाँका वाम बुद्धिजीवीको विश्लेषण हुने गरेको छ ।

शीतयुद्धको समाप्ती (सन् १९९०)पछि राष्ट्रपति बनेका सान्चेज डी लोजादा (सन् १९९३)ले बोलिभियामा नवउदारवादी अर्थतन्त्र अपनाए । उनले अपनाएको नवउदारवादी अर्थतन्त्र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गरेट थ्याच्चरकै जस्तो थियो, जसलाई ‘रेगन–थ्याच्चर मोडल’ समेत भनिन्छ ।
सान्चेजको नीतिका कारण सरकारी संस्थानहरू निजीकरण गरिए । प्राकृतिक स्रोतहरू बहुराष्ट्रिय कम्पनीका कब्जामा पुगे ।

आर्थिक असमानता र विषमता बढ्यो । अमेरिकी संरक्षणप्राप्त सरकारले निजीकरणलाई प्रोत्साहन मात्र गरेन, अमेरिकाकै दबाबमा आदिवासीको परम्परागत खेती कोकामाथि प्रतिबन्ध लगायो । आदिवासीमाथि प्रहरी ज्यादती बढ्न थाल्यो।

तनावकै बीच छिमेकी मुलुकहरू ब्राजिल र अर्जेन्टिनामा आर्थिक संकट देखापर्‍यो । निर्यात बजार खस्कियो । कोका उत्पादनमा प्रतिबन्धले बेरोजगारी बढायो । सन् २००० सम्म सरकार र आदिवासी संघर्ष उत्कर्षमा पुग्यो । अन्ततः राष्ट्रपति सान्चेज पद त्यागी अमेरिका पलायन हुन पुगे।

अमेरिका परस्त राष्ट्रपति सान्चेजको पलायनपछि बोलिभियामा आदिवासी राजनीतिक समूह शक्तिशाली बन्दै गए । फलस्वरूप सन् २००५ को अन्तरिम निर्वाचनमा आदिवासी कोका उत्पादन सहकारीको मुभमेन्ट फर सोसियोलिजम् (मास)का नेता इभो मोरालेस अन्तरिम राष्ट्रपति चुनिए । राष्ट्रपति भएपछि उनले नयाँ संविधानमा देशको नाम परिवर्तन गरेर प्लुरी स्टेट अफ बोलिभिया राखे।

मोरालेसले समाजवाद उन्मुख नीति अवलम्बन गर्न थाले । उनले विदेशी कम्पनीले सञ्चालन गरेका ठूला खानीले नाफाको ६० देखि ८० प्रतिशत बोलिभियालाई बुझाउनुपर्ने नियम लगाए । यस्तो गर्न नचाहेका लागि खानी छाड्नुपर्ने उर्दी जारी गरे । सुरुमा बहुराष्ट्रिय कम्पनीले व्यापक विरोध गरे पनि अन्ततः बाध्य भएर उनीहरू तोकिएको कर तिर्न राजी भए।

बहुराष्ट्रिय कम्पनीका लागि पेचिलो बनेको त्यही मुद्दाले मोरालेसलाई मुलुकभर लोकप्रिय बनायो । सन् २००९ को आमनिर्वाचनमा उनको पार्टीले दुवै सदनमा दुईतिहाइ बहुमत ल्यायो । मोरोलसको विजयले नै अमेरिका संरक्षित अल्पसंख्यक गोराको नवउदारवादी शासन बोलिभियामा समाप्त भएको हो ।भनिन्छ, चिनी पनि धेरै खायो भने तीतो हुन्छ, बोलिभियाली राष्ट्रपति मोरोलसको हकमा पनि त्यस्तै भइरहेको छ । कुनै बेला अत्यधिक बहुमतले विजयी भएका मोरोलस हाल तेस्रो कार्यकाल राष्ट्रपति छन् । तर, मुलुकभित्र उनको विरोध बढ्दै गइरहेको छ।

