प्रकाश पाण्डे
एउटी छोरी, माया गर्ने श्रीमान् अनि सानै भए पनि ओत लाग्ने एउटा घर । सुन्तलीको जीवन आमनेपाली महिलाको भन्दा फरक थिएन । अलिकति भएको पुख्र्यौली जमिन खोस्रिएर जेनतेन परिवारको गुजारा चलेको थियो । छोरी स्कुल जान्थी । एउटा छोरा त जन्माउनुपर्छ है भन्दै छिमेकीहरू दबाब दिन्थे । तर, छोरी अलिकति हुर्किएपछि मात्र अर्को जन्माउने भन्दै बसेका थिए।
गाउँमा लाहुर (भारत) जाने लहर चलेको समयमा पनि सुन्तलीका श्रीमान् वेदबहादुर भने त्यस्तो रहर नगरी घरमै बस्यो । केही समयदेखि भने भारतमा कमाउन जाने लहर कम भएर खाडी देश जाने लहर बढेको थियो । छोटो समयमै मलेसिया, दुबई, कतार जानेले जग्गा–जमिन जोडेको देख्दा वेदबहादुरको मनले पनि मानेन । सुन्तलीसँगको सल्लाहमै उसले पासपोर्ट बनायो र गाउँकै एक दलाललाई केही पैसा दिएर मलेसियाको भिसा निकाल्न सफल भयो । सुन्तलीलाई श्रीमान्ले घर छाड्न लागेकामा कताकता चिन्ता लागेको थियो भने मनको कतै कुनामा अरु विदेश जानेका श्रीमतीको सान र रवाफका अगाडि अब आफू टाउको निहुराएर बस्नुपर्दैन भनेर खुसी पनि।
वेदबहादुरको विदेश जाने दिन आयो । घरको दैलोछेउ दुईवटा बेलामा पानी र फुल राखिदिएर सुक्कसुक्क गर्दै सुन्तलीले भनी, ‘होइन हजुर नजानुस् । म एक्लै हुन्छु । भिसा लाग्दा खुसी लागे पनि अहिले जानेबेला त कस्तो नमज्जा लाग्दो रहिछ । यतै सुखदुःख गरौँला । भयो छोडिदिनुस् ।’
‘म सधैँका लागि जान लागेको हो र लाटी ? आइहाल्छु नि दुई वर्षमा त । अब तैँले धेरै दुःख गर्नुपर्दैन । अब हाँसेर बिदा गर । पुगेपछि फोन गर्छु ।’ यति भनेर उनले झोला बोक्यो । छोरीको गालामा म्वाइँ खाएर र बिदा भयो ।
मनमा घर–परिवारको माया अनि धेरै कमाएर बुढेसकालमा आनन्दका साथ सुखी जीवन जिउने सपना बोकेर ऊ काठमाडौंका लागि बस चढ्यो । बसमा एकोहोरो गीत बजिरहेको थियो । यस्तैमा तारा देवीको गीत बज्यो—
‘नौ सय खोला तरेर जाने, बिर्सने पो हौ कि मलाई, बिर्सने पो हौ कि नफर्केसम्म पर्खेर बस्छु, सम्झनाको दियो जलाई, बिर्सने पो हौ कि ।’
दुई वर्षसम्म सुन्तलीलाई र छोरीलाई भेट्न नपाइने कुरा सम्झेर वेदबहादुर भक्कानियो । आँखा झिमिक्क नगरी बसको बाहिर अँध्यारोमा एकनास टोलाएर हेर्दै बसिरहेको थियो ऊ । रातको २ बजेतिर एक्कासि उसको बसलाई अगाडिबाट आउँदै गरेको अनियन्त्रित मालवाहक ट्रकले ठक्कर दियो । बस सीधै खोलामा खस्यो । एड्ढया पनि भन्न नपाउँदै वेदबहादुरले यो संसार छाड्यो । ऊ सँगै उसका सपना पनि त्रिशूलीको पानीमा बगेर हराए । यो दुनियाँमा सायदै त्रिशूली नदीले जति सपनाहरू कसैले खोसेको छ । लाग्छ, यो नदी मान्छेहरूको सपनाको भोको छ।
