१५ चैत्र २०८० बिहीबार
अन्य

‘मेलम्चीको आम्दानीबाट २५ प्रतिशत लेबी हामीलाई दिनैपर्छ’

तस्बिर : चन्द्रशेखर कार्की

सिन्धुपाल्चोकका सबै क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार विजयी भएका बेला प्रदेशसभा क्षेत्र– २ (ख) बाट भने लोकतान्त्रिक गठबन्धनका निमा लामा विजय भए । नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य बनेका लामासँग नागरिकका लागि खिलक बुढाथोकीले गरेको कुराकानी :

चुनाव जित्न गाह्रो रहेछ है ?
पहिले त टिकट लिनै गाह्रो । पार्टीभित्र टिकट पाउन आन्तरिक संघर्ष गर्नुपर्छ । टिकट पाएपछि चुनाव जित्न अर्को महाभारत । झन् यसपटक त वामपन्थी एक भएर लोकतान्त्रिक गठबन्धनलाई झनै सकस भयो । 

सिन्धुपाल्चोकमा नेपाली कांग्रेसलाई जोगाउने तपाईंं नै हुनुभयो है ? 
चुनाव जित्नका लागि योगदान, कला र आत्मबल चाहिँदो रहेछ । त्यहाँका जनताले विगतमा मैले गरेका योगदानको आधारमा मत दिएका हुन् । अर्कोचाहि मैले संगठनलाई मिलाउन सक्नु नै जितको आधार मान्छु । बटारिने पार्टीको संगठनलाई मिलाउन नसक्दा चुनाव जित्न गाह्रो छ । सबैलाई मिलाएर परिचालन गर्ने मेरो कलाले राम्रो ग¥यो । मैले चुनाव जितेको ठाउँमा अहिलेसम्म कांग्रेसले जितेको थिएन । म कांग्रेसी भएर पनि जनताको मन जित्न सकेँ । भौगोलिक हिसाबले गाह्रो भए पनि जनताको घरघरमा पुगेर अपनत्व महसुस गराउँदै मत मागेँ । स्थानीय स्तरमा भिजेको हुँदा वाम गठबन्धन भए पनि चुनाव जित्ने आत्मबल थियो। 

चुनाव खर्चिलो छ, होइन त?
चुनाव जो कसैले लड्न नसक्ने भइसकेछ। म पहिलोपटक चुनाव लडेको हुँ । पर्यटन व्यवसायी भएको हुँदा गाह्रो भएन। तर, पैसा नहुनेले चुनाव लड्न नसकिने रहेछ । सहरमा भन्दा गाउँमा चुनाव महँगो छ । सवारीसाधनमै धेरै खर्च हुन्छ। 

चुनाव त जित्नुभयो, जनताको मन जित्न सक्नुहोला त?
जोस–जाँगरयुक्त युवा भएकाले मलाई जनताले मत दिएका हुन् । स्थानीय स्तरमा निरन्तर रूपमा सामाजिक काम गर्दै आएको छु । मैले गर्नै नसक्ने अजेन्डा उठाएको छैन । हेलम्बुलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी रोजगारी उपलब्धता गराउने, रोजगारमुखी र गुणस्तरीय शिक्षा उपलब्ध गराउने मेरा अजेन्डा छन् । दिगो विकास अवधारणाअनुरूप यस क्षेत्रको विकास गर्न लाग्छु । विगतमा पनि यसैका लागि काम गर्दै आएको हुँदा मैले उठाएका अजेन्डा पूरा गर्न नसक्ने कारणै छैनन्।

प्रदेशसभाको सांसद्ले यस्ता विकासे एजेन्डा पूरा गर्न सक्ने अवस्था त देखिँदैन नि?
अधिकार र स्रोतमा स्थानीय सरकार शक्तिशाली छ । त्यसो भन्दैमा प्रदेश सांसद्को भूमिका नहुने होइन । स्थानीय सरकारलाई विकासमा समन्वय गराउने र त्यहाँ आएका बाधा फुकाउने नीति बनाउने काम हामीले गर्नुपर्छ । अर्को कुुरा प्रदेशसभालाई पनि निश्चित अधिकार र स्रोत दिएको हुन्छ । त्यसबाट मैले उठाएका अजेन्डा पूरा गर्नेछु ।

उपत्यकामा खानेपानीका लागि ल्याइने मेलम्चीको मुहान तपाईंको क्षेत्रमा पर्छ, तपाईंले लेबी उठाउने अजेन्डा अघि सार्नुभएको रहेछ ? तपाईंहरूलाई लेबी किन दिने? 
मेलम्चीको पानी उपत्यकामा भित्रिन लागेको छ । निर्माण अन्तिम चरणमा छ । उपत्यकावासीले मेलम्चीको पानी पिउँदै छन् । तर, पानीको मुहानवासीले केही पाएका छैनन् । त्यसैले मेलम्चीको पानी वितरणबाट उठ्नेमध्ये २५ प्रतिशत रकम हामीलाई लेबीका रूपमा दिनुपर्ने माग गरेका हौँ । चुनावी अजेन्डामा समेटिएको यो कुरा जसरी पनि लागू गराएरै छाड्ने हो । लेबी पाएको खण्डमा यहाँको विकास गर्न केन्द्रीय बजेटको मुख ताक्नैपर्दैन । 

चुनावमा कांग्रेस निकै कमजोर देखियो, यसलाई कसरी लिनुभएको छ?
चुनावमा पाएको मत हिसाब गर्दा कांग्रेस कमजोर नभएर बलियो भएको छ । तर, वामपन्थीहरू एक हुँदा भोगेको हारलाई त्यो रूपमा हेरिनु हुन्न । कांग्रेस पार्टी सुध्रिने अवसरका रूपमा लिनुपर्छ । सोहीअनुसार कांग्रेस सुध्रिनुपर्छ । उदाहरणका लागि मेरो ठाउँमा अरु कुनै पाको व्यक्ति उठेको थियो भने चुनाव जित्न सक्दैनथ्यो । युवा भएका नाताले पनि जनताले मनपराएका हुन् । त्यसैले कांग्रेसमा पनि युवा नेतृत्वले ठाउँ पाएर जोस–जाँगरका साथ काम गर्दा कांग्रेस कमजोर हुनेछैन ।

प्रकाशित: १० पुस २०७४ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App