बोलिभियालीहरू प्लास्टिकको झोलामा कोकाका पात राखेर चपाइरहने रहेछन् । औपचारिक बैठकमा सहभागी हुन् कि सवारी चलाइरहेको ड्राइभर, सबैको मुखमा कोकाका पात हुने । नयाँ मानिस भेट हुनेबित्तिकै पनि उनीहरूले अफर गर्ने पहिलो वस्तु भनेकै कोकाको पात हुने रहेछ ।

उनी बोलिभियाको सत्तामा रहेको १२ वर्ष भइसकेको छ । यसबीच उनले अमेरिकी प्रभावको अन्त्य गरी वामपन्थी नीतिमा आधारित गरिबी निवारण, बहुराष्ट्रिय कम्पनीको प्रभाव अन्त्य, आदिवासी अधिकार स्थापना र धनी–गरिब अन्तर घटाउने प्रयास गरी ख्याति कमाएका थिए।

हाल आएर भने उनको त्यो ख्यातिमा धब्बा लाग्न थालेको छ ।बाल्यकालमा चरम गरिबी भोगेका मोरालेसले कोका उत्पादन क्षेत्र चापारे प्रान्त आई कोका मजदुर संगठन खडा गरेका थिए । त्यही संगठनमार्फत सरकारविरोधी आन्दोलन गरेर सत्तामा पुगेका उनी हाल किन अलोकप्रिय हुँदै गएका छन् त?

विरोधीहरूले विभिन्न आरोप लगाए पनि उनी निकटहरू भने अमेरिका, युरोप र बहुराष्ट्रिय कम्पनीको षड्यन्त्र देख्छन् । ‘उनलाई असफल पार्न शक्ति राष्ट्र, बहुराष्ट्रिय कम्पनी र देशभित्रकै धनाढ्यहरू लागिपरेका छन्,’ मोरालेस निकट मानिएका प्राध्यापक स्टेफन रिस्ट र फ्रडी डेल्गाडोलले छलफलका क्रममा भने, ‘विदेशी जासुरी संयन्त्रहरूले यसका लागि सुरुदेखि नै कोसिस गर्दै आएका हुन् ।’

तेस्रोपटक राष्ट्रपति चुनिएपछि मोरालेस थप विवादित बन्न थालेका हुन् । अविवाहित उनले एक चिनियाँ कम्पनीमा काम गर्ने बोलिभियन सुन्दरीसँग अवैध सम्बन्ध राखी सन्तान जन्माएको हल्ला चल्यो । आफ्नी प्रेमिका र सन्तानका लागि त्यो चिनियाँ कम्पनीलाई गैरकानुनी फाइदा दिएको आरोप उनले खेप्नुपर्‍यो।

सुरुमा आफ्नो अवैध सम्बन्ध अस्वीकार गरेका उनले विवाद बढ्दै गएपछि युवतीको सन्तान आफ्नै भएको स्विकारे । यसले उनलाई थप विवादित बनायो । हाल आएर अविवाहित तीन छुट्टाछुट्टै महिलाबाट उनको तीनै सन्तान भएको खुलेको छ । जसले उनी यौनलोलुप भएको देखाउन पुगेको छ।

विवाह नगरे पनि यौन लिप्सामा रहेझैँ उनी सत्ता लिप्सामा समेत लागेको आरोप लाग्न थालेको छ । आफू सत्तामा रहनकै लागि उनले बहुमतको आडमा संविधान संशोधन गरी दुई पटकभन्दा बढी एकै व्यक्ति राष्ट्रपति बन्न नपाउने प्रावधान हटाएका थिए । त्यसको व्यापक विरोध भएपछि उनले आफू फेरि चुनाव लड्न पाउने कि नपाउने भनी जनमत संग्रह गराए।

जनमत संग्रहमा उनी झिनो मतले हारे, हारे पनि मोरालेसको पार्टीले उनलाई सन् २०२० देखि २०२५ सम्मका लागि हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।राष्ट्रपतिका विषयमा बोलिभियाली समाज विभाजित छ । तथापि ६५ भन्दा बढी प्रतिशत आदिवासी जनसंख्या भएकाले अर्कोपल्ट पनि उनैले जित्ने सम्भावना प्रबल रहेको बोलिभियाली विश्लेषकहरूको आकलन छ।

