१६ चैत्र २०८० शुक्रबार
अन्य

‘राहदानी नभएकाहरू नालीबाट सहर छिर्थे’

हरिराम जोशीको परिचय धेरै छ– इतिहासकार, संस्कृतिविद्, मुद्रा विशेषज्ञ, पुरात्वविद्, अन्वेषक लगायत । १९९२ सालमा जन्मेका हरिराम सानैदेखि नयाँ–नयाँ विषयमा खोजिनिती गर्न रुचाउँथे । विभिन्न विधाका २८ भन्दा बढी पुस्तक लेखिसकेका र २८ वर्ष निजामती सेवामा बिताएका उनले किताबखाना, केशर पुस्तकालय, पुरातत्व विभाग, सामान्य प्रशासन, परराष्ट्र, सञ्चार, अञ्चलाधीश कार्यालय, आर्मी हेडक्वार्टर हुँदै रक्षा मन्त्रालयमा समेत काम गरे । ०५० सालमा अवकाश पाएपछि उनी उपनिषद्, वेद, मनुस्मृति, त्रिपिटक, पुराण, वैदिक कोश र पौराणिक आख्यानबारे अध्ययन गर्दै आइरहेका छन् । उनीसँग ६ दशकअघिको काठमाडौंं उपत्यकाबारे शिवहरि घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :
हरिराम जोशी, संस्कृतिविद्
पहिलेका मानिसमा पुरानो धार्मिक तथा सांस्कृतिक परम्परा यथावत राख्नुपर्छ, तीनलाई जोगाउनुपर्छ, कसैगरी मास्न दिनुहुन्न भन्ने मानसिकता थियो । संस्कृति र पर्वप्रति मानिस निकै कटिबद्ध थिए । यो आजभन्दा करिब ६० वर्ष पहिलेको कुरा हो । अहिले पश्चिमीकरण भनौँ वा आधुनिकताको उपज भनौँ, मानिसमा धर्म र संस्कृतिप्रतिको लगाव र माया घट्दै गएको छ । धार्मिक र सांस्कृतिक परम्परालाई जोगाउनुपर्छ र चिरस्थायी राख्नुपर्छ भन्ने सोच हट्दै गएको छ।

पहिले र अहिलेका मानिसको मनोभावना र आकांक्षा पनि धेरै नै फरक भइसकेको छ । पहिले–पहिले तीज पर्वको महिमा र परम्परा बेग्लै हुन्थ्यो । विवाहित महिलाका लागि माइत जाने अवसरका रूपमा तीजलाई लिइन्थ्यो । तीजबाहेक अरु दिन माइत गएर महिला राम्ररी बस्न पाउँदैनथे । नेवार समुदायमा भने यसको प्रभाव अलि कम थियो । काँठ क्षेत्र वा अरु ठाउँमा तीजको बेग्लै रौनकता छाएको हुन्थ्यो।

महिलाहरू सबैभन्दा बढी खुसी पनि तीजमै हुन्थे । आमालाई सम्झेर गीत गाउँथे । अहिले तीजको महत्व र मान्यता घटेको छ । संस्कृति मान्ने नाममा रमिता देखाउने र फिल्मी गीत बजाएर तीज मनाउने विकृति समाजमा भित्रिएको छ । मनाउनुपर्छ भन्ने सोचले मात्रै तीज वा यस्तै महत्व बोकेका अन्य पर्व मनाइरहेको पाइन्छ । त्यसैले त अहिले नाम मात्रैको संस्कृति देखिएको छ । अहिलेका मानिसमा संस्कृतिप्रतिको आत्मीयता र लगाव घट्दै गएको छ । पहिले–पहिले तीजको दिन पशुपतिमा महिला मात्रै हुन्थे । अहिले पुरुष पनि घचेटाघचेट गर्दै लाइन लागेको देखिन्छ । यसरी पनि थाहा हुन्छ, हाम्रो समाज कता जाँदै छ भनेर ।२०१० सालभन्दा पहिले उपत्यकामा बाटोघाटो पनि फरक थियो । मुख्य सडकको दायाँ र बायाँ ढल राखिएको हुन्थ्यो । म २२ वर्षको हुँदादेखि उपत्यकाको सडक यस्तै थियो।

त्यतिबेलाको सडक पिच थिएन । पोडे र चण्डाल नामले परिचित व्यापारी सहर पस्नुपर्यो भने यही नालीको बाटो भएर सहर छिर्थे । २००७ सालभन्दा पहिले नाका हुँदै उपत्यका प्रवेश गर्न राहदानी चाहिन्थ्यो । राहदानी नभएकाहरू चोर बाटो नालीबाटै सहर छिरेका हुन्थे । मैले सुनेअनुसार १६ सय वर्ष पहिलेदेखि नै उपत्यका छिर्नका लागि यस्तै व्यवस्था थियो।३० वर्ष अघिसम्म उपत्यकाभित्र खुला ठाउँ प्रशस्त थिए । भक्तपुर र काठमाडौंमा टुँडिखेल थिए । सानोमा पाटनको टुँडिखेलमा मर्निङवाक गर्न जान्थ्यौँ । दुई–तीन राउन्ड लगाएर फर्किन्थ्यौँ । अहिले त्यो क्षेत्रमा खुट्टो राख्ने ठाउँ छैन । कंक्रिटका भवन ठडिएका छन् । सबैतिर अस्तव्यस्त मात्रै देखिन्छ।

