१५ कार्तिक २०७७ शनिबार
अन्य

‘आफ्नै देशका सहरमा आफ्नोपन पाइन्छ’

शंकर आचार्य, हास्यकलाकार

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई नेपालभित्रकै सहर मनपर्छ । आफ्नै देशका सहरमा आफ्नोपन पाइन्छ । नेपालका हरेक सहरको मौलिकता र विशेषता भिन्न–भिन्न लाग्छ । त्यसमाथि पनि काठमाडौं त झन् ऐतिहासिक सहर हो । मेरो जन्म पनि काठमाडौंमै भएको हो, मैले यो सहरलाई बाल्यकालदेखि नै चिन्न पाएँ । यही माटोमा हुर्केर यहाँसम्म आएँ । 

तपाईं सानो छँदा काठमाडौं कस्तो थियो ?
अहिलेभन्दा आकाशपाताल फरक थियो, त्यतिबेलाको काठमाडौं । म काठमाडौंमै बसेर कलाकारितामा लागेको ४० वर्ष नाघ्यो । बाल्यकालदेखि नै यहाँको वस्तुस्थिति बुझेको छु । म सानो छँदा काठमाडौं शान्त थियो । अहिले भवनले ओगटेको धेरैजसो हिस्सामा खेतीपाती नै हुन्थ्यो । गाजर, मुला, काउली, धान, भटमासलगायत धेरै प्रकारका खेतीपाती हुन्थे । यहाँ उत्पादन भएको खाद्यान्नवस्तुहरू उपत्यकाबाहिर जान्थ्यो । तोरी फुलेर जताततै पहेँलै देखिन्थ्यो । वरपर खेत थिए । गाई चराउने र घाँस काट्ने ठाउँ थिए । चरा कराएको, मानिसले सिटी फुकेको आवाज सुनिन्थ्यो । सडकमा गाडी कम गुड्थे । अहिलेजस्तो भद्रगोल ट्राफिक व्यवस्था थिएन । अलि अविकसित थियो । अहिलेको कोलाहल काठमाडौंभन्दा म सानो हुँदाकै काठमाडौं धेरै राम्रो थियो। 

पहिलेको त्यति सुन्दर काठमाडौं अहिले अव्यवस्थित हुनुको कारण के होला ?
सहरीकरण हुँदै जाँदा उपत्यका कंक्रिटमा परिणत भयो । पहिलेको उपत्यका अब सम्झनामा मात्रै रह्यो । सहरको विकास क्रमसँगै राम्रा–नराम्रा दुवै काम भए । सरकारले सहरबारे दीर्घकालीन सोच र योजना बनाउन सकेन । पहिले त्यति राम्रो ठाउँ अहिले हिलोमैलो, धुलोधुवाँ, प्रदूषणको खानी बनेको छ । जताततै फोहोर मात्रै देखिन्छ । सहरका घर पनि अव्यस्थित देखिन्छन् । पार्किङ र ट्राफिक व्यवस्था पनि उस्तै छ। 

जनसंख्याको चापअनुसार विकास गर्न सकेको भए काठमाडौं यति साह्रै बिग्रने थिएन । काठमाडौंलाई व्यवस्थित पार्ने हो भने, यहाँ भएका सुविधा विकेन्द्रीकरण गर्नुपर्छ । यति हुँदाबित्तिकै भीडभाड केही कम हुन्छ । 

सहरमा हुनुपर्ने तर नभएका काम के के होलान् ? 
धेरै छन् । हामीभन्दा धेरैपछि आएका मुलुकले पनि राजनीतिक क्रान्ति सकाएर आर्थिक क्रान्ति गरिसके । विकसित देशमा सोच्नै नसकिने विकासका काम भएका छन् । अन्य कुरामा पनि धेरै नै फड्को मारे । हामी अझै पनि सतहमै छौँ । राजधानीकै कुरा गर्ने हो भने यहाँ बटुवाले राम्ररी सडक पार गर्न पाउँदैनन् । सहरमा आफू सुरक्षित छु भनेर ढुक्क हुन सक्दैनन् । बाटोको असुविधा छ । सडकपेटी फुटपाथ पसलले भरिएका छन् । जताततै खाल्डैखाल्डा छन् । पानी पर्नासाथ हिलैहिलो हुने र सहर डुब्ने अवस्था आउँछ । राम्रा पक्ष त केही छैनन् तर आशा गरौँ, एकदिन राम्रै होला । जस्तो, पहिले साँघुरा सडक थिए, अहिले फराकिला भएका छन् । कामै नभएका पनि होइनन् तर तीव्रता मात्रै नदेखिएको हो।

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ? 
हामीले सरकारलाई मात्रै धारे हात लगाएर हुँदैन । सहरवासी भएको नाताले सहरका निम्ति केही गर्नु हाम्रो दायित्व हो । नागरिकले जथाभावी फोहोर नफ्याँक्ने, सरकारी निकायले विकास निर्माणका कामलाई छिटो सक्ने, वृक्षारोपण गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित पार्ने, ठाउँठाउँमा आराम स्थल निर्माण गर्नेजस्ता काम हुनुपर्छ । 