अमेरिकाकै छिमेकमा रहेर उसैलाई टक्कर दिइरहेको भए पनि बोलिभियाका कतिपय विकृति नेपालकै जस्ता रहेछन् । तीन साताको बोलिभिया बसाइमा हामीले नेपालमा जस्तै तीनपटक यातायात हड्ताल भोग्नुपर्‍यो । मजदुर संगठनहरू बलिया भएकाले पनि हुन सक्छ, त्यहाँ हडताल हुनु नौलो रहेनछ।
संयोगले हरेक वर्ष २४ जनवरीमा मनाइने आलासितास पर्वमा सहभागी हुन पाइयो ।

यो पर्वको मान्यता पनि अनौठो रहेछ । पर्वमा पुग्नेले जुन वस्तुको चाहना छ, त्यसको तस्बिर किने मनोकांक्षा पूरा हुने विश्वास गरिने भएकाले कोही घर, कोही डलर, कोही पिएचडी डिग्री त कोही कारको तस्बिर किनिरहेका भेटिन्थे ।तुलनात्मक रूपमा हवाई यातायात सस्तो भए पनि उडान ढिलो हुने र रद्द हुने कुरामा भने नेपाललाई पनि उछिन्ने रहेछ । २५ जनवरीमा हामी लापाजबाट पोटोसी विभागको राजधानी युउनी पुग्नुपर्ने थियो।

ट्याक्सी ड्राइभरको हडतालका कारण त्यस दिनको निर्धारित उडान नै छुट्न पुग्यो । जहाज छुटेपछि कोही १० घन्टाको बस यात्रा त मलगायत केही साथीहरू अर्को उडान लिएर तीन हजार सात सय मिटर उचाइको युउनी पुगियो । युउनी हाम्रो मुस्ताङजस्तै अत्यन्त हावा चल्ने र ठण्डा भए पनि पर्यटकले भरिभराउ थियो।

१० हजार वर्ग किलोमिटरमा फैलिएको युउनीको सलार क्षेत्रमा १० मिटर बाक्लो नुनको सतह छ । यही क्षेत्रमा पर्छ, कोल्चाका नगरपालिका । त्यहाँको आप्थापी (आदिवासी खाना), क्वनिया उत्पादन क्षेत्र, सिउँडी, सुक्खा क्षेत्र र नुनबाट बनेका रेस्टुरेन्ट (साल्ट रेस्टुरेन्ट) मुख्य आकर्षण हुन्।

कोल्चानीको रेस्टुरेन्टमा बस्दा हामीबीच सबै संरचना नुनले बनेको हो वा होइन भन्ने चर्चा चल्यो । धेरैलाई विश्वास नलागेकाले कतिपयले रेस्टुरेन्टका भित्ता र टेबल समेत चाट्न पुगे । छानोबाहेक सबै संरचना नुनले बनाएका होटलहरू निकै महँगा हुने रहेछन् । त्यहाँ नुनबाटै बनाएको म्युजियम समेत रहेछ।

सान जुआनस्थित नुनको होटलबाट अर्को दिन बिहानै सुरु भयो, एउटा लामो यात्रा । करिब पाँच सय किलोमिटरको यात्राका क्रममा हामीले कहिल्यै नदेखेका विविधता देख्न पायौँ । यसै क्षेत्रमा पर्ने चार हजार चार सय १२ मिटर उचाइको अरबोल डिपेड्रामा एउटा अचम्मको भीमकाय ढुंगा रहेछ । हेर्दा रूखजस्तै देखिने ढुंगालाई ‘स्टोन ट्री’ भनिन्छ । मरुभूमिबीच रहेको त्यही ढुंगाको अवलोकन गर्न पुगेका पर्यटकको भीड थियो।