अहिलेका मानिस हिँड्नुपर्छ, शारीरिक अभ्यास गर्नुपर्छ त भन्छन् तर ठाउँ नै छैन । पहिले–पहिले चेतना नभए पनि स्वच्छ हावा लिन र रमाउनका लागि मानिस हिँड्थे । अहिले खुला ठाउँमा बार लगाइएको छ । घुम्ने ठाउँ छैनन् । सहरमा धुलो मात्रै छ । पुरानो उपत्यका एउटा मीठो सपनाजस्तै लाग्छ । किनकि म सानो हुँदा उपत्यका निकै रमणीय थियो । ठाउँ–ठाउँमा पौडी खेल्ने पोखरी पनि थिए । त्यतिबेला ठाउँ–ठाउँमा पार्टीपौवा, पँधेरा, चौतारी पनि थिए।

तर, अहिले सबैैजसो पोखरी मासिए । ललितपुरमा पुरानो पोखरीमध्ये अहिले जावलाखेलको चिडियाखानाभित्रको पोखरी जेनतेन जीवितै छ । यो पोखरीलाई पहिले धेरै राम्रो मानिन्थ्यो । यसबाहेक पाटनमा राम्रा पोखरी छैनन्, सबै मासिए । सरकारले नै पुराना सम्पदा स्वाहा गरेको छ ।
पोखरीकै कुरा गर्दा काठमाडौंको रानीपोखरी पहिले अर्कै नामले परिचित थियो ।

उक्त पोखरीलाई पहिले कमलपोखरी भनिन्थ्यो । यो कुरा अहिलेसम्म कसैले बाहिर ल्याएका छैनन् । केही बूढापाकाले अहिले पनि कमलपोखरी नै भन्छन्, तर धेरैको मनमा रानीपोखरी भनेर परिचित छ । पहिले यो ठाउँमा कमला‘टी गणेश’ थिए । नेवारी भाषामा ‘टि’ भनेको पोखरी वा पानी हो, झोल हो । रानीपोखरीको पारिपट्टि रहेको नाचघर इलाकाको पोखरीलाई कमला‘ची’ भनिन्थ्यो र अहिले पनि भनिन्छ । कलमाचीको सानो चिनो रानीपोखरीभित्रको गणेशस्थानमा अहिले पनि कायमै छ । २५ वर्ष अघिसम्म टीकाभैरवबाट राजकुलो हुँदै पाटनका पोखरीमा पानी आउँथ्यो । जब रिङरोड बन्यो, त्यसपछि सातदोबाटोबाट राजकुला थुनियो । त्यो पानीले पाटनको पोखरी छताछुल्ल हुन्थे।

त्यतिबेलाका मानिसको दैनिकी र जीवनशैली पनि अहिलेभन्दा धेरै भिन्न किसिमको हुन्थ्यो । घरको पाका व्यक्ति वा घरमूलीले भनेबमोजिम सबैले काम गर्थे । घरमूलीको आदेशलाई सबैले मान्थे । बिहान सबेरै उठेर बाजे वा घरमूलीलाई ढोग्ने गर्थे । बोली राम्रो र सबैलाई आदर गर्न सक्ने हुनु भनेर बूढापाकाले आशीर्वाद दिन्थे । टोलको सबैभन्दा मान्यगन्य गणेश नै हो भन्ने ठान्थे । कतिपयले घरको मूलीलाई गणेश ठान्थे । अहिलेका मान्छेमा त्यस्तो परम्परा छैन।

त्यति बेलाको शिक्षा प्रणाली पनि बेग्लै थियो । स्कुल जान मन लाग्दैनथ्यो । स्कुलको वातावरण ठीक थिएन । एउटै कक्षामा ६० जना विद्यार्थी हुन्थे । एकअर्काबीच हल्ला गरिरहेको सुनिन्थ्यो । कक्षामा केटा मात्रै हुन्थे । २००७ सालभन्दा अघिसम्म महिलाहरू स्कुल जाँदैनथे । महिलाले घरभित्रको काम र खेतीपाती गर्थे।

२००७ सालअघि उपत्यकामा बाहिरका मानिस छिर्न निकै गाह्रो थियो । यहाँका मानिस पनि उपत्यका बाहिर जान उत्तिकै कठिन थियो । थानकोट, भीमफेँदी गढी, फर्पिङ हुँदै मानिसहरू उपत्यका आउँथे । राहदानीविना कोही पनि छिर्न पाउँदैनथे । जनसंख्या पनि ज्यादै कम थियो । ६० वर्षपहिले ६० लाख हाराहारी जनसंख्या थियो । मानिसहरूको दैनिकी फरक थियो । नेवार समुदायभित्रै सयभन्दा बढी जात छन् । त्यसैले पनि उपत्यकामा जात्रा पर्व धेरै छन्।

पहिले–पहिले हरेक जातिले फरक–फरक प्रकारका काम गर्थे । कामअनुसारको जात भएकाले त्यतिबेला उनीहरूले एउटै क्षेत्रमा विज्ञता हासिल गरेका हुन्थे । त्यसैले त अहिले पनि पुराना कलाकृति राम्रा मानिन्छन् । नेवार समुदायभित्र घरको गारो उठाउनेलाई डकर्मी, काठको काम गर्नेलाई सिकर्मी, प्लास्टर गर्नेलाई ल्युकवी, माटोको काम गर्नेलाई ज्यापु भनिन्छ । यसरी कामअनुसारको जात विभाजन भएकाले सबैले आफ्नो पेसामा राम्रो काम गरेका थिए।

प्रकाशित: ११ फाल्गुन २०७४ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App