७ वैशाख २०८१ शुक्रबार
अन्य

काठमाडौं बिगारिएको सहर हो

कालीप्रसाद बाँस्कोटा, गायक- संगीतकार

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई न्युजिल्यान्डको क्विन सिटी मनपर्यो । यो सहरमा पुग्दा ठ्याक्कै पोखराको झल्को आउँछ । सहरको माथिपट्टि लेक देखिन्छ । वरिपरि हरियाली पनि छ । यो सहरमा पुग्दा नेपालमै छु भन्ने महसुस हुन्छ ।

नेपालभन्दा बाहिर कुन–कुन देश पुग्नुभयो ?
अस्टेलिया, अमेरिका, आयरल्यान्ड, हङकङ, कतारलगायत १० भन्दा बढी देश मैले घुमेको छु । ती देशका सहर पनि राम्ररी घुमेको छु । बाहिरी मुलुकका सहर हाम्रा सहरको तुलनामा धेरै विकसित र व्यवस्थित छन् । सहरको बनावट शैली पनि आकर्षण छ । हरेक देशका सहरमा आधुनिकतासँगै आफ्ना चिनारी र पुराना कलाकृति सजाइएका छन् । सहरको बीच खण्डमा हरियाली कायम गरिएको छ ।

विदेशका सहरको कुन पक्षले तपाईंको ध्यान तान्यो ?
त्यहाँका धेरै चिज ध्यान तान्ने खालका छन् । हामीभन्दा पनि ढिलो २० वर्षअघि मात्रै बनेका सहर धेरै व्यवस्थित र विकसित भएका छन् । सहरमा हरेक खालका सुविधा छन् । सहरमा बसेका नागरिकले चाहेका बेला हरेक खालका सेवा–सुविधा लिन सक्छन् । चिल्ला सडक, सडक छेवैमा हरियाली, सुन्दर गार्डेन, सपिङ मल, सहरभित्र सजाइएका पुराना कलाकृति लगायतले मेरो ध्यान तान्यो ।

विदेशी सहर र नेपालका सहरबीच के भिन्नता पाउनुभयो ?
हाम्रा सहरलाई विदेशीसँग दाँज्न मिल्दैन । यहाँका सहरको विशेषता भिन्न छ । विकासका काम गर्ने हो भने केहीबेर पनि लाग्दैन, नेपाललाई अघि बढ्न । सर्सर्ती तुलना गर्दा विदेशका सहर सफा र व्यवस्थित छन् । हाम्रा सहर फोहोर र अव्यवस्थित छन् । प्राकृतिक र भौगोलिक पक्षलाई हेर्दा विश्वका अरु देशभन्दा हामी धेरै अगाडि छौँ । यहाँका सम्पदा, प्राकृतिक सौन्र्दयताले आज विश्वको ध्यान तानेको छ । हामीले चाँडो–चाँडो विकासका काम सक्ने हो भने अरु देशसमक्ष हाम्रो देशलाई चिनाउन सक्छौँ ।

हाम्रा सहर किन व्यवस्थित भएनन् होला ?
सहर बनाउने र विकास निर्माणका काम गर्ने निकायका व्यक्तिले राजनीति गर्न थालेपछि हाम्रा सहर विकास हुन नसकेका हुन् । चुनावका बेला सय दिनमै काठमाडौंलाई हराभरा पार्छु भन्ने मेयरहरू अहिले गुमनाम छन् । उनीहरूले गम्भीर भएर काम गरिदिएको भए सहर अहिलेजस्तो अस्तव्यस्त हुने थिएन । बनाउने हो भने नेपालका सहर पनि उत्कृष्ट सहर बन्न सक्छन् । यहाँका सरकारी कर्मचारी नेताको भरौटे बनेर हिँडेका छन् । नेता र कर्मचारी कसैले पनि स्वच्छ मनले काम गरेनन् । प्राकृतिक र भौगोलिक रूपमा हेर्ने हो भने हामी विश्वमै धनी छौँ । तर, राज्यको तर्फबाट सहर विकासमा भएका काम प्रभावकारी देखिएका छैनन् ।

नेपालभित्र मनपर्ने सहर कुन हो ?
मलाई पोखरा मनपर्छ । नेपालको छुट्टै विशेषता बोकेको सुन्दर सहरमध्ये पर्छ पोखरा । यहाँ अनेकौँ रमाइला दृश्य देख्न पाइन्छ । अहिलेसम्म पोखरा सुन्दर र सफा छ । सहरमा धुवाँ–धुलो र प्रदूषण छैन ।

आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
म बसेको सहर धुलोमुक्त होस् । सहरका हरेक ठाउँमा समयै पुग्न सकियोस् । कसैले कसैलाई अवरोध नगरोस् । सहरका हरेक सेवा–सुविधा चुस्त होऊन् । सरकारका कारण नागरिकले कुनै खालको समस्या झेल्न नपरोस् । यति भयो भने सहर राम्रै लाग्छ ।