मरुभूमि बीचको यो ढुंगाको आकार रूखको जस्तो हुनुमा पनि अचम्मकै कारण रहेछ । हावाले लगातार बालुवा उडाउँदा बालुवाको घर्षणले ढुंगा खिइएर यसको यो आकार बन्न पुगेको वैज्ञानिक निष्कर्ष छ । त्यस क्षेत्रमा हजारौँ वर्ष पहिला ठूला ताल सुकेपछि त्यहाँका जलचर सुकेर बनेका साना पहाडहरू, सिउँडीका बिरुवा, बालुवाका विशाल मैदान र नुनका पहाड छन्।

नुनका पहाड पार गर्दै त्यस साँझ हामी लागुना कोलाराडास्थित संरक्षित क्षेत्रको ठूलो र रंगीन तालको किनारामा पुग्यौँ । त्यस तालमा भएका एल्गीको रंग सूर्यको प्रकाशसँगै परिवर्तन हुने रहेछ । त्यसको अवलोकनका लागि संसारभरबाट पर्यटक ओइरिने गर्छन्।

दिउँसो ४ बजेतिर ताल किनारामा पुग्दा मान्छे नै उडाउला जस्तो गरी हावा चलिरहेको थियो । चिसो स्याँठकै कारण हामी तालले परिवर्तन गर्ने रंगहरू धीत मरुन्जेल अवलोकन गर्न नपाउँदै फर्कन बाध्य भयौँ ।यात्राको तेस्रो दिन भने ठूलै संकट सामना गर्नुपर्‍यो । अघिल्लो साँझ चार हजार दुई सय मिटर उचाइको होटल पुग्दा तापक्रम कम भए पनि हिउँ परेको थिएन । भोलिपल्ट बिहान करिब ६ बजेतिर हामी होटलबाट प्रस्थान गरेपछि भने हिउँ पर्न थाल्यो।

करिब १ घन्टाजति खुला चौरबाट यात्रा गर्न नपाउँदै हिउँको वर्षा हुन थाल्यो । केही मिनेटभित्रै खुला मरुभूमिमा तीन फिटजति हिउँ जम्यो । हिउँले गर्दा मरुभूमिमा जिप हिँड्ने ट्र्याक पछ्याउनै नसकिने अवस्था आयो । चालकले बाटो पछ्याउन सकेनन् । जिप हिउँमा गएर भासियो । सबैजना मिलेर बल्लतल्ल जिप त निकालियो । तर, ट्र्याक पत्तो लगाउन भने सकिएन।

हिमपात अझ तीव्र हुँदै गयो । त्यस स्थानमा सञ्चार सम्पर्क थिएन । नजिकै गएर कसैलाई बोलाउने पनि हिउँको मरुभूमिभर कहीँकतै मान्छेको नामो निकासा थिएन । हिउँ रोकिने छाँट थिएन, जिप हिउँमा पुरिँदै थियो । हाम्रो टोलीमा रहेका स्विस साथीहरू धेरै आत्तिए । तर, स्विसमध्येकै एकजनालाई यस्तो अवस्थामा हिउँ खोस्रेर बाटो पहिल्याउने केही जानकारी रहेछ । उनले हिउँ खोस्रेर ट्र्याक पत्ता लगाउने कोसिस गरे । करिब तीन सय मिटर हिउँ खोस्रिएपछि बल्ल ट्र्याक पत्ता लाग्यो र हामी सकुशल फर्कन सफल भयौँ ।

बोलिभियाको मौसम छिनछिनमा परिवर्तन भइरहन्छ । एकै छिनमा उखरमाउलो गर्मी र एकै छिनमा मुटु कमाउने जाडो हुन्छ । नेपालमा जाडो मौसम भएका वेला बोलिभियामा गर्मी र नेपालमा गर्मी भएका वेला बोलिभियामा जाडो मौसम हुने गर्छ । छिनछिनमा परिवर्तन हुने मौसमलाई बुझेर आवश्यक सावधानी अपनाइएन भने यात्रामा समस्या हुन सक्छ भन्ने पाठ हामीलाई तेस्रो दिनको यात्राले दिएको थियो।

