२५ श्रावण २०७७ आइतबार
अन्य

धुन एउटा सुन्दर शरीर हो

– जावेद अख्तर
धेरै जनाले मुम्बईलाई ढुंगोजस्तो मुटु भएको सहर भन्छन् तर मलाई त्यस्तो लाग्दैन । मैले त यहाँ मानिसको कमलो मुटु नै मुटु फेला पारेँ । सन् १९६४ अक्टोबर ४ मा म बम्बे सेन्ट्रल (मुम्बईको मुख्य रेल अड्डा)मा आएको थिएँ । मेरो गोजीमा सीमित पैसा थियो तर असीमित सपना थिए । म कमलो मुटुहरुकै सहारामा यति लामो समय र यहाँसम्म आइपुगेँ । ती कमला मुटुहरु नहुँदा हुन् त मेरो अस्तित्व आज अर्कै हुन्थ्यो होला, तर आजको जस्तो पक्कै हुँदैनथ्यो । मुम्बईले मलाई आवाज दियो, अनुहार दियो ।

सन् १९८१ को एक दिन प्रख्यात फिल्म निर्देशक तथा निर्माता यश चोपडा मेरो घर आए । मलाई गीत लेख्न अह्राए । ती स्वनाम धन्य यश चोपडा मसँग गीत लेखिमाग्न आएका थिए । म आफ्नै लागि कविता लेख्थेँ, अरुका लागि गीत किन लेखुँ ? मैले कहिल्यै गीत लेखेको थिइनँ । मलाई लेख्न पनि मन थिएन । उनले फिल्मको पटकथा लेख भनेका भए म सोच्न सक्थेँ तर गीत मागिरहेका थिए । मलाई गीतमाथि गरिने छेडछाड मन पर्दैनथ्यो । त्यसैले मैले यशलाई भगाउन चाहे । मेरो वास्तविक मूल्य भन्दा बढी मागेँ । गलत शर्त राखेँ । उनी ती सबै शर्त र मूल्य दिन तयार भए । उनले मलाई गीत लेख्न बाध्य पारे । उनले मलाई भने, ‘तिमीले नै त्यो भाव र त्यो शब्द दिन सक्छौ, जुन शब्दको खोजी मैले गरिरहेको छु ।’
उनले मलाई सही व्यक्तिका रुपमा छनोट गरेका होइनन् । उनले त सही शब्द छनोट गरेका हुन् । राम्रा, मन छुने र शब्दको मर्म खोज्दै उनी मकहाँ आइपुगेका थिए । यसमा मैले गर्व गरेको होइन, मैले उनको प्रशंसा गर्न खोजेको हो । उनी शब्दका लागि त्यतिसम्म गर्थे । मजस्तो अप्ठेरो व्यक्तिसँग पनि राम्रो र उत्कृष्ट परिणामका लागि काम गर्न उनी हिच्किचाउँदैनथे । अहिले कतिजना होलान् यसरी शब्दलाई मरिहत्ते गरेर खोज्ने ?

यो संसारमा कोही पनि अमर छैन । पुस्तौँसम्म बाँच्ने संगीतमा सुन्दर शब्द हुनुपर्छ, मनमोहक संगीत हुनुपर्छ, उस्तै प्रभावशाली आवाज हुनुपर्छ । धुन एउटा सुन्दर शरीर हो, सुन्नेबित्तिकै सबैलाई त्यही शरीरले आकर्षित गर्छ तर शब्द त्यो शरीरको चरित्र हो । त्यही शरीर लामो समयसम्म पूजित हुन्छ, जसमा सही चरित्र पनि हुन्छ । बिना चरित्रको शरीर कतिञ्जेल टिक्छ ?

नयाँ पुस्तामा मैले प्रतिभाको कुनै कमी देख्दिनँ । उनीहरुलाई थोरै मात्र ठाउँ दिनुभयो भने पनि तिनले गज्जबको काम गरेर देखाउन सक्छन् । मेरो गुनासो छ, उनीहरुलाई पूर्णरुपेण मौका दिइँदैन । उनीहरुले प्रशस्त सहुलियत पाऊन्, उनीहरुले त्यो आराम पाऊन्, जुन किसिमको प्रतिभा उनीहरु खन्याउन चाहन्छन्, त्यसको पूरापूर मौका दिइनुपर्छ तर त्यो उनीहरुले पाउँदैनन् ।

समस्या के छ भने हामी डाक्टरकहाँ त जान्छौँ तर डाक्टरको कुरा सुन्दैनौँ । डाक्टरलाई सिधै बिरामीले औषधि यो दे भनेर निर्देशन दिन्छन् । हामी यस्तो युगमा छौँ, जहाँ बिरामीले डाक्टरलाई निर्देशित गर्न थालेका छौँ । यस्ता डाक्टरले दिएको औषधिले ठीक भएन भनेर हामी फेरि गुनासो गरिरहेका हुन्छौँ । डाक्टरलाई उसको काम इमान्दारीपूर्वक गर्न दिऊँ । नयाँ पुस्ताका प्रतिभाशाली युवालाई पनि उनीहरुको अन्तरमनको काम गर्न दिऊँ । उनीहरुलाई यो र यस्तो देऊ भन्ने होइन, उनीहरुले सोचेजस्तो काम गर्न दिऊँ । यही सोच, आग्रह र अभ्यस्तताले हाम्रो सभ्यता, संस्कृति र युग बचाउँछ । एउटा अवार्ड समारोहमा ऊर्दू कवि तथा हिन्दी फिल्मका पटकथा लेखक तथा कवि जावेद अख्तरले राखेका अनुभूति ।

प्रकाशित: १८ पुस २०७४ १६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App