उपत्यकाबाहिरका कुन–कुन सहर मनपर्छ ?
पोखरा र नारायणघाट राम्रो लाग्छ । पोखरा नेपालको शान्त र रमणीय सहरभित्र पर्छ । यो सहरको सबै पक्ष व्यवस्थित छ । पोखरामा धुवाँधुलो र प्रदूषण कतै देखिँदैन । फराकिला सडक, फेवाताल र सहर वरिपरिका पर्यटकीय मार्गले पोखरा पर्यटकको आकर्षण केन्द्र बनेको छ । त्यस्तै, नारायणघाट पनि काठमाडौंभन्दा अलि व्यवस्थित छ। 

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
त्यति धेरै घुमेको छैन । नेपालमा जन्मेर अरु देशका सहर पुग्नैपर्छ भन्ने म ठान्दिनँ, किनभने यहाँ निकै सुन्दर ठाउँ छन् । म दुई–तीनवटा देश मात्रै पुगेको छ । भारत र चाइना घुमेको छु । छिमेकी देश कति विकसित भइसकेका छन् । सफा छन् । सहरमा आवतजावत गर्दा फोहोर भइँदैन । हाम्रोमा त बिहान सेता कपडा लगाएर निस्क्यो भने बेलुकी कालो भएको हुन्छ । नेपाल यति धेरै फोहोर हुनु र पछि पर्नुको मुख्य कारण सरकारी निकाय नै गैर–जिम्मेवार भएर हो जस्तो लाग्छ । 

तपाईंकोे सपनाको सहर कस्तो होला ?
हामी नेपालीको ठूलो आकांक्षा, ठूलो आशा, ठूलो माग राख्ने बानी छैन । हामी साधारण जीवनशैली खोज्छौँ । अन्य देशका नागरिक हेरीकन हामी सोझा र सरल छौँ । सबैसँग सभ्य हुन खोज्छौँ । यस्तो स्वभाव भएका नागरिकले दुःख पाउनु सरकारकै कमजोरीले हो भन्ने लाग्छ । हामीलाई सहज खानेपानी सुविधा होस्, स्वच्छ र गुणस्तरीय खाद्यान्न पाइयोस् । हिँड्दा बाटोघाटो सफा होस् । सहरको सबै पक्ष सुन्दर, सफा र हराभरा देखियोस् । यति भयो भने सहरमा बसेको छु जस्तो महसुस हुन सक्छ। 

तपाईंको नजरमा उपत्यकाका मुख्य समस्या के हुन् ?
खानेपानीको हाहाकार, अस्तव्यस्त सडक, सरकारी निकायबीच समन्वयको अभाव, ट्राफिक जाम, धुवाँधुलोलगायत यहाँका मुख्य समस्या हुन् । सरकारले यी समस्यालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । 

उपत्यकाको मनपर्ने पक्ष के हो ?
यहाँको मौसम र मठ–मन्दिर राम्रो लाग्छ । यहाँ हरेकखाले सेवा–सुविधा छन् । अप्ठेरो पर्दा सहजै सेवा लिन सकिन्छ । यहाँको मौसम भगवान्को वरदान नै हो जस्तो लाग्छ । 

यहाँको मननपर्ने पक्ष ?
भीडभाड, धुँवाधुलो, ट्राफिक जाम, अव्यवस्थित पार्किङ लगायत पक्ष मनपर्दैन । यी समस्याले काठमाडौं दिक्कलाग्दो भइसकेको छ । सरकार र नागरिक दुवै मिलेर अघि बढ्ने हो भने सहरको विकास हुन सक्छ । अहिले वातावरणमन्त्रीले पनि मास्कमुक्त काठमाडौं बनाउने भन्नुभएको छ, हेरौँ केही हुन्छ कि ?

उपत्यकामा कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
खासै घुम्न हिँड्ने बानी छैन । उपत्यकामा घुम्ने ठाउँ त्यति छैनन् । सबैतिर अस्तव्यस्त मात्रै छ । मलाई सहरको भीडभाड पनि मनपर्दैन । बरु दसैँ–तिहारका बेला सहरको रहनसहन र झिलिमिली हेर्न रमाइलो लाग्छ । मलाई सहरको कोलाहलभन्दा ग्रामीण परिवेश सुन्दर लाग्छ ।

उपत्यकामा पाइनेमध्ये तपाईंलाई मनपर्ने खानेकुरा ?
काठमाडौंको खानेकुरा भन्दा पनि मलाई घरभित्रै बनाएको खानेकुरा राम्रो लाग्छ । ढिँडो, साग र गुद्रुकबाट बनाएको अचारलगायत खानेकुरा मीठो लाग्छ। 

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ? 
मैले पुग्न नपाएका ठाउँ धेरै छन् । इलाम पुगेको छैन । मुक्तिनाथ, गोसाइँकुण्ड लगायत धेरै ठाउँ पुग्न पाएको छैन । योभन्दा पहिले पारिवारिक वा अन्य कारण घुम्न पाइनँ । अब बिस्तारै समय मिलाएर यी ठाउँमा पुग्छु । 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ११ फाल्गुन २०७४ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App