बोलिभिया यस्तो देश हो, जहाँका हरेक गल्लीमा सार्वभौमिकताको बहस हुने गर्छ । त्यहाँ मान्छेहरू देशको सार्वभौमिकताको मात्र होइन, खाद्य सार्वभौमिकता, प्राकृतिक स्रोतको सार्वभौमिकता र जीवनको सार्वभौमिकताको चर्चा गर्छन् । लाग्छ, ‘वेल लिभिङ’ र कोचामामा अर्थात् ‘मदर अर्थ’ शब्द बोलिभियालीका ओठमै झुन्डिएका छन् ।

बोलिभियालीले नेपाल र नेपालीलाई खासै चिन्दैनन् तर नजिकको भुटानबारे भने चासो राख्छन् । किनकि बोलभियाली राष्ट्रपति मोरालेसले ल्याएको ‘लिभिङ वेल’ अवधारणा जस्तै भुटानले पनि ‘ग्रस नेसनल ह्याप्पिनेस’ अवधारणा ल्याएको छ । त्यसैले बोलिभियालीका लागि नेपाल मात्र होइन, भारत र चीनभन्दा पनि भुटानको चासो बढी छ । प्राज्ञिक बहसमा त्यसैको चर्चा हुने गर्छ।

बोलिभियाली सार्वजनिक मञ्चमा महिलाको प्रतिनिधित्व कमै देखिन्छ । राजनीतिक र सार्वजनिक मामलाका बहसमा उनीहरू कमै सहभागी हुन्छन् ।करिब २३ वर्षअघि नेदरल्यान्डमा स्नातकोत्तर अध्ययन गर्दा मेरा केही बोलिभियाली मित्र थिए, सँगै पढ्ने । तिनले कहिल्यै पनि समयको वास्ता गर्दैनथे ।तोकिएको समयभन्दा ढिलो आउनु र छिटो हिँड्नु तिनको चरित्र थियो, हामी नेपालीको जस्तै।

नेदरल्यान्डमा सँगै पढेका ती साथीको स्वभाव त बोलिभियाको राष्ट्रिय चरित्र नै पो रहेछ । जहाँ समयको खासै मतलब र मूल्य छैन । हाम्रा गाउँघर र सहर बजारका साना किराना पसलअगाडि बसेर अनावश्यक गफ गरेर दिन काट्ने मान्छेहरू हुने गर्छन् । यस्तै चरित्र बोलिभियालीमा समेत मिलेको देख्दा, नेपालीकै चरित्र उनीहरूमा पनि सरेछ कि जस्तो भान भयो।

बहुसंख्यक बोलिभियन अन्य मुलुकसँग खासै जोडिएका छैनन् । उनीहरूका लागि विदेश भनेको आफ्नै महादेशका अन्य देश नै मुख्य हुन् । संयुक्त राज्य अमेरिकालाई भने धेरैले घृणा नै गर्छन् । विश्वविद्यालयमा समेत अंग्रेजी बोल्नेहरू एकदमै कम हुने गर्छन्।

राजनीतिमा खासै चासो नराखे पनि महिलामा खुलापन नेपालको तुलनामा बढी नै रहेछ । पुरुषभन्दा महिला सुन्दर र सालीन हुने रहेछन् । मध्यम आर्थिक विकास भएको मुलुक भए पनि बोलिभियामा रात्रि र यौनजीवन भने सम्पन्न युरोपेली र अमेरकी मुलुकको जस्तै रहेछ । जुन, स्पेनिस उपनिवेश कालमा विकास भएको मानिन्छ।

बोलिभियामा आदिवासी र मजदुर संगठनहरू कतिसम्म बलिया रहेछन् भने, उनीहरूले चाहँदा सत्ता समेत पल्टन सक्नेरहेछ । मुख्यतः खनिज, ग्यास र पेट्रोल निर्यातबाट समृद्धितर्फ उन्मुख यो मुलुकमा केही वर्षदेखि सहरीकरण तीव्र छ । ग्रामीण क्षेत्रमा पनि ठूला भौतिक संरचना निर्माण गरिएका छन् । रोजगारी दिनका लागि आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गरिएका छन् ।