अर्को दिन बिहानै घटनाबारे रेडियोले फुक्यो । बिहानै गाईभैँसीलाई चारो खुवाउन र छोरीलाई स्कुल पठाउने तयारीमा लागेकी सुन्तलीले समाचार सुन्न पाइनँ । तल्लाघरे राइँलाबाले समाचार सुनेछन् । अनि हतारिँदै पल्लो घरको रामेलाई भने, ‘वेदबहादुर त गाडीमा परेछ । सुन्तलीलाई अहिले खाना खाएपछि भनौँला, फेरि खाना खादिनँ ।’ दुवैजनाले सल्लाह गरे । गाउँमा अलिअलि गर्दै गाइँगुइँ सुरु भयो।
बिहान १० बजेतिर सबैजना भएर सुन्तलीको घरमा गए । धेरैजना एकैचोटि घरमा आएको देखेर सुन्तलीको मनमा चिसो पस्यो । मानिसहरू ‘तैँले भन्, तैँले भन्’ भन्दै खासखुस गर्न लागे । तल्लाघरे राइँलाबाले मुख खोले, ‘हेर, दैव लीला अचम्मको छ । हुने हुनार कसैले टार्न सक्दैन । वेदबहादुर चढेको गाडी पल्टेछ र वेदबहादुर भगवान्को प्यारो भएछ ।’ यो वाक्य पूरा हुन नपाउँदै सुन्तली मुर्छा परी । छिमेकीहरूले पानी छर्किए । केही छिनमा बिउँझिएर डाँको छोडेर रुन सुरु गरी । ‘ए रियाका बा, कहाँ गयौ मलाई एक्लै छोडेर ? विदेश जानु किन परेको थियो ? यतै बसेर सुखदुःख गर्न हुन्थ्यो । म अब कसरी बाँचु ! हे दैव ! मलाई लगेको भए हुन्थ्यो । उनलाई किन लगिस् ।’ अलापविलाप गरेर रुँदारुँदै ऊ फेरी बेहोस भई।
स्कुल गएकी छोरीलाई मिसले घरसम्म ल्याइदिइन् । आमालाई भाव विह्वल अवस्थामा देखेर छोरी पनि रुन सुरु गरी । सानै भएकाले उसलाई मृत्युबारे कुनै ज्ञान थिएन । आमा रोएकाले ऊ पनि सँगै रोई । ‘विचरा यस्तो बाला उमेरमा नै टुहुरी बन्न पुगी,’ भन्दै गाउँका मानिसहरू खासखुस गर्दै थिए।
उता, लास भेटिएको खबर आयो । दाजुभाइ खलकका दुई–चारजना लिन जाने निधो गरे । छिमेकी महिला मिलेर सुन्तलीका चुरा फुटाइदिए । सिन्दुर पुछिदिए । सेतो च्यादर ल्याएर ओढाइदिए । एकाएक सुन्तलीको जीवन रङहरू उडेर उजाड बञ्जर जस्तो भयो । अर्को दिन लास लिएर गाउँलेहरू आइपुगे । दागबत्ती दिनलाई छोरा नभएकाले वेदबहादुरका भाइ पर्नेले दागबत्ती दियो । १३ दिनमा सम्पूर्ण काजकिरिया सकियो । सबै आफ्नो कामतिर लाग्न थाले । माइतबाट भाइबुहारी आएका थिए । ‘आफ्नो ख्याल राखे है दिदी’ भन्दै तिनीहरू पनि लागे । माइतमा पनि आमाबुवा थिएनन् । आमाबुबा भएको भए ‘अब यता एक्लै बस्नुभन्दा बरु हिँड उतै’ भन्थे होला । छोरीको माइत भन्ने पनि बाउआमा छउन्जेल रहेछ भनेर रोई सुन्तली।
