३१ असार २०७७ बुधबार
अन्य

म पुरुष

दुर्गा बन्जाडे

तिमीलाई लागेको होला,
म पुरुष
मायाले होइन भोकले चल्छु,
जहाँ पनि स्खलित भइदिन सक्छु,
बाध्यताकै नाममा
नचाहेरै कसैको अँगालोमा पसिदिन सक्छु ।
तर, म कसरी सम्झाउँ तिमीलाई
खै कसरी बुझाउँ तिमीलाई
तिमीले देखेको ‘म’
म हुँदै होइन
त्यो ‘म’ मसँग छैन
म त वर्षौंदेखि
‘म’विनाको रित्तो बाँचिरहेछु ।

सामाजिक सञ्जालमा देखिने
मेरा केही ‘सुन्दर’ र ‘शालीन’ तस्बिरहरूमा
ओठको ‘निर्दोष’ हाँसो र
त्यसमा प्रतिविम्बित ‘मौनतामा’
बर्थ डे र एनिभर्सरीका उत्सवमा
छैन, ‘म’ कतै छैन,
वास्तवमै म कहीँकतै र केहीमा पनि छैन ।

त्यहाँ मेरो समाज मुस्कुराइरहेको छ,
आफन्तहरू रमाइरहेका छन्,
म त केवल आदर्शको खोल ओडेर
‘खुसी’ भएको अभिनयमा
‘म’विना नै वर्षौंदेखि
बाँचेको नाटक ‘मञ्चन’ गर्दै छु ।

काम गर्दागर्दै यति धेरै थाक्छु कि
त्यही थकानभित्रै ‘आराम’ को खोजी गर्छु
यतिविधि परिश्रमबाट थोपा–थोपा गरी जम्मा गरेको आर्जन
लाखौँका हीरा जुहारतको खरिदमै खर्चिदिनुपर्ने हुन्छ,
‘स्वीकृति’ नदिउँ पनि कसरी
त्यही हीरा जुहारतमा मेरो इज्जत जोडिएको छ
नत्र फेरि मेरै नाक काटिन्छ
जोडिएका नाता भाँचिन्छ
किनकि म ‘पुरुष’
यहाँ त सम्बन्ध पनि आडम्बरको आधारमा गाँसिन्छ ।

समानता र न्यायका नियमहरू
मेरा लागि मौन छन्
मेरो मानव अधिकार नारीको सामु
प्रभावहीन छ ।
समाजले मलाई नारीसँगको सम्बन्धमा
स्वतन्त्रता त के, बन्धनको जन्जिर भिराएको छ ।
बिस्तरामा मेरा रातहरू
शून्यतामै मौन रहेर
छोइएका कुमहरूको
आत्मसमर्पणमा बित्ने गर्छन् ।
यस्ता मात लाग्ने पलहरूमा
मनको आत्मीयता त्यसै रित्तिन्छ
त्यसको ठीकविपरीत
मेरो मन पराइत्वको ठिहीले चपरा परेर जम्ने गर्छ ।
चुप रहँु त,
कहाँ साटिस शरीर र भावना भनिन्छ
आफैँ सक्रिय बनौँ त
यो पुरुष कति ‘कामुक’ ठानिन्छ ।

न त उड्न नै सक्छु, सबै जन्जिर तोडेर
या त बस्न नै सक्छु, चैनले
यो तनमनलाई साँच्ची नै जोडेर
तै पनि म ‘सहन’ विवश छु
किनकि म भित्रभित्रै रित्तिएर पनि
बाहिर भरिपूर्ण देखिनुपर्ने विम्ब हुँ
म आफ्नो पहिचान गुमाएको
आधुनिक युगको पराधीन ‘पुरुष’ हुँ ।

प्रकाशित: २७ माघ २०७४ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App