तिनलाई खुसी पार्न वर्षमा १४ महिनाको तलब दिने व्यवस्था गरिएको छ । यसले मुलुकमाथि ठूलो आर्थिक भार थोपरेको रहेछ । अहिले विश्व बजारमा पेट्रोलको भाउ घटिरहेकाले बोलिभियामा कुनै पनि वेला आर्थिक संकट आउन सक्ने अर्थशास्त्रीले आकलन गरिरहेका छन् ।

म पहिलोपटक सन् २०१० मा बोलिभियाको राजनीतिक परिवर्तन अध्ययन गर्न पुगेको थिएँ । त्यसबेला त्यहाँको एक टेलिभिजनले नेपालको राजनीतिक परिवर्तन तथा नेपाल र बोलिभियाबीच समानता एवं भिन्नता बारे मसँग अन्तर्वार्ता लिएको थियो । बोलिभियालीसँग कदकाठी ठ्याक्कै मिल्ने भएकाले मलाई टेलिभिजनमा देख्नेहरूले लापाजकै बासिन्दा भन्ने ठानेछन्।

त्यसवेला कार्यक्रम सञ्चालकले नै मलाई अनुवादक र मैले बोलेको स्पेनिसमा अनुवाद गर्ने स्विस साथीलाई चाहिँ नेपाली भनेका थिए । त्यसपछि हामीले उनको भनाइ सच्याउनुपरेको थियो । हामीलाई जुनसुकै मुलुक जाँदा पनि अंग्रेजी बोल्न जानेपछि भइहाल्छ भन्ने लाग्छ । तर, बोलिभिया जानेले न्यूनतम स्पेनिस जानेको छैन भने जताततै अप्ठेरो पर्न सक्छ ।बोलिभिया बसाइका क्रममा देखिएको सबैभन्दा फरक कुरा भनेको त्यहाँको सत्तादेखि सडकसम्म कोकाको राज नै हो । मोरालेसको शासनपूर्व सार्वजनिक स्थानमा प्रयोग गर्न समेत प्रतिबन्ध लगाइएको कोकाको पात अहिले भने खुला गरिएको रहेछ।

बोलिभियालीहरू प्लास्टिकको झोलामा कोकाका पात राखेर चपाइरहने रहेछन् । औपचारिक बैठकमा सहभागी हुन् कि सवारी चलाइरहेको ड्राइभर, सबैको मुखमा कोकाका पात हुने । नयाँ मानिस भेट हुनेबित्तिकै पनि उनीहरूले अफर गर्ने पहिलो वस्तु भनेकै कोकाको पात हुने रहेछ।

कोका मजदुरबाटै राजनीति थालेका मोरालेसको शासनदेखि बोलिभियालीले केमिकल मिसाई कोकाको पातबाट कोकिन छुट्ट्याएर साना डल्ला पारी कोलम्बिया, चिली, ब्राजिल पठाउने गरेका रहेछन् । चिली, कोलम्बिया र ब्राजिलमा त्यो कच्चा पदार्थबाट कोकिन तयार गरी संसार भर वितरण हुने गर्छ।

कोका उत्पादनले कोकिन कारोबारलाई सहयोग पुगेकै कारण अमेरिकालगायत युरोपेली मुलुकले मोरालेसलाई कोका बिरुवा विस्तार नगर्न र भएको बाली पनि नष्ट गर्न दबाब दिने गरेका छन् । कोकाबाट बनाएको चिया बोलिभियाको प्रख्यात पेय हो । तर, कोका चियालाई समेत विदेश निर्यात गर्दा भने लागूऔषध नै मानिन्छ । यही कारणले हुनुपर्छ बोलिभिया र ब्राजिलबाट फर्कंदा हरेक यात्रुलाई ‘ट्रान्जिट’मा कडाइका साथ चेकजाँच गर्ने गरिन्छ।

प्रकाशित: ३ चैत्र २०७४ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App