जिन्दगीमा रोएर मात्र नपुग्ने रहेछ । घरीघरी खोलामा हाम फालेर मर्न पाए पनि हुन्थ्यो जस्तै लाग्थ्यो सुन्तलीलाई । तर, सानी छोरीको अनुहार सम्झेर उसको माया लागेर आउँथ्यो । अनि मर्न पनि सक्दिनथी सुन्तली । बेलाबेला श्रीमान्लाई सम्झेर के के बर्बराउँथी ऊ । जाने बेला श्रीमान्ले भनेका थिए, ‘छोरीलाई जे चाहिन्छ पु¥याइदिएस् ।’ त्यसैले पनि उसले छोरीलाई राम्रोसँग पढाएर ठूलो मान्छे बनाउने निधो गरी । अरुको मेलापातमा पनि काम गर्थी । त्यहाँबाट जम्मा भएको अलिअलि पैसा बचत गर्थी छोरीका लागि भनेर।
यो समाजमा आइमाई मान्छेलाई एक्लै बाँच्नु निकै गाह्रो हुँदो रहेछ । घरीघरी समाजले भनेको सुन्थी, ‘यसले त आफ्नै बूढोलाई खाई ।’ यस्ता कुरा उसले सुनेर पनि नसुनेजस्तो गरी बस्थी ।
पहिले कहिल्यै घरमा नआउने मान्छेहरू पनि ‘के गरेकी छस् सुन्तली ? एक्लै गाह्रो भयो है तँलाई’ भन्दै आउँथे । काम नभए पनि धेरैबेर बस्थे । सुन्तलीले सबैलाई सत्कार गर्थी । म एक्लै भएकाले मेरो दया गरेर आउँछन् भन्ने सोच्थी । आउनेमध्ये पनि धामीबाजे धेरैबेर बस्थे । सुन्तलीलाई किनकिन धामीबाजेको नियत त्यति ठीक लागिरहेको थिएन । नजानिँदो गरी शरीर छुन खोज्ने । गाउँमा कसको कोसँग अनैतिक सम्बन्ध छ भन्दै अनेक कथा सुनाई बस्थ्यो।
एक दिन सुन्तली बिरामी परी । ज्वरोले थला परेकाले दिउँसै ढोका ढप्केर बिछ्यौनामा पल्टिरहेकी थिई । सधैँजस्तै धामीबाजे सुन्तलीको घरको बाटो गरेर कतै जाँदै थियो । ‘ढोकामा ताल्चा त लगाएको छैन । कता गइछ आज,’ धामीले यस्तै सोच्दै गर्दा भित्रबाट खोकेको आवाज आयो । अनि, धामीले आवाज दियो, ‘ए सुन्तली, के भयो ? किन ढोका लगाएर बसेको ?’ ढोका खोल्दै सुन्तलीले भनी, ‘हेर्नु न हनहनी ज्वरो आएर ।’
धामीबाजेले भन्यो, ‘म हुँदाहुँदै तिमीले किन ज्वरोको चिन्ता लिएको ? म झारफुक गरिदिन्छु अनि ठीक हुन्छ । ल हिँड भित्र।’
उसले अलिकति खरानी लियो भान्साबाट । अनि, सुन्तलीलाई झारफुक गर्न लाग्यो । झारफुक गर्दा नजानिँदो तरिकाले घरी हात कता लग्ने, घरी कता लग्ने गर्दै संवेदनशील अङ्ग छुन खोज्थ्यो । अनि, एक्कासि धामीले आफ्नो धैर्यताको बाँध तोडेर जबर्जस्ती गर्न खोज्यो । सुन्तली थर्थरी काँप्दै धामीलाई धक्का दिएर छेउमा भएको भाँडोले टाउकोमा हिर्काई । धामी टाउको समाउँदै भाग्न खोज्यो । ढोकाबाट भन्यो, ‘पर्खी, तँलाई । कसैलाई भनिस् भने म तँलाई ज्युँदो छाड्दिनँ ।’
सुन्तली श्रीमान्लाई सम्झेर रोई, ‘आज मेरो श्रीमान् भएको भए कसले हिम्मत गथ्र्यो मलाई छुने । हे रियाका बा ! मलाई छाडेर किन गयौ ?’