काठमाडौं उपत्यका कस्तो लाग्छ ?
काठमाडौं हामी सबैको सपनाको सहर हो । म काठमाडौंमै जन्मिएकाले पनि यहाँको माटो र ठाउँलाई राम्ररी चिन्न पाएको छु । यहाँको जस्तो विशेषता विश्वका अरु कुनै सहरमा भेटिन्न । यहाँ अनेकौँ महŒव र विशेषता बोकेका ऐतिहासिक सम्पदा छन् । पुराना कलाकृतिले दरबार क्षेत्र सजिएका छन् । मात्रै हामीले काठमाडौंलाई चिन्न सकेनौँ । यहाँको माटोको मूल्य बुझ्न सकेनौँ । प्रकृतिले यति धेरै सुविधा दिँदा पनि हामीले उपयोग गर्न सकेनौँ । कुर्चीमा बस्नेहरू विकासमा भन्दा राजनीतिमा बढी सक्रिय देखिए । कसैले पनि यो मेरो सहर हो, मैले बनाउनुपर्छ भनेर हेक्का राखेनन् ।

तपाईं सानो छँदा काठमाडौं कस्तो थियो ?
मैले आफू ९–१० वर्ष हुँदाको काठमाडौं स्मरण गर्छु । त्यतिबेला यो ठाउँ निकै मनोरम र सुन्दर थियो । मेरो घर कीर्तिपुरको डाँडामा हो । त्यहाँबाट मैले पूरै उपत्यका नियाल्न सक्थेँ । वरिपरि खेतैखेत र हरियाली मात्रै देखिन्थ्यो । काठमाडौंका हरेक खोला पौडी खेल्न लायक थिए । त्यतिबेला सडकमा सवारी कम हुन्थे । मानिसको चाप पनि कम थियो । अहिले काठमाडौं अस्तव्यस्त भएको छ । जनघनत्वअनुसार विकासका काम नभएका कारण काठमाडौं यस्तो कोलाहल भएको हो भन्ने लाग्छ ।

यहाँको धुवाँधुलो र अस्तव्यतता देख्दा दिक्क लाग्दैन ?
यहाँको धुलोधुवाँ र ट्राफिक जाम देख्दा दिक्क लाग्छ । उपत्यकामा राम्रा पक्षभन्दा नराम्रा पक्ष धेरै छन् । हिजो त्यति राम्रो र सुन्दर काठमाडौं अहिले अस्तव्यस्त हुनुमा सरकारकै कमजोरी देखिन्छ । सरकारले नै तदारुकता नदेखाएका कारण यहाँ विकास निर्माणका काममा अति नै ढिलासुस्ती हुने गरेको छ । सहरको विकास गर्छु भनेर सरकारी निकायमा बस्ने कसैले पनि जिम्मेवार भएर काम गरेका छैनन् । सबैले टार्ने र फाइदा लिने काम मात्रै गरेका छन् ।

उपत्यकाको मननपर्ने पक्ष के हो ?
प्रदूषण, ट्राफिक जाम र मानिसको भीडभाड देख्दा काठमाडौं अस्तव्यस्त लाग्छ । अहिले त झन् सहरका हरेक चोक अव्यवस्थित छन् । सहरवासीले धुलो र धुवाँको सास्ती खेप्नुपरेको छ । विकास निर्माणका कामलाई द्रूत गति दिन नसक्दा सहर दूषित भएको हो । यहाँको उर्वर जमिनमा धमाधम प्लटिङ हुँदै छ ।

काठमाडौं उपत्यकाको मनपर्ने पक्ष ?
यहाँको मौसम, पुराना बस्ती र मठ–मन्दिर मलाई ज्यादै मनपर्छ । उपत्यकाभित्र हरेक चिज छ । पहाड, हिमाल सबै यहीँबाट देख्न पाइन्छ । अरु देशमा एकदमै गर्मी र जाडो हुन्छ । हामीलाई प्रकृतिले नै नापेर हावापानी दिएको छ ।

सरकारले कसरी काम गर्यो भने सहर व्यवस्थित बन्ला ?
सरकारले राजनीतिलाई भन्दा विकासका कामलाई केन्द्रमा राख्नुपर्यो । सहरको पहिलो विकासको खुड्किलो भनेकै सडक हो । सडक फराकिला पार्ने हो भने अरु विकासका काममा टेवा पुग्छ । सहरको उचित ढल निकास, खानेपानी र सडकलाई विशेष प्राथमिकतामा राख्नुपर्यो । विकास निर्माणका काममा सरकारी निकायबीच समन्वय हुनुपर्यो ।

मन भएर पनि घुम्न नपाएको सहर ?
मलाई मानव सभ्यता पाइने ठाउँ घुम्न मनपर्छ । अमेरिकाको अलास्का, दक्षिण अफ्रिका र जेरुसेलम पुग्ने रहर छ ।
साथीभाइसँग कतै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
चन्द्रागिरि, मातातीर्थ, दक्षिणकाली र कीर्तिपुर भन्दा माथिका डाँडाहरूमा घुम्न रमाइलो लाग्छ । उपत्यकाभित्र घुम्ने ठाउँ प्रशस्त छन् ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २९ माघ २०७४ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App