सुन्तलीले डरले यो कुरा कसैलाई खोलिनँ । धामी सुन्तलीकहाँ आउन छाड्यो ।
सुन्तलीको दिनचर्या सामान्य चल्दै थियो । यस्तैमा गाउँमा एकाएक साना केटाकेटी भकाभक बिरामी पर्न थाले । धामीलाई बोलाउन थाले । धामीले आखत हेरेर भन्थ्यो, ‘बोक्सी लागेको हो । यो बोक्सी भयानक छ । उस्तै परे बच्चाको ज्यानै पनि लिन सक्छे । बोक्सी सेतो कपडा लगाएकी, ठूलो आँखा गरेकी, गालामा कालो धब्बा गरेकी छ।’
उसले बोक्सीको हुलिया पनि बताउँथ्यो, जुन सुन्तलीसँग मिल्थ्यो । सुन्तली बोक्सी हो भनेर गाउँभरि गाइँगुइँ चल्न थाल्यो । पल्लाघरे जेठी भन्दै थिई, ‘हिजो मेरो छोरालाई एकोहोरो हेरिरहेकी थिई, साँझदेखि ज्वरो आउन थाल्यो ।’ यस्तैमा गाउँमा एकजना बच्चाको ज्यानै गयो।
धामीले गाउँलेलाई जम्मा गर्यो । अनि, भन्यो, ‘बोक्सीलाई गाउँदेखि नधपाउने हो भने गाउँका बच्चा सबै खान्छे ।’
आफ्ना बच्चाको ज्यान जाने डरले सबैले धामीको कुरामा सहमति जनाए । सबै मिलेर सुन्तलीको घरमा गए ।
‘ओए बोक्सी बाहिर निस्की,’ एकजनाले बोलायो । सुन्तली छोरी लिएर बाहिर निस्की । यस्तैमा उपल्ला घरकी माहिली काकीले सुन्तलीको कपाल समाउँदै भनी, ‘तँलाई राँड ! लोग्ने त खाइस् खाइस्, अब हाम्रा छोराछोरी त नखा ।’ उसले सुन्तलीको कपाल जगल्टाउन लागी।
‘होइन माहिली काकी के भनेको यस्तो’ भन्दै सुन्तली रुन सुरु गरी । यस्तैमा अरु दुई–चारजना मिलेर सुन्तलीको कपाल लुछ्दै आगनमा ल्याइपु¥याए । छोरी रुँदै थिई । सबैले चप्पल उठाएर सुन्तलीलाई हिर्काउन थाले । लाचार सुन्तली छोरीलाई लिएर भाग्न लागी । ‘यसलाई त मान्छेको दिसा खुवाउनुपर्छ’ भन्दै खेद्न थाले । धन्न सुन्तली त्यहाँदेखि फुत्किन सफल भई । आमा छोरी भागेर जंगलको बीचमा गएर रोकिए । सुन्तली डाँको छाडेर रोई । ‘हे दैव ! यो के ग¥यौ ? किन मलाई यस्तो नारकीय जीवन बिताउन बाध्य बनायौ ? हे रियाका बा, तिमी मलाई किन एक्लै छोडेर गयौ ? मलाई एक्लै बाँच्न दिएन यो समाजले । हे भगवान् मलाई साँच्चै बोक्सी बनाएको भए पनि यिनी दुष्टहरूको रगत पिउँथे।’
उसकी छोरी सँगै रोइरहेकी थिई । सुन्तलीलाई यस्तो दुनियाँमा बाँच्नु बेकारजस्तो लाग्यो । जाने ठाउँ पनि कहीँ थिएन। खोलाको छेउमा गएर एकोहोरो छोरीको मुखमा हेरी अनि मनमनै सोची, ‘यो छोरीलाई यत्तिकै छाडेर मरे भने पनि यसलाई पनि बोक्सी बनाउला यो समाजले । बोक्सी नै नबनाए पनि एक्लो देखेर गिद्धले लुछेजस्तै लुछ्ने होलान् यसको शरीर।’
सोच्दासोच्दै उसलाई रिंगटा लाग्यो । ऊ छोरीलाई सँगै लिएर खोलामा फाल हाली । एक लाचार एकल महिलाले बोक्सी बनेर देहत्याग गरी।
प्रकाशित: ८ पुस २०७४ ०४:०४